उज्यालो पर्व तिहार आयो !

मेचीकाली संवाददाता

१२ कार्तिक २०७८, शुक्रबार
673 shares

घनश्याम कोइराला
यद्यपि, दसैँ शब्दले दसदिन या दशमी तिथि सम्मको समय जनाउँछ, तथापि हामी नेपालीहरूले असोज शुक्ल प्रतिपदादेखि कोजाग्रत पूर्णिमासम्म एक पक्षभरि (१५ दिन) दसैँ मनाउँछौँ ।

एउटै पर्व यति लामो हुनु या मनाउनुलाई आजका दृष्टिले हेर्दा यो संस्कृति नभएर विकृतिजस्तो लाग्न सक्दछ । तर, जे विषय जतिबेलाको हो, त्यसलाई त्यति नै बेलाको आवश्यकता र अवस्थाका हिसाबले हेरियो भने सही निष्कर्षमा पुग्न सकिन्छ । यस विषयमा अन्यत्र विस्तृत चर्चा–परिचर्चा भइसकेको हुनाले यहाँ यति नै भनौँ–पुग्नैपर्ने अवस्था र यातायात आदिको समस्याका कारण ठूलो चाडमा यसो गरिनु जायज नै थियो । मातृशक्तिको सम्मानका लागि यति समय छुट्याउनु न्यायसंगत हो ।

हाम्रा चाडपर्वहरू प्रकृति, इतिहास, धर्म आदिबाट निर्देशित छन् । शास्त्र निर्देशित पर्वहरू पनि भिन्न प्रकृति भएका ठाउँमा मनाइने तरिका पनि भिन्न नै हुने गर्दछ । यसका अनेकौँ प्रमाण छन् । हरितालिका तीज, रक्षाबन्धन÷जनै पूर्णिमा, दसैँ, तिहार आदि पर्वहरू हिन्दू धर्मशास्त्र निर्देशित, वैदिक आधार भएका पर्वहरू हुन् । तर यी पर्वहरू संसरको सबैभन्दा बढी हिन्दू जनसंख्या भएको भारतका हिन्दूहरूले मनाउने तरिका र नेपालीहरूले मनाउने तरिकामा ठूलो भिन्नता छ । जे, जति भिन्नता छ, त्यो नै हाम्रो नेपाली मौलिकता हो ।

नेपालमा मनाइने पर्वहरूमध्ये दसैँपछिको ठूलो पर्व तिहार हो । हुन त कतिपय विद्वान्हरूका अनुसार हिन्दीमा पर्व–उत्सवलाई त्योहार–त्यौहार भनिने हुँदा त्यसैको अपभ्रंश तिहार हो भन्ने भनाइ पनि रहेको छ । त्योहारलाई उर्दूमा तेहवर भनेको पाइन्छ । तेहवर वा त्योहार सबै चाडपर्व–उत्सवहरूलाई भनिन्छ । तर, नेपालमा सबै पर्व–उत्सवहरूलाई तिहार भनिँदैन, कार्तिक कृष्ण पक्षको त्रयोदशीदेखि कार्तिक शुक्ल पक्षको द्वितीया तिथिसम्म पाँच दिनलाई काग तिहार, कुकुर तिहार, गाई तिहार, गोरु तिहार र भाइ तिहार भनेर मनाइन्छ । यी पाँच दिनलाई ‘यमपञ्चक’ भनिन्छ ।

समाज विकासका क्रममा सूचना–सन्देशको महत्वपूर्ण भूमिका हुन्छ । सुरक्षाको पक्ष महत्वपूर्ण हुने नै भयो । मानिसले खाद्य वस्तुको उत्पादनका लागि धर्ती जस्तै प्राप्तिको माध्यम पशु पनि हो भन्ने बुझ्यो । समाजको आधार परिवार हो भन्ने बुझ्यो । परिवारलाई नियममा राख्न केही आकर्षक विधि–विधान आवश्यक हुन्छ भन्ने ठम्यायो र बनायो ।

यी सबैको संकेत काग पूजा, कुकुर पूजा, गाई पूजा, गोरु पूजा र भाइ पूजाको रूपमा व्यवस्थित गरिनु हो । शास्त्रीय विषय सांकेतिक हुन्छ, प्रतिकात्मक हुन्छ । यसै सांकेतिक—हामी प्रतिकात्मक सन्दर्भ नै कागदेखि भाइसम्मको पूजा हो । तिहारलाई पूmलैपूmलको पर्व, उज्यालो पर्व आदि पनि भन्ने गरिन्छ । यसो भनिएकै हुनाले दीपावली भन्ने हो कि भन्ने पनि लाग्न सक्दछ तर, यसो होइन । यो समय अँध्यारो वर्षापछि आउने शरद ऋतु हो । शरद ऋतुलाई सफा र उज्यालो ऋतु मानिन्छ ।

पर्वको अर्थ जोड्नु भन्ने पनि हुन्छ । त्यस अन्धकारबाट यस उज्यालोमा जोड्ने एउटा महत्वपूर्ण दिन कोजाग्रत पूर्णिमा यही बीचमा अर्थात् दसैँको समाप्ति र तिहारअघि पर्दछ । यस दिनदेखि एक महिना आकासे बत्ती बाल्ने प्रचलन छ । यो भनेको उज्यालो उत्सवको प्रतिक हो । यस्तो कार्यलाई दीपदान पनि भनिएको पाइन्छ । यसरी उज्यालोमा थप उज्यालो पार्ने कामको संकेतको रूपमा यसलाई लिन सकिन्छ । यसका अन्य प्रसंग पनि छन् । देखिने कुरा यिनै र यस्तै हुन् । संकेतको विश्लेषण गरेर विषय बुझ्नुपर्दछ र पुर्खाको आसय बुझ्न सकिन्छ र उहाँहरूप्रति सम्मानको भाव बढ्दछ, अन्यथा अहिलेको झिलिमिलीको अन्धकारले पुर्खाको उज्यालो योगदान छोपिन्छ ।

यस पर्वमा शास्त्र, प्रकृति र पशुको मानवसँगको गतिलो सम्बन्ध देखिन्छ । शास्त्रीय मान्यता अनुसार यो पर्वसँग यम र यमीको प्रसंग रहेको देखिन्छ । शास्त्रीय कथनअनुसार यम र यमी जुम्ल्याहा दाजुबहिनी हुन् । यमलाई मृत्युका देवता मानिन्छ । मृत्युका देवता भनेको कालका देवता पनि भन्न सकिन्छ । काल भनेको समय हो । यिनी सूर्यका छोरा हुन् । सूर्य र समयको सम्बन्ध बुझ्न गाह्रो छैन । मानिस वा प्राणीका लागि जीवनको अन्त्य नै काल हो । मानिसको जीवन प्रकृति र काल (समय) सँगै व्यतित भइरहेको हुन्छ ।

अर्को सन्दर्भमा मानिसको जीवनमा सकारात्मकता र नकारात्मकता सँगसँगै रहेको हुन्छ । जीवन र मृत्यु पनि सँगसँगै रहेको हुन्छ । हरेकको अस्तित्व र निषेध हुन्छ, हरेक निषेधको निषेध भइरहेको हुन्छ । मानिसले आपूmलाई ‘यम र नियम’ मा बाँधेको हुन्छ ; गर्ने र नगर्ने, हुने र नहुने विधिमा चलाएको हुन्छ । यसरी हेर्दा यम भनेको निषेधात्मक विधि हो र नियम भनेको प्रेरणात्मक विधि हो । अर्थात्, गर्न हुन्छ, गर्न पर्छ, यसरी गर भन्ने प्रेरणात्मक विधि हो भने यसो नगर, यसरी गर्न हुँदैन भन्ने निषेधात्मक विधि हो । जसलाई चलन चल्तीमा आचार संहिता वा नियम भनेर बुझिन्छ । जीवनको ठूलो र निर्णायक निषेध मृत्यु हो । हामी जसरी दुवैथरि (हुने र नहुने) नियम मानिरहँदा जस्तै जीवनसँगै मृत्यु पनि छ भनेर बुझ्दछौँ ।

यमी यमुना हुन् । यमुना नदीको रूपमा हामीले देखेजानेका छौँ । नदी भनेको जलप्रवाह हो । जल जीवन हो । यसबाट नै जीवको जीवनको अस्तित्व रहेको छ । यम र यमीका अन्य प्रसंगका साथै, यी दुई जुम्ल्याहा दाजुबहिनीको प्रसंगले जीवन र मृत्युको अन्तरसम्बन्ध स्पष्ट पारेको देखिन्छ । यमीलाई कालिन्दी, कृष्णा आदि पनि भनिन्छ । यी सन्दर्भ पनि महत्वपूर्ण छन् ।

जीवन र मरणलाई एकसाथ लिएर बाँचिरहेको मानिसका लागि महत्वपूर्ण आधार प्रकृति नै हो । मानिस पनि प्राकृतिक प्राणी नै हो । समाजमा मिलेर बस्न सक्ने, जान्ने भएपछि मानिस सामाजिक प्राणी भएको हो । मानिसको चेतना र बौद्धिक विकासको आधार प्रकृतिका संकेतहरू नै हुन् । मानिसको जीवनसँग प्रकृति र सामाजिक बन्न नसकेका अन्य प्राणीहरूसँगको सम्बन्ध अपरिहार्य देखिन्छ ।

यी पाँच दिनमध्ये तेस्रो दिन गाई पूजाको दिन अमावस्या (औँसी) मा लक्ष्मीपूजा गरिन्छ । यस औँसीको रात्रिलाई सुखरात्रि भनिन्छ । (दसैँको सप्तमीको रातलाई कालरात्रि, कृष्ण जन्माष्टमीको रातलाई मोहरात्रि र फागुन कृष्ण चतुर्दशीको रातलाई शिवरात्रि भनिन्छ ।) यस सुखरात्रिका अन्य अनेकौँ विशेषता छन्, तर यस दिन पौष्टिक गोरस, खेती तथा वृक्ष–वनस्पतिका लागि मल (गोबर) दिने, औषधि हुने मूत्र दिने, हलो तान्ने बलियो बाछो (बहर)–गोरु जन्माउने बहुउपयोगी गाईलाई सुस्वास्थ्य, धनधान्य, समृद्धि दिने लक्ष्मीका रूपमा पूजा गरी रात्रिमा लहरै धेरै बत्ती बाले दीपावली गर्ने गरिन्छ ।

सञ्चार गर्ने काग, सुरक्षा गर्ने कुकुर, धनधान्यको स्रोत गाई, गोरुको पूजा गरेर अन्त्यमा अर्थात् द्वितीया–भ्रातृद्वितीयाका दिन भाइ टीका लगाइन्छ । यसलाई चलनचल्तीमा भाइ तिहार भनिन्छ । तर, संस्कृतको भ्रातृ शब्दको अर्थ दाजुभाइ दुवै हुन्छ र भगिनी शब्दले पनि दिदीबहिनी दुवै जनाउँछ । कृषि अर्थतन्त्रको देशका हामी यसरी मनाउने गर्दछौँ तिहार मनाउँछौँ । हाम्रा लागि यी पाँचै दिन महत्वका छन् । यस कारण हामी शुभकामना दिँदा पनि पाँचै दिन समेटिने तिहारको शुभकामना दिने गर्दछौँ भने व्यापारका माध्यमबाट धनधान्यको कामना गर्नेहरूले धनकी देवी लक्ष्मीको मात्र पूजा गरी दीपावली गर्दछन्, दीपावलीको मात्र शुभकामना दिने गर्दछन् ।

मान्यता तथा कथा प्रसंगअनुसार तिहारका यी पाँच दिन यम आफ्ना सबै काम छोडेर बहिनी यमीका घरमा आएर बसे । दाजुले बहिनी प्रतिको जिम्मेवारीका लागि प्रतिबद्धता व्यक्त गरे । बहिनी यमीले पनि त्यसै गरिन् । टीका र माला लगाएर दुवैप्रति दुवैको जिम्मेवारीका विषयमा प्रतिबद्धता गरे र हरेक वर्ष यी पाँच दिन यसरी नै भेट्ने वाचा–कबोल गरे र सबैलाई यसो गर्न प्रेरणा दिए । यही प्रसंगको निरन्तरता तिहार हो ।
हाम्रा हरेक पर्वसँग त्यतिबेला पुर्खाका खोज, आविष्कार, विकास, चेतना आदिको अवस्था प्रतिबिम्बित हुन्छन् । कागको आहार फोहर हो ।

त्यसैले होला, शास्त्रमा कागलाई अपवित्र पक्षीको सूचिमा राखिएको छ । कागका अन्य चरित्र पनि नेपाली समाजमा अनेक उखान–तुक्कामा व्यक्त भएको पाइन्छ । यी सबैका बावजुद यसका उपयोगी गुणका कारणले पूजित छ । शास्त्रमा वायसात्पञ्चशिक्षेत्…कागबाट पाँच वटा (लुकेर मैथुन गर्नु, सितिमिति कसैलाई नटेर्नु, सावधान रहनु, अतिरिक्त सञ्चय–संग्रह नगर्नु, समयानुसारका वस्तुहरूले काम चलाउनु) शिक्षा लिनु भनिएको छ ।

मौसम परिवर्तन, सर्प आदिको अगमनको सूचना–संकेत गर्ने, फोहोर खाइदिएर सफा वातावरण दिने आदि कागका गुण त हामी सबैले देखे जानेकै छौँ । खराबमा पनि असलको खोजी गर्ने पहिल्याउने पुर्खाको योगदानको सम्झना गर्न पनि काग पूजाको औचित्य देखिन्छ ।

अहिले घरघरमा पालिने कुकुरलाई घर पालुवा कसले र किन बनायो ? स्पष्ट छ, हाम्रा पुर्खाले अन्य घरमा पालिएका पशुहरूलाई अन्य हिंस्रक पशुहरूबाट जोगाउनका लागि साधेर–दाएर (प्रशिक्षित गरेर) मानिसका निकट र हितैषि बनाए । यति मात्र होइन, कुकुरबाट छ वटा शिक्षा लिन सकिन्छ–षट् शून…भनिएको छ । यो योगदान कहिले स्मरण गर्ने ? कुकुर तिहार वा कुकुर पूजासँग पुर्खाको योगदान र कुकुरको गुणको सम्मान जोडिएको छ । गाई, गोरुका विषयमा त सबैलाई ज्ञात छ ।

यी विषयहरू औँसीको राति झमल पारेर बालिने लस्करे बत्ती–दीपावलीले समेट्न सक्दैन । पुर्खाका योगदान स्मरण गराउँदैन । धन–सम्पत्तिबाट प्राप्त हुने वैभव बाहेक अन्य विषय देखाउँदैन–संकेत गदैन । यिनै कारणहरूले हामी यमपञ्चक वा तिहार मनाउँछौँ । दीपावलीको टीका, भाइ दीपावली भनिँदैन । देउसी–देउसिरे, भैलो–भैलिनी गाउने, नाच्ने, खेल्ने विशेषता नेपालको मौलिक विशेषता हो ।

मखमलीको पूmलको माला र सप्तरङ्गी टीका नेपाली तिहारको विशेषता हो । दीपावलीमा यी कहाँ छन् र ? तिहार बुझौँ, तिहार भनौँ, तिहार मनाऔँ । दाजु र बहिनीबीचको सुसम्बन्धको स्थापनाका दृष्टिले यसको थप ऐतिहासिक महत्व रहेको छ । (लेखक संस्कृति अध्येता तथा अभियन्ता हुनुहुन्छ ।)