पुष्प व्यवसायमा युवाको आकर्षण बढ्दो

राज्यबाट साथ र अनुदानको खाँचो

मेचीकाली संवाददाता

१७ कार्तिक २०७८, बुधबार
1211 shares

रमेश पराजुली
बुटवल । रुपन्देहीको देवदह–५ का पवन तिवारीले यो वर्षबाट व्यवसायिक रुपमा फूलखेती सुरू गरेका छन् । अल्फा एग्रो फर्म एण्ड रिसर्च सेन्टर दर्ता गरेर ५ कठ्ठामा फूलखेती गरेका २२ वर्षीय युवा तिवारीले आफू देवदहमा पहिलो पुष्प व्यवसायी भएको दावी गर्छन् ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा कृषि छैठौँ सेमेस्टरमा अध्ययनरत रहेका उनले पढाइसँगै फूलखेती सुरू गरेका हुन् । अहिले उनलाई काममा परिवारका अन्य सदस्यले सघाएका छन् । फूलखेतीमा तिवारीले एक लाख भन्दा धेरै लगानी गरिसकेका छन् । अहिले एउटा मालाको मूल्य फूलको साइजअनुसार सय रुपैयाँदेखि १ सय ४० रुपैयाँसम्म कायम गरिएको छ । ‘उत्पादन गरेको फूललाई बजारको चिन्ता छैन । पहिलो वर्षको उत्पादनबाट सन्तुष्ट छु । आगामी वर्ष फूलखेती विस्तार गर्ने योजना छ ।’ तिवारीले भने ।

पाल्पाको रामपुर–४ का दिलबहादुर थापाले व्यवसायिक फूल खेती सुरु गरेको ३ वर्ष भयो । लामो समय वैदेशिक रोजगारीमा बिताएका थापाले यो वर्ष ४ रोपनी क्षेत्रफलमा फूलखेती गरेका छन् । पछिल्लो समय गाउँघरमा फूल कम उत्पादन हुँदै गरेका बेला थापाले सुरु गरेको फूलखेतीले छोटो समयमा धेरै चर्चा बटुलेको छ ।

सयपत्री फूल ढकमक्क फूलेका छन् । त्यसैले आज माहुरी र पुतली मात्रै होइन, त्यसको सुन्दरताले धेरैलाई लोभ्याउने गरेको छ । तिहार नजिकिएसँगै फूल खरिद, फूलको बगैँचा हेर्न, फोटो÷भिडियो खिच्न र टिकटक बनाउन आउने युवायुवतीको संख्या दैनिक बढ्दो छ ।

‘अरु खेतीमा भन्दा फूलमा राम्रो आम्दानी हुँदो रहेछ त्यसैले अहिले पाल्पाका अन्य ठाउँमा पनि व्यवसायिक फूल खेती हुन थालेको छ ।’ थापाले भने । अहिले एउटा मालाको मूल्य १५० रुैपैयाँ र एक किलो फूलको मूल्य ५ सय रुपैयाँ कायम गरिएको छ । गत वर्ष बुटवल, नेपालगञ्ज, पोखरालगायतका ठाउँमा फूल बिक्री गरेका उनले यो वर्ष भने स्थानीय बजारमै फूल बिक्री गर्ने योजना बनाएका छन् ।

‘विभिन्न ठाउँबाट फूल चाहियो भनेर व्यापारीले फोन गरिराख्नुभएको छ, स्थानीयबाट पनि माग उत्तिकै भएको हुँदा अहिले सबै फूल स्थानीय बजारमै खपत गर्ने योजना छ,’ उनले भने । प्रत्येक वर्ष विदेशबाट आयात हुने लाखौँ मूल्य बराबरको प्लाष्टिकका माला र खादालाई विस्थापन गर्दै फूल खेतीलाई व्यावसायिक बनाउनुपर्ने थापाको भनाइ छ ।

रुपन्देहीको बुटवल, तिलोत्तमा, देवदह, सैनामैना, लुम्बिनी, भैरहवा, रोहणी लगायतका क्षेत्रमा तिहार लक्षित सयपत्री र मखमली फूलको खेती गरिँदै आएकोमा यस वर्ष तिलोत्तमा–४ मा क्षितिज नमुना कृषक समूहले लगाएको सामूहिक पुष्प खेतीमा भर्खर मात्र फुल फुल्न थालेका छन् । ३ वर्ष देखि पुष्प खेती सुरु गरेको यो समूहले यस वर्षको तिहारमा १० हजार माला उत्पादन गर्ने लक्ष्य राखेको थियो । तर, तिहारसम्म मुस्किलले ३० प्रतिशत मात्र फुल फुल्ने देखिएको समूहका सदस्य विष्णु प्रसाद न्यौपाने बताए । समूहले यस वर्ष डेढ बिगाहा क्षेत्रफलमा पुष्प खेती गरेको छ ।

उता दाङको घोराही–१४ का लोकेन्द्र रोका फूलखेती गर्ने पुराना किसान हुन् । उनले विगत ८ वर्षदेखि व्यवसायीक रुपमा फूल खेती गर्दै आएका छन् । फूलखेतीको लामो अनुभव बटुलेका रोकाले यो वर्ष १८ कठ्ठा जमीनमा फूलखेती गरेका छन् । जिल्लामा फूलको माग र बजारको अध्ययन गरेर परम्परागत मकै र धान खेती छोडेर केही नयाँ गर्ने भन्दै सबैभन्दा पहिले व्यवसायिक फूल खेती रोजेका उनले गत वर्षको भन्दा यो वर्ष फूलको उत्पादन धेरै राम्रो भएको बताउँछन् ।

उनले उत्पादन गरेको फूललाई बजारको चिन्ता छैन, धेरैजसो फूल दाङमै खपत हुने गरेको छ । एउटा मालाको मुल्य फूलको साइज अनुसार सय रुपैयाँदेखि १ सय ५० रुपैयाँसम्म कायम गरिएको छ । भने, एक किलो फूल ५ देखि ७ सय रूपैयाँसम्ममा बिक्री हुन्छ । यो वर्ष फूल बिक्रीबाट ६÷७ लाख आम्दानी गर्ने उनको लक्ष्य छ ।

अहिले नेपालभर फूलको खेती र उपभोग बढेको छ । फूलको प्रयोग बढी हुने तिहार आउन ४ दिन मात्र बाँकी छ । तिहार नजिकिएसँगै बजारमा फूलको व्यापार पनि बढ्दै गएको व्यवसायीहरु बताउँछन् । स्वागत सत्कारमा मात्रै नभएर मन्दिर र देवी देवतालाई चढाउन फूल नैं चाहिन्छ । नेपालमा करिब ६ सय किसिमका फूल पाइने भएपनि तिहारमा मखमली, सयपत्री र गोदावरी फूलको माग बढी हुन्छ । दाजुभाइ र दिदीबहिनीका बीचमा भाइटीका पछि समृद्धिको प्रतिक सयपत्री अनि मखमलीको माला अनिवार्य मानिन्छ । मखमली र सयपत्री फूल नेपालीको लागि सांस्कृतिक महत्व बोकेको प्रसिद्ध फूल हो । यसमा पनि मखमली फूलले तिहारमा विशेष महत्व राख्छ ।

लुम्बिनी प्रदेशमा फूलखेतिका लागी हावापानी उत्कृष्ट छ । अहिले लुम्बिनी प्रदेशमा युवाहरू पुष्प व्यवसायप्रति आकर्षित छन् । फूलको आयात रोक्न युवाहरु लागेका छन् । लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयकी बागबानी विकास अधिकृत सुनैना बराइलीले गत वर्षभन्दा यो वर्ष फूलको उत्पादन बढेको बताउँछिन् ।

लुम्बिनीलाई फूलमा आत्मनिर्भर बनाएर फूलैफूलको प्रदेश बनाउने योजना अनुसार व्यवसायिक फूल खेती गर्ने किसानलाई प्रोत्साहन, प्राविधिक तालिम, मल, बिउ आदिको व्यवस्था गरिएको उनले बताइन् । लुम्बिनी प्रदेशका बाह्रै जिल्लामा विभिन्न जातका फूलखेती विस्तार भएको छ । प्रदेशका १२ जिल्ला मध्ये ९ जिल्लामा ४० बिगाह भन्दा धेरै ठाउँमा व्यवसायीक रुपमा फूलखेती गरिएको छ । यहाँका धेरै किसानले तिहार लक्षित फूलखेती गर्दा अन्य सिजनमा फूल अभाव हुने बराइलीले बताइन् ।

यहाँ उत्पादन भइरहेको फूलले प्रदेशको ५० प्रतिशत माग पुरा गर्ने अनुमान गरिएको छ भने बाँकी ५० प्रतिशत प्रदेश बाहिरका साथै भारतबाट आयात गर्नुपर्ने अवस्था छ । लुम्बिनी पुष्प व्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष रमेश पाण्डेले फूल खेतीमा लुम्बिनी प्रदेश नेपालमै अगाडि रहेको बताए । ‘पहाडी क्षेत्रमा फूल फुलिसकेपनि तराई क्षेत्रमा प्रतिकूल मौसमका कारण सबै फूल फुल्न नसकेको उनले बताए ।

पछिल्लो समय स्वदेशमा आफ्ना खेतबारी बाँझै राखेर विदेशीने युवायुवतीको संख्या ठूलो छ । जग्गा प्लटिङ गरिएको ठाउँमा र घडेरी किनेर बाँझै राख्नुभन्दा त्यो ठाउँमा ९० दिनमा तयार हुने फूलखेती गर्न सके त्यसबाट राम्रो फाइदा लिन सकिनेछ । यदि त्यसो हुन सकेको खण्डमा विदेशबाट हुने फूल आयात घट्नेछ । अर्कोतर्फ स्वदेशमै रोजगारीका अवसरहरु सिर्जना हुनेछन् र मुलुकको आर्थिक अवस्था बलियो हुनेछ ।