बुटवल उपमहानगरको प्रगति समीक्षा: आवधिक योजना पूरा हुँदै, दीर्घकालीन अघि बढ्दै

मेचीकाली संवाददाता

२९ कार्तिक २०७८, सोमबार
557 shares

बुटवल। बुटवल उपमहानगरले सञ्चालन गरेका मेयर युवा इलम कार्यक्रम, सिपमूलक तालिम र स्थानीय पाठ्यक्रमसहितको नगर शिक्षा योजनाको व्यवहारिक कार्यान्वयन भएको भन्दै सरोकारवालाले प्रशंसा गरेका छन् ।

बुटवल उपमहानगरले सञ्चालन गरेको मेयर युवा इलम कार्यक्रम र उपप्रमुख महिला उद्यमशिलता विकास कार्यक्रम, हाम्रो बटौली स्थाीय पाठ्यक्रमलाई मुलुकमै नमुना मानिन्छ । यिनै कार्यक्रमको कार्यान्वयलाई अझ प्रभावकारी बनाउन र निरन्तरता दिन पनि सरोकारवालाले आग्रह गरेका छन् ।

उपमहानगरले हालै आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा सहभागी बुटवलका राजनीतिक दल, निजी क्षेत्र, नागरिक अगुवा, सञ्चारकर्मी तथा सेवाग्राहीहरुले जनप्रतिनिधि आएपछिको सेवाप्रवाहको प्रशंसा गरेका हुन् । बुटवलले आवधिक र दीर्घकालीन महत्वका योजना, नगर शिक्षा योजना, स्थान परिचयसहितको स्थानीय पाठ्यक्रम, मेयर युवा इलम कार्यक्रम, महिला उद्यमशिलता कार्यक्रम सञ्चालन गर्दै आएको छ । इलम कार्यक्रमअन्तर्गत सयौं युवाले सीप सिक्ने, स्वरोजगार बन्ने र रोजगार पाएको अवस्था छ ।

समीक्षा कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख शिवराज सुवेदीले उपमहानगरका आवधिक योजनाहरु अधिकांश पूरा हुने चरणमा पुगेको, इलम कार्यक्रमको प्रभावकारिता बढेको र दीर्घकालिन महत्वका कैयौं योजना पनि साकार हुँदै गएको बताए । निजी क्षेत्र, राजनीतिक दल र नागरिक अगुवाका सुझावका आधारमा योजना कार्यान्वयनलाई प्रभावकारी बनाइने उनको भनाइ थियो ।

सबल आर्थिक केन्द्र समुन्नत बुटवलका माध्यमबाट समृद्ध बुटवल खुशी बुटवलबासीको लक्ष्य साकार पार्नेगरी बृहत् बुटवलको अवधारणाका साथ योजना तय गरिएको र तिनैको कार्यान्वयनमा केन्द्रित रहेको प्रमुख सुवेदीले बताए । उपप्रमुख गुमादेवी आचार्यले लैंगिक हिंसामुक्त सहर, सहयोगापेक्षी सडकमानवमुक्त बुटवल, मानवताको सहर बुटवलको संकल्प साकार पार्नेगरी योजनाबद्ध काम गरिएको र ती कार्यक्रमको प्रभावकारी कार्यान्वयन भइरहेको बताए ।

समीक्षा कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीले उपमहानगरको वार्षिक तथा चालू आवको प्रथम चौमासिक प्रगति विवरणलाई बुँदागत रुपमा प्रस्तुत गरेका थिए । कार्यक्रममा शहरी पूर्वाधार विकास महाशाखा प्रमुख सुमन श्रेष्ठ, शिक्षा तथा जनस्वास्थ्य महाशाखा पमुख मित्रमणी खनाल, सामाजिक विकास महाशाखा प्रमुख तुलसा अर्याल, वित्त व्यवस्थापन महाशाखा प्रमुख विष्णुप्रसाद खनाल, आर्थिक विकास महाशाखा वातावरण तथा अनुगमन महाशाखा, सामान्य प्रशासन महाशाखा प्रमुख भुवाप्रसाद लुइँटेलले वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए ।

उपमहानगरमा सातवटा महाशाखा र २७ शाखाहरु रहेका छन् । विषयगत आधारमा प्रगति विवरण प्रस्तुत गरिएको थियो । यो अवधिमा निर्माण भएका सडक पूर्वाधार, भवन निर्माण, पुलपुलेसा निर्माण, विद्यालय भवन निर्माण, जनस्वास्थ्यका कामलगायतका कामको विवरण प्रस्तुत गरिएको थियो । तिनै विवरणका आधारमा राजनीतिक दलका तर्फबाट नेकपा एमाले बुटवल उपमहानगरका अध्यक्ष किसन ज्ञवाली, नेपाली कांग्रेसका उपमहानगर समितिका उपसभापति हितमान पुन, राष्ट्रिय जनमोर्चाका नेता पदम श्रेष्ठ, नेकपा माओवादी केन्द्र, बुटवल नगर कमिटी अध्यक्ष पुष्पराज ढकाल, जनता समाजवादी पार्टी बुटवल नगरसमिति सचिव तेजबहादुर राना मगरले प्रगति समीक्षा विवरणका आधारमा सुझाव प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ववल कसजू, रुपन्देही उद्योग संघका अध्यक्ष माधवप्रसाद पौडेल, उद्योग व्यापार संघका विष्णु पाण्डे, उपभोक्ता हित संरक्षण मञ्च, बुटवलका अध्यक्ष समुन्द्र जिसीलगायतले उपमहानगरको वार्षिक प्रगति विवरणका आधारमा सुझाव प्रस्तुत गरेका थिए । । उपमहानगरका आवधिक र दीर्घकालीन महत्वका योजनाको कार्यान्वयनमा आफूहरुले रचनात्मक सहयोग गर्ने उनीहरुको प्रतिबद्धता थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति पुनले बुटवलमा विगत डेढ दशकयताकै महत्वपूर्ण र प्रभावकारी काम भएको भन्दै उपमहानगरको प्रशंसा गरे । उनले स्थानीय पाठ्यक्रम, उत्थान समिति, मेयर युवा इलम कार्यक्रम र दीर्घकालीन महत्वका योजनाले बुटवललाई मुलुकमै अब्बल नगरका रुपमा चिनाएको भन्दै उपसभापति पुनले विदेशमा सिकेका सीपलाई पनि सदुपयोग गर्न आग्रह गरे । उनले उपमहानगरका योजना कार्यान्वयनका लागि आफू र आफ्नो पार्टीले रचनात्मक सहयोग गर्ने बताए ।

कार्यक्रममा सहभागीहरुले बुटवलको बीच भागबाट गएको राजमार्गको सडक खण्डको बेहालका बारेमा उपमहानगरको अगुवाईमा सम्बन्धित निकायमा खबरदारी गर्न जरुरी रहेको सुझाव दिएका थिए । बुटवललाई गिज्याउने र धुलाम्मे बनाउने गरी सडक विस्तारमा भइरहेको ढिलाई र लापरबाहीमा संलग्नलाइ कानुनी रुपमै जवाफदेही बनाउन उपमहानगरले पनि माथिल्ला निकायमा पहलकदमी गर्नुपर्ने कार्यक्रमका साहभागीको सुझाव थियो ।