धानको क्षतिको विवरण नपठाउने स्थानीय तहलाई ताकेता

मेचीकाली संवाददाता

१ मंसिर २०७८, बुधबार
589 shares

पार्बती आचार्य
कपिलवस्तु । समयमा धानबाली क्षतिको विवरण सम्बन्धित निकायमा नपाठाउने स्थानीय तहहरुलाई कृषि ज्ञान केन्द्र कपिलवस्तुले ताकेता गरेको छ । समयमा क्षतिको विवरण नपठाउँदा किसानहरु राहत पाउनबाट बञ्चित हुन्छन् कि भन्दै यतिबेला कृषि ज्ञान केन्द्र चिन्तामा छ । गत असोज ३१ गते परेको बेमौसमी झरीले किसानहरुले भित्राउन तयारी अवस्थामा राखेको धान वर्षाले डुबाएको थियो ।

स्थानीयतहहरुले क्षतिको विवरण समयमै नपठाउँदा समस्या भएको कृषि ज्ञान केन्द्र कपिलवस्तुले जानकारी दिएको छ । ‘अहिलेसम्म ५ स्थानीय तहको मात्र क्षतिको विवरण प्राप्त भएको कृषि ज्ञान केन्द्र कपिलबस्तुका प्रमुख डा.रवीन्द्र नाथ चौवेले बताए । स्थानीय तहहरुलाई ताकेता गर्दा पनि समयमा विवरण नपठाउँदा समस्या भएको छ ।

प्रमुख चौवेले शिवराज नगरपालिका, कपिलवस्तु नगरपालिकाका वडा नम्बर १,२,४,५,७, ८ र १२ को , मायादेवी गाउँपालिका, यशोधरा गाउँपालिका र विजयनगर गाउँपालिकाले क्षतिको विवरण प्राप्त भएको प्रमुख चौबेले बताए । प्राप्त विवरणअनुसार सबैभन्दा बढी विजयनगर गाउँपालिकामा बाढीले क्षति गरेको छ । विजयनगरमा रु.४३ करोड ६६ लाख ५६ हजार १ सय १८ रुपैयाँ बराबरको क्षति पु¥याएको छ भने यशोधरा गाउँपालिकामा अबिरल वर्षाले ६६ हजार २ सय ७० कठ्ठाको धानबाली नोक्सान गर्दा रु.२४ करोड २९ लाख ९० हजार बराबरको अनुमानित क्षति भएको विवरण प्राप्त भएको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ ।

यसैगरी कपिलवस्तु नगरपालिकामा रु. ५० हजार ७ सय १६ कठ्ठामा लगाएको धानबालीमा वर्षाले क्षति पु¥याउँदा अनुमानित रु. २० करोड ४८ लाख ३४ हजार ६ सय ९ रुपैयाँ बराबरको क्षतिको विवरण प्राप्त भएको छ भने वडा नं. ३, ६, ९, १० र ११ वडाको विवरण आउन बाँकी नै छ ।
मायादेवी गाउँपालिकामा १२ हजार ८ सय ३० कठ्ठामा लगाएको धान वर्षाले नष्ट गर्दा रु.७ करोड ६९ लाख ८० हजार बराबरको क्षति भएको छ भने शिवराज नगरपालिकामा ६ करोड ४३ लाख ५ हजार ३ सय रुपैयाँ बराबरको नोक्सानी भएको विवरण प्राप्त भएको कृषि ज्ञान केन्द्रका प्रमुख चौवेले बताए ।
ज्ञान केन्द्रका अनुसार अझै ५ वटा पालिकाले क्षतिको विवरण पठाउन बाँकी रहेको छ । वाणगंगा नगरपालिका, बुद्धभूमि नगरपालिका, कृष्णनगर नगरपालिका र महाराजगञ्ज नगरपालिकाले विवरण पठाइसकेपछि मात्र क्षतिको एकीन तथ्याङ्क प्राप्त हुने छ । समयमा विवरण नपठाउने पालिकाहरुलाई विवरण पठाउन ताकेता गरेको छ । जिल्लाको पूर्ण विवरण प्राप्त भएपछि कृषि ज्ञान केन्द्रले कृषि विकास निर्देशनालय बुटवल पठाउने छ ।

धान काटेर स्याहार्न तयारी पारेको ८ हजार हेक्टरमा लगाएको धानबालीलाई बेमौसमी वर्षाले नोक्सानी पु¥याएको छ । जिल्लामा ३५ हजार ५ सय मेट्रिक टन उत्पादनलाई असर पु¥याएको कृषि ज्ञान केन्द्रले जनाएको छ । तर, कृषक स्वयंले नोक्सानीको विवरण भरेकाले क्षति बढ्ने प्राविधिक लौकुशप्रसाद कुर्मीले बताए ।

कृषि ज्ञान केन्द्र कपिलवस्तुका अनुसार कृषि योग्य जमिन ८३ हजार हेक्टर क्षेत्रफल भए पनि जिल्लामा ७१ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ । अहिलेसम्म जिल्लाभरिमा ८ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानबालीको क्षति भएको छ ।