शान्ति सम्झौताका १५ वर्ष

मेचीकाली संवाददाता

५ मंसिर २०७८, आईतवार
754 shares

डेढ दशकअघि आजकै दिन नेपालमा सशस्त्र हिंसात्मक विद्रोहको औपचारिक समाप्ति भएको थियो । अर्थात् तत्कालीन माओवादी र नेपाल सरकारका बीचमा विस्तृत शान्ति सम्झौता भएको दिन हो आज । २०६३ मंसिर ५ गते भएको शान्ति सम्झौता आज १५ वर्ष पूगेको छ । अहिलेसम्म शान्ति सम्झौताको कार्यान्वयन के कति भयो र हिजो एक आपसमा दुश्मन घोषणा गर्दै आमनेसामने भएकाहरुले गठबन्धन बनेको आजको यो परिवेशमा हिजोको हिंसा के का लागि थियो ? कसकाविरुद्ध थियो ? त्यो समीक्षा गर्नुपर्ने भएको छ । साथै शान्ति सम्झौताको सार्थकता कस्तो हुने हो भन्ने पनि बहस गर्नुपर्ने भएको छ ।

शान्ति सम्झौता भएयताको यो अवधिमा धेरै नै राजनीतिक परिवर्तन भएका छन् । तर, जुन उद्देश्य राखेर सशस्त्र हिंसात्मक युद्ध भएको थियो न त त्यसको औचित्य नै अहिले पुष्टि हुन सकेको छ न त शान्ति सम्झौतामा उल्लेख गरिएका बुँदाको कार्यान्वयन नै सही रुपमा भएको छ । फेरि पनि राजनीतिक अस्थिरता र अलमलमा मुलुकको राजनीतिक जकडाउन खोजिएको छ । हिजो जुनजुन शक्ति एक अर्काका जानी दुश्मन थिए, जसले टाउकाको मूल्य तोकेर जहाँ भेट्यो त्यहीँ सफाया पार्ने घोषणा गरी लागेका थिए अहिले ती दुवै शक्ति एउटै मोर्चामा छन् । यहाँभन्दा भद्दा मजाक दुनियाँमा अरु केही हुँदैन ।

समाजको रुपान्तरण र समृद्धिका लागि कुनै पनि प्रकारको हिंसा अवरोधक बन्ने कुरा प्रमाणित भएको छ । युद्ध, अपराध, अराजकता, भाँडभैलो र हिंसाले समाजमा विग्रह मात्रै ल्याउँछ र विकासका काम अझ पछि पर्छन् भन्ने कुराको पनि पुष्टि भइसकेको छ । अहिले पनि समाज भाँड्ने, बिथोल्ने र अतिवाद ल्याउन खोज्ने तत्वले टाउको उठाउन खोज्दैछ । जनादेशका विरुद्ध परमादेश जारी गराएर होस् वा जनताका सरकार गिराएर पराईका लागि कम्फर्टेबल सरकार बनाएर होस् अनेक रुपमा उत्पात देखिएका छन् ।

यसले मुलुकको शान्ति प्रक्रियालाई नै गिज्याइरहेको छ । यस्तो तत्वलाई परास्त गर्नका लागि पनि अब लोकतान्त्रिक शक्तिहरु एकजुट हुनुपर्ने छ । राजनीतिक प्रतिस्पर्धा छाडेर देशको समृद्धि र परिवर्तनलाई संस्थागत गर्ने काममा सबैका बीचमा सहकार्यको खाँचो छ । सहकार्यबाटै समृद्धिको अभियान पूरा हुन सक्छ । यसो भयो भने मात्रै परिवर्तनको अनुभूति हुनेछ ।