महाधिवेशनले एमालेलाई अझ सुदृढ बनाउनेछ

मेचीकाली संवाददाता

५ मंसिर २०७८, आईतवार
515 shares

लिला गिरी
‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकताको विरोध गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं ।’ हामीले महाधिवेशनमा यो नारा तय गरेका छौं । समृद्ध नेपाल खुशी जनताको राष्ट्रिय लक्ष्यमा केन्द्रित हुनका लागि पार्टीलाई आगामी दिनमा यहीँ नाराले नै निर्देशित गर्नेछ । समृद्धिका आधार तयार पार्ने र तिनलाई साकार पार्दै जाँदा नै समाजवादको आधार निर्माण हुने हो । समाजवादमा जाने भनियो तर त्यसका लागि आवश्यक नीति र कार्यक्रम बनाउन सकिएन भने त्यसको केही अर्थ रहँदैन । तर, एमालेले यसको प्रष्ट नीति बनाएको छ, उपयुक्त कार्यक्रम तय गरेको छ र अब महाधिवेशनमार्फत योग्य नेतृत्व छनौट गरेर अगाडि बढ्ने छ ।

अब एमालेलाई सुदृढ बनाउन ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने हाम्रो अभियानलाई साकार बनाउन एमाले दह्रो र सुदृढ हुनुपर्छ । महाधिवेशनले सोही अनुरुपको नेतृत्व छान्नेछ । विचारमा अझ सुदृढ बनाउनेछ । विचारमा एकरुपता भएन भने त्यो पार्टीले केही गर्न सक्दैन भन्ने हामीले बुझेका छौं । हामीले राजनीतिक क्रान्ति सम्पन्न ग¥यौं, सामन्तवादलाई ढाल्यौं तर त्यसका अवशेषहरु कायमै छन् भन्ने कुरा भुल्नु हुँदैन् । सामन्तवादका अवशेष अन्त्य गर्ने र दलाल पूँजीवादका विरुद्धमा जारी संघर्र्षलाई अझ प्रभावकारी बनाउनुपर्ने छ । राष्ट्रिय पूँजीको विकास गर्ने, समाजवादको आधार निर्माण गर्ने हाम्रो लक्ष्य हो । हामी यो कुरा भन्छौं र सोही अनुरुपका काम गर्छौं । यसरी अगाडि जाँदा हामी सरकारमा रहँदा पनि र नरहँदा पनि नीति, विचार, योजना निर्माण गर्नेगरी आफूलाई लैजानुपर्छ । एमालेमा यो तागत छ, क्षमता छ र सम्भावना पनि छ ।

अधिकारप्राप्तिको आन्दोलन अब जरुरी छैन
राजनीतिक अधिकार प्राप्तिको लडाईं मुख्य कुरा होइन । संविधान र कानुनमा त्यसलाई निश्चित गरिसकिएको छ । अब राजनीतिक अधिकार प्राप्तिको लडाइँको कुरा गर्नुको अर्थ छैन । अब कोही मान्छे मारिँदैन, निर्वासित हुँदैन, भूमिगत हुनु पर्दैन । अर्थात् त्यो पहिलो पुस्ताको चरण भनेको राजनीतिक अधिकार प्राप्तिको लडाइँ गर्ने पार्टी वा व्यक्ति नेता बन्ने । तर यो कुराको ग्यारेण्टी भएपछि त्यो विषय सकियो । दोस्रो, नेपाली समाज विविधतायुक्त छ ।

बहुजाति, बहुभाषा, बहुधर्म, बहुसंस्कृति, भौगोलिक विविधताले युक्त छ । यस्तो विशिष्टता भएको यो देश, हाम्रो नेपाली समाजको प्रतिविम्ब हुनुपर्छ राज्य सञ्चालनमा । राज्य सञ्चालनका अङ्गहरुमा समाजको विविधता झल्कनुपर्छ । त्यसको प्रतिनिधित्व हुनुपर्छ । यो कुराको लागि नेतृत्व गर्ने पार्टी र व्यक्ति नेता बन्ने हो । यो विषय पनि संविधान र कानुनबाट टुंगियो ।

अबको एजेण्डा भनेको आर्थिक विकास र समृद्धि हो । देश धनी हुनुपर्छ, जनता सुखी हुनुपर्छ । अब त्यो पार्टीले मात्र मुलुकलाई नेतृत्व गर्न सक्षम हुन्छ, जसले आर्थिक समृद्धि र विकासको योजना ल्याउँछ । उत्पादनका क्षेत्रहरुलाई सक्रिय बनाउनुपर्ने छ । आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका कार्यक्रममा हाम्रो राज्यको ध्यान जानुपर्ने छ । हामीले मान्छेको जीवनसँग गाँसिएको मुद्दा उठाएका छौं । सत्तामा रहँदा सोही मुद्दालाई लागू गर्न उपयुक्त कार्यक्रम बनाएका छौं भने बाहिर रहँदा रचनात्मक काममै केन्द्रित छौं । मानिसको जीवनसँग गाँसिएको खास मुद्दा भनेकै आर्थिक विकास र समृद्धि हो । यो खाली नेताहरुले भाषण गर्ने, नारा लगाउने, दस्तावेजहरुमा लेख्ने कुरा मात्र होइन भनेर हामीले सिद्द गर्नुपर्ने छ ।

आर्थिक विकास र समृद्धि नै अबको एजेण्डा हो
हामीले समृद्ध नेपाल खुशी जनताको संकल्प गर्दै त्यसै लक्ष्यमा पुग्न योजनाबद्ध कामको थालनी गरेका हौं । स्थानीय पालिकामा होस् कि प्रादेशिक तहमा होस् वा संघीय तहमा हामीले अगाडि सारेका योजनाहरु राष्ट्रिय संकल्प साकार पार्नमा केन्द्रित रहेका छन् । पार्टी सत्तामा रहेका बेलामा के के काम गर्न सक्यो, कस्ता योजना तय गर्न सक्यो, समृद्धिको आधारहरु कसरी पहिचान गर्न सक्यो भन्ने कुराको सबै फेहरिस्त जनताका सामुन्ने लैजाने छौं ।

आर्थिक विकास र समृद्धिका सन्दर्भमा हाम्रो पार्टीले अगाडि सार्ने नीति र त्यसको कार्यान्वयनका चरणहरुले समृद्धिको आधारलाई साकार पार्न सक्ने छ । महाधिवेशनबाट छानिने नेतृत्वको एउटा प्रमुख कार्यभार यो पनि हुनेछ । कृषि, पर्यटन, उद्योगका क्षेत्रमा हामीले केकस्ता कार्य गर्न सक्यौं, अब कस्तो नीति बनाउन सक्छौं भन्ने कुरामा पनि नेतृत्वको ध्यान जानुपर्ने छ । समृद्धिका लागि कृषि हाम्रो मूल आधार हो भने, कृषिमा, भूमिव्यवस्थामा हाम्रो नीति के हो ? उद्योग, पर्यटन, जलस्रोतमा, वाणिज्यका विषयमा हामीले के गर्छौँ ? यी विषयलाई पार्टी नेतृत्वले ध्यान दिनुपर्ने छ ।

तय भएका समृद्धिका आधारहरु त्यसै साकार हुने होइनन् र हुन सक्तैनन् पनि । तिनलाई साकार पार्दै जनजीविकाका सवालमा कसरी व्यवहारिक बनाउन सकिन्छ भन्ने विषय अबको बाटो हुनुपर्छ । कामका लागि विदेशिनुपर्ने, दक्ष कामदार विदेशबाट मगाउनुपर्ने विडम्बनापूर्ण अवस्था छ । यसलाई अन्त्य गर्नुपर्ने छ । पार्टीहरुका अगाडि अनेकौं चुनौतीहरु छन् । ती चुनौतीलाई प्राथमिकीकरण गरेर समाधान गर्नुपर्ने छ ।
आर्थिक विकास र समृद्धिका सन्दर्भमा ठोस नीति पहिचान गरेर जनआकांक्षालाई सम्बोधन गर्नुपर्नेछ । नीति बनाउने र ती नीतिलाई कार्यान्वयन कसरी गर्न सकिन्छ भनेर प्रभावकारी हुने कार्यक्रम पनि बनाउन जरुरी छ । नीतिका आधारमा तय गरिने कार्यक्रमले नै सार्थकता दिनेहुन् । आर्थिक विकास र समृद्धिका लागि नीति बनाउने र कार्यक्रम सञ्चालन गर्ने महत्वपूर्ण पाटोमा पार्टी नेतृत्व स्पष्ट हुनुपर्ने छ ।

लोकतान्त्रिक अभ्यासका नाममा विग्रह स्वीकार्य छैन
पार्टीलाई नेतृत्व गरिसकेका कतिपय नेताहरुबाटै विग्रह ल्याउने काम भयो । नवौं महाधिवेशनमा माथिदेखि तलसम्म प्यानल बनाएका कारणले विभाजनको आधार बन्न गएको हो । लोकतान्त्रिक अभ्यासका नाममा विग्रह स्वीकार्य छैन । लोकतान्त्रिक अभ्यास गर्नुपर्छ भन्ने तर त्यसको परिणामलाई स्वीकार गर्न नसक्ने संस्कार बोकिरहेको हाम्रो स्थिति थियो । लोकतान्त्रिक अभ्यासका नाममा भएका विसंगतिपूर्ण कामले एमालेभित्र गुटबन्दीलाई स्थापित गरेको तितो विगतबाट पाठ सिक्दै यो महाधिवेशनबाट नयाँ सन्देश दिनेछौं । लोकतान्त्रिक भनेको प्रतिपस्र्धा गर्ने, चुनावमा उठ्ने, बाकस थाप्ने, एउटाले जित्ने, अर्कोले हार्ने भन्ने मात्र होइन । तर, सम्मान, सहमतिबाट नेतृत्व चयन भयो भने पनि त्यसलाई अलोकतान्त्रिक भन्न मिल्दैन ।

विगतबाट सिकेर नयाँ ढंगले अगाडि बढ्छौं
एमालेको विगतको यात्रा फर्केर हेर्दा, कतिपय बेलामा आफ्नो मौलिक अडान अलिक कमजोर भएको, जता पनि लपक्क भएको टिप्पणी पनि आए । एमालेका सबै नेता कार्यकर्ता जनस्तरबाट आएका यी टिप्पणीमा ध्यान दिनुपर्छ । मलाई लाग्छ,अहिले एमालेलाई त्यस्तो आरोप लाग्दैन । अर्को समावेशीको कुरा पनि उठ्ने गर्छ । नेपालका प्रमुख पार्टी हौं भन्नेहरुको केन्द्र र जिल्ला तहसम्मको नेतृत्व चार्ट बनाएर हेरौं न । एमाले र अरु पार्टीको समावेशिताको चित्र देखाइदिऔँ न ।

हामी कुनै पनि राजनीतिक पार्टीभन्दा समाजको यो विविधतालाई नेतृत्वमा उन्नत ढंगले प्रयोग प्रतिनिधित्व गरेका छौं । कम्युनिष्ट पार्टी भनेको विचारबाट निर्देशित हुनुपर्छ, समावेशिताका नााममा उपभोक्ता समिति जस्तो बनाउने होइन भन्ने कुरा पनि केही कोणबाट आउने गर्छ, तर समाजको विविधतालाई हाम्रो नेतृत्वमा उचित ढंगले प्रयोग गरिएको हुन्छ । सुदृढ र जनताको प्यारो पार्टीका रुपमा रहेको एमालेले सबैखाले विग्रहलाई चिरेर अगाडि बढ्ने छ । (नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष गिरीसंग गरिएको कुराकानीमा आधारित)