मुलुकको समृद्धिका निम्ति एमाले नै चाहिन्छ

मेचीकाली संवाददाता

७ मंसिर २०७८, मंगलवार
718 shares

भूमिश्वर ढकाल
‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकताको विरोध गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं ।’ समृद्ध नेपाल खुशी जनताको राष्ट्रिय लक्ष्यमा केन्द्रित हुनका लागि पार्टीलाई आगामी दिनमा यहीँ नाराले नै निर्देशित गर्नेछ । समृद्धिका आधार तयार पार्ने र तिनलाई साकार पार्दै जाँदा नै समाजवादको आधार निर्माण हुने हो । समाजवादमा जाने भनियो तर त्यसका लागि आवश्यक नीति र कार्यक्रम बनाउन सकिएन भने त्यसको केही अर्थ रहँदैन । तर,एमालेले यसको प्रष्ट नीति बनाएको छ, उपयुक्त कार्यक्रम तय गरेको छ र अब महाधिवेशनमार्फत् योग्य नेतृत्व छनौट गरेर अगाडि बढ्ने छ ।

हामीले समृद्ध नेपाल खुशी जनताको संकल्प गर्दै त्यसै लक्ष्यमा पुग्न योजनाबद्ध कामको थालनी गरेका हौं । स्थानीय पालिकामा होस् कि प्रादेशिक तहमा होस् वा संघीय तहमा हामीले अगाडि सारेका योजनाहरु राष्ट्रिय संकल्प साकार पार्नमा केन्द्रित रहेका छन् । पार्टी सत्तामा रहेका बेलामा केके काम गर्न सक्यो, कस्ता योजना तय गर्न सक्यो, समृद्धिका आधारहरु कसरी पहिचान गर्न सक्यो भन्ने कुराको सबै फेहरिस्त जनताका सामुन्ने लैजाने छौं । आर्थिक विकास र समृद्धिका सन्दर्भमा हाम्रो पार्टीले अगाडि सार्ने नीति र त्यसको कार्यान्वयनका चरणहरुले समृद्धिको आधारलाई साकार पार्न सक्ने छ । महाधिवेशनबाट छानिने नेतृत्वको एउटा प्रमुख कार्यभार यो पनि हुनेछ ।

कृषि, पर्यटन, उद्योगका क्षेत्रमा हामीले केकस्ता कार्य गर्न सक्यौं, अब कस्तो नीीत बनाउन सक्छौं भन्ने कुरामा पनि नेतृत्वको ध्यान जानुपर्ने छ । समृद्धिका लागि कृषि हाम्रो मूल आधार हो भने, कृषिमा, भूमिव्यवस्थामा हाम्रो नीति के हो ? उद्योग, पर्यटन, जलस्रोतमा, वाणिज्यका विषयमा हामीले के गर्छौ ? यी विषयलाई पार्टी नेतृत्वले ध्यान दिनुपर्ने छ । तय भएका समृद्धिका आधारहरु त्यसै साकार हुने होइनन र हुन सक्तैनन पनि । तिनलाई साकार पार्दै जनजीविकाका सवालमा कसरी व्यवहारिक बनाउन सकिन्छ भन्ने विषय अबको बाटो हुनुपर्छ । कामका लागि विदेशिनुपर्ने, दक्ष कामदार विदेशबाट मगाउनुपर्ने विडम्बनापूर्ण अवस्था छ । यसलाई अन्त्य गर्नुपर्ने छ । पार्टीहरुका अगाडि अनेकौं चुनौतीहरु छन् । ती चुनौतीलाई प्राथमिकीकरण गरेर समाधान गर्नुपर्ने छ ।

आर्थिक विकास र समृद्धिका सन्दर्भमा ठोस नीति पहिचान गरेर जनआकांक्षालाई सम्बोधन गर्नुपर्नेछ । नीति बनाउने र ती नीतिलाई कार्यान्वयन कसरी गर्न सकिन्छ भनेर प्रभावकारी हुने कार्यक्रम पनि बनाउन जरुरी छ । नीतिका आधारमा तय गरिने कार्यक्रमले नै सार्थकता दिनेहुन । आर्थिक विकास र समृद्धिका लागि नीति बनाउने र कार्यक्रम सञ्चालन गर्ने महत्वपूर्ण पाटोमा पार्टी नेतृत्व स्पष्ट हुनुपर्ने छ ।

हाम्रो देश बहुजाति, बहुभाषा, बहुधर्म, बहुसंस्कृति, भौगोलिक विविधताले युक्त छ । यस्तो विशिष्टता भएको देश, हाम्रो नेपाली समाजको प्रतिविम्ब हुनुपर्छ राज्य सञ्चालनमा । राज्य सञ्चालनका अङ्गहरुमा समाजको विविधता झल्कनुपर्छ । त्यसको प्रतिनिधित्व हुनुपर्छ । यो कुराको लागि नेतृत्व गर्ने पार्टी र व्यक्ति नेता बन्ने हो । यो विषय पनि संविधान र कानूनबाट टुंगियो । कृषिका सम्भावना, पर्यटन उद्योगका सम्भावना र जैविक विविधताबाट विदेशी मुद्रा आर्जन गर्न सकिने सम्भावनाका बारेमा पनि अबका कार्यक्रम बन्नुपर्ने छ ।

अबको एजेण्डा भनेको आर्थिक विकास र समृद्धि हो । देश धनी हुनुपर्छ, जनता सुखी हुनुपर्छ । आर्थिक समृद्धि र विकासको योजना बनाउन सक्ने पार्टी भनेकै एमाले हो । मान्छेको जीवनसँग गाँसिएको मुद्दा उठाउने पार्टी भनेकै एमाले हो भनेर जनतामा सही सन्देश सञ्चार गर्नुपर्ने छ । सत्तामा रहँदा सोही मुद्दालाई लागु गर्न उपयुक्त कार्यक्रम बनाउने र बाहिर रहँदा रचनात्मक काममै केन्द्रित हुने पार्टी नेतृत्व भनेकै एमालेमा छ भनेर पुनपुष्टी गर्नुपर्ने छ ।

मानिसको जीवनसंँग गाँसिएको खास मुद्दा भनेकै आर्थिक विकास र समृद्धि भएकाले यसैलाई राष्ट्रिय संकल्प बनाउने पार्टी भनेकै एमाले हो भनेर प्रष्ट पार्नुपर्नेछ । यो खाली नेताहरुले भाषण गर्ने, नारा लगाउने, दस्तावेजहरुमा लेख्ने कुरा मात्र होइन भनेर हामीले सिद्ध गर्नुपर्ने छ । अहिलेको महाधिवेशनले एमालेलाई अझ सुदृढ, एकताबद्ध बनाउने छ र मुलुकलाई पनि सही दिशानिर्देश गरेर नेतृत्व गनुपर्ने छ ।

एमालेको कार्यशैली नै फरक छ
नेपाली राजनीतिमा एउटा गज्जव पक्ष छ–विभिन्न राजनीतिका विभिन्न दलका नेताहरू अपवादबाहेक प्रायशः अधिकांश सरकारमा गएका छन् । पटकपटक प्रधानमन्त्री र मन्त्री भएका छन् । सरकार गएपछि उल्लेख्य काम दिन नसकेर, नागरिकलाई सेवा प्रवाह गर्न नसकेर, भ्रष्टाचार आदिमा मुछिएर बद्नाम कमाएका छन् । कतिपय मन्त्रीहरू त शीर निहुँराएर हिड्नुपर्ने अवस्थामा यत्रतत्र देखिन्छन्, भेटिन्छन् ।
तर, हामीले जनताको अगाडि शीर अझ उचो बनाउने काम गरेका छौं । लुम्बिनी प्रदेशको समृद्धिका लागि सबै प्रदेशले अनुसरण गर्नेगरि योजना छनौट र तिनलाई कार्यान्वयन गर्ने उपयुक्त नीति तथा कार्यक्रम बनाएका थियौं । हाम्रो पार्टीका तर्फबाट मुख्यमन्त्री बन्नुभएका नेता शंकर पोखरेल र मन्त्रीहरु बैजनाथ चौधरी, लिला गिरी, भोजप्रसाद श्रेष्ठ, चेतनारायण न्यौपाने, आरती पौडेल, हरि रिजाललगायतका आदरणीय कमरेडहरुको कार्यशैली पनि हरदम प्रदेशकै समृद्धिका लागि केन्द्रित थियो ।

हाम्रो पार्टी श्रद्धेय अध्यक्ष केपी शर्मा ओली मात्र यस्तो राजनीतिक पात्र हो, जो सरकारबाहिरसँगै वा वलपूर्वक सरकारबाट हटाइएसँगै चौतर्फी उहाँको हाय हाय बढेको छ । जनादेशलाई परमादेशले विस्थापित गरेको नौलो र अनौठो घटना नेपालमा भएको छ । एमाले पृष्ठभूमि भएकै कारण राष्ट्रपतिमाथिको हमला पनि राजनीतिक प्रतिशोधपूर्ण हुने गरेको देखिन्छ । तथापि, जति–जति उहाँ नेतृत्वमाथि निशान केन्द्रीत प्रहार हुन्छ, उत्तिनै उहाँको राजनीतिक क्रेज ह्वात्तै बढेको छ र उहाँकै कारण एमाले राष्ट्रिय राजनीतिको मियो भागमा उभिएको छ ।

गैरराजनीतिक ढंगले सिनेमाको पर्दा उघारिएको शैलीमा प्रदेश सरकारहरू ढालिएका छन् तर मुख्यमन्त्रीलगायत मन्त्रीहरूको उपस्थितिमा उत्तिकै निखार छ । जनताको बहुदलीय जनवादका अनुयायीहरू अहिलेसम्म कसैको धारे हातका शिकार भएका छैनन् । यसरी हेर्दा–यो महाधिवेशन मूलभूत रूपमा राष्ट्रिय राजनीतिमा एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिभावकीय भूमिका पुष्टि गर्ने थलो पनि हो । संस्थागत ढंगले नै उहाँको अपरिहार्यता औल्याउने मण्डप हो । महाधिवेशन मण्डप चितवनबाट नेपाली राजनीतिमा नेकपा (एमाले) निर्विकल्प शक्ति हो भनेर स्थापित गर्नु हो । जनताको बहुदलीय जनवादको शिल्पकारी प्रयोगको अनिवार्यतालाई नजिकैबाट जोड्नु पनि हो ।

कार्यकारी पदमा उमेर हदको विधान
विधान महाधिवेशनमार्फत पार्टी राजनीतिक राजनीतिक–बैचारिक दिशा निरुपण, रणनीतिक कार्यदिशा, कार्यक्रमलगायत पक्ष टुंगो लगाइसकेपछि यो महाधिवेशन मुख्य गरी नेतृत्व छनौटमा केन्द्रीत हुने नै हो । यसबेला महाधिवेशनले भावनात्मक रूपले र मनोवैज्ञानिक रूपले विभाजित भएको शक्तिलाई एक ठाउँमा उभ्याउन सक्नुपर्छ । वडा–वडाबाट यहाँ उपलब्ध विभिन्न लिङ्ग, भाषा, धर्म, उमेर समुह, अल्पसंख्यक, महिला, दलित, मुस्लिम, अपाङ्गलगायत क्षेत्रबाट प्रतिनिधित्व गर्दै आउनुभएका सबैले अपनत्वबोध र आफ्नो अभिभावक पार्टीको रूपमा एमालेलाई उभ्याउन सक्नुपर्छ । प्रतिनिधिको पंक्ति जोशिलो उत्साह लिएर गाउँ–गाउँमा फर्कन सक्ने अवस्था बन्नुपर्छ । असाधारण नेतृत्व क्षमता भएको एमाले नेतृत्वले यसलाई एउटा परिघटनाको रूपमा विकास गर्ने छ ।

दसौं राष्ट्रिय महाधिवेशनले दिने सन्देश
महाधिवेशनपछि नेकपा (एमाले) मात्र राष्ट्रिय स्वधिनता, राजनीतिक स्थिरता र समृद्धिको संकल्प लिएर शसक्त रूपमा अघि बढेको पार्टी हो भनेर प्रमाणित हुनेछ, एमालेविरूद्धका तानाबुनालाई चडाउने र नारायणी नदीमा बगाउने काम हुनेछ । महाधिवेशनसँगै हिजोका समुहबन्दीहरू समाप्त हुने छन् । जनताको बहुदलीय जनवादको सत्यापन प्रमाणित हुनेछ । परस्पर बैचारिक र भावनात्मक रूपमा एकताबद्ध हुनेछ । नेतृत्व निर्माणमा पनि सहमतिको प्रयासले एमाले राष्ट्रिय राजनीतिमा एकढिक्का छ भन्ने प्रमाणित हुनेछ ।

यहिँ सन्देश लिएर हामी कार्यकर्ताहरू आ–क्षेत्रमा लाग्ने छौँ । आत्मविश्वास र सन्तुष्टि सहितको व्यवस्थित, एकताबद्ध र कार्यकर्तामा आधारित पार्टी निर्माणको प्रश्नलाई टुंगो लगाउने छौँ । एमाले राजनीतिक, बैचारिक र यसको उज्ज्यालोमा क्रियाशील संगठनात्मक तागत निर्माण गर्ने छौँ । यहिँ उद्देश्यअनुरूप महाधिवेशनको भव्य र सभ्य सफलताका लागि हार्दिक शुभकामना । (नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सचिव, प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक, तथा एमालेका युवा नेता कमरेड भूमिश्वर ढकालसंग गरिएको कुराकानीमा आधारित सामग्री) ।