काँचुली फेरेको लुम्बिनी प्रादेशिक अस्पताल

मेचीकाली संवाददाता

१ पुष २०७८, बिहीबार
604 shares

प्रकाश आचार्य
बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल प्रदेशकै ठूलो र पुरानो सरकारी अस्पताल हो । अस्पताल परिसरभित्रै भर्खरै निर्माण सम्पन्न भएको विशाल भवनमा समेत आफ्नो विस्तारित सेवा सुुरू गरेर सेवाग्राहीलाई सेवा प्रवाह गरिरहेको छ । प्रादेशिक अस्पतालभन्दा नाक खुुम्चाउने बिरामीहरूको रोजाइँमा अस्पतालको उपचार सेवा पर्न थालेको छ ।

कुनै समय विभिन्न विकृति र अस्तव्यस्तता कारण आलोचना भोगेको अस्पतालले अहिले भौतिक पूर्वाधारको विकास, विशेषज्ञ सेवाको सञ्चालन, आवश्यक उपकरणको व्यवस्थापन र प्रशासनिक सुधार गर्दै विगतको छविमा परिवर्तन गरेको हो । पछिल्लो दुई वर्षको अवधिमा अस्पतालको भौतिक संरचनाको विकाससहित सेवामा समेत सुधार ल्याएको छ ।

अस्पतालले अत्याधुनिक उपकरण, मेसिन र औंजारहरूसँगै नयाँ किसिकबाट सेवा दिँदै आएको छ । विभिन्न सेवा अनुसारका करिब ६० जना बढी विशेषज्ञ चिकित्सकहरू प्रत्यक्ष रुपमा कार्यरत रहेका छन् । मुुलुुक संघीय शासन प्रणालीमा गएपछि अस्पताल प्रदेश मातहत आएको हो । प्रदेश सरकार मातहतमा आएपछि भने अस्पतालको ठूलो फड्को मारेको छ । त्यस समय अगाडि अस्पतालको अवस्था निकै नाजुक थियो ।
लुुम्बिनी अञ्चलका १२ जिल्ला, गण्डकीका बाग्लुुङ, स्याङ्जा र पर्वतका बिरामीहरूको लागि पायक पर्ने अस्पताल हो । अस्पताल उपचारका लागि आउने सबै जसो बिरामीहरूको उपचारमा समेत थप सहज भएको छ । प्रदेशमै जटिल प्रकृतिका रोगकोे शल्यक्रियामा पनि सफलता पूर्वक हुने गरेका अस्पतालले जनाएको छ । यसले अब उपचारका लागि बाहिर जानैपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ ।

त्यस्तै ४ करोड आफ्नै स्रोतको लगानीमा १४ क्याविन भवन थप गरिएको छ । अस्पतालको शैया अब ५०० नजिक पुगेका छन् । अस्पतालमा अहिले दैनिक करिब १ हजार बिरामीले उपचार सेवा लिँदै आएका छन् । अस्पताल परिसर चिटिक्क छ । बाहिरबाट आउने बिरामीलाई ठाउँठाउँमा हात धुुने धारा र साबुनको व्यवस्था छ । उचित शौचालय बिरामी र बिरामीका आफ्न्तले सहज भएको छ । बिरामीका लागि वेयटिङ हल बनेको छ ।
विसं १९६७ फागुन १५ गते जितगढीमा स्थापना भएको अस्पताल २०२४ सालमा लुम्बिनी अञ्चल अस्पतालका रुपमा परिणत भएको थियो । २०७५ माघमा प्रदेश मातहत आएर अहिले लुम्बिनी प्रादेशिक अस्पतालका रुपमा सञ्चालित छ । अस्पतालमा प्रायः सबै रोगका विशेषज्ञहरु छन् । अस्पतालका चिकित्सकले अस्पतालभित्र भन्दा बाहिरका निजी क्लिनिकमा बढी समय मेडिकल सुुपरिटेन्डनले निर्देश गरेका छन् । उनले आफू पनि निजी क्लिनिक र अस्पतालमा बिरामी हेर्न छाडेका छन् ।

प्रदेश सरकारले अस्पतालमा विशिष्टीकृत सेवा सञ्चालन गर्न प्रक्रिया अघि बढाएको छ । प्रदेशको गौरवको आयोजनाका रुपमा लिएर प्रादेशिक अस्पताललाई विशिष्टीकृत अस्पतालका रुपमा विकास र विस्तार गर्नका लागि गुुरुयोजना बनिसकेको छ । अस्पतालको स्तरवृद्धि गर्दै जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा दिने रणनीतिअनुरुप काम अगाडि बढाएको प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजीत थारुले बताए ।

अस्पताल विकास समितिका अध्यक्ष सुर्यबहादुर भट्टराईले अस्पतालमा सहज उपचार गर्ने सबै सेवामा मिलेको बताए । अस्पतालका हाताभित्र रहेका सटरहरू हटाएर कम्पाउण्ड निर्माण भएको छ । समुचित स्वच्छ पिउने पानी, शौचालय र बिरामी वेयटिङ हल बनेको छ । त्यस्तै बहिरंग विभाग (ओपिडी) ब्लकको बिस्तार गरिएको छ । आकस्मिक कक्षको क्षमता २० बाट ५० पु¥याइएको छ ।

कोभिडका बिरामीका लागि आइसियू सेवा सञ्चालनमा आएको छ । रेडियोलोजिष्ट विभाग सुरु भएको छ । सर्जिकल वाड, नयाँ पोष्ट अपरेशटिभ वाड निर्माण भएको छ । कोभिड संक्रमित बिरामी र एचआइभी पोजेटिभ बिरामीका लागि छुट्टै डाइलाइसिस सेवा सञ्चालनमा आएको छ । ५० शैयाको क्याबिन हालै थपिएको छ । औषधि फार्मेसी र विभागको क्षमता बिस्तार गरिएको छ । अक्सिजन युनिटको स्थापना गरिएको छ । अस्पतालको क्यान्टिनको स्तरउन्नति गरिएको छ । प्रयोगशालालाई आधुनिक भवनमा स्थापनान्तरण गरिएको अध्यक्ष भट्टराईले बताए । थी सबै काम पछिल्लो दुई वर्षभित्र भएका हुन् ।

अस्पतालमा ३६ बेडको आइसियू सेवा, ६० बेडको मेडिकल वार्ड, ५० बेडको अर्थोपेडिक विभाग सञ्चालनको तयारीमा छन् । त्यस्तैगरी ७ वटा भिआइपी क्याबिन पनि सञ्चालनको अन्तिम तयारीमा रहेको भट्टराइको भनाइ छ । त्यस्तै पिउने पानीका लागि बृहत् जल परियोजनाअन्तर्गत टेन्डरको प्रक्रियामा छ । अस्पतालमा सहज विद्युतको लागि सिएसएसटी भवनको काम अन्तिम चरणमा पुगेको छ । मृत्यु भएका कोभिड संक्रमित र अन्य शव राख्न छुट्टा छुट्टै मर्चरी निर्माण भएको छ । अब मर्चरीमा २० वटा शव राख्न मिल्नेछ । हरेक भवनमा जान छुट्टाछुट्टै बाटो बनेको छ ।

अस्पतालले यहीँ मंसिर १५ गतेदेखि ‘पेन क्लिनिक’ सञ्चालन गरेको छ । अब अस्पताल समयभन्दा पछि दिउँसो साढे तीन बजेपछि केही शुल्क लिएर डाक्टरले बिरामी हेर्न सक्नेछन् । त्यसको लागि ओपिडी र अपरेशन सेवा रहनेछन् । त्यसको लागि ३७५ रुपैयाँ शुल्क निर्धारण भएको छ ।
बिरामीलाई केही सस्तो र डाक्टरहरुलाई पनि निजी क्लिनिकमा भन्दा अस्पताललाई प्रोत्साहन मिल्ने गरी यस्तो सेवा सुरू गरिएको अस्पतालका मेडिकल सुपरीटेन्डन डा. इन्द्र ढकालले बताए । महिलो र बाल रोग विभागको भवन बन्दै गरेको छ । अस्पतालमा अहिले १०० चिकित्सक, २५० स्टार्फ नर्स, प्यारामेडिक्स, कर्मचारी गरी ७०० जना कार्यरत छन् । डेलिभरीको लागि प्रादेशिक अस्पतालको सेवा धेरै राम्रो छ । अस्पतालको प्रसुति विभागका अनुसार अस्पतालमा वार्षिक १२ हजार गर्भवती महिलाले बच्चा जन्माउने गर्छन् ।

अब ओपिडी भवन निर्माण, बिरामी कुरुवाका लागि आवास गृह र कर्मचारीलाई बस्नको लागि क्वाटर निर्माण बने अस्पतालका चाहिने सबै सेवा सुविधा पुग्ने भट्टराईको भनाइ छ । अस्पतालको नयाँ गुरुयोजना निर्माण भएको छ । प्रदेश सरकारले गौरवको आयोजनाका रुपमा लिएको यो अस्पतालकोे नया गुरुयोजना अबको १ सय बर्षका लागि अनुमान गरिएको छ । प्रदेश योजना आयोगले प्रदेश सरकार मातहतमा रहेको अस्पतालको गुरुयोजना तयार पारेर प्रदेश सरकारलाई बुझाएको हो ।

गुरूयोजनाअनुसार अस्पतालको संरचनाका लागि १४ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ भने मुख्य भवन १० तलाको बनाइनेछ । अस्पतालको छतमा हेलिप्याडसमेत हुनेछ । जसमा १२ सय शैया बनाइनेछ । हेलिप्याडबाट सिधै इमर्जेन्सीमा झर्ने लिफ्ट हुने गरी गुरुयोजना निर्माण गरिएको छ । प्रदेश योजना आयोगका निर्वतमान उपाध्यक्ष डा. ईश्वर गौतमले गुरुयोजना अनुसार अस्पताल बने देशकै राम्रो अस्पताल बन्ने बताए । गुरुयोजना अघिल्लो शंकर पोखरेल नेतृत्वमा सरकार अगाडि बढाएको थियो ।

‘यो देशकै लागि नमुना काम हो, हामी सबैले सहयोग ग¥यौं भने हाम्रा सन्ततिका लागि पनि यो उदाहरणीय बन्नसक्छ, आम नागरिकको सहज सुविधा पाउन सक्छन ।’ गौतमले भने । संघ र प्रदेश सरकारको बजेट तथा निजी क्षेत्रको समेत आर्थिक सहभागितामा निर्माणका लागि रकम जुटाउने बताए । डीपीआर तयार भएसँगै भवन निर्माणको काम सुरु हुने प्रदेश सरकारको योजनामा उल्लेख छ ।

आर्किटेक इन्जिनियर विष्णु पन्थीले गुरुयोजना प्रस्तुत गर्दै अस्पतालको डिजाइन अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाइएको बताए । पन्थीले गुरुयोजनाअनुसार बन्ने अस्पतालमा सबै विशेषज्ञ सेवा आधुनिक भवनबाट दिन सकिने बताए । उनले सबै वार्डहरुलाई अन्तर्राष्ट्रिय शैली र मापदण्डअनुसार बनाएकाले जुनसुकै सरुवा रोगका बिरामीको उपचारमा पनि समस्या उत्पन्न नहुने जनाइएको छ । गुरुयोजना अनुसार अस्पताल बनाउनको लागि सेक्टर बने कार्यालयको जग्गा पनि अस्पताल मातहत ल्याउने प्रक्रिया अगाडि बढिसकेको छ । वनको जग्गा अस्पताल मातहत आएर भवन बनेपछि आवश्यक सबै जग्गा पुग्नेछ ।