रेसुङ्गामा पर्यटन विकासमार्फत समृद्धिको आशा

मेचीकाली संवाददाता

५ पुष २०७८, सोमबार
1099 shares

टोपलाल अर्याल
गुल्मी । रेसुङ्गा नगरपालिकाले पर्यटन विकासमार्फत समृद्धिको आशा व्यक्त गरेको छ । निर्माणधीन रेसुङ्गा विमानस्थलको काम पुरा हुनेबित्तिकै रेसुङ्गाको पर्यटकीय सम्भावना झनै बढ्नेछ । पर्यटकन विकासनै रेसुङ्गा नगरसंगै जिल्लाको समृद्धिको आधार हो । विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुगेका बेला रेसुंगा नगरपालिकाले रेसुङ्गा र अर्जुनसहितका सम्भावित ठाउँहरुमा ठुलो लगानीमा पर्यटकीय संरचना निर्माणमा जोड दिइरहेको छ ।

गर्जुरा पार्क
रेसुङ्गा नगरपालिकाले पछिल्लो समय रेसुङ्गाकै आधार क्षेत्र गर्जुरामा आकर्षक पर्यटकीय पार्क निर्माणको काम अगाडी बढाएको छ । ५ करोड ५९ लाख ५३ हजार खर्च गरेर ‘गर्जुरा रेसुङ्गा पर्यटन पार्क’ निर्माणको काम भइरहेको छ । ३ दशमलव ९६ हेक्टर क्षेत्रफलमा गर्जुरा पर्यटकीय पार्क निर्माण हुने रेसुङ्गा नगरपालिकाका सूचना अधिकारी शंकरप्रसाद गौतमले जानकारी दिए ।

पार्क क्षेत्रभित्र भ्युटावर, भिरमा पिङ्ग, पाँचवटा पिकनिक ट्रस, फोटोग्राफी जोन, बालबालिकाका प्ले जोन, पिकनिक स्पोर्ट, भलिबल र ब्याडमिन्टन मैदान, शौचालय र टिकट काउन्टर निर्माण गरिने गौतमले बताए । ०७९ फागुन ३० गते काम सम्पन्न गर्ने गरेर पर्यटकीय पार्कको धुलिखेल, अर्जुन न्यू लिजा जेभी तम्घास गुल्मीले निर्माणको सम्झौता गरेको गौतमले बताए ।

आन्तरिक पर्यटकको नयाँ गन्तव्य ट्री–हाउस र सेल्फी टावर
ट्री–हाउस, यो तम्घास नजिक पर्ने भएकाले आन्तरिक पर्यटकको सजिलो पर्यटन गन्तव्य बनेको छ । रेसुङ्गा नगरपालिका–७ उनायचौरमा आन्तरिक पर्यटक आकर्षित गर्ने उद्देश्यले आर्कषक ट्री–हाउस निर्माण गरिएको छ । ट्री–हाउसमा बस्ने, रमाइलो गर्ने, तस्विर खिच्ने र तम्घाससहित उत्तरका मनमोहक हिमशृङ्खला दृश्यावलोकन गर्न सकिने भएकाले बिदामा पुग्ने विद्यार्थी र कर्मचारीको घुइँचो हुने गरेको छ ।

रेसुङ्गा नगरपालिका वडा नं ७ का वडाध्यक्ष मोहनप्रसाद पाण्डेयले जानकारी दिए । उनायचौरमा ‘ट्री हाउस’, भगवती मन्दिर र खेलकुद मैदानको लागि अहिलेसम्म एक करोड ५० लाख खर्च भएको पाण्डेयले बताए । रेसुङ्गापछिको अर्को पर्यटकीय तथा धार्मिक स्थल अर्जुन डाँडा हो । तम्घासबाट गाडीमा २० मिनेटमा पुगेपछि हिँडेर पुग्नेहरु धेरै हुन्छन् । तम्घासबाट नजिक र ऐतिहासिक एवं धार्मिक दृष्टिकोणले प्रसिद्ध भएकाले पछिल्लो समय अर्जुनको विकासमा जोड दिइएको छ । त्यस आर्कषक प्रदेशद्वार, अर्जुन भगवति मन्दिर, पोखरी र पार्कसहित गुल्मी र अर्घाखाँचीका मनोरम स्थान एवं उत्तरका हिमाल देखिने भएकाले पछिल्लो समय पर्यटकीय गन्तव्यको बन्दै गएको छ ।

अहिलेसम्म प्रदेश र स्थानीय तहको साझेदारीमा अर्जुनडाँडा पर्यटन पुर्वाधारअन्तर्गत ४० लाख बराबरको भौतिक संरचना निर्माणको काम भएको रेसुङ्गा नगरपालिकाका योजना अधिकृत बिनोद मरासिनीले बताए । त्यस्तै अर्जुनकै काखमा निर्माण भएको सेल्फी टावरले पनि पर्यटकको संख्यामा वृद्धि भएको छ । बजार वा छिमेकी स्थानीय तहबाट अर्जुनडाँडा पुग्ने पर्यटकलाई मनमोहक हिमशृङ्खलाहरुको तस्विर खिच्न सेल्फी टावर निर्माण गरिएको छ । टावरबाट एकचोटीमा १५ देखि २० जनासम्मले अवलोकन गर्न सकिने व्यावस्था मिलाइको छ । करिव दुई हजार मिटर उचाइमा रहेको अर्जुनडाँडा धार्मिक एवं प्राकृतिक रुपमा महत्वपूर्ण रहेको छ ।

टोलटोलमा करोडौँका पर्यटकीय पूर्वाधार
रेसुङ्गा, अर्जुन, उनायचौर र गौशालासगै वडाहरुमा पनि पर्यटकीय संरचना निर्माणको काम भइरहेका छन् । जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समिति गुल्मीको अगाडी थ्रिडी पार्क नर्माण गरिएको छ । सो ठाउँमा पुरानो लाँकुरीको रुखसहितको चौपारी थियो । स्थानीय तहपछि लाँकुरीको रुख बुढो र युवा पुस्ताहरुलाई आकर्षित गर्न रेसुङ्गा नगरपालिका र लुम्बिनी प्रदेश सरकारको साझेदारीमा ५५ लाखको लागतमा थ्रिडि पार्क निर्माण गरिएको थियो । शंख र पानी फोहोरासहितको पार्क निर्माण गरिएको रेसुङ्गा नगरपालिका वडा नं ८ का वडाध्यक्ष भरत भलामीले बताए । यद्यपि उपभोक्ता समितिले पार्क हस्तान्तरण गरेको छैन ।

सामान्य प्राविधिक कारणले पार्कको नियमित सञ्चालन र व्यववस्थापनमा समस्या भएको भलामीले बताए । रेसुङ्गा नगरपालिका वडा नं १ मा एक करोडको आर्कषक भगवती मन्दिर, वडा नं ९ मा ५० लाखको बाल उद्यान र ३० लाखको तम्घासस्थान मन्दिर निर्माणको चरणमा छन् । त्यस्तै वडा नं १० मा १० लाखको सिमिचौर मन्दिर र वडा नं १३ मा होमस्टे संचालनको लागि १५ लाख खर्च गरिएको रेसुङ्गा नगरपालिकाका प्रवक्ता पदम अर्यालले जानकारी दिए । भुवाने डाँडामा पिकनिकस्थल निर्माणको लागि पाँच लाख खर्च गरिएको छ भने अहिले रेसुङ्गा क्षेत्रमै रेसुङ्गा पर्यटन पुर्वाधारको लागि १५ लाख बिनियोजन भएको छ । ६५ लाखको लागतमा वडा नं ४ जोगीथुमस्थित भगवति मन्दिर निर्माणको काम पनि चालू अवस्थामा रहेको छ ।

गन्तव्य जोगाउन पौवा रिसोर्टसँगै संरचना विकासमा जोड
रेसुङ्गाको धार्मिक तथा पर्यटकीय विशेषता महत्वपूर्ण छ । तर, सोचेको विकास विगतमा भएनन् । त्यसैले रेसुङ्गा नगरपालिकाले रेसुङ्गाका विभिन्न क्षेत्रमा पर्यटकीय संरचना निर्माणमा जोड दिएको छ । रेसुङ्गाको पोखरी नजिक सार्वजनिक निजी लगानीमा १० करोडको पौवा रिसोर्ट सञ्चालनमा ल्याएको छ । जसका कारण रेसुङ्गा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई खान र बस्न सुविधा भएको छ । पर्यटक आउने क्रम चौगुणाले बढेको छ । रेसुङ्गामा श्रृङ्गे ऋषिसंगको जोडिएको ५ हजार बर्ष पुरानो धार्मिक तथा ऐहिहासिक महत्व रहेको छ । बिशेष गरेर साउन र कार्तिकका दुई ठुला एकादशीका ठुलो मेला लाग्ने गर्दछ ।

रेसुङ्गा पोखरीमा नुहाउने तथा मैरीमा पुजा गर्नको लागि गुल्मीसहित पाल्पा, अर्घाखाँची, बाग्लुङ्ग र प्युठानका श्रद्धालु भक्तजनहरुको उपस्थिति हुने गर्दछ । पोखरीमा नेपालका चार धामको पानी मिसिएकाले एकादशी र साउनमा नुहानेहरुको घुइँचो हुने रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिए । पहिले तम्घासबाट रेसुङ्गा पोखरी पुग्नै कच्चि सडक भएकाले अप्ठयारो थियो । पोखरीदेखि यज्ञशालासम्मको सडक पनि सहज थिएन । अहिले तम्घासदेखि पोखरीसम्म सडक कालोपत्रे हुँदैछ । पोखरीदेखि यज्ञशालाहुँदै सिद्धबाबा मन्दिरसम्म दुई करोडको लागतमा आर्कषक पैदल मार्ग (सिँढी) निर्माण गरिएको रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिए ।

रेसुङ्गा पोखरीदेखि यज्ञशाला हुँदै सिद्धबाबा मन्दिरसम्म दुई लेनको रेलिङसहितको एक हजार दुई सय ७५ सिडीसहितको पैदल मार्ग निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटकको समेत वृद्धि भएको छ । अझै पैदल मार्गको दुवैपट्टि फलफुल, बीच भागमा आर्कषक मैरो निर्माण, राम कुवाको संरक्षण तथा विभिन्न ठाउँमा बगैँचा निर्माणलगायतका संरचना निर्माणको काम बाँकी रहेको मरासिनीले बताए । रेसुङ्गा यज्ञशाला परिसरमा वाल र अन्य संरचना निर्माणमा ५० लाख र सानो रेसुंगामा ७५ लाखको लागतमा ऋषिश्रृङ्गे मन्दिर निर्माण गरिएको छ भने ३० लाखको लगानीमा गौशाला निर्माणको काम गरिएको मरासिनीले बताए ।

पर्यटन विकास नै रेसुङ्गाको समृद्धिः नगरप्रमुख
पहाडी जिल्लाहरुको समृद्धिको प्रमुख आधार कृषि र पर्यटन हो । जिल्लामा ठुला उद्योगहरु छैनन् । स्थानीय तहहरुले जिल्ला रहेका प्राकृतिक एवं धार्मिक स्थलहरुको विकाससंग कृषि उद्यमलाई जोडेर अगाडी बढाइरहेका छन् । गाउँ–गाउँमा सडक सञ्जालको बिस्तार र सुविधाहरु पुगेकाले तम्घासको अस्थित्व जोगाउन रेसुङ्गा नगरपालिकालाई निकै चुनौति रहेको छ ।

रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले रेसुङ्गा र अर्जुन क्षेत्रको पर्यटकीय विकास गरेर तम्घासप्रतिको आर्कषण बढाउन नसकिए बसाइराई रोक्ने नसकिने बताए । मेयर भुसालले आफू निर्वाचित भएपछि रेसुंगा र अर्जुनसंगैका क्षेत्रको पर्यटकीय संरचना उल्लेख्नीय काम गरेको बताउँदै निर्माणाधिन रेसुङ्गा विमानस्थल संचालनमा ठुलो उपलब्धि हुने बताए । ‘रेसुङ्गाको समृद्धिको आधार पर्यटन नै हो । मेरो कार्यकालमा संरचना निर्माणको काम भइरहेका छन्,’उनले भने,‘विमानस्थल संचालनसंगै नयाँ चमक आउनेछ ।’

रेसुङ्गा नगरपालिकाले स्थानीय, प्रदेश र संघसँगको समन्वयमा पर्यटन विकासको लागि रेसुङ्गा, अर्जुन र उनायचौरसहितका पर्यटकीय क्षेत्रलाई जोडेर रेसुङ्गा सर्किट बनाउने योजनाका साथ काम गरिरहेको छ । जसका लागि अहिलेसम्म २५ करोड बढी खर्च भएको छ । सर्किटका कारण पर्यटन पुर्वाधारको निर्माण, आन्तरिक र बाह्य पर्यटकको आगमनमा बृद्धि र आन्तरिक आयमा वृद्धि हुने नगरपालिकाको अपेक्षा रहेको छ ।