नेपालमा कोरोनाको तेस्रो लहरको खतरा !

मेचीकाली संवाददाता

२२ पुष २०७८, बिहीबार
271 shares

काठमाडौं । नेपालमा पछिल्लो केही दिनयता कोभिड–१९ को संक्रमण बढ्दो क्रममा छ । दैनिक थपिने संक्रमितको संख्या सबैजसो प्रदेशमा बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ । विशेषगरी काठमाडौं उपत्यकामा थपिने संक्रमितको संख्या निरन्तर उकालो लाग्दो छ । छिमेकी मुलुक भारतमा नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्र रूपमा फैलिनु र यहाँ संक्रमित बढ्नुले नेपालमा ओमिक्रोनकै कारण माघ दोस्रो सातासम्म कोभिड–१९ को तेस्रो लहर आउन सक्ने आकलन विज्ञहरूले गरेका छन् ।

नेपालमा यही पुसका २० दिनमा पाँच हजार ६१ जना कोभिड–१९ संक्रमित थपिएका छन् । पुस १९ गतेसम्म देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ९४ रहेकोमा सबैभन्दा धेरै काठमाडौं उपत्यकामा दुई हजार २०८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार भारतसँग सीमानाका जोडिएका जिल्लाहरूमा कोभिड–१९ संक्रमित देखिने दर बढेको छ । महाशाखाले नेपालमा ओमिक्रोन संक्रमण देखिनु र सीमानाकामा ‘पोजिटिभ केस’ बढ्नुलाई आधार मानेर संक्रमण बढ्दै जाने संकेत गरिसकेको छ । यो अवस्थामा विज्ञहरूले पनि माघको दोस्रो सातादेखि कोभिड–१९ संक्रमणको तेस्रो लहर आउन सक्ने आकलन गरेका छन् ।

सीमा नाकामा थपिँदै नयाँ संक्रमित
सरकारले भारत जान–आउन स्थलमार्गका १३ नाकालाई आधिकारिक नाकाको रूपमा तोकेको छ । तीबाहेक अरू नाकाबाट पनि दैनिक ठूलो संख्यामा नेपाल–भारत आउजाउ हुने गरेको छ । ती नाकामा सरकारको हेल्थ डेस्क र परीक्षणको कुनै व्यवस्था गरेको छैन ।

हेल्थ डेस्क सञ्चालन भएका नाकाहरूबाट दैनिक तीन हजारको हाराहारीमा भारतीय र नेपाली नागरिकहरू भित्रिने गरेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक छ । मंगलबार सुदूरपश्चिम प्रदेशमा मात्रै पीसीआर र एन्टिजेन विधिबाट ९७२ वटा नमुना परीक्षण गर्दा ४० जनामा संक्रमण पुष्टि भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ । मंगलबारको तथ्यांकानुसार नेपालमा टेस्ट पोजिटिभिटी दर ४.२१ प्रतिशत छ । नेपालीहरू कामकाजका लागि जाने–आउने गरेका दिल्ली, उत्तराखण्ड, विहार, महाराष्ट्रलगायत भारतका राज्यमा ओमिक्रोन संक्रमण बढेको छ । यी राज्यबाट नेपाल भित्रिनेमा एस जिन नेगेटिभ हुनेको दर बढेको छ । एस जिन नेगेटिभ देखिएका नमुनाहरूमा नयाँ भेरियन्ट रहेको आशंकामा थप परीक्षणका लागि जिन सिक्वेन्सिङ गर्ने गरिएको छ ।

‘नेपालमा डेल्टा भेरियन्ट आइसकेपछि एस जिन नेगेटिभ आउने नमुनाहरू भेटिन छोडिसकेका थिए । त्यसअघि एस जिन नेगेटिभ देखिँदा अल्फा हो भन्ने अनुमान लगाइन्थ्यो । पछिल्लो केही दिनयता परीक्षण गरिएका नमुनाहरूमा एस जिन नेगेटिभ देखिनुलाई हामीले ओमिक्रोन हुन सक्ने आशंकामा जिन सिक्वेन्सिङ गरिरहेका छौँ । नतिजा आउन बाँकी छ,’महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले भने ।

‘तर, यसअघिका अनुभवलाई हेर्दा भारतमा संक्रमण बढेसँगै नेपालमा पनि संक्रमितको संख्या उकालो लाग्ने गरेको छ । यस अर्थमा केसहरूको नजिकबाट मनिटर गर्न हामीले सबै नाकामा निर्देशन दिएका छौँ,’डा. पौडेलले थपे ।

तेस्रो लहरको सम्भावना
पछिल्लो साता वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ का नयाँ संक्रमित थपिनेको दर २१ देखि ३७ प्रतिशतले बढेको मन्त्रालयको तथ्यांक छ । यिनै तथ्यांकको आधारमा नेपालमा अबको तीन सातापछि कोभिड–१९ को संक्रमणले तेस्रो लहरको रूप लिन सक्ने विज्ञहरूको आकलन छ । नेपाल र भारतको कोभिड संक्रमणको अवस्थालाई नजिकबाट अनुसन्धान गरिरहेका इपिडिमियोलोजिस्ट डा.विराज कर्माचार्य भन्छन्,‘अहिले विभिन्न प्रदेशमा संक्रमणको अवस्था र भारतमा देखिएको ओमिक्रोनको फैलावटलाई हेर्दा अबको तीन सातामा नेपालमा कोभिड संक्रमण उच्च हुने देखिन्छ । ओमिक्रोनकै कारण तेस्रो लहरको जोखिम पनि त्यत्तिकै बढेको छ ।’

डा. कर्माचार्य थप्छन्,‘हामीले अहिलेसम्म ओमिक्रोनलाई डेल्टाभन्दा कम घातक छ भनी बुझिरहेका छौँ । तर, ओमिक्रोन बढी संक्रामक भएकै कारणले नेपालमा संक्रमितको संख्या उच्च हुने सम्भावना बढी हुन्छ ।’ अहिले चलिरहेको खोप कार्यक्रममा सबै समूहलाई समेट्न नसकिएका कारण पनि संक्रमण बढ्न सक्ने जोखिम थपिएको डा. कर्माचार्य बताउँछन् । डा. कर्माचार्यको जस्तै भनाइ छ जनस्वास्थ्यविद् डा. शरद वन्तको पनि । नेपालमा पछिल्लो समय कम हुँदै गएको जनस्वास्थ्यका मापदण्डको पालनाले ओमिक्रोन भेरियन्ट तेस्रो लहरको एउटा बलियो करण बन्न सक्ने उनी बताउँछन् ।

नेपालमा कोभिड–१९ विरुद्धको खोप कार्यक्रम पनि विभिन्न आरोह–अवरोहका बीच सुस्त गतिमा अघि बढिरहेको छ । वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन्,‘खोप कार्यक्रम सबैको पहुँचमा पु¥याउनु जरुरी त छ नै, यदि संक्रमण उच्च भएकमा पहिलो चरणमा खोप लगाएका र रोगप्रतिरोधी क्षमता कम भएका नागरिक पनि उत्तिकै जोखिममा पर्नेछन् ।’ अहिलेसम्म खोप नपाएका बालबालिका पनि संक्रमणको जोखिममा पर्ने डा. कर्माचार्य बताउँछन् । ‘नेपालमा तेस्रो लहरको संक्रमण भित्रिएमा सबैभन्दा बढी जोखिममा बालबालिका पर्नेछन् । मास फेस गर्ने वर्ग भएकाले र धेरै बालबालिकाले खोप नपाएका कारण पनि उनीहरू जोखिममा पर्ने सम्भावना बढी छ,’डा. कर्माचार्यले भने ।

तेस्रो लहर आउन नदिन तयारी के छ ?
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पुस १७ गते प्रदेश र स्थानीय तहका सम्बन्धित निकायहरूलाई निर्देशन दिँदै भन्यो,‘कोभिड–१९ का केसहरू बढ्न नदिन पूर्वतयारीका साथ रहनू ।’ त्यसमा सीमानाकामा परीक्षणमा कडाइँ गर्नेदेखि जनस्वास्थ्यका मापदण्ड अपनाउनसमेत आग्रह गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुस १९ गतेदेखि लक्षित वर्गलाई दिने भनिएको कोभिड–१९ विरुद्धको अतिरिक्त खोप कार्यक्रम पनि स्थगित गरेको छ । सबै नागरिकलाई पूर्ण खोप लगाउनु नै सरकारको प्राथमिकतामा पर्ने मन्त्रालयको भनाइ छ । स्वास्थ्यसचिव डा. रोशन पोखरेल एक साताअघि सातै प्रदेशका अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको बताउँछन् । कोभिड युनिफाइड अस्पताल वीर अस्पतालमार्फत अस्पतालहरूलाई व्यवस्थापन चुस्त बनाउन र संक्रमण बढ्न गएमा सोहीअनुसार तयारी अवस्थामा रहन निर्देशन दिइएको डा. पोखरेलको भनाइ छ । तर, संक्रमणको बढ्दो अवस्थालाई हेर्दा सरकारको अहिलेको तयारी पर्याप्त नभएको विज्ञहरू बताउँछन् ।

भएभरको संयन्त्र प्रयोग गर्ने बेला आयो : विज्ञ
नेपालमा कोभिड–१९ को तेस्रो लहर भित्रिन नदिन अहिले भएका सबै संयन्त्रको भरपुर उपयोग गर्न विज्ञहरूको सुझाव छ । खोप कार्यक्रमलाई प्रभावकारी बनाउन अहिले उपलब्ध जनशक्तिको प्रयोगबाट घरदैलो कार्यक्रम गर्नुपर्ने सुझाव छ, जनस्वास्थ्यविद् डा. वन्तको । ‘अहिले हामीसँग खोप पर्याप्त छ । तर, त्यसको व्यवस्थापकीय पाटो बलियो नहुँदा पर्याप्त प्रभावकारी हुनसकेको छैन । हामीसँग पहिलो लहरमा भन्दा बलियो संरचना र स्रोतसाधन छन् । तर, त्यसको भरपुर उपयोग भएको म देख्दिनँ । यदि, तल्लो तहदेखि नै सबै स्रोत र जनशक्ति परिचालन गर्ने हो भने तेस्रो लहरको जोखिमबाट बच्न मद्दत पुग्नेछ,’ डा. वन्तले भने ।

अबको तीन हप्तामा पनि रोकथामका धेरै कामहरू गर्न सकिने डा. कर्माचार्य बताउँछन् । अहिले चलिरहेको खोप कार्यक्रमलाई नै ‘एग्रेसिभ क्याम्पियन’ को रूपमा अगाडि बढाउन सके पनि तेस्रो लहरको जोखिम कम हुने उनको बुझाइ छ । कोभिड–१९ को जुनसुकै भेरियन्ट देखा परे पनि सर्ने तरिका एउटै भएकाले नागरिकस्तरबाट जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्नु नै संक्रमणबाट बच्ने प्राथमिक उपाय भएको विज्ञहरू बताउँछन् । जनस्तरबाट भिडभाडका कार्यक्रम नगर्न र राजनीतिक दलहरूले पनि त्यस्ता कार्यक्रम नगरी तेस्रो लहरको जोखिम ननिम्त्याउन उनीहरूको आग्रह छ । ‘दोस्रो लहरको संक्रमण जनस्तरकै लापरबाहीले फैलिएको कुरा हामीले बिर्सनु हुँदैन,’डा. पुन भन्छन् ।

नेपालले कोभिड–१९ का कठिनपूर्ण दुईवटा लहर पार गरिसकेको छ । यो अवधिमा कोभिड संक्रमणकै कारण ११ हजार ६०१ जनाको ज्यान गइसकेको छ । कोभिडको पहिलो र दोस्रो लहरमा सरकारी अनुगमन फितलो भएकै कारण आइसोलेसन सेन्टरहरूबाट पनि धेरै संक्रमण फैलिएको थियो । त्यस्तै, सीमानकामा परीक्षण र संक्रमितको व्यवस्थापन फितलो हुँदा संक्रमण समुदायस्तरमा फैलिएको विश्लेषण छ, डा. वन्तको । बन्द आइसोलेसन सेन्टरहरू सक्रिय गराउनु, कन्ट्याक ट्रेसिङ बढाउनु, नाका र ‘हटस्पट’हरूमा परीक्षणको दायरा बढाउनु नै सरकारको तर्फबाट संक्रमण नियन्त्रणका मुख्य उपायहरू भएको डा. वन्तको बुझाइ छ । ‘अबको अवस्थामा संक्रमण बढिहाले पनि नागरिक आफ्नो सुरक्षा आफैँ गर्न जिम्मेवार बन्नुप¥यो । सँगसँगै सरकारले जनस्वास्थ्यका मापदण्ड पालना भए÷नभएको कडाइका साथ अनुगमन गरोस् । ताकि, पहिलो र दोस्रो लहरमा भएजस्ता ससाना त्रुटिहरू संक्रमण फैलिने कारक नबनून्,’डा. वन्तले भने ।