बुटवल उपमहानगरको नयाँ भवन उद्घाटन, विकासका काममा सहकार्य गर्न आग्रह

मेचीकाली संवाददाता

५ माघ २०७८, बुधबार
499 shares


बुटवल। बृहत बुटवलको परिकल्पना र महानगरीय अवधारणाका साथ बुटवल उपमहानगरपालिकामा नयाँ प्रशासकीय भवन निर्माण गरिएको छ । हाल १९ वटा वडा रहेको उपमहानगरलाई भविष्यमा विस्तार गरेर महानगर बनाउने र अझ बृहत बुटवलको परिकल्पनालाई साकार पार्ने दीर्घकालीन सोंचका साथ नयाँ आधुनिक भवन निर्माण गरिएको हो ।

तीन विगाह क्षेत्रफलमा अन्डरग्राउण्ड पार्किङ, अपांगमैत्री संरचना, आपतकालीन द्वार र संरचान, लिफ्ट र सेवाग्राही सहायता कक्षसहितका उपयुक्त संरचनासहित आधुनिक भवन निर्माण गरिएको छ । उक्त भवनको बुधबार एक संक्षिप्त समारोहमा भर्चुअल माध्यमबाट नेपाल सरकारका पूर्वउपप्रधान तथा अर्थमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष, रुपन्देही क्षेत्र नं. २ बाट निर्वाचित सांसद विष्णुप्रसाद पौडेलले उद्घाटन गरेका छन् ।

भवन परिसरमा आयोजित संक्षिप्त समारोहमा प्रमुख, उपप्रमुख र कार्यपालिका सदस्यहरु सहित लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्री, सांसदहरु, राजनीतिक दलका जिल्ला र बुटवलका प्रमुख तथा प्रतिनिधि, प्रजिअलगायत बुटवलका निजी क्षेत्रका अगुवाहरु सहभागी थिए । महामारीको जोखिमलाई मध्यनजर गर्दै उद्घाटन समारोहलाई संक्षिप्त र भर्चुअलमार्फत गरिएको थियो ।

पूर्वउपप्रधानमन्त्रीले भर्चुअलबाट नयाँ भवनको भिडियोमार्फत उद्घाटन गरेपछि समारोह स्थलमा पूर्वमन्त्री लिला गिरी, राष्ट्रियसभा सदस्य गोपाल भट्टराई भोजप्रसाद श्रेष्ठ, सांसद तुलसीप्रसाद चौधरी, उपमहानगरका प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीलगायतले शिलालेख र आदिमानव रामापिथेकशको प्रतिमा अनावरण गरेका थिए ।

विकासका मुद्दालाई साझा बनाऔं–पूर्वउपप्रधानमन्त्री पौडेल
भर्चुअलबाट सम्बोधन गर्दै पूर्वउपप्रधान तथा अर्थमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष र रुपन्देही क्षेत्र नंं २ का सांसद विष्णुप्रसाद पौडेलले विकासका मुद्दामा राजनीति नगर्न सत्तारुढ दलहरुलाई आग्रह गरेका छन् । रुपन्देहीमा सुरु भएका केही विशेष योजना रोक्नेगरी भएका आन्दोलनप्रति संकेत गर्दै उनले यस्तो बताएका हुन् ।

नेता पौडेलले विकासका कामले कुनै दल विशेषलाई भन्दा पनि सबैलाई फाइदा हुने बुझेर अगाडि बढ्न आग्रह गरेका हुन् । तिनाउ–दानव करिडोर क्षेत्रमा सत्तारुढ दलहरुकै अगुवाइमा योजनै प्रभावित बन्ने गरी भएका आन्दोलनले आफू चिन्तित भएको उनको भनाइ थियो ।
‘सबै दललाई, सामाजिक संघसंस्थालाई मेरो आग्रह छ, तिनाउ दानव करिडोरमा अर्बौंको बजेट व्यवस्थापन भएको छ, यो सडक मात्रै होइन, यो नदी नियन्त्रणको लागि पनि विशेष योजना हो, यो आयोजनाको सफल कार्यान्वयनले नदीको क्षति रोक्ने छ यसले कसैलाई घाटा बनाउने छैन’, उनले भने ।

पौडेलले रुपन्देहीमा बन्दै गरेको विमानस्थल, सबैतिरका ६ लेन सडक, अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल, पोखरा–नारायणगढ जाने तथा पश्चिम जाने सडकको स्तरोउन्नति, खानेपानी आयोजना, सिद्धबाबा सुरुङ मार्ग, नुवाकोट र वसन्तरपुरका दुई केबलकारका आयोजनाले केही वर्षमा यस क्षेत्रलाई नमूना बनाउने बताए ।

प्रकोपको जोखिमका रुपमा रहेका ज्योतिनगर, लक्ष्मीनगरका बस्ती, तिनाउ र दानव नदीको कटानको उच्च जोखिममा रहेका बस्ती र ठूला परियोजनाले प्रभावित हुने र विस्थापित हुने बस्तीलाई उपयुक्त ठाउँमा स्थानान्तरण गरेर, पीडितको उचित प्रबन्ध गरेर, उनीहरुको सुरिक्षत स्थानमा आवासको प्रबन्ध गरिने नेता पौडेलको भनाइ थियो ।

‘विकासप्रति हाम्रो दृष्टिकोण रुपनदेहीवासीले बुझेका छन्, केही योजनामा निर्माणमा विलम्ब भएको छ, तर कानूनी र प्रशासनिक जटिलता समाधान गरेर बजेटको प्रबन्ध भएकाले अब ढिलाइ गर्ने छुट कसैलाई छैन’, पौडेलले भने । बुधबार उद्घाटन भएको अधुनिक भवनको शिलान्यास पनि पूर्वउपप्रधान तथा अर्थमन्त्री एवम् एमाले नेता पौडेलले नै गरेका थिए ।

कार्यक्रममा नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्री एवम् प्रदेश सांसद लिला गिरीले आर्थिक विकासको केन्द्र बनेको रुपन्देहीमा बुटवल उपमहानगरका नमूना योजनाले पहिचान थपेको बताए । उनले अब दीर्घकालीन विकासका योजनालाई उपमहानगरले व्यवस्थित रुपमा अगाडि बढाइरहेको भन्दै प्रशंसा पनि गरे ।

उनले राजनीतिक प्रतिस्पर्धाका नाममा भइरहेका विकासका कामलाई अन्देखा गरेर विरोधका लागि विरोध नगर्न र आलोचना मात्रै गरेर राजनीतिक पूर्वाग्रह नराख्न आग्रह गरे । उक्त समारोहमा बोल्ने कांग्रेसका एकजना नेताको भनाइ प्रति लक्षित गर्दै नेता गिरीले शुभकामना व्यक्त गर्ने ठाउँमा सवाल जवाफ गर्ने, कामका फेहरिस्त माग्ने र अनावश्यक पूर्वाग्रह राखेर विचार प्रवाह गर्नु राम्रो नहुने बताए ।

पूर्वमन्त्री तथा प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले अब रुपन्देही आर्थिक विकासको केन्द्रका रुपमा अगाडि बढाउनुपर्ने बताए । अहिलेको सरकारले यसअघिको सरकारले संचालन गरेका विशेष योजनाको बजेट काट्ने, योजनाबाटै हटाउनेजस्तो गलत राजनीतिक संस्कारको अभ्यास गरेको बताए । उनले विकासको राजनीतिमा बल्छी राखेर नागरिकलाई अन्याय नगर्न सत्तारुढ दललाई आग्रह गरे ।

महानगरी अवधारणा र बृहत बुटवलको लक्ष्य : प्रमुख सुवेदी
उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले महानगरीय अवधारणाका साथ र बृहत बुटवलको लक्ष्यलाई साकार पार्ने उद्देश्यका साथ योजना तय गरिएको बताए । प्रमुख सुवेदीले नयाँ अत्याधुनिक प्रशासकीय भवन निर्माण पनि सोही योजना अन्तर्गतको एउटा पाटो रहेको बताउँदै पुरानो भवनका अधिकांश कार्यकक्ष भूकम्पले क्षतिग्रस्त भएका कारणले र सेवाग्राहीको सहजतालाई मध्यनजर गरी नयाँ भवन निर्माण गरिएको उल्लेख गरे । बुटवलको सहरी विकास गुरुयोजना, आवधिक र दीर्घकालीन योजनालाई उपयुक्त कार्यक्रम मार्फत कार्यान्वयन गरिरहेको प्रमुख सुवेदीको भनाइ थियो ।

भवन उद्घाटनको संक्षिप्त समारोहमा उपप्रमुख गुमादेवी आचार्यले नयाँ भवन अपांगमैत्री र सेवाग्राहीको सहजतालाई मध्यनजर गरेर निर्माण गरिएको बताउँदै सहज, गुणस्तरीय र छरितो सेवाप्रवाह गर्न कर्मचारीहरुलाई आग्रह गरिन् । प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले नयाँ भवनका संरचना र सेवाप्रवाहका बारेमा संक्षिप्त जानकारी गराउँदै सेवाप्रवाहलाई प्रभावकारी, गुणस्तरीय र छरितो बनाउनेतर्फ आफुहरु केन्द्रित रहने बताएका थिए ।

वरिष्ठ अधिकृत विष्णुप्रसाद खनालले समुदघाटन समारोहको सहजीकरण गरेका थिए । त्यसक्रममा भर्चुअलबाट जोडिनेहरुले उपमहानगरको नयाँ भवनसंगै सेवाप्रवाहलाई पनि प्रभावकारी बनाउन सुझाव दिएका थिए । सोही संक्षिप्त समारोहमा नेकपा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसी, नेपाली काँग्रेस बुटवल नगर सभापति खेलराज पाण्डे, उद्योग बाणिज्य संघ बुटवलका प्रमुख उज्वल कसजूलगायत बोल्दै भौतिक संरचनासँगै जनताले पाउने सेवा सुविधामा पनि राम्रो बन्नुपर्नेमा जोड दिएका थिए ।

यसक्षेत्रकै अत्याधुनिक भवन
२०१६ सालमा स्थापना भएको बुटवल उपमहानगरपालिकाको पुरानो प्रशासकीय भवन भूकम्पले क्षतिग्रस्त छ । भवनका अधिकांश कार्यकक्षहरुमा भूकम्पले क्षति पु¥याएपछि प्रयोग गर्न नमिल्ने अवस्था छ । यसैले नयाँ भवन निर्माण गरिएको हो । करिब तीन बिगाहा क्षेत्रफलमा निर्माण गरिएको भवनमा प्रमुख प्रशासनिकसहित अन्य छ वटा ब्लक रहने व्यवस्था गरिएको छ । पहिलो चरणमा ‘ए ब्लक’ अर्थात् प्रमुख प्रशासनिक भवन निर्माणको काम सम्पन्न भएको हो । चार तलाको अत्याधुनिक उक्त भवनको अनुमानित निर्माण लागत ५४ करोड ७८ लाख ४५ हजार ३८१ रहेको थियो ।

निर्माण कम्पनी विकोही, शिवशक्ति, बन्दन भगवती जेभी न्यू बानेश्वरले रु ४३ करोड ५३ लाख ४९ हजार ५७२ रुपैयाँ ८४ पैसामा २०७८ असारमा सक्ने गरी गत २०७७ असार ६ गते ठेक्का सम्झौता गरेका थिए । तर कोभिडका कारण केही ढिलोगरी मात्रै निर्माण कार्य सकिएको निर्माण कम्पनीले जनाएको छ ।

भवनमा अन्डरग्राउण्ड मोटरसाइकल तथा कार पार्किङ, बाहिरी पार्किङ तथा दुई अलग–अलग स्थानमा लिफ्ट र दुईवटा सिँढीको प्रवन्ध रहेको छ भने मुल गेटलाई जितगढि किल्लाको झल्को दिने गरी निर्माण गरिएको वरिष्ठ इन्जिनरियर सुमन श्रेष्ठले बताए ।