बैदेशिक जीवन संघर्ष, अनुभव र अनुभूति

मेचीकाली संवाददाता

२८ माघ २०७८, शुक्रबार
936 shares

दिलप्रसाद पौडेल
कन्टाकिर्णमय जीवनको उत्तरार्धतिर आईपुग्दा जिबनका हरेक उकाली ओराली संग सम्झौता गर्दै आज बेकसुर मरुभुमीको तातो वालुवासंग पौठेजोरी खेलिरहनु परेको छ । स्वप्निल सपना पूरा गर्ने योजना, लक्ष र उद्देश्य सहित प्रवास पसेका म जस्तै लाखौ मज्दुरहरु पीडा, वेदना, रोदन र चीत्कार बोकेर तड्पिईरहेका छन । खाडी मुलुक चारैतिर सेतो वालुवा अनि तातो हावा र पहाडजस्तै देखिने मस्जिदका थुम्काहरुले खिन्नता को उत्खनन् छातिभित्र भैरहेको जस्तै आभाष हुदोरहेछ । बिरानो ठाउँ, नया मान्छे, फरक भाषा र बेग्लै परिवेशले गर्दा हुनुपर्छ सायद मातृभुमीको याद सपना बनेर हर रात निद्रामा आईरहेको हुन्छ ।

सपनामा सजियको मेरो मन आशाको त्यान्द्रो सपनाका महल र बिपना का परिवर्तन संगैको समयको घडि मेरो भाग्यमा रहे पनि नरहेपनी जीवन संघर्ष मै चलिरहेको छ अचेल। म आफ्नै जीवन आफैले केलाउन या मुल्यान्कन गर्ने क्षमताभएन कि त्यतातिर सोच्ने समय मिलेन त्यो आखिर जीवन भोगाई ले नै सप्पै कुरा सिकाउदोरहेछ । अबसरको लागी टोलाउनु पर्ने यथार्थ आई पर्ने रहेछन् यहाँ । जोड्दा जोड्दै घटाउ बन्न पुगेको रित्तो शरीर आज खस्मोरा झै चङ्रङ्ग एक झिल्को लाईटर को टुक्राले सल्काईदिदोरहेछ । म जति नाचेको छु जति हांसेको छु तर अरुकै खुशिमा म हाँसे, नाचें आखिर मेरा खुशि बाट म आफै विलिन बनिसकेको छु ।

अगाडि पछाडि सपोर्ट गर्ने नभएका हैनन् तर फरक त्यति हो त्यसको सन्तुलन मैले गर्न सकिन ।बैदेशिक रोजगारकै शिलशिलामा खाडीको मरुभुमीमा अवतरण हुन पुगेका मेरा पाईलाहरु यहाँको को सपना अनुसार कै परिवेश बिल्कुलै फरक हुदोरहेछ । समस्या त्यो होइन जब मान्छे गरिब भएकै कारण घरपरिवार ईष्टमित्र सबैलाई बिदाई गरेर रित्तो खोला, हातमा हरियो पासपोर्ट अनि मनभरी सम्झना, माया, प्यार अनि स्नेहका थैलाहरुमा साहुका तिता वचनको कुम्लो बोकेर जब म्यानपावर का सिंढिहरु चढ्दै, गल्लीहरु चाहार्दै गहभरी अश्रुजल संगालेर त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको ढोकाबाट प्रबेश गरियो लाग्छ जीवन भोगाईको नयाँ अध्याय शुरु भएको छ ।

लाखै नेपालीहरु सायद म जस्तै गरिब र आर्थिक अभाव कम्जोर भएरै न त होला नि बिदेश पलायन हुने गरेको तर जति पढेपनी जति अनुभव बटुले पनि आखिर गन्तव्य अरब नै रहेछ । बैदेशिक रोजगार नेपालीहरुको रहर होइन बाध्यता हुनुपर्छ । यसको आवश्यकताको महत्व बारेमा विष्लेषण गर्नु भन्दा पनि वर्तमानमा देखिएको राज्यको अपारदर्शी भुमिकाले निम्त्याउन सक्ने दुर्घट्नाको चिन्ता हुनु स्वाभाविक हो । यस क्षेत्रमा हालै उठान भएका फ्रि भिषा र फ्रि टिकट र शुन्य लागतको सन्दर्भमा नेपालको बैदेशिक रोजगार क्षेत्रलाई नियमन गर्ने ऐन कानुनको बारेमा स्पष्ट कार्यदिशाहरुलाई हेर्नै पर्ने हुन्छ ।

वैदेशिक रोजगार ऐन २०४२ सेवा शुल्क बारे दफा १३ ले कुनै खास रकम वा विधी उल्लेख गरेको नभएपनी मात्र सेवा शुल्क लिन पाउने भन्ने रहेछ । सरकारले तत्कालिन अवस्थामा खाडी मूलुकमा रोजगारीमा जानका लागी ७० हजार लागत लगायत अन्य मूलूकहरुका हकमा पनि सोहि अनुरुपको शुल्क रकम तोकेको थियो । वैदेशिक रोजगार नियमावली २०५६ को दफा १७ ले गरेको ब्यवस्थामा सेवा शुल्क बापत संस्थाले कामदारको पहिलो महिनाको तलबको २५ प्रतिशत रकम लिन पाउने ब्यवस्था थियो । वैदेशिक रोजगार ऐन २०६४ दफा २ मा सेवा शुल्क भन्नाले बैदेशिक रोजगार ब्यावसायीले कामदार विदेश पठाए बापत लिने रकम रहेछ ।

यहि ऐनको दफा २१ मा सेवा शुल्क र प्रर्वद्धन खर्च सम्बन्धि उपदफा १ मा नेपाल सरकारले कुनै खास मुलूक वा कम्पनीको लागी प्रति कामदार सेवा शुल्क र प्रर्वद्धन खर्च सहित संस्थाले लिन पाउने रकमको अधिकतम हद तोक्ने छ भनिएको छ । सोही बुँदामा स्पष्टिकरण भनि प्रर्वद्धन खर्च भन्नाले इजाजत पत्रवालाले कामदारलाई रोजगारीमा पठाउँदा लाग्ने प्रवेशाज्ञा शुल्क र कामदारको कोटा उपलब्ध गराउँदा लाग्ने स्वदेश तथा विदेशमा भएको विविध खर्चलाई जनाउँदछ । उल्लेखित ब्यवस्थालाई प्रतिस्थापन गर्दै तत्कालिन श्रम राज्यमन्त्री टेकबहादुर गुरुङ्ग जो आफै पनि मेनपावर व्यवसायी हुनुहुन्थ्यो उहाँले २०७२ जेठ २६ र २०७२ असार ६ मा गरेको मन्त्रि स्तरिय निर्णय शुन्य लागतमा बैदेशिक रोजगारको ब्यवस्था गरी सार्वजनिक रुपमा आम नेपालीहरुको मन जितेको थियो ।

डा. गणेश गुरुङ्ग संयोजक रहेको वैदेशिक रोजगार सुधार, सुझाब कार्यदलको प्रतिवेदन २०६८ ले तत्काल लागु गर्नु पर्ने कार्ययोजनाको बुँदा १६ मा वैदेशिक रोजगारको लागत शिर्षक उल्लेख गरेता पनि यसको कार्ययोजनालाई तोडमोड गरी अन्य असम्बन्धित विषयलाई प्रवेश गराएको पाईन्छ, जसमा भनिएको छ न्यूनतम पारिश्रमिक तोक्न बाँकी रहेको मुख्य गन्तब्य मूलुकहरुका लागी न्यूनतम पारिश्रमिक निर्धारण गर्ने र राजपत्रमा प्रकाशन गर्ने भन्ने उल्लेख छ ।

यति हुदाहुदै पनि नेपालीहरु विभिन्न म्यानपावर एजेन्सी लाई लाखौ रकम हस्तान्तरण गरेरै भएपनी प्रवासिन बिबश छन । जेहोस परदेशिका पीडा वेदना, चीत्कार सहितका गुनासोहरु अनगिन्ती छन । आखिर गरिबिको उपमा यहि मरुभूमि अनि खलखली बगिरहने पसिना अनि त्यही पसिनाले भिजेको रित्तो शरीर र अपुरा योजना र सपनाका करोडौ झालहरु शिवाय केही नहुदोरहेछ । अन्तमा जहाँ जो जसरी रहेका छौ निराश मन बोकेर नबशौ आफ्नो लक्ष्य, उद्देश्य र योजनाका लागि सदासर्वदा पूरा गर्न भाग्यमा मात्र होइन श्रम मा पनि बिश्वास गर्नुहोस तपाईहरुको जीवन सुखमय र शानदार बनोस शुभकामना ।। जदौ ।।
जैमिनी–१०, बागलुङ
हाल कुवेत