एमालेको निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सुरु

आर्थिक विकास र समृद्धिको यात्रालाई निरन्तरता दिने कार्यभार

मेचीकाली संवाददाता

११ फाल्गुन २०७८, बुधबार
611 shares


अमृत गिरी
बुटवल । नेकपा एमालेले आसन्न निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ । हालै सम्पन्न केन्द्रीय कमिटी बैठकको निर्णयअनुरुप सबै प्रदेशमा यस्ता कार्यक्रम हुनेछन् । सोही क्रममा लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम बुटवलमा सुरु भएको हो ।

उक्त प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै पार्टीका महासचिव शंकर पोखरेलले संवेदनशील र राष्ट्रिय सरोकारका महत्वपूर्ण विषयमा समेत द्वेद्य चरित्र देखाएर सत्तारुढ गठबन्धनले गाईजात्रा कै झल्को दिएको आरोप लगाए । एमसीसीकै विषयमा देखिएको गिजलो र गाईजात्रा यसैको उदाहरण भएको उनले बताए । । सरकारमा बसेर दुईथरी दृष्टिकोण बनाउने, गिजोल्ने र भ्रम छर्ने काम गरिरहेको उनको भनाइ छ ।
सरकार सञ्चालन गरिरहेका दलहरुबीचमै एमसीसी अनुमोदनका विषयमा अलग अलग धारणा राखेर सत्तामा टाँसिरहनुले नैतिक प्रश्न उब्जाएको उल्लेख गरे । ‘संवेदनशील विषयमा धारणा फरक फरक हुने तर सत्ता सँगै चलाउने ?’,पोखरेलले प्रश्न गरे,‘सत्तामा बस्नेहरुको स्पष्ट दृष्टिकोण हुँदैन भने यस्ता पात्राहरुलाई राज्यको नेतृत्व गर्ने नैतिक अधिकार हुँदैन ।’

पार्टी महासचिव पोखरेल र उपमहासचिव प्रदीपकुमार ज्ञवालीले पहिलो दिन विभिन्न विषयमा प्रशिक्षण दिएा थिए । प्रशिक्षण कार्यक्रममा समावेश गरिएका विषयवस्तुका बुँदागत र सम्पादित अंशलाई यहाँ प्रस्तुत गरिएको छ ।

अभिभारा र दायित्व
संविधान निर्माणपछिको सन्दर्भमा पार्टीको कार्यक्रम र कार्यदिशालाई अद्यावधिक गर्नुपर्ने वैचारिक अभिभारा, पार्टीविरुद्धको चौतर्फी घेराबन्दी र आक्रमणलाई चिर्नुपर्ने राजनीतिक दायित्व र दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गर्दै सबल, गतिशील र अनुशासित पार्टी निर्माणमा केन्द्रित प्रशिक्षण सञ्चालन गरिएको एमालेले बताएको छ ।

विगतका समीक्षा र वर्तमान परिस्थिति
संविधानसभाबाट संविधान निर्माण, भूकम्पपीडितको सेवामा स्वयम्सेवक परिचालन, नाकाबन्दी, प्रतिरोध र अभुतपूर्व राष्ट्रिय एकता, पार्टी नेतृत्वको सरकार र भूमिका तथा मेचीमहाकाली राष्ट्रिय अभियान र स्थानीय निर्वाचनको समीक्षा गर्दै त्यसमा पार्टीले सफलता हासिल गरेको ठहर गरिएको छ । यस्तै एमाले नेतृत्वको सरकार (०७२÷७३) का साढे तीन वर्षलाई पनि जनस्तरमा सकारात्मक छाप छाड्न सफल रहेको ठहर छ । सारमा अनेकौं प्रतिकूलता, चुनौती र घेराबन्दीका बीचमा पनि संविधान र संघीयताको कार्यान्वयन गर्न, राष्ट्रियता सुदृढ गर्न, राजनीतिक द्वन्द्व अन्त्य गर्न, समृद्धिको जग बसाल्न र समाजवादका आधार निर्माणमा सार्थक पहल गर्न सफल रहेको एमालेको ठहर छ ।

वर्तमान परिस्थिति
आन्तरिक मामलामा हस्तक्षेप र आक्रमणका रुपमा, आर्थिक रुपमा, विश्व वित्तीय पूँजीवादका रुपमा र सांस्कृतिक रुपमा, व्यक्तिवाद र उपभोक्तावादका रुपमा साम्रज्यवादी शोषण उत्पीडन कायमै रहेको विश्लेषण गरिएको छ । विश्व वित्तीय पूँजीवादी संकटको अस्थायी समाधान गर्न सफल भएपनि दिगो समाधान असम्भव भएको विश्लेषण गरिएको छ ।

विश्व पूँजीवाद डेटा, सूचना र ज्ञानमाथिको वर्चस्वमा केन्द्रित रहेको, सूचनाको भण्डारण सीमित कम्पनीहरुको हातमा रहेको र त्यसको प्रयोग÷दुरुपयोगको एकाधिकार पनि उनीहरुसँगै रहनुले समाजमा नयाँ चुनौती थपिएको एमालेको विश्लेषण छ । जलवायु परिवर्तन, आतंकवाद र गरिबी निवारण जस्ता विषयमा सहकार्य आवश्यक रहेको तर अतिवाद, अन्धराष्ट्रवाद, सङ्कीर्णता र स्वार्थी प्रवृत्ति हावी हुँदै गएको र दिगो विकास लक्ष्य प्रभावित हुन थालेको एमालेको विश्लेषण छ ।

एमालेले नेपाल, भारत र चीनबीच सम्बन्ध सुधार होस्, सार्थक साझेदारी बढोस् भन्ने पक्षमा रहेको बताउँदै आएको छ । एक चीन नीतिमा दृढ र आफ्नो भूमि कुनैपनि छिमेकीविरुद्ध प्रयोग हुन नदिने नीतिमा अविचलित रहेको स्पष्ट पार्दै चीनसँगको आर्थिक साझेदारीलाई अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिएको छ ।

यस्तै भारतसँग नेपालको सरोकार, भयावह व्यापार घाटा नियन्त्रण, नेपाली उत्पादनलाई भारतमा सहज प्रवेश, लिपुलेक, लिम्पियाधुरा, कालापानी र सुस्ता क्षेत्रका नेपाली भूभाग फिर्ता, खुला सीमाको व्यवस्थापन, आन्तरिक मामलामा अनावश्यक चसो र हस्तक्षेप अन्त्य हुनुपर्नेमा एमालेको जोड छ ।

एमालेले आफूलाई सार्वभौम समानता, हस्तक्षेप र पारस्परिक सम्मान तथा लाभमा आधारित एक्काइसौं शताब्दी सुहाउँदो, विश्वासिलो र बहुआयामिक सम्बन्ध विकासको पक्षमा रहेको प्रष्ट पारेको छ । यिनै विषयवस्तुका आधारमा एमालेले अगुवास्तरको प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको पार्टीका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेलले जानकारी दिए ।

विदेश नीतिका बारेमा एमालेको धारणा
विश्वका सबै देशसँग सार्वभौम समानता, अहस्तक्षेप, पारस्परिक सहयोग तथा सम्मानमा आधारित सम्बन्ध विकास गर्नु, संयुक्त राष्ट्र संघको बडापत्र, शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त र असङ्लग्नताका सिद्धान्तमा आधारित विदेश सम्बन्ध सञ्चालन गर्नु, युद्ध, कुनै पनि रुपमा प्रकट हुने आतंकवाद, आणविक अस्त्र र हातहतियारको होडबाजीको विरोध गर्नु, उत्पीडित राष्ट्रहरुको स्वाधीनताको रक्षा एवं विश्व शान्ति, न्याय, समृद्धि र आर्थिक विकासका पक्षमा दृढतापूवक उभिनुपर्ने एमालेको धारणा छ ।

यस्तै नेपालका राष्ट्रिय हितलाई केन्द्रभागमा राख्नु र मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्नु, प्राकृतिक साधन स्रोतमा जनताको अक्षुण्ण अधिकारको संरक्षण गर्नु र देश विकासमा तिनको अधिकतम सदुपयोग गर्नुपर्नेमा जोड दिएको छ । यस्ता महत्वपूर्ण विषयवस्तुलाई समेत समेटेर प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको एमाले लुम्बिनी प्रदेश कमिटी उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले बताए ।

मानवीय सुरक्षा, प्राकृतिक साधन स्रोतको रक्षा तथा राष्ट्रिय सुरक्षालाई संवद्र्धन गर्नु, विदेशी ऋण सहयोग र लगानीलाई नेपालको हित अनुकूल परिचालन गर्नु र नेपालको छविलाई शान्तिप्रिय, लोकतान्त्रिक र प्रगतिशील राष्ट्रको रुपमा स्थापित गर्नुपर्ने पार्टीको धारणालाई प्रशिक्षणको विषयवस्तुमा केन्द्रित गरिएको छ ।

आफ्नो देशको हित र जनताको समृद्धिको लागि काम–कुरा गर्नु कुनै देशप्रतिको विरोध वा विद्वेष होइन, सबैसँग मित्रता कायम गर्ने, कसैसँग वैरभाव नराख्ने एमालेको घोषित नीति रहेको प्रष्ट पारिएको छ । विगतका असमान सन्धि सम्झौताहरुको पुनरावलोकन गर्दै राष्ट्रिय हित र समानतामा आधारित सन्धि सम्झौताहरु गर्न चाहेको एमालेको नीति छ । एमालेले आफू नयाँ र न्यायपूर्ण विश्व व्यवस्थाका पक्षमा रहेको प्रष्ट पारेको छ । प्रशिक्षणमा यिनै विषयवस्तुलाई पनि समावेश गरिएको एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले जानकारी दिए ।

आगामी कार्यभारबारे
एमालेले आगामी कार्यभारलाई पनि प्रशिक्षणका विषयवस्तु बनाएको छ । पश्चगामी षड्यन्त्रलाई विफल पार्दै समृद्धिको यात्रालाई निरन्तरता दिने सर्वोपरि महत्वको कार्यभार पार्टीका सामु रहेको र यसका लागि पार्टीलाई राज्य सञ्चालनको केन्द्रभागमा पुनःस्थापित गर्नु अनिवार्य पूर्वशर्त मानेको छ । पार्टीलाई एकताबद्ध, सुदृढ र व्यापक जनाधारित बनाउने, पार्टीमा सुदृढीकरण र शुद्धीकरण अभियान सञ्चालन गर्ने, आगामी निर्वाचनमा पार्टीलाई बहुमतप्राप्त पहिलो शक्तिका रुपमा स्थापित गर्ने कार्यभार मानेको छ ।

यस्तै दक्षिणपन्थी अवसरवादी गठबन्धन र त्यसले सञ्चालन गरेको सरकारका गलत कामको विरोध गर्ने, राष्ट्रियताको सुदृढीकरण, राष्ट्रिय हितको रक्षा र राष्ट्रिय स्वाभिमानको अभिवृद्धि गर्ने, लोकतन्त्रको सुदृढीकरण, संविधानको रक्षा र विकास एवं राजनीतिक स्थायित्वको संवद्र्धन गर्ने तथा मौलिक सांस्कृतिक मूल्यहरुको संवद्र्धन र सांस्कृतिक रुपान्तरण र आर्थिक विकास र समृद्धिको यात्रालाई निरन्तर अगाडि बढाउने विषयलाई एमालेले आगामी कार्यभार मानेको छ । प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको सहजीकरण एमाले प्रदेश कमिटीका सचिव लक्ष्मण आचार्यले गरेका थिए ।