सीमा बन
‘सामाजिक न्याय र लैंगिक समानता दिगो विकासको सुनिश्चितता’ भन्ने मूल नाराका साथ आज ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइँदैछ । यस दिवसका अवसरमा श्रम गरेर जीविकोपार्जन गर्ने, परिवारको पालनपोषणमा समर्पित सबै श्रमिक नारीहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु । साथै नेतृत्वदायी तहमा पुगेका सबै नारीहरुलाई अझ उच्च स्तरको सफलताका लागि कामना समेत व्यक्त गर्दछु । समय केही परिवर्तनशील भएको छ, केही रुपान्तरणको सुरुआत भएको छ भने केही रुपान्तरण हुन बाँकी रहेको छ । खासगरी श्रमिकहरुलाई अहिले पनि श्रमको उचित सम्मान पाउन नसकेको, श्रमअनुसारको पारिश्रमिक नदिइएका जस्ता गुनासाहरु कम भएका छैनन् । यसलाई बदल्नुपर्ने छ, यसलाई रुपान्तरण गर्नुपर्ने छ ।
नारी मुक्ति आन्दोलनकी प्रमुख अभियान्ता क्लारा जेट्किनको प्रमुख सक्रियतामा सन् १८८९ मार्च ८ मा पेरिसमा पहिलोपटक विश्वका श्रमिक महिलाहरुको अन्तर्राष्ट्रिय सम्मेलन भएयता विभिन्न चरण पार गर्दै अहिले यो विश्वव्यापी दिवसका रुपमा मनाइँदैछ । हजारौँ महिला सम्मिलिन भएको त्यो विशाल सम्मेलनमा क्लारा जेट्किनले महिलाको समान अधिकारको माग गरेकी थिइन् त्यो नै महिला हक अधिकार र समान कामको लागि समान ज्यालाको रुपमा उठाइएको पहिलो आवाज थियो । नेपालमा पनि आदरणीय अग्रजहरुले मताधिकारको मागदेखि समानताको माग गर्दै आवाज उठाउनुभएको थियो । मताधिकारदेखि विभिन्न अधिकार प्राप्तिका आन्दोलन सफल भएका पनि छन् । तर, समानताको अधिकार भने बाँकी नै छ ।
अहिले मुलुकमा राजनीतिक परिवर्तन भएको छ । जनताका प्रतिनिधिले संविधान जारी गरेका छन् र सोही संविधान कार्यान्वयन गर्दै समृद्ध मुलुक सुखी जनताको राष्ट्रिय संकल्प गरिएको छ । यो संकल्पलाई साकार पार्नका लागि पनि समानता कायम हुन अपरिहार्य छ । अनेक नाममा हुने हिंसा र बेथितिको अन्त्य हुनुपर्ने छ । अधिकारसँगै कर्तव्यको पनि बोध गर्नु र गराउनुपर्ने छ । यो सबै हुँदा नै दिवसको सार्थकता रहन्छ । विडम्बना फेरि राजनीतिक अस्थिरता निम्त्याउन खोजिँदैछ र जनतामा निराशा उत्पन्न भएको छ । अस्थिरताले न त समृद्धि हासिल हुन्छ नत शान्ति र विकास नै ।
आजको दिन अर्थात् ८ मार्चलाई हरेक वर्ष महिला मुक्ति र अधिकारका लागि थालनी गरिएको संघर्षको रुपमा विश्वभर स्मरण गर्न थालियो । त्यसपछि सन् १९१० मा कोपेनहेगनमा भएको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा जर्मनकी माक्र्सवादी नेत्री क्लाराजेट्किनले ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रुपमा मनाउने प्रस्ताव गरेकी थिइन् जसलाई सम्मेलनले पारित ग¥यो र सन् १९११ देखि महिला दिवस मनाउने परम्परा बसालियो जुन अहिलेसम्म कायमै छ । अहिले ११२ औं दिवस मनाउँदैछौँ । यसवर्षको दिवसको नारा ‘सामाजिक न्याय र लैंगिक समानता दिगो विकासको सुनिश्चितता’ रहेको छ । गत वर्ष ‘महिलाको सुरक्षा, सम्मान र रोजगार ः समृद्धिको आधार’ भन्ने अन्तर्राष्ट्रिय नारा तय भएको थियो । गत वर्ष कोभिडले प्रभावित भएको दिवस यसवर्ष भने केही खुकुलो भएको अवस्था छ । यद्यपि स्वास्थ्य सुरक्षाका मापदण्ड भने अपनाउन जरुरी छ ।
दिवसको अवसरमा र पूर्वसन्ध्यामा विभिन्न कार्यक्रमहरु भएका छन् र हुँदैछन् । विश्वव्यापी महामारीका कारणले केही प्रभावित बनाएको अवस्था छ भने महामारी जितेर र त्यसबाट जोगिएर दिवस मनाउने क्रम पनि चलिरहेको छ । आजको यो महत्वपूर्ण दिनका अवसरमा सबै श्रमिक महिलाहरु, सबै अधिकारकर्मी महिलाहरु, परिवार, समाज र समुदायलाई सचेतनाका माध्यमबाट सकारात्क मार्गमा डोराउने सबै महिलाहरु र महिलालाई साथ दिने सकारात्मक सोंचका सबै सबै प्रति हार्दिक आभार । खासगरी समाज रुपान्तरण गर्नका लागि कुनै एउटा समुदायले मात्रै सबथोक गर्न सक्तैन । सहकार्य, सहअस्तित्वका आधारमा आत्मसम्मानका साथ सबैको साझा पहलबाटै समाज रुपान्तरण हुन सक्छ । श्रमिक महिलाको सम्मान हुन सक्छ, उनीहरुको आत्मसम्मान र सामाजिक सुरक्षाको ग्यारेन्टी हुनसक्छ ।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश महिला जागरुकतासम्बन्धी दिवश हो । यो दिवस संसारभरि मनाइन्छ । हाम्रो मुलुकमा आधाभन्दा धेरै जनसंख्या रहेको महिला शक्तिलाई सही मार्गमा डोराउनुपर्ने छ । यसका लागि सकारात्मक सोंच, समानता र आत्मसम्मानको खाँचो छ । उत्तरदायी समाज, सभ्य समाज, सचेत समाज, अधिकारसंगै कर्तव्य बुझ्ने समाजको विकास गर्नुपर्नेछ । अनेक प्रकारका हिंसा, दमन, बेथिति र अलमललाई अन्त्य गर्नुपर्ने छ । दण्डहीनताको अन्त्य गर्दै कानुनी शासनको अनुभूति गराउनुपर्ने छ । समृद्धि हासिल गर्नका लागि सोहीअनुरुपको जनशक्तिको विकास गर्नुपर्ने छ । प्रशिक्षित गर्नुपर्ने छ ।
विकासका दृष्टिले हामी अरु मुलुकभन्दा धेरै पछाडि छौँ । तर, अधिकारमुखी आन्दोलन र त्यसअनुरुपका व्यवस्थाका हिसाबले हाम्रो मुलुक धेरै नै अगाडि छ । कार्यान्वयन पनि गर्न धौ धौ हुने कैयन विषयलाई मौलिक हकका रुपमा संविधानमा व्यवस्था गरिएको छ । महिलामैत्री कानुन निर्माणदेखि महिला लक्षित संवैधानिक आयोगहरु गठन गरिएको छ । अधिकारका हिसाबले, कानुन निर्माणका हिसाबले हाम्रो मुलुक अरुको तुलनामा धेरै नै माथि छ । अझ अन्तर्राष्ट्रिय ठूला महासन्धिहरुमा हस्ताक्षर गर्ने कुरामा पनि मुलुक अग्रणी नै छ ।
यद्यपि यस्ता महिलामैत्री कानुन र अधिकारको सदुपयोगसँगै दुरुपयोग पनि बढेका गुनासा आएका छन् । हामीहरुले प्राय सोच्छौं हिंसा गर्ने, पीडा दिने पुरुष मात्रै हुन्छन् । तर, यसो होइन अधिकारको दुरुपयोग गर्दै, अनेक नाममा मानसिक तनाव उत्पन्न गराउँदै पुरुषलाई पनि पीडित बनाउने गरेका कैयन् घटनाहरु छन् । अहिले स्थानीय पालिकाहरुमा गठन भएका न्यायिक समितिहरुमा पर्ने निवेदनहरुले पनि यो कुरालाई पुष्टि गर्ने गरेको छ । यसलाई सुधार गर्नुपर्ने छ । जिम्मेवारी र उत्तरदायित्व वहन गर्नुपर्ने कुरालाई भुलेर कानुनको दुरुपयोग गर्ने कुरा कदापी स्वीकार्य हुँदैन । अनेक अस्त्र होलान्, अनेक उपाय होलान्, अनेक आड भरोसा होलान् तर, तिनैको सहारामा इमोशनल ब्ल्याकमेलिङ गर्ने कुरा सभ्य समाजमा सुहाउने कुरै होइन ।
अब श्रमिक महिलाका अनेक बेदनाका बारेमा, पीडाका बारेमा पैरवी गर्नुपर्ने छ । उनीहरुको पहिचान दिलाउनुपर्नेछ । अनौपचारिक श्रेत्रमा कार्यतर ठूलो संख्याका श्रमिक महिलाको श्रमको सम्मान दिलाउनुपर्ने छ । उनीहरुमा आत्मसम्मान र सामाजिक सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने छ । यसतर्फ केन्द्रित हुनुपर्ने संयन्त्र अन्यत्र कतै दुरुपयोगका खेलमा सामेल हुने हो भने हामीले संकल्प गरेको समानता र समृद्धिको लक्ष्य झन् टाढाटाढा हुन सक्छ । यसर्थ हामीहरुले सकारात्मक सोंचका साथ, सकारात्मक र पवित्र उद्देश्यका साथ हातेमालो गरेर काम गरौं । रोजगारी सिर्जना गर्नेतर्फ केन्द्रित बनौं । अनौपचारिक श्रम क्षेत्रमा रहेका श्रमिक महिलालाई मूलधारमा सामेल गर्नका लागि राज्यका सम्बन्धित निकायमा दबाब सिर्जना गरौं ।
एक्काइसौँ शताब्दीका महिलाहरुले आफ्नो शक्तिलाई चिनेका छन् र आफ्नो हक तथा अधिकारको लागि लड्न सिकेका छन् । आजको समयमा नारीले यो प्रमाणित गरेका छन् कि उनीहरु कुनैपनि तवरबाट कमजोर छैनन्, देशका हरेक तह र तप्कामा पुरुषसरह काम गर्न सक्ने बनेका छन् । तर बिडम्बनाको कुरा विश्वको जनसंख्याको आधाभन्दा धेरै हिस्सा महिलाहरुले ओगटेको छ तरपनि अनेकप्रकारका गलत चिन्तन, हिंसा र बेथितिका दुस्चक्रले अलमलिनुपरेको छ ।
अब परिवर्तनका लागि महिला स्वयं अग्रसर हुनुपर्दछ । आज घरको आर्थिक अवस्था सुधार्न, छोराछोरीको लालनपालन तथा सुनौलो भविष्यको सपनामा अरब पुगेका कतिपय महिलाहरु त्यहाँ अनेक यातना खेप्नुपरेको छ । वैदेशिक रोजगारीलाई सुरक्षित, भरपर्दो र स्वेच्छिक बनाउनुपर्ने छ । हामीकहाँ वैदेशिक रोजगारी बाध्यत्मक बनिरहेको अवस्थाले पनि विदेशमा नेपाली महिला हुन वा पुरुष सबैले अनेक प्रकारका जोखिम मोल्नुपरिरहेको छ । यस्ता बाध्यताले गर्दा पनि कतै हामी आफैँले दुख निम्ताइरहेका पो छौं कि भन्ने प्रश्न उब्जाएको छ ।
आफैँलाई खाडलमा राख्ने संस्कार, चलन, व्यवहार हामीले नै अंगालीरहेका पो छौं कि भन्ने कुरामा मनन गर्नुपर्ने भएको छ । समाज बदल्नका लागि हामी सबै बदलिनुपर्छ, हाम्रा चिन्तन, सामाजिक संस्कार र परम्परा पनि बदलिनुपर्छ । सकारात्मक सोंच, सभ्यता र उत्तरदायित्व मनन गर्दै अभियानमा सरिक बनौं । हरेक वर्ष दिवस मनाउने र अर्को वर्षको दिवस कुरेर हुने औपचारिक कार्यक्रमले मात्रै समाज बदल्न सकिँदैन ।