महिलाहरुको वैदेशिक जीवन बिडम्बना र चुनौती

मेचीकाली संवाददाता

२४ फाल्गुन २०७८, मंगलवार
158 shares

दिलप्रसाद पौडेल
मनभरि अनेकौँ सपनाका थुङ्गाहरु अनि चसक्क बिझाउने गरी साहुले भन्ने गरेका तिखा वचनको झोला बोकेर जब प्रदेशिन बाध्य भएकी थिए मलाई सारा संसार भासिएर आफ्नै शिरमा गद्¥याम्म बजारिए जस्तै भान हुन्थ्यो । सामाजिक रुपमा अपहेलित पारिवारिक अत्याचार, दमन र आक्रोशको भुमरीबाट उम्केर आज खाडीको मरुभूमिमा पैसा कमाएर छोराछोरीको स्कुल जाने झोला, एकएक जोर सुकिला कपडा, अनि सिंगान पुछिदिने टालो र बुढी भएकी आमाको उध्रेको चोली र पुरानो पेटिकोट फेरिदिने चाहाना बोकेर जतिबेला घर छोड्ने निधो गरें उफ्फ्फ्फ कहाली लाग्छ अचेल ।

गोधुलीमा मैनाचरीहरुले मेरै अभागी चेहेरा हेरेर खित्का छोडे जस्तै लाग्थ्यो, घरैमुनिको बाटोबाट कोही उकालो ओरालो गर्दा पनि मेरै बारेमा भनेजस्तै हुन्थ्यो जब रात पर्छ अनि आँखा रसाउन थाल्थे, पैँचो मागेर ल्याएको त्यही मकैको पिठो र कनिका भुर्लुक्क उमालेर छोराछोरीको पेट उकासिदिन्थेँ, दूध खान खोज्थे मैले अर्काको घरबाट ल्याएको अमिलो मोहीमा पानी हालेर भोलिपर्सि भैंसी किनौँला अनि खाऔँला है भनेर उनीहरुको मलिनो अनुहार अनि विक्षिप्त चाहानाहरु टाल्ने प्रयत्न गर्थेँ । आमाले टाउको दुख्यो भनेर हजारौंपटक गुनासो गर्दा पनि पैसाको अभावमा सिटामोल किन्न नसकेर दमसिन्का र टोप्रे झार अनि केमानो, सिमल र आँप अनि सिमलको पानी पिलाउँदै केही बिसेक बनाउँदै टार्ने गर्थेँ । कसैको घरमा दिनभरि गोबर बोकेर ल्याएको पैसाले नुनको जोहो गर्दै बाँकाको सिन्कीमा छप्कीका मुन्टा चिमोटेर झोल बनाउँदै मकैको पिठोमा पलो हालेर कतिचोटि छाक टार्नु परेको थियो मैले आज अरबमा छु, कमसेकम दुखसुख गरेरै भएपनि महिनाको चालीस पचास हजार त कमाएकै छु ।

साहुको चर्को ब्याजमा खाएको ऋण अनि खरले छाएको घरको धुरी अनि केटाकेटीको सुकिला कपडा त फेरिदिन सकेको छु । ऋण तिरियो, घर टिनल छाइयो अब मलाई एउटा सुनको सिक्री अनि पचास रतिको औँठी लाउने एकमात्र चाहाना छ । अब त छोराछोरी पनि हुर्किसके, आमाले घरिघरी भिडियो कल गर्दा खै मैले तेरो हातको पानी नखाई मर्ने भएँ, भन्दै रुनुहुन्छ । सायद अब म नेपाल मै फर्किन्छु र केही गर्ने योजना बनाउँछु ।

किनकि विदेशमा महिलाहरुका दर्जनौँ कहानी हुन्छन् । सुनिदिने निकाय मौन रहन्छ, समाजका प्रभुत्व व्यक्तिहरु नै अबुझ बनेर निसाफ गरिदिन्छन्, घरमा सबै चिज हुँदाहँुदै खै किन गाको हो विदेश भन्नेहरुलाई गतिलो जबाफ दिनु छ । करोडौँ बिडम्बनाका चाङहरुबाट फुत्केर कारुणिक मन अनि विक्षिप्त चाहानाका खुट्किला हरु चढेर आज शोकाकुल मन अनि जीवन र परिवेशलाई बदल्ने प्रयासमा यहाँ सम्म पुगेको छु । हाल नेपालमा विद्यमान राजनैतिक अवस्था अनि मानिसका फरक फरक आचरण ले गर्दा खोक्रो बनेको नेपालीपनलाई केही भएपनि आवाजमार्फत क्रियाशील बनाउन आवश्यक ठानेको छु ।

महिला विकासका सूचकांकहरूले सकारात्मक संकेत देखाए पनि व्यवहारिक जीवनका जटिलतामा भने खासै सुधार आउन सकेको छैन । राजनीतिक तथा प्रशासनिक क्षेत्रमा महिलाका उपस्थितिलाई कर्मकाण्डी मात्र बनाउने गरिएको तथा कतिपय अवस्थामा उपयोगको मोहोरा बनाउने गरिएको स्पष्ट देखिन्छ । पछिल्लोपटक केही प्रक्रियामा सतहमा देखाइएको क्रियाप्रतिक्रियाको शृंखला तथा घटित यथार्थले नेपाली महिला आन्दोलनको नेतृत्वको अन्तर्मनको वास्तविकता प्रस्ट्याउँछ ।

आज अन्तर्राष्ट्रिय नारी दिवस मनाउँदै गर्दा महिलाका पीडा, बेदना र चित्कारको कहीकतै सम्बोधन हुन सकेको मैले पाएको छैन । तर बढ्दो सामाजिक सञ्जालप्रतिको मोहले भने कहिकतै महिला हरु बलात्कार हुने घटनाहरु छरपष्ट भेटिने गरेका छन् ! मन मिल्ने बेलासम्म प्रेम अनि जब आपसी मनमुटाव हुन्छ विभिन्न बाहाना बनाएर बलात्कारको आरोप लगाइएका तथ्यांकहरु पनि छन् त्यसैले न्यायोचित व्यवहारिक पाटो पनि परिवर्तनको एक हिस्सा हो आजको दिनमा । महिला अधिकारलाई मानवअधिकारको अविभाज्य अधिकारको रूपमा, महिला जीवनका जटिलतालाई मानव जीवनको साझा जटिलताको रूपमा बुझ्ने र त्यहीअनुरूप व्यवहार गर्ने सामाजिक दृष्टिकोण बन्न सकेको छैन ।

राजनीतिक रूपमा उच्च स्थानमा पुगेका महिलालाई मात्र होइन, मध्यम तहमा कार्यरत कामकाजी महिलाले पनि महिला भएकै कारण विभिन्न अप्ठ्यारा भोग्नुपरेको छ । शाब्दिक रूपमा प्रत्यक्ष नभने पनि काममा असहयोग गर्ने, निर्णय प्रक्रियामा सहभागी नगराउने, द्विअर्थी संवाद गर्ने तथा उस्तै मात्र होइन, ठ्याक्कै एउटै प्रस्ताव पनि पुरुष कर्मचारीले लगे सहजै स्वीकृत हुने तथा महिला कर्मचारीले लैजाँदा अस्वीकृत हुनेजस्तो व्यवहार पनि जीवितै छ समाजमा । समाजमा स्त्रीद्वेशी भावना विद्यमान रहेसम्म नीतिगत तथा कानुनी व्यवस्था मात्र अपर्याप्त हुने रहेछ ।
समाज विचारका आधारमा विभक्त छ । विचारमा सहमत÷असहमत हुन सकिन्छ, तर्क÷वितर्क हुन सक्छन् । तर, मनुस्मृति, गीता तथा ऋग्वेदजस्ता पुस्तकको केस्राकेस्रा केलाएर आलोचना गर्ने र आफूलाई प्रगतिशील दाबी गर्ने व्यक्तिले पनि ‘बेढंगको शरीर भएकी महिलाको कार्यपत्र के ढंगको होला र ?’ भन्ने तथा सार्वजनिक खपतका लागि समानताको लेख लेख्ने तर निजी संवादमा स्त्रीद्वेशी कुण्ठा पोखिन्छ, अनि त्यतिबेला नै समाजको चेतनाको स्तर भयावह भएको पुष्टि हुन्छ ।

हो त्यसैले युग परिवर्तनसँगै समाज र सोच परिवर्तन हुन जरुरी छ महिला वैदेशिक रोजगारमा बिलिन भैरहँदा उनीहरुले भोग्दै गरेको पीडा र खटनको व्याख्या गरिसाध्यको हुँदैन । मालिकका तथानाम गाली, थोरै तलब, अत्याधिक दमन उस्तै काम अनि यति मात्र नभएर उनिहरुकै ओछ्यान बन्नुपरेका कंटाकिर्णमय दुखानुभूतिहरु पनि छन् । आखिर महिलाको वैदेशिक जीवन अनि उत्तिकै बिडम्बनाका झालहरुले सहनै नसकिने घाउ बल्झाइदिदोरहेछ ।