मनोयुद्धको भुँमरीमा नेकपा माओवादी

मेचीकाली संवाददाता

६ चैत्र २०७८, आईतवार
726 shares

हरि ज्ञवाली
आफ्नो जनाधार निरन्तर खुम्चिदै झन्पछि झन् कमजोर बन्न थालेपछि नेकपा माओवादी केन्द्रले आफ्नो अस्तित्व रक्षाका लागि यतिखेर भरपर्दो चुनावी पार्टनर खोजिरहेको छ । अध्यक्ष प्रचण्डले हालै बुटवलको एक कार्यक्रममा राजनीतिमा केही असम्भव नहुने तर्क दिँदै नेपाली काङ्ग्रेसले माओवादीलाई पेल्दै गए एमालेसँग चुनावी एकता हुन सक्ने सङ्केत गरे । एक्लै चुनावमा जान डराइरहेको माओवादीको चुनावी पार्टनर आखिर को हुने भन्नेबारे निर्णय नहुँदै एमालेले चुनावी गठबन्धन कुनै पार्टीसँग पनि नहुने स्पष्ट पारिदिएपछि यतिखेर माओवादी सङ्कटमा पर्न थालेको छ ।
पाँच दलीय गठबन्धनमार्फत आफ्नो अस्तित्व धानिरहेको माओवादीले कहिले गठबन्धन कायम राख्ने बहानामा एमालेलाई धम्क्याउने गरेको छ त कहिले एमालेसँग मिल्न सकिने कुरा तेस्र्याएर काङ्ग्रेससँग चुनावी बार्गेनिङ गरिरहेको छ । प्रचण्डका अभिव्यक्तिगत शृंखला नियाल्दा ११ वर्षे सशस्त्र जनयुद्ध गरेर आएको माओवादी केन्द्र र अध्यक्ष प्रचण्ड यतिखेर मनोयुद्धको भुँमरीमा फस्दै गएको अनुभूति हुन्छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नेपालमा ११ वर्षे सशस्त्र युद्ध गरेपछि संविधानसभाको पहिलो निर्वाचन (२०६४) मार्फत पहिलो भएको पार्टी हो । तर, दोस्रो संविधानसभाको निर्वाचन (२०७०) मा लज्जास्पद हार बेहोरी तेस्रो दलमा खुम्चिन पुग्यो । २०७४ सालको संसदीय निर्वाचनमा पनि तेस्रो दलमै सीमित भयो । माक्र्सवाद, लेनिनवाद र माओवादलाई आफ्नो मुख्य नीतिको रूपमा अँगालेको माओवादीले प्रचण्डपथका रुपमा केही समय अगाडि बढाए पनि पछिल्लो समयमा सो पथ पनि त्याग्न वाध्य भयो । जनयुद्धको निर्मम समीक्षा नगर्दै पार्टी फुट्दै खिइँदै गएको छ  ।

पार्टीका शीर्ष तहका नेताहरू मोहन वैद्य, डा. बाबुराम भट्टराई, नेत्रविक्रम चन्द, सिपी गजुरेललगायतहरूले पार्टी छोड्दै गए । पछिल्लो समयमा रामबहादुर थापा बादल र लेखराज भट्ट, टोपबहादुर रायमाझीलगायत आधा दर्जन सांसद र नेता पनि पार्टीबाट टाढिइसकेका छन् । स्थानीय कार्यकर्तासमेत एमाले प्रवेश गर्ने लहर बढ्दो छ । अस्थिर राजनीतिक व्याख्या र स्पष्ट अडान नभएको कारण माओवादी यतिखेर समकालीन राजनीतिक पार्टीहरूमा मात्रै होइन,आफ्नै पार्टीसमर्थकहरूमा समेत विश्वसनीय बन्न सकेको छैन । पार्टीको वैचारिक र सैद्धान्तिक धरातल पनि साह्रै कमजोर देखिदै छ ।

माओवादीले संविधानसभाको पहिलो निर्वाचनबाट प्राप्त गरेको अभिमतलाई सम्पूर्णरूपमा समर्थकले दिएको जस्तो ठान्यो । सशस्त्र युद्धबाट आएको र मुलुकमा परिवर्तन गर्ने अभीष्ट देखिएको हुँदा केही भइहाल्ला कि भनेर परीक्षणका लागि सर्वसाधारणले माओवादीलाई त्यतिबेला मत दिएका थिए तर उक्त आशातीत र हार्दिक मतलाई उसले सम्हाल्न सकेन । लोकतान्त्रिक व्यवस्था र पद्धतिमा आइसकेपछि उसले सबैसँग समन्वय गरी संवेदनशील बनेर अगाडि बढ्नुको सट्टा युद्ध(उन्मादमा नानाथरी आवेशात्मक त्रुटिहरु गर्दै गयो । शान्ति प्रक्रियामा आएपछि पार्टीभित्र देखिएको ‘विद्रोह कि संविधान निर्माण’ ? भन्ने नीतिगत अन्योलले लामो समयसम्म माओवादीलाई ठूलै क्षति पु¥यायो ।
यी पाँच निर्मम घटना ः जसले माओवादीलाई ऐतिहासिकरुपमै ठूलो क्षति पु¥याए

१. शिक्षक मुक्तिनाथ अधिकारीको हत्या
विसं २०५८ माघ ३ गते लमजुङ जिल्लाको पाणिनी संस्कृत विद्यालयका प्रधानाध्यापक मुक्तिनाथ अधिकारीको हत्या माओवादी कार्यकर्ताले गरेको एउटा ठूलो त्रुटि थियो । विद्यालयका शिक्षकहरुको दशैँ पेश्की पार्टीलाई चन्दा नदिएको बहानामा विद्यालयबाट जबर्जस्ती निकालेर क्रुरतापूर्वक हत्या गरियो आफ्नै गलबन्दीले रुखमा झुन्डाएर टाउकामा गोली हानी शरीरमा खुकुरी प्रहार गरेको निर्मम घटनाले माओवादीलाई अझै पनि आलोचित बनाइरहेको छ ।

२. पत्रकार डेकेन्द्र थापाको हत्या
दैलेख जिल्ला कार्यक्षेत्र बनाएका पत्रकार डेकेन्द« थापालाई द्वन्द्वकालमा माओवादीले अपहरण गरी निर्मम हत्या गरेको थियो । माओवादी मिलिसियाको नियन्त्रणमा राखिएका डेकेन्द्रको ०६१ साउन २७ गते एउटा विद्यालयको कक्षाकोठाबाट अपहरण गरी हत्या गरिएको थियो । ०६१ मा माओवादीद्वारा अपहरित डेकेन्द्र थापाको शव चार वर्षपछि जंगलमा गाडिएको अवस्थामा भेटियो । पत्रकार महासंघ र मानवअधिकारवादी संघसंस्थाको पहलमा चार वर्षपछि डेकेन्द्रको अस्थिपञ्जर गाडिएको अवस्थामा भेटियो । यो हृदयविदारक घटनाले माओवादीलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय रुपमा बदनाम गरायो ।

३. बाँदरमुढे घटना
विसं २०६२ साल ज्येष्ठ २३ गते चितवनको माडीस्थित बाँदरमुढेमा तात्कालीन विद्रोही नेकपा माओवादीहरूले थापेको विद्युतीय धरापमा परी बसमा यात्रा गरिरहेका ४१ जना सर्वसाधारण मानिसहरूको अनाहक ज्यान गयो । यो घटना नेपालको इतिहासमा अत्यन्त दुखद घटना हो । राज्यसँग लडिरहेको शक्ति माओवादीका केही अराजक व्यक्तिहरुको बेहोसीका कारण थुप्रै निर्दोष सर्वसाधारणको ज्यान गएको घटनाले माओवादीलाई सदैव आलोचित बनाइरह्यो । जसका लागि अध्यक्ष प्रचण्डले जनतासामु पटकपटक माफी मागिरहनुपरेको छ ।

४. पत्रकार वीरेन्द्र साहको हत्या
वि.सं २०६४ असोज १८ गते बाराका पत्रकार साहको हत्याका कारण पनि माओवादी आलोचित भइरह्यो । बाराको डोढियापिपरा बजारबाट अपहरणपश्चात जङ्गलमा गाडिएको अवस्थामा शाहको शव फेला परेको थियो । शान्ति सम्झौतामा आइसकेपछि पनि तत्कालीन नेकपा (माओवादी) कार्यकर्ताले एभिन्यूज टेलिभिजनमा कार्यरत साहलाई पिपरा बजारबाट अपहरण गरी टाँगिया बस्ती जंगलमा चरम यातना दिएर हत्या गरेका थिए । यो घटनाले पनि माओवादीलाई बदनाम गराइरहेको छ ।

५. कटवाल काण्ड
वि.सं २०६६ सालमा तात्कालीन प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली सेनाका प्रधानसेनापति रुक्माङ्गद कटवाललाई हठात् हटाउने निर्णय गर्दा आफैँलाई प्रत्युत्पादक बन्न पुग्यो । फलतः चुनाव जितेर पनि माओवादी सरकारबाट बाहिरिनुप¥यो ।

नेपाली सेनामाथि अनावश्यक राजनीतिक हस्तक्षेप बढाउन खोज्दा तात्कालीन राष्ट्रपति र प्रमुख सत्ता साझेदार दल नेकपा एमालेले साथ नदिँदा राजीनामा दिई प्रधानमन्त्रीको पद त्याग गर्नुप¥यो । माओवादीका निम्ति यो घटना ठूलो राजनीतिक क्षति थियो ।
जानीनजानी भएका यी तमाम गल्तीका कारण नेकपा माओवादी केन्द्र नेपाली समाजमा राजनीतिक रूपमा कमजोर बन्दै गएको छ जनताको नजरमा ओरालो लाग्दै गएको छ ।

राजनीतिक असफलता कि सैद्धान्तिक विचलन ?
नेकपा माओवादीले संसदीय व्यवस्थाको समाप्ति र गणतन्त्र स्थापनाका लागि भन्दै ११ वर्ष सशस्त्र युद्ध गरेको थियो । ‘संसदीय व्यवस्था मुलुक र जनताका लागि अफाप छ, संसद् खसीको टाउको राखेर कुकुरको मासु बेच्ने थलो हो’ भन्दै जङ्गल पसेको थियो तर ११ वर्षपछि पुनः त्यही संसदीय व्यवस्थामा फर्केर संसदीय चुनावी राजनीतिमा होमिएको छ ।

विभिन्न जातजातिको पहिचानका आधारमा राज्य बनाउने माओवादीको अभियान थियो । पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्ने र प्रत्यक्ष निर्वाचित राष्ट्रपति व्यवस्था निर्माण गर्ने उसका मुख्य मुद्दा थिए । तर यतिखेर मुलुकमा न त पूर्ण समानुपातिक निर्वाचन प्रणाली कायम छ न त प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली नै । न त जातीय आधारका राज्यहरू नै । यसलाई माओवादीको राजनीतिक र रणनीतिक असफलता मान्ने कि सैद्धान्तिक विचलन ? प्रश्न उठेको छ ।

माओवादी जनयुद्ध ठिक वा गलत ?
माओवादीले गरिब, किसान, सर्वहारा र निमुखाहरूको जीवनस्तर उकास्ने कसम खाएर जनयुद्धमा होमिएको थियो । केही समय उसले राष्ट्रियता र जनजीविकासँग जोडिएका विभिन्न विषयलाई अघि सारेर नेपाली जनताको सहानुभूति एवं समर्थन बटुल्न सफल पनि भयो । नयाँ नेपाल बनाउने उसको अभियानमाथि विश्वास गरेर सोझा नेपाली जनताले धेरै थोक गुमाए । देशले अर्बौं–खर्बौं मूल्यको क्षति बेहोर्नुप¥यो । तर, शान्ति प्रक्रियापश्चात सरकारमा गएपछि जनजीविकाका यी सारा मुद्दाहरु छायाँमा परे । उत्पीडित जाति, भाषा, क्षेत्र, लिङ्ग, किसान, मजदुरका जर्जर समस्या उठान गर्ने शक्तिबाट विमुख हुँदै गयो । फलतः वर्ग रूपान्तरण भएपछि आन्दोलनका उपलब्धिहरू किनारामा पर्दै गए ।

कान्तिकारी चरित्र गुम्दै गएपछि माओवादी पार्टीभित्र आन्दोलनकारी बेग रहेन । विचारधारात्मक मुद्दा नारामै सीमित भएपछि जनताबाट पार्टी टाढिँदै गयो । नेताहरुको विलासी जीवनशैली र व्यक्तिगत महत्वाकांक्षाको उचित नियन्त्रण हुन नसक्दा समग्र आन्दोलन र सिंगो पार्टी नै धरापमा पर्ने खतरा यतिखेर बढेको छ । माओवादी यही नीतिगत र सांगठानिक समस्यामा फसेको छ ।

माओवादी आन्दोलनको अर्को प्रमुख मुद्दा संविधानसभा निर्वाचनबाट संविधान निर्माण थियो । तर संविधानसभाको प्रथम निर्वाचनबाट सबभन्दा ठूलो दलका रुपमा जनताबाट चुनिएर पनि माओवादी नेतृत्वमा संविधान निर्माण हुन सकेन । चुनाव सम्पन्न गर्न पनि गैरराजनीतिक (संवैधानिक) व्यक्तिलाई सत्ता सुम्पनुप¥यो । जुन उद्देश्यका लागि १७ हजार मानिसको ज्यान गयो, खरवौँका संरचना ध्वस्त भए त्यहीँ कुरा नै हुन नसकेपछि त्यो विद्रोह र विध्वंश केका लागि थियो ? प्रश्न उठेका छन् । माओवादी आन्दोलनको बलमा स्थापित भएको संघीयता नै मुलुकका लागि बोझिलो भएको गाइँगुइँ चल्न थालेको र समाप्त भएको राजतन्त्र नै पुनःस्थापनाको प्रसङ्ग उठिरहँदा माओवादी जनयुद्ध र राजनीति ठिक थियो वा गलत ? आशंका उब्जिएको छ ।

यता गहिरो भीर, उता ठूलो पहिरो
नेकपा माओवादी विगत १६ वर्षमा लगभग ११ वर्ष सरकारमा बसेको छ । यी सरकारहरुमा सहभागी हुँदा माओवादीले कांग्रेस, एमाले, जसपा, मधेसवादी पार्टी सबैसँग गठबन्धन गरेको छ । कुनै सैद्धान्तिक सहमतिबिना नै ऊ कहिले काङ्ग्रेससँग अचानक लहसिन थाल्छ त कहिले एमालेसँगको एकीकरणमा टाँसिन पुग्छ । अनि कहिले विद्रोहको भाषा बोलेर पुरानै दिशामा फर्कने धम्की दिन थाल्छ । विप्लव र बाबुरामसहित पुनः पार्टी एकीकरणको सोचमा अलमलिन्छ । त्यो पनि सम्भव नभएपछि पाँच दलीय गठबन्धनको निरन्तरता वा नेकपा एकीकृत समाजवादीसँग एकीकरणको रटानमा अडिएको छ ।

एघार वर्षे जनयुद्धको धराप छिचोलेर शान्तियुद्धमा हेलिएको नेकपा माओवादी केन्द्र यतिबेला माओवादी पार्टी वैचारिक, नीतिगत र सांगठानिक समस्यामा रहेको देखिन्छ । यद्यपि उक्त समस्याको उचित निकासको पहल गर्न भने सकिरहेको छैन । आदर्श, नीति र सिद्धान्तमा तमाम अस्पष्टता अनि संगठन स्वरूपमा ब्रगेल्ती अस्तव्यस्तता छन् ।

आफ्नो पुरानो शाख, शक्ति र जनविश्वास फर्काउन कस्तो लक्ष्य लिने र कुन विधि र नीतिलाई अँगाल्ने भन्ने ठोस निर्णय गर्न नसक्नु माओवादीको ठूलो राजनीतिक असफलता हो । यिनै असफलताका कारण आगामी चुनाव माओवादीका लागि फलामका चिउरा चपाउनु सरह हुनेछ । अहिलेलाई यत्ति भन्न सकिन्छ यतिबेला माओवादीका लागि यता गहिरो भीर देखिन्छ त उता ठूलो पहिरो । (ज्ञवाली रुपन्देहीका शैक्षिक अगुवा हुनुहुन्छ)