पानीका प्राकृतिक स्रोत जोगाऔं

मेचीकाली संवाददाता

८ चैत्र २०७८, मंगलवार
635 shares

अमृत गिरी
बुटवल । आज विश्व जल दिवस । जलसम्पदाको संरक्षण, सदुपयोग र विस्तार गर्न विज्ञहरुले गर्दै आएको आग्रहलाई सार्थक बनाउने अवसरका रुपमा यो दिवसलाई मनाउन जरुरी छ ।
विज्ञहरुले जलवायु परिवर्तन र नदी दोहन, तालतलैयामा अवैज्ञानिक तरिकाले माछा मार्ने प्रवृत्तिले पानीका प्राकृतिक स्रोतहरु मासिँदै र नासिँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । पानीका मुहान र स्रोतहरुको संरक्षणसँगै जलपर्यटनका पर्यावरणमैत्री कार्यक्रमलाई प्राथमिकतामा राख्न विज्ञहरुले आग्रह गर्दै आएका छन् ।

यहाँका केही पालिकाहरुले सिमसार क्षेत्रको संरक्षण र विस्तारका लागि केही नमुना कार्यक्रम सञ्चालन गरेका छन् । बुटवल उपमहानगरपालिकाले ‘एक वन ः बहुपोखरी’ कार्यक्रम प्रभावकारी बनाएको छ भने सैनामैना नगरपालिकाले जासययुक्त बहुउद्देश्यीय परियोजनाको काम अगाडि बढाएको छ । तिलोत्तमा नगरपालिकाले भूमिगत पानीका स्रोतको संरक्षणका काम गरिरहेको छ ।
यस्तै लुम्बिनी प्रदेश सरकारले सिमसार संरक्षणका लागि प्रदेशका १२ वटै जिल्लामा विशेष अभियान सञ्चालन गरिरहेको छ । बुटवलबाट सुरु भएको वनमा पोखरी बनाउने अभियानलाई प्रदेश सरकारले प्रदेशभरी विस्तार गरेको छ ।
प्रदेश सरकारका पूर्वउद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले विज्ञहरुसहित प्रदेशका सबै जिल्लामा पुगेर अभियानको अवलोकन गरिएको बताउँदै कार्यक्रम प्रभावकारी बनेको बताए ।

पानीका मूल सुक्ने र भासिने समस्या भएको भन्दै विभिन्न ठाउँबाट गुनासा आएपछि त्यस्ता क्षेत्रको पहिचान गर्दै संरक्षणमा काम थाल्न मातहतका अधिकारीहरुलाई निर्देशनसमेत दिइएको उनले बताए ।
जलवायु परिवर्तनले नकारात्मक असर पारेको र पानीका स्रोतहरु पनि सुक्दै गइरहेकाले त्यसलाई सुधार गर्न र वातावरण संरक्षणका लागि बुटवलका वनहरुमा पोखरी निर्माण अभियान सुरु गरिएको प्रमुख शिवराज सुवेदीले बताए ।
पोखरीका कारण त्यसभन्दा तलका स्थानमा पानीको मुलमा सुधार ल्याउने र सिमसार बन्दै हरियाली वातावरणले सुन्दरतासमेत बढाउने लक्ष्यका साथ वनहरुमा पोखरी निर्माणको काम सुरु गरिएको प्रमुख सुवेदीको भनाइ छ ।
प्रमुख सुवेदीका अनुसार वनमा निर्माण गरिएका पोखरीले वनजन्यतु तथा पशुपन्छीका लागि पानीको आहार हुने र त्यहाँबाट सिर्सिने पानीले जमिनमुनिको पानीलाई रिचार्ज गर्नेछ । जलवायु परिवर्तनका असरहरु छिटो–छिटो देखिन थालेका र त्यसले पानीका प्रकृतिक स्रोतहरु पनि सुक्दै गइरहेका बेला बुटवलले यस्तो नुमना कामको सुरुआत गरेको हो ।

बुटवलमा हालसम्म २३ वटा पोखरी निर्माण भइसकेका छन् । बुटवलमा रहेका २० वटै सामुदायिक वनहरुमा पोखरी निर्माण गरिने छ । उपमहानगरको यो अभियानमा प्रदेश सरकारका र सामुदायिक वन उपभोक्ताहरुको पनि लागत सहभागिता रहेको प्रमुख सुवेदीले बताए । बुटवलमा हरियाली प्रतिशत करिब ५४ प्रतिशत रहेपनि यहाँ पानीका प्राकृतिक स्रोतको अवस्था दयनीय छ । पानीका स्रोतको संरक्षण र रिचार्जका लागि सिमसार संरक्षणसंगै वनमा पोखरी निर्माणदेखि बैठौलिया सिमसार क्षेत्रको संरक्षण एवम् विस्तारसम्मका प्रभावकारी काम गरिएको प्रमुख सुवेदीको भनाइ छ ।
जैविक स्रोत तथा वनस्पतिको परम्परागत ज्ञानको अभिलेखीकरण राख्नेदेखि संरक्षणमा समुदायलाई जोड्नेसम्मका काम भएको प्रदेश सरकारको विभागीय मन्त्रालयका अधिकारीहरुके भनाइ छ । प्रदेश सरकारले पहिलोचरणमा १२ जिल्लामा एक सय १६ वटा पोखरी निर्माण गरेको थियो ।

फ्रेश वाटरको अर्को प्रमुख स्रोतका रुपमा रहेका नदीनाला तथा खोला–खोल्सीहरुको अस्वभाविक दोहनले खतरा निम्त्याइरहेको वातावरणविद् ई.खेटराज दाहालको भनाइ छ । नदीनाला तथा खोला–खोल्सीहरुको संख्या यहाँ ६००० (छ हजार ) भन्दा बढी रहेको तथ्याङ्क सार्वजनिक गरिएको भएता पनि त्यसको संरक्षणमा कसैको पनि चासो नदेखिएको ई.डा. दाहालको गुनासो छ ।
नेपालको सन्दर्भमा कुरा गर्दा खोला तथा खोल्सीहरुको उकास जमीन (बगर) संरक्षण गरी त्यहाँ रुखविरुवा लगाउनुको बदला बस्ती विकास भएको पाइन्छ ।
रुपन्देहीको तिनाउ, काठमाडौंको बाग्मती, विष्णुमती, धोवीखोला, सिन्धुलीको कमला, ग्वाङ्गखोला, मरिन, धनुषाको रातु, महोत्तरीको मणाहा, कपिलवस्तुको वाणगंगा आदि खोलाहरु अतिक्रमणको चपेटामा परेका छन् तर तीनको उचित व्यवस्थापनको बदला अतिक्रमणकारीलाई विभिन्न पूर्वाधारहरु बनाइदिएर सुरक्षा प्रदान गरिरहेको भन्दै विज्ञ दाहालले आक्रोस पोखे ।

बुटवलमा जनप्रतिनिधि चुनिएपछि वडा नं.१६ बैठौलियामा रहेको कपरकट्टी ताललाई संरक्षण र विस्तार गर्दै अहिले आकर्षक सिमसार क्षेत्रका रुपमा विकास गरिएको छ । उक्त तालमा अहिले डुङ्गासमेत सञ्चालन गरिएको छ । समुदायले सिँचाइका लागि सानो पोखरी जस्तो बनाएको तर, अतिक्रमण भएर मासिँदै गएको बैठौलिया सिमसार क्षेत्रलाई बुटवलमा जनप्रतिनिधि चुनिएपछि संरक्षणको काम सुरु भएको हो ।
बुटवलमा हालसम्म चारपाला, शिवनगर, बुटवल, चुरे, जितेश्वरी, रामनगर र तिनाउखोला नियन्त्रण सामुदायिक वनमा पोखरी निर्माण भइसकेका छन् । यस्तै चुरेबाट उम्रिएर सहरको बीच हुँदै बग्ने सुखौरा खोलाको संरक्षण गर्नका लागि गुरुयोजना तयार पारिएको उपमहानगरपालिकाका शहरी विकास महाशाखा प्रमुख वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठले जानकारी दिए ।

सैनामैनाको लामीरहमा जलासय बाँध र जर्लैया सिमसारको विस्तार
सैनामैना नगरपालिकाले लामीरहमा बहुउद्देश्यीय जलासययुक्त पार्क निर्माणको काम अगाडि बढाएको छ । यसले सैनामैनासहित छिमेकका कैयन् पालिकाहरुमा सिमसार क्षेत्र संरक्षण र पानीको रिचार्ज गर्ने चक्रलाई टेवा पु¥याउने विज्ञहरुले बताइसकेका छन् ।

यसक्षेत्रको महत्वपूर्ण आयोजना मानिएको लामिरह जलासय बाँधको डीपीआर बनिरहेको र यो अन्तिम चरणमा पुगेको नगरप्रमुख चित्रबहादुर कार्कीले बताए । राष्ट्रपति चुरे–तराई–मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाइ बुटवलका कार्यालय प्रमुख अजय कार्कीसहितको विज्ञहरुको टोलीले यो आयोजनाको कार्यान्वयनका लागि अहिले संघीय सरकार मातहतका विभिन्न कार्यालयमा खटिएको छ ।

यस्तै सैनामैनाको वडा नं ११ मा रहेको जर्लैया सिमसार क्षेत्रलाई संरक्षण र विस्तार गर्ने काम सुरु भएको छ । हाल ९ विगाह क्षेत्रफलमा रहेको यो सिमसार क्षेत्रको संरक्षण र विस्तारका लागि प्राथमिकताका साथ काम अगाडि बढाइएको प्रमुख कार्कीको भनाइ छ । सैनामैनाले जर्लैया सिमसार क्षेत्रको पनि गुरुयोजना बनाएर संरक्षण र विस्तारको काम गरिरहेको प्रमुख कार्कीले बताए । लामिरहको डीपीआर बनेर थप प्रक्रिया अगाडि बढेको र जलसम्पदा संरक्षणमा समुदायको समेत चासो बढेको बताए ।