सहयोगापेक्षी सडक मानवको अभिभावक बनेको बुटवल

मेचीकाली संवाददाता

४ बैशाख २०७९, आईतवार
384 shares

अस्मिना पाण्डे
बुटवल । बुटवल अस्पताल लाइनमा लामो समयदेखि सडक पेटीमा बस्दै आएकी करिब ४५ वर्षीया रितालाई जो कोहीले आँखा जुधाएर हेर्न सक्दैनथे । सडकका पेटीमा न खानाको टुङ्गो हुन्थ्यो न सुत्नको, कसैले खान दिए खाने नत्र त्यही पेटीमा कैयौँ वर्ष बिते । तर अहिले उनको दैनिकी फेरिएको छ । बुटवललाई सडक मानवमुक्त शहर घोषणा गर्ने अवधारणा आएपछि नै सडकमा रहेका मानिहरुलाई व्यवस्थित गर्न थालियो । त्यहीमध्येकी एक हुन् रिता । अहिले उनी मानव सेवा आश्रममा आफ्नो दैनिकी बिताइरहेकी छन् ।

अन्दाजी ५० वर्ष उमेरकी उनले आफ्नो नामसमेत बताउन र ठाउँ सम्झिन सक्दिनन् । करिब ११ वर्ष काठमाण्डौ पशुपतिनाथमा बसेकी उनी कसरी बुटवल आइपुगिन् उनलाई नै थाहा छैन । बुटवलका सडकमा उनलाई बेवारिसे अवस्थामा देखेपछि बुटवल उपमहानगरपालिकाले उद्दार ग¥यो । उपमहानगरले उद्दार, व्यवस्थानका लागि बनाएको संयन्त्रको सहयोगमा मानव सेवा आश्रममा लगेर उनलाई राखियो । त्यहाँ उनीजस्ता धेरै बेबारिसेको स्याहार सुस्याहार भइरहेको छ ।

आश्रममा ल्याएकोे पनि ३ वर्ष पुग्यो । पछि उनको नाम रेनु दिदी राखियो । अहिले आश्रममा रेनु दिदी भनेर चिनिन्छ । आश्रममा बस्न पाएपछि उनी खुशी छन् । ‘खान पाइन्छ, नाच्ने रमाउने घर जस्तै छ ।’ उनले भनीन् । उनी मानसिक रुपमा पनि स्वस्थ हुँदै गएको र पहिलेका धेरै कुरा सम्झिन सक्ने भएको बताउँछिन् ।

आश्रममै एक अर्की महिला छिन्–मिनु खत्री । उनको घर दाङ हो । कहाँ जाऊँ,कहाँ बसूँ भनेर भौतारिएको बेला बुटवलमा उनलाई उद्दार गरेर मानव सेवा आश्रममा लगियो । उनीहरु जस्ता धेरै बेसहाराका लागि सहारा बनेको छ बुटवलको मानव सेवा आश्रम । बुटवपल उपमहानगरपालिकाको सहयोगमा सञ्चालित आश्रममा बेसहारा सहयोगापेक्षीहरुको उद्दार गर्ने, उपचार गर्ने, स्याहार सुस्याहार गर्ने र परिवारमा पुनर्मिलन गराउने काम हुँदै आएको छ ।

यिनै सबै संयन्त्र तयार भएका कारण बुटवललाई सडक सहयोगापेक्षी मानवमुक्त सहर घोषणा गरिएको हो । सूचना पाउँदा साथ तत्कालै उद्दार गर्ने, आवश्यक उपचारको प्रवन्ध मिलाउने, आश्रममा लगेर राख्ने र त्यहाँ खानाबस्नको सबै प्रबन्ध मिलाइएको उपमहानगरका प्रमुख शिवराज सुवेदीले बताए । हरेक नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकारलाई मौलिक अधिकारको रुपमा कार्यान्वयन गर्ने चरणमा उपमहानगरले काम अगाडि बढाएको प्रमुख सुवेदीले बताए ।

सडकपेटी र सार्वजनिक स्थलहरुमा रहेका सहयोगापेक्षी वृद्धवृद्धा, मनोरोगी, महिला तथा बालबालिकाले सडकमा जिवन बिताउनु नपरोस् भन्ने उद्देश्यले बुटवल उपमहानगरले २०७६ पुस ५ गते नगरलाई एक औपचारिक कार्यक्रम गरी सहयोगापेक्षी बेसाहारा सडक मानवमुक्त उपमहानगर घोषणा गरेको थियो । बिहान पसल खोल्न नपाउँदैदेखि साँझसम्म माग्न आउने दिनमा कम्तीमा पनि २० जनासम्म मगन्ते, बेसाहारा आएर दिक्क पार्ने गरेको सम्झिँदै बुटवल ट्राफिकचोकमा करीब १५ वर्षदेखि बुटिक व्यवसाय गर्दै आएकी निष्ठा शेरचनले भनिन्,‘अहिले धेरै कम भएको छ । तर बेला बेलामा समूहमा आउने मगन्तेहरुले कहिलेकाहीँ सास्ती दिने गरेका छन् ।’ अझै निर्मुल पार्न दिनहुँ अनुगमन गर्नुपर्ने उनको सुझाव छ ।

नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका उपसभापति तथा बुटवल उद्योग वाणिज्य संघका महासचिव बिमलराज भट्टराईले बुटवलमा भएका नौला अभ्यासमध्ये यो पनि एउटा महत्वपूर्ण काम भएको भन्दै प्रशंसा गरे । उनले सबैको सहकार्यबाट यस्तो प्रयास सम्भव भएको उल्लेख गरे । आश्रम सञ्चालन भएपछि बुटवलमा मेयर सुवेदी, उपप्रमुख गुमादेवी आचार्यदेखि कार्यपालिका सदस्यहरु र अन्य राजनीतिक दलका नेताहरु पनि जन्मदिन मनाउन आश्रममै जाने गरेका छन् । कांग्रेस नेता भट्टराई आफैँले पनि मानव सेवा आश्रममा जन्मदिन मनाउने गरेको बताए । यसबाट सहयोग पनि हुने र त्यहाँ रहेका आमाबुवा, दिदीबहिनीहरुलाई रमाइलो पनि हुने उनको भनाइ छ ।

सडकमा बेसाहरा रुपमा जीवन बिताउनुपर्ने बाध्यतामा रहेका मानवहरुलाई उद्धार गर्ने, उपचार गर्ने र आवासको व्यवस्था मिलाउने काममा मानव सेवा आश्रमसँग सहकार्य गरिरहेको समेत उनले बताए । नगरमा देखिएको सहयोगापेक्षी कोही नागरिक देखेमा बुटवल उपमहानगरपालिकाको सामाजिक विकास महाशाखा, प्रहरी, मानवसेवा आश्रमसम्म खबर गर्न उपमहानगले आग्रह गरेको छ ।

२४ सै घण्टा सेवाका लागि स्वयंसेवक, सवारी साधनको व्यवस्था गरिएको छ, यो सबै नागरिकको सामाजिक उत्तरदायित्वभित्र पर्दछ, त्यसैले सबैले यो मानवीय कार्यमा सहयोग गर्न उपप्रमुख गुमादेवी आचार्यले अनुरोध गरिन् । मानिसको मानवोचित उद्धार, औषधोपचार, पालनपोषण, परिवार पत्ता लागेपछि पारिवारिक पुनःमिलन गराउने, मनोपरामर्शको सेवा प्रवाह गर्नेकाम निरन्तर गरिएको उपप्रमुख आचार्यको भनाइ छ ।
उपमहानगरले नियमीत अनुगमन, उद्धार गरेर आवश्यक सेवा प्रवाहगर्ने बेवारिसे सडक मानवहरुको मानवोचित उद्धार, औषधोपचार, पालनपोषण, परिवार पत्ता लागेपश्चात पारिवारिक पुनःमिलन गराउने, मनोपरामर्शको सेवा प्रवाह गरिरहेको छ ।

सयौंको उद्धार, कैयौंको पुनर्मिलन
बुटवलमा मानवसेवा आश्रमको स्थापना भएपछि २०७५ पुस ७ गतेदेखि उद्धार सुरु गारिएको थियो । हालसम्म सयौं जनाको उद्धार भएको छ । उद्धार गरिएकामध्ये कतिपय निको भएर फर्किएका छन् भने कतिपय परिवारमा पुनर्मिलन भएको छ । पारिवारिक पुर्नमिलन महिला १५ जना र पुरुष १९ जना गरी जम्मा ३४ जना रहेका छन् । मानसिक रुपमा निको भएपछि आश्रमबाट स्वइच्छाले जानेहरुमा २६ जना रहेका छन् । जसमा ७ जना महिला र १९ जना पुरुष रहेका छन् । त्यस्तै २२ जनालाई समुदायमा पुनस्र्थापना गरिएको छ । जसमा २ जना महिला र २० जना पुरुष रहेका छन् ।

बुटवल उपमहानगरपालिकालाई सडक मानवमुक्त घोषणा गरिएपश्चात २०७६ पुस ६ गते देखि २०७८ चैत १५ गतेसम्म जम्मा २०३ जनालाई उद्धार गरिएको छ । जसमा १४३ पुरुष र ६० जना महिला रहेका छन् । जसमध्ये महिला ३१ जना र पुरुष ३८ जना गरि जम्मा ६९ जनाको पारिवारिक पुनर्मिलन गर्न सफल भएको मानवसेवा आश्रमका सरु अधिकारीले जानकारी दिइन् ।

अधिकारीका अनुसार ४७ जना स्वइच्छाले गएका छन्, जसमध्ये ८ जना महिला र ३९ जना पुरुष रहेका छन् । त्यस्तै समुदायमा पुनस्थापना हुनेको संख्या २९ जना रहेको छ, जसमध्ये १ जना महिला र २८ जना पुरुष रहेका छन् । यो अवधिमा मृत्य ुहुनेको संख्या १७ रहेको छ । ४ जना महिला र १३ जना पुरुषको मृत्यु भएको मानवसेवा आश्रमको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

बुटवलका सडकमा बेसहारा भएर बसेका मानवहरुलाई खोजीखोजी उद्धार गर्ने, आश्रममा लैजाने, उपचारको खाँचो रहेकाहरुलाई उपचारको व्यवस्था मिलाउनेसम्मका कामहरु भइरहेको मानव सेवा आश्रम लुम्बिनी प्रदेशकी संयोजक अधिकारीले बताइन् । उनले बुटवलले जस्तै सबे पालिकाले पहल गर्ने हो सहयोगापेक्षी मानवमुक्त मुलुक बन्न बेर नलाग्ने बताइन् ।