अंग्रेजसँगको युद्धमा नेपालले जितेको दिन

जितगढीको भव्य कायापलट

मेचीकाली संवाददाता

७ बैशाख २०७९, बुधबार
51 shares

अमृत गिरी
बुटवल । केहीसमय अघिसम्म ओझेलमा थियो जितगढी किल्ला । त्यसैमा केही वर्षअघि तिनाउ नदीमा बनेको पुलको एउटा भाग किल्ला नजिकै बनेपछि किल्ला परिसर चेपुवामा प¥यो । किल्लाका सम्पदा स्थल केटाकेटी खेल्ने मैदान जस्तै बन्यो । नजिकै कभर्ड हल निर्माण भयो, सार्वजनिक भवन निर्माण भयो र तीनतिरबाट अतिक्रमण तीव्र भयो ।

ओझेलमा परेको वीरताको जीवित गाथा सम्झाउने किल्ला तब फेरिन सुरु भयो जब बुटवलमा जनप्रतिनिधि निर्वाचित भएर आए । तत्कालीन जिविस सदस्य हुँदा भागमा पर्ने केही हजार विकास बजेटलाई जितगढी संरक्षण र संवद्र्धनमा लगाएर उजागार गर्न कोसिस गर्ने एकजना नेता बुटवलको मेयरका रुपमा निर्वाचित भएपछि जितगढीको कायापलट सुरु भयो ।

उनै नेता अर्थात् शिवराज सुवेदी ०५४ मा जिविस सदस्य हुँदा प्राप्त गरेको केही बजेटले जितगढीको उजागार गर्ने कोसिस गरेका थिए । त्यसबेलाको पहलकदमी अहिले झण्डै दुई दशकपछि आएर मात्रै साकार हुने चरणमा पुगेको छ । त्यसअघि सम्म झारले ढाकिएको, एक एक वर्षमा तत्कालीन सेनाले सलामी दिने र सरसफाइ गरी वार्षिकी मनाउने गरिन्थ्यो । त्यसबेलासम्म जितगढीका लागि विनियोजित बजेटसमेत खर्च हुन्थेन र फ्रिज हुन्थ्यो । कैयौं आर्बको बजेट त्यसै फ्रिज भएको मलेपको तथ्यांकमा सायद अझै फेला पर्ला ।

तर, अब जितगढीको मुहार फर्किने भएको छ । बुटवल उपमहानगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएपछि प्राथमिकतामा परेको जितगढीलाई राष्ट्रिय स्वाभिमान र पहिचानको महत्वपूर्ण स्थलका रुपमा विकास गर्न लागिएको छ । ऐतिहासिक सम्पदाका रुपमा रहेको यो किल्लाको संरक्षणको पहल भएको झण्डै २३ वर्षपछि बुटवल उपमहानगरपालिकाले अहिले विशेष कार्यक्रम बनाएर संरक्षण सुरु गरेको छ । अहिले उबेलाको किल्ला परिसरको स्वरुप पूरै फेरिएको छ ।

०५४ सालमा जिल्ला विकास समितिले करिब दुई लाख रुपैयाँ विनियोजन गर्दै यो सम्पदाको संरक्षणका लागि औपचारिक काम सुरु भएको थियो । बीचमा यत्तिकै रहेको यो क्षेत्रको संरक्षणको काम अहिले सुरु भएको छ । सुवेदीले आफू मेयरमा निर्वाचित भएकै वर्ष भित्री संरचना निर्माणलगायतका कामका लागि एकैपटक ५० लाख रकम विनियोजन गर्दै विशेष काम सुरु गराएका थिए ।
उतिबेला जिविसमार्फत बजेट विनियोजन गर्दै संरक्षण सुरु गरेका जिविस सदस्यसुवेदी अहिले बुटवलको नगर प्रमुखको रुपमा निर्वाचित भएपछि नगरसभामार्फत जितगढी किल्ला विजय उत्सवको आधिकारित तिथि, मिति नै तय गरेर जितगढीलाई उजागार गर्ने र संरक्षण गर्दै विस्तार गर्ने कामको एउटा चरण सफल भएको छ । अब गुरुयोजनाका बाँकी काम अगाडि बढ्दै छन् ।
‘जितगढी सम्पदाको गुरुयोजना बनाएर काम गरेपछि जितगढी सम्पदाको कायापलट भएको छ ।’ स्थानीय अगुवा रवीन्द्रगोपाल लाकौल भन्छन्,‘इच्छाशक्ति र दृढता भयो भने काम सफल हुनेरहेछ भन्ने उदाहरण जितगढी बनेको छ ।’

विजय उत्सव दिवसको पाँचौं वर्षसम्म आइपुग्दा बुटवलले जितगढीको गुरुयोजना को अधिकांश काम पूरा भएको छ । गुरुयोजना अनुरुपको विस्तृत परियोजना प्रतिवेदन तोकिएका काम साकार हुँदै छन् । जग्गा अधिग्रहणसहित एक अर्ब लागत अनुमान गर्दै माथिल्ला सरकारसँग सहकार्यको प्रस्ताव अगाडि बढाइएको छ । नजिकै रहेको अर्को जग्गामा जितगढी बटौली युद्ध संग्रहालय निर्माण गरिएको छ ।
जितगढीमा अंग्रेज–नेपाल युद्धका समयमा नेपाली सेनाले विजय प्राप्त गरेको दिन वि.सं.१८७१ वैशाख ७ गतेको दिन रहेको आधिकारिक मितिलाई नै बुटवल उप–महानगरपालिकाको ०७४ चैत २६ गते बसेको नगर कार्यपालिका बैठकले विजय उत्सव दिवसका रुपमा मनाउन सुरु गरेको थियो । त्यसअघिसम्म विजय भएको दिनको यकीन मितिमा एकमत थिएन ।

ऐतिहासिक स्मारक स्थल
बुटवल वडा नं. १ स्थित जितगढी किल्ला नेपाल–अंग्रेज (इष्ट इण्डिया कम्पनी) युद्धमा (वि.स.१८७१ (७२) वीर नेपालीले विजय हासिल गरेको ऐतिहासिक स्मारक स्थल हो । बुटवल गढी कब्जा गरी पाल्पा हान्ने र तिब्बतसम्म पुग्ने उद्देश्यकासाथ अंग्रेज गर्भनर लर्ड हेस्टिङ्ग्सको निर्देशन र अंग्रेज सेनाका मेजर जनरल सुलीभान ऊड र कमाण्डर क्रोकरको नेतृत्वमा रहेको हतियारधारी अंग्रेज सेनालाई नेपाली वीर योद्धाले लडेर पराजित गरेका थिए ।
हतियारले सुसज्जित अंग्रेज फौजसँगको युद्धमा कर्णेल उजिरसिंह थापाको कमाण्डमा अदम्य साहस, रणकौशलता, पौरख एवम् वीरताका साथ युद्ध गरी नेपालीले विजय हासिल गरेको भूमि हो जितगढी । आज सोही विजय उत्सवको दिन हो । राष्ट्रिय स्वाभिमानको किल्ला जितगढीमा नेपालले अंग्रेजलाई हराएर वीरताको गाथा लेखाएको यो स्थललाई बुटवल उपमहानगरले अहिले संरक्षण, संवद्र्धन र व्यवस्थित गरेको छ । उपमहानगरमा जनप्रतिनिधि निर्वाचित भएपछिको यो एउटा सफल काम हो ।

बटौली पर्यटन सर्किटको केन्द्र जितगढी
किल्लाको संरक्षण र संवद्र्धन गर्दै यसलाई प्रदेशको मात्र नभई देशकै पर्यटकीय स्थलको रुपमा विकास गर्ने र बटौली पर्यटन सर्किटको मुख्य केन्द्र नै जितगढीलाई बनाउने बुटवलको लक्ष्य छ । जितगढीमा नेपालकै ठूलो राष्ट्रिय झण्डा फहराइरहेको छ । अंग्रेजलाई हराउने कर्णेल उजिरसिंहको पूर्ण कदको शालिक दक्षिणतिर फर्किएर शानका साथ उभिएको छ । नजिकै १३ जना वीर योद्धाका सालिक ठडिएका छन् । किल्लाको वास्तुकला, इतिहास, नेपाल–अंग्रेज युद्धका बारेमा जानकारी दिने डिजिटल बोर्ड तयार हुँदै छन् । हरियाली गार्डेन तयार भएको छ र राष्ट्रधुनसहितको जलफोहोरा तयार भएको छ ।

प्रमुख सुवेदीका अनुसार अहिले झण्डा राखिएको टावरको केही स्वरुप फेरेर अझ भव्य बनाइने छ । किल्लाको बाहिरी र वरपरको भागलाई थप आकर्षक बनाइने छ, भविष्यमा तिनाउ नदीलाई व्यवस्थित गर्दै जलपर्यटनका रुपमा पनि विकास गर्ने सुवेदीको दीर्घकालीन योजनामा छ । किल्ला परिसरसँगै पर्यटनलाई मणिमुकुन्दसेन दरबार क्षेत्र, नुवाकोट गढीसहितका पर्यटन क्षेत्रसँग जोडेर सर्किट बनाइएको छ र यसलाई साकार पार्न निजी क्षेत्रपनि सहकार्यको खाका तयार पारिएको छ ।
आदी मानव रामापिथेकश क्षेत्र र अरु पार्कहरुलाईसमेत जोडेर बटौली एकीकृत पर्यटन गन्तव्य बनाउने गरी विस्तारित गुरुयोजनालाई साकार पार्नेतर्फ ध्यान दिइएको प्रमुख सुवेदीको भनाइ छ । ‘आजको भोलि नै सबै एकैसाथ काम नहुन सक्छन् तर दीर्घकालसम्म सोंचेर तय गरिएका योजना विस्तारै साकार पार्दा बुटवल अझ भव्य बन्नेछ ।’ सुवेदीको भनाइ छ ।
जितगढीलाई केन्द्रमा राखेर नुवाकोट, लक्ष्मीपार्क, हिलपार्क, रामापिथेकश पार्कसहितका वरपरका क्षेत्र र बैठौलिया तालसम्म एउटै सर्किटमा जोड्नेगरी पर्यटन सर्किट तयार भएको छ । यो सर्किटलाई बुटवल चक्रपथले जोडेको र छिमेकका पालिका हुँदै लुम्बिनीसम्म कनेक्टिभिटी गराइएको छ ।

इतिहासका जानकार र विज्ञहरुको मिहिनेत
बुटवल उपमहानगरले विभिन्न समयमा इतिहासविद्, इतिहासका जानकार तथा विज्ञहरु सम्मिलित कार्यदल गठन गरेर जितगढी युद्धमा साहदत प्राप्त गर्नेहरुको खोजी र पहिचान गर्न लगाएपछि मात्रै शालिक निर्माण गरिएको उक्त कार्यको संयोजनसमेत गरेकी अनुगमन समिति संयोजक उपप्रमुख गुमादेवी आचार्यले बताइन् ।
उक्त कार्यदलमा संयोजक झपेन्द्र जिसी र सदस्यहरु डा.सूर्यबहादुर जिसी, विमलबहादुर शाक्य, चन्दा रावल, निर्मल श्रेष्ठ तथा रवीन्द्रगोपाल लाकौल र वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठले नेपाली सेनामा रहेका विज्ञहरु, इतिहासकार र सम्पदाका बारेमा जानकार रहेकाहरसँग विभिन्न समयमा अन्तक्र्रिया गरेको थियो । उक्त कर्यदलले ती वीर नेपालीका वंशका परिवार तथा आफन्त, नेपाली सेनाका मातहतका विभिन्न अड्डा र इतिहासविदसँग विभिन्न समयमा छलफल गरेको कार्यदलका संयोजक जिसीले बताए ।

संघीय सरकार, प्रदेश सरकार, पुरातत्व विभाग, नेपाली सेनालगायतका सुरक्षा निकायहरु, वटौली संरक्षण समिति तथा स्थानीय संघ–संस्था तथा क्लबहरुको सहकार्यमा जितगढीको संरक्षण र संवद्र्धनका तथा बटौली पर्यटन सर्किट व्यवस्थित गर्ने काम भइरहेको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले बताए ।
जितगढी किल्ला परिसरमा रहेको पुरानो नगरपालिका भवन, (वडा कार्यालय) हटाइएको छ । सोही स्थानमा प्रदेश सरकारको सहकार्यमा जितगढी युद्ध संग्रहालय (बटौली संग्रहालय) स्थापनाका लागि प्रक्रिया अगाडि बढाइएको वडा नं. १ का अध्यक्ष महेन्द्र लिगलले जानकारी दिनुभयो । अबको जितगढी बल्ल ऐतिहासिक धरोहर, राष्ट्रियताको पहरेदार र वीरताको किल्लाका रुपमा देखिने गरी कायापलटको काम भएको अध्यक्ष लिगलले बताए ।

भव्य बनेका छन् संरचना
१) मूल गेट र ऐतिहासिक पथ
–मूल गेट बुज्रा शैलीमा बनेको छ । जुन मणिमुकुन्द सेनको पालामा चलेको शैली हो । गेटको छानोको मध्यभागमा नेपालको झण्डा राखिएको छ । गेटको दुवैतिर तोप राख्ने काम भइरहेको छ । टिकट काउण्टर र गार्डको लागि अलग्गै ठाउँ रहेको छ । ऐतिहासिक पथमा एङ्लो–नेपाल युद्धको ऐतिहासिक समयानुक्रम र युद्ध सेनाहरुको परिचयात्मक फोटोसहितको ब्याकग्राउण्ड राखिँदैछ । यी युद्ध सेनाहरुले कोलोनेल (कर्णेल) उजिरसिंह थापालाई वरिपरिबाट घेरेर राखेको जस्तो देखाइने छ ।
२) विशाल राष्ट्रिय झण्डा
–अहिलेको झण्डाको संरचना परिवर्तन हुने छ । थोरै स्थान लिने गरी एउटै खम्बामा झण्डा फहराइने छ । उजिरसिंहको शालीक अगाडिको भागमा खाली ठाउँ राखिएको छ । समतल भूभागभन्दा केही माथि उठाइएको यो खाली ठाउँमा एक सय जना सिपाहीहरुले उजिरसिंहलाई सलामी ठोक्न सक्नेछन् । किल्लामा सेनाहरुलाई त्यही बसेर किल्लाको सुरक्षा गर्न आर्मी क्वाटर्रको डिजाइन गरिएको छ । यसका अलावा यी किल्लाका प्रत्यक कुनाहरुमा क्वाटर बनाइने छ । आर्मी क्वार्टरमा लवी, किचन, बेडरुम र ट्वाइलेट तथा बाथरुम बनाइएको छ ।
३) कलात्मक पुल
–संरक्षण गर्नुपर्ने क्षेत्रमा नै अहिलेको पुलको फाउण्डेशन रहेकाले नयाँ पुल प्रस्ताव गरिएको छ । पुलले अवलोकनकर्ताहरुलाई किल्लाको पूर्व र पश्चिमतर्फ अवलोकन गर्न मिल्ने गरी बनाइने छ । मेयरले सकभर सिसाको जस्तो पुल बनाउन अध्ययन गर्न लगाएका छन् । एउटै पुलबाट अवलोकनकर्ताहरुले गढीको फेँदमै जान मिल्ने र माथि पनि आउन मिल्ने गरि पुलको डिजाइन भइ कनिर्माण कार्य सुरु भएको सहरी विकास तथा योजना महाशाखा प्रमुख वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठले जानकारी दिए । यो काममा नेपाली सेनाले निरन्तर समन्वय र रेखदेख गरिरहेको छ ।
५) वीर योद्धाका शालिक
–जितगढी युद्धमा सहादत प्राप्त गर्ने वीर नेपाली सेनासहित वीर योद्धाहरुको शालिक निर्माण गरिएको छ । १३ जना वीरयोद्धाका शालिक कर्णेल उजिरसिंहको शालिकतिर फर्किएर कमाण्ड कुरेको जस्तो देखिने छ । यी सबैका शालिक निर्माण गरिएको छ । शालिकसँगै हरियाली उद्यान पनि निर्माण भएको छ । यसको हालै पूर्वमन्त्री तथा एमाले सचिव छविलाल विश्वकर्माले उद्घाटन गरेका थिए ।
६) भ्यू डेक र फोटो बुथ
–किल्लाको पूर्वतर्फ बगिरहेको तिनाउ नदी अवलोकन गर्न मिल्ने गरी भ्यू डेक बनाउने काम भइरहेको छ । कर्णेल उजिरसिंह थापाको पोजीशनमा फोटो खिच्न चाहने अवलोकनकर्ताहरुको लागि फोटो खिच्न मिल्ने एउटा फोटो बुथ निर्माण गरिने छ । यसले त्यहाँ आउने पर्यटकका लागि कर्णेल उजीर सिंहलाई सम्झाउने छ ।
७) एमफीथियटर (रंगभूमि )
– साँझमा सराया नाचलगायतका सांस्कृतिक नाच तथा झाँकीहरु प्रदर्शन गर्न मिल्ने गरी छुट्टै स्थान तोकिएको छ । यसका लागि संरचना तयार भएको छ । यहीँ स्थानमा उस्तै पोशाक लगाएर कर्णेल उजीरसिंहका पालाको भगवति जात्रा र सरायँ नाचको झल्को देखाइने छ ।
८) मन्दिर
–अहिलेको मन्दीरलाई जस्ताको तस्तै राखिने गरी थप आकर्षक बनाइने छ । यसको संरचनामा परिवर्तन नगरी थप कलात्मक र आकर्षक बनाउने काम भइरहेको इन्जिनियर रुक्मात बस्यालले बताए । बस्यालसहित नेपाली सेनाको प्राविधिकहरु निरन्तर जितगढीमा खटिएका छन् ।
९) ग्रेटर नेपाल र शिलालेख
–रंगभूमिको पछाडिको भागमा अवलोकन कर्ताहरुले नेपालको रणनैतिक आक्रमणका ठाउँहरु देखाइएको नेपालको ठूलो तस्वीर राख्ने काम सुरु भएको छ । सम्भव केही दिनमै यो काम पूरा हुनेछ । तस्वीरको अगाडिको भागमा विभिन्न समयको प्रतिनिधित्व हुने गरी एङ्लो नेपाल युद्धको समयानुक्रम देखाइने इन्जिनियर बस्यालले बताए । ।
१०) स्मारक
–एङ्लो नेपाल युद्धको झझल्को आउने गरी एउटा स्मारक डिजाइन गरिएको छ । अवलोकनकर्ताहरुले किल्लाबाट बाहिर निस्कने द्वारमा यसलाई अवलोकन गर्न सक्नेछन् । किल्लामा यहाँका स्थानीयको सहयोगमा बुटवल उपमहानगरपालिका र पुरातत्व विभागले उत्खनन सुरु गरिसकेको छ । त्यसैलले उत्खनन भएका क्षेत्रमा आंशिक रुपमा मात्रै अवलोक कर्ताहरुलाई जान दिन मिल्ने बनाइएको छ । उत्खनन भएको क्षेत्रलाई पानी र खराब मौसमबाट बचाउन संरचना तयार पारिने छ । अहिलेको किल्लाको संरचनाको ठिक्क बाहिर पट्टी मायाको चिनोहरु बेच्ने ठाउँ र कार्यालय बनाउने काम पनि सुरु भएको छ । यहाँ ४ चक्के र २ चक्केको लागि पाकिङसमेत बनाइने छ । यी कामका लागि कुल लागत ८ करोड, १२ लाख ८९ हजार २७ रुपैंयाँ लागत अनुमान गरिएको थियो ।

को कस्को बन्यो शालिक ?
१ कर्णेल उजिरसिंह थापा (सबुज) (निर्माण पूरा भएर पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीद्वारा अनावरण भएको) । २.काजी वीरभञ्जन पाँडे (गुरुबक्स कम्पनी) । ३.कुम्भेदान कृपासुर थापा । ४.दलखम्ब थापा । ५.समशेर राना मगर । ६. सरदार सूर्जे थापा । ७.लेफ्टिनेन्ट अम्बर अधिकारी । ८.कुम्भेदान वृषसुर थापा । ९.जमदार भीमसेन देउजा । १०.जमदार शूरवीर बोहरा । ११.हवल्दार रणशूर बानियाँ । १२ सिपाही हंशवीर अधिकारी । १३. थरघर नकुल बानियाँ । १४.जुठे बस्नेतका शालिक तयार भएका छन् । यी शालिककको पूर्वमन्त्री छविलाल विश्वकर्माबाट अनावरण भइसकेको छ ।

के भन्छन् फेरिएको जितगढीबारे विज्ञहरु ?

जितगढी बल्ल देखिने, सुनिने र चिनिने भयो
डा.सूर्य जिसी (इतिहासविद्)
नेपालको वीरताको किल्लालाई कागजमा सीमित थियो । अतिक्रमणको चपेटामा परेको थियो र जीर्ण बनिरहेको थियो । जब बुटवलमा जनप्रतिनिधि निर्वाचित भएर आउनुभयो तब अहिले जितगढी सुनिने, चिनिने र देखिने अवस्थामा पुगेको अहिलेको अवस्थाले प्रष्ट पारेको छ । अहिले यो किल्ला संरक्षण र संवद्र्धन भएर उज्यालो बनेको छ । हालसम्म हुन नसकेका काम जनप्रतिनिधिले यो एउटा कार्यकालमा अगाडि बढाएको छ । गुरुयोजना नै बनाएर बुटवल उपमहानगरले महत्वपूर्ण संरक्षण र संवद्र्धनको काम गरेको छ ।

जितगढीलाई आधुनिक, व्यवस्थित र योजनाबद्ध तरिकाले संरक्षण, विस्तार र विकास गर्नु समग्र इतिहासलाई उजागार गर्नुजस्तै हो । तत्कालीन नेपाल–अंग्रेज युद्धमा विजेता भएका वीर योद्धाका, वीर सपूतका सालिक निर्माण गर्ने, सम्पदास्थललाई संरक्षण र संवद्र्धन गर्ने जुन काम भएको छ यसले बुटवलको पहिचानलाई अझ विस्तार गरेको छ । कर्णेल उजीर सिंहको पूर्णकदको सालिक निर्माण भएको छ र उक्त सालिक अनावरणका लागि पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता केपी शर्मा ओली आफैँ सम्पदास्थलमा प्रस्तुत भएर जितगढीको गाथा सुनाउनुभएको थियो । यसले पनि जितगढीको शान र पहिचानलाई विस्तार गर्न मद्दत मिलेको छ ।

बुटवलवासीले गर्व गर्न लायक भएको छ जितगढी
बिमलबहादुर शाक्य
वरिष्ठ समाजसेवी तथा पूर्वउपप्रमुख

बुटवल उपमहानगरपालिकाले जितगढी सम्पदाको संरक्षण र विस्तार योजनाबद्ध ढंगले काम गरेको छ । बुटवलमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि बुटवलबासीले गर्व गर्न लायक काम भएको छ, जितगढीको मुहार फेरिएको छ । जितगढीको संरक्षण, संवद्र्धन र विकासका लागि उपमहानगरका मेयर शिवराज सुवेदीको नेतृत्वमा उदाहरणीय काम भएको छ । बुटवलबासीले गौरवबोध गर्न मिल्ने काम भएको छ । यद्यपि जितगढीका लागि बनाइएको गुरुयोजना साकार पार्नका लागि अझै केही काम बाँकी पनि रहेका छन् ।

जितगढी के हो ? कर्णेल उजिरसिंहलाई त्यसबेला अंग्रेजले के पत्र लेखेका थिए भन्ने कुरालाई नेपालीमा अनुवाद गरेर त्यहाँ राख्नुपर्ने छ । गुरुयोजनामा यसलाई समावेश गरिएको मेयरले बताउनुभएको छ । के कसरी युद्ध भएको थियो भन्ने बारेमा भिडियोमार्फत सन्देश दिन सकिने समेत व्यवस्था मिलाउने कुरा मेयरले गर्नुभएको छ, जुन खुशीको कुरा हो । यो एउटा अवधिमा अर्थात् एक कार्यकालमा यो सबै काम एकसाथ सम्पन्न हुन सक्ने कुरा पनि भएन । तर, जेजति काम भए त्यसले समग्र विकासको असली खाका कोरेको छ र बुटवलबासीले गौरवबोध गर्ने भएको छ ।

इतिहास सम्झाउने, चिनाउने र सिकाउने काम भएको छ
–झपेन्द्र जिसी
संस्कृतिविद्

बुटवलमा रहेको वीरताको किल्ला जितगढीको संरक्षण र संवद्र्धनमा उदाहरणीय काम भएको छ । जनप्रतिनिधि निर्वाचित भएर आएपछिका नौला काममध्येको यो एउटा महत्वपूर्ण काम हो । गुरुयोजना बनाएर सुरु गरिएको यो कामले अहिले सार्थकता पाएको छ । विक्रम् सम्वत् १८७१ देखि १८७२ वैशाख ७ गतेसम्मको पटक–पटकको लडाइँमा आफूलाई विश्व विजेता दाबी गर्ने अंग्रेज सेनासँगको युद्धमा डटेर लड्ने विजयी हुने कर्णेल उजीरसिंह सहित वीरयोद्धाका सालिक निर्माण गरेर इतिहास सम्झाउने, चिनाउने र सिकाउने काम गरेको छ ।

प्रमुख शिवराज सुवेदीसहित उपमहानगरका सबै जनप्रतिनिधि, कर्मचारीहरु र यसको संरक्षणका लागि खटिएका वडाका नागरिक अगुवा र सबै संरक्षणकर्मीहरु बधाईका पात्र हुनुहुन्छ । तत्कालीन नेपाल–अंग्रेज युद्धमा शाहदात प्राप्त सरदार सुर्य थापा, लेपटन अमर अधिकारी, कुम्भेदान वृषसुर थापा, जमदार भिमसेन देउजा, सुरविर बोहरा, हवल्दार रणसुर बानिया, सिपाही हंसवीर अधिकारी, नकुल बानियाँ, जुठे बस्नेतलगायतका सैयौं जना ती वीर योद्धाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दछु ।

बल्ल उज्यालो भएको छ जितगढी
रवीन्द्रगोपाल लाकौल
संरक्षणकर्मी, बटौली संरक्षण तथा संवद्र्धन समिति, बुटवल
जितगढी वीरताको किल्ला जितगढी सम्पदाको भूमिमा रहेका नागरिक हौं हामी । यसको संरक्षणका लागि धेरै वर्षदेखि लड्दै आएका थियौं तर सुनुवाई भएको थिएन । अहिले बुटवलमा नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएपछि हामी बुटवलबासीका लागि पनि गर्व गर्ने काम भएका छ । बल्ल विजयका गाथा सुनाउने सम्पदाका रुपमा यसको विकास भएको छ । साह्रै खुशी लागेको छ । अहिलेका मेयर शिवराज सुवेदी प्रष्ट भिजन भएका, प्रष्ट विचार भएका, दूरदृष्टि भएका सक्षम हुनुहुँदो रहेछ ।

उहाँले जितगढीलाई संरक्षण र संवद्र्धन गरेर सिङ्गो बुटवललाई उज्यालो बनाउनुभएको छ । हामी स्थानीय बासिन्दाहरु यो कामबाट साह्रै खुशी भएका छौं र उत्साहित भएका छौं । जितगढी बुटवलवासीको मात्र सम्पत्ति नभइ सिङ्गो राष्ट्रको सम्पत्ति बन्नेगरी बुटवलले काम गरेको छ । योजनाबद्ध विकास र संरक्षण एवम् संवद्र्धनका काम कसरी हुँदा रहेछन् भन्ने कुरा हेर्नका लागि जितगढीमा आउनुपर्ने भएको छ । वीरताको किल्ला जितगढीको मुहार फेरिएको छ र सिंगो बुटवल उज्यालो भएको छ ।