स्थानीय तह निवार्चन: बुटवलमा कस्ले मार्ला बाजी ?

मेचीकाली संवाददाता

१७ बैशाख २०७९, शनिबार
632 shares

प्रकाश आचार्य
बुटवल । सत्तारुढ गठबन्धनसहितका मुख्य दलहरूको मोर्चाबन्दी, अर्कोतिर नेकपा (एमाले) एक्लै मैदानमा । राष्ट्रिय राजनीतिमै प्रभाव पार्न सक्ने बुटवल उपमहानगरपालिकाको निवार्चन प्रतिस्पर्धा रोचक बन्दैछ । स्थानीय तह चुनाव होस् वा प्रतिनिधिसभा निर्वाचन, रूपन्देहीको बुटवलले देशकै ध्यान खिच्ने गर्छ । बुटवल लुम्बिनी प्रदेशको राजनीतिक केन्द्र हो ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार बुटवलको मेयरमा ९ जनाले उम्मेदवारी दिए पनि, प्रतिस्पर्धा चाहिँ एमालेबाट मेयरको उम्मेदवार बनेका नेता बाबुराम भट्टराई र गठबन्धनका साझा उम्मेदवार कांग्रेस नेता खेलराज पाण्डेबीच नैं महाभिडन्त हुनेछ । भट्टराई र पाण्डे स्याङ्जाको कालीगण्डकी गाउँपालिबाट बुटवल झरेको व्यक्ति हुन् । भट्टराई कालीगण्डकी वडा नम्बर ४ र पाण्डे वडा नम्बर २ बाट २०३५ सालतिर बुटवल झरेका थिए ।

अझै रोचक गठबन्धनबाट उपमेयरका उम्मेदवार चीनबहादुर गुरुङ पनि स्याङ्जाबाट बुटवल झरेर राजनीतिमा होमिएका व्यक्ति हुन् । एमालेले उपमेयरमा पार्टीका केन्द्रीय सदस्य सावित्रा अर्याललाई अगाडि सारेको छ भने नेकपा (एकीकृत समाजवादी) का नेता गुरुङलाई गठबन्धनले उपमेयरको साझा उम्मेदवार बनाएको हो । मेयरमा एउटै गाउँले र उपमेयरमा पूर्वसहयात्रीबीचको प्रतिस्पर्धा बुटवलको स्थानीय तह निर्वाचन कम रोचक छैन । जसरी बुटवलमा गर्मीको पारो चढेदो छ, त्योभन्दा चुनावी रापताप माथि छ । बुटवलको नेतृत्व गर्न गठबन्धन गरेर पाण्डे र एमाले नेता भट्टराई एक्लै चुनावी मैदानमा होमिएको छन् ।

बुटवलमा २०५६ पछिका स्थानीयदेखि संसदीय निर्वाचनमा एकछत्र ‘राज’ गर्दै आएको एमालेलाई यसपटक, कांग्रेस, माओवादी केन्द्र, नेकपा एसलगायतका सत्तारुढ दलहरूलाई एक्लै ‘फेस’ गर्नुपर्ने छ । कांग्रेसलाई पनि गठबन्धन भएको मौकामा एमालेको ‘किल्ला’ भत्काउनु दाउ हेरेको छ । तर, मेयरका उम्मेदवार पाण्डे बुटवललाई एमालेको गढ भन्ने कुरा स्वीकार गर्दैनन् । ‘बुटवल एमालेको कसरी गढ हुन्छ ?’ पाण्डेले भने, ‘२३ सय मतले म गएको निर्वाचनमा पराजित भएको ठाउँमा कसरी गढ हुन्छ ? २३ सय मत भनेको त, १२ सय मत यताउता हुँदा नतिजा उल्टिने अवस्था हैन र ? मैले ‘गढ’ भन्दिनँ । गएको निर्वाचनमा हाम्रा प्राविधिक त्रुटिहरू थिए ।’

पाण्डे गएको निर्वाचनमा एमालेका उम्मेदवार शिवराज सुवेदीसँग पराजित भएका हुन् । सुवेदीले २३ हजार २४९ र कांग्रेसका खेलराज पाण्डेले २० हजार ८५१ ल्याएका थिए । सुवेदी र पाण्डेको मत २ हजार ३९८ को अन्तर थियो । त्यस्तै उपमेयरमा एमालेकी गुमादेवी आचार्य र माओवादी केन्द्रका जगतबहादुर पोखरेलको भने १० हजार भन्दा बढी अन्तर थियो ।

आचार्यले २५ हजार ३०१ ल्याउँदा पोखरेलले १४ हजार ७९२ मत मात्र ल्याएका थिए । १९ वडा रहेको बुटवलमा १४ वटा एमाले र ४ वटा कांग्रेसले जित निकालेको थियो भने माओवादीले एउटा पनि जित्न सकेन् । २०५६ र ०७४ को स्थानीय निर्वाचन जितेको एमाले आफ्ना उम्मेदवार भट्टराईलाई जिताएर बुटवलमा ‘ह्याट्रिक’ गर्ने रणनीतिका साथ लागेको छ । पाण्डे सत्ता गठबन्धनको बलबाट बुटवलमा एमाले किल्ला भत्काउन चाहन्छ । तर, गठबन्धनलाई बुटवलमा एमालेको शक्ति भत्काउन त्यति सहज भने छैन । किनभने, पाँच वर्ष अगाडि पनि कांग्रेस र माओवादीले गठबन्धन गरेर चुनाव लडँदा पनि एमाले एक्लै मेयर, उपमेयर बहुमत वडामा जित निकालेको थियो । बुटवल नेकपा एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको निर्वाचन क्षेत्र तथा गृहनगर हो ।

पौडेलले बुटवलबाटै २०६४, २०७० र २०७४ को संसदीय निर्वाचन जितेका छन् । कांग्रेस विगत २२ वर्षदेखि बुटवलमा दह्रो गरी कहिल्यै उभिन सकेका छैन । २०७० सालको दोस्रो संविधानसभा चुनाव तत्कालिन माओवादी नेता बाबुराम भट्टराई पनि क्षेत्र साविक रुपन्देही क्षेत्र नम्बर चार (हाल दुई) बाट लडेका थिए । एसएलसीमा बोर्ड फस्ट भट्टराई यहाँको मत परिणाममा भने तेस्रो हुन पुगेका थिए । बुटवल नगरको तीन कार्यकाल सभापति पाण्डे मेयर लड्न एक वर्षअगाडिदेखि नै चुनावी रणनीति बनाएर थिए । यसपटक पाण्डेलाई जित्नैपर्ने दबाब छ भने भट्टराईलाई एमाले किल्ला जोगाउनुपर्ने चुनौती छ । १९ वटा वडा रहेको बुटवलमा अहिले २४ हजार मतदाता थपिएका छन् । गएको निर्वाचनमा ६६ हजार ९० मतदाता रहेको बुटवलमा अहिले ९० हजार ६५ पुगेका छन् ।

एमालेमा आएको विभाजनले भोटरहरु केही घटे पनि त्यो नेकपा एमालेले अस्वीकार गर्दै आएको छ । एमाले उम्मेदवार भट्टराईले आफूले निर्वाचित भएर बुटवललाई बदल्ने दावी गर्छन् । बलियो संगठन, इमान्दार र जुझारु कार्यकर्ता रहेका कारण आफूले जित्ने भट्टराई बताउँछन् । बुटवलको सुकुम्बासी समस्या, ज्योतिनगर पहिरोदेखि साना व्यवसायीहरुका सबै समस्याहरु समाधान गराउन नगरपबासीले यसपटक आफूलाई रोज्ने पाण्डेको दावी छ । भट्टराईले १३ वर्षको हुँदादेखि नै राजनीतिप्रति चासो राख्न थालेका थिए । फलस्वरुप २०३६ सालदेखि उनी कम्युनिष्ट पार्टीमा आबद्ध भए । लामो समय उनले व्यवसाय सेक्टरमा रहेर काम गरेका उनी पार्टीको जिल्ला कमिटी हुँदै हाल प्रदेश कमिटी सदस्य छन् ।
नेपाल औषधी व्यवसायी संघका पूर्वकेन्द्रीय अध्यक्ष भट्टराईसँग पार्टीको केन्द्रीय स्वास्थ्य विभागमा रहेर पनि काम गरेको अनुभव छ । त्यस्तै उनले बुद्धिजीवी परिषद्मा रहेर पनि काम गरे पार्टीमा धेरैले उनलाई बौद्धिक व्यक्तित्व भनेर चिन्ने गर्छन् । सबैसँग सन्तुलित व्यवहार गर्ने भएकाले विपक्षीको मत तान्न सक्ने क्षमता पनि भट्टराईमा रहेको पार्टीका कतिपय नेताहरु बताउँछन् ।

बीपी कोइरालाका पुस्तकहरूको अध्ययनबाट प्रभावित भएपछि नेपाली कांग्रेसको राजनीतिमा लागेका पाण्डेले कांग्रेसभित्र पनि सामान्य परिवार, सरल तथा प्रष्ट वक्ताको रूपमा आफूलाई प्रस्तुत गर्ने गरेका छन् । बिहानदेखि साँझसम्म सर्वसाधारणको समस्या समाधानमै समय बिताउने पाण्डे बुटवलका हरेक गल्ली तथा चोकचोकमा हिँडेरै नागरिकका दुःखसुखमा सहभागी हुने गरेको बताउँछन् ।
गठबन्धन दलका सबै कार्यकर्ताबाट भोट आए आफूले अंक गणितको आधारमा यसपटक जित्ने पाण्डेको आत्मविश्वास छ । ‘हाम्रो पार्टीभित्र देखिएको असन्तुष्टिले चुनावी परिणाममा असर गर्दैन । बुटवलमा विकल्पको खोजी भइरहेको छ । म यसपटक चुनावी जित्छु ।’ पाण्डेले भने । ‘गठबन्धन इमान्दारिताका साथ कार्यान्वन भए बुटवलमा यसपटक नेतृत्व उल्ट्याउन सकिन्छ । यसपटक भोट क्रस गर्ने छुट कसैलाई हुने छैन ।’ उनले थपे ।

चुनावको गणित र जनताले एमालेलाई नै रोज्ने एमालेकी उपमेयरकी उम्मेदवार सावित्रा अर्यालले बताइन् । त्यस्तै गठबन्धनबाट उपमेयरका उम्मेदवार गुरुङले बुटवलका जनताले परिवर्तन खोजेकोले गठबन्धन गरेर चुनावमा होमिएको बताए । बुटवल पहाडी जिल्लाको बसाइसराइको केन्द्र हो । बुटवलको जनसंख्या झण्डै २ लाख छ । एमाले आफ्नो अस्तित्व रक्षा कसरी गर्ने भन्ने उद्देश्यका साथ लागिपरेको छ भने गठबन्धन एमालेको ‘किल्ला’ तोड्न चाहन्छन् । बुटवल देशकै पुरानो नगरपालिकामध्येको हो । बुटवल वि.सं.२०१६ सालमा नगरपालिका बनेको थियो ।