सैनामैनाका वनमा अब पुष्परसका बिरुवा रोपिने

चिउरीको महको स्रोत केन्द्र बनाउने प्रतिबद्धता

मेचीकाली संवाददाता

१९ बैशाख २०७९, सोमबार
47 shares

अमृत गिरी
बुटवल । सैनामैनामा रहेका सामुदायिक वनहरुको संरक्षण गर्दै हरियाली बढाउने र माहुरीका लागि चरण क्षेत्र बनाउने एमालेको प्रतिबद्धता छ । सैनामैना नगरपालिकाको प्रथम मेयरका रुपमा निर्वाचित हुँदा सुरु गरेको यो अभियानलाई अब निर्वाचित भएपछि सार्थक बनाउने उम्मेदवार चित्रबहादुर कार्कीको प्रतिबद्धता छ ।

चित्रबहादुर कार्की

सैनामैनालाई हरियालीसहितको सुन्दर सहर बनाउने प्रतिबद्धताअनुरुप माहुरीको पनि स्रोत केन्द्र बनाउने उनको संकल्प छ । सैनामैनामा रहेका सामुदायिक वन र खुला क्षेत्रको संरक्षण गर्दै तिनमा चिउरीका बिरुवा रोप्ने र त्यसैमा माहुरीको चरणका लागि वातावरण मिलाइने कार्कीको भनाइ छ । चिउरीलाई पुष्परसको उपयुक्त बिरुवा मानिन्छ ।
अहिले रहेको माहुरीको स्रोत केन्द्रलाई संरक्षण र विस्तार गर्दै जडिबुटीयुक्त मह उत्पादनमा केन्द्रित गराउने लक्ष्यका साथ यस्तो अभियान सुरु गरिएको उनले बताए । सैनामैनालाई मह उत्पादनको स्रोत केन्द्र बनाउन पहिलो कार्यकालमा सुरु गरिएका कार्यक्रमलाई यस कार्यकालमा पूरा गरिने उनको प्रतिबद्धता छ ।

औषधीय गुणका जडिबुटीयुक्त पुष्परसका बिरुवा रोपिने
सैनामैनामा १७ वटा सामुदायिक वन रहेका छन् । यी वनको संरक्षण र हरियाली बिस्तारका काममा केही नमुना प्रयास भएका छन् । सैनामैनामा एमालेका प्रतिनिधि निर्वाचित भएपछि ती नमुना कामको निरन्तरता हुने र अझ विशिष्टिकृत हुने दाबी गरिएको छ । एमालेले जारी गरेको नयाँ चुनावी प्रतिबद्धतामा अब कृषि क्षेत्रमा गरिने कामको एउटा बुँदाका रुपमा माहुरीको स्रोत केन्द्र बनाउने पनि उल्लेख छ । जडिबुटीयुक्त पुष्परसका विरुवाहरु वनमा रोप्ने, हेरचाह गर्न हेरालु राख्ने र तिनैमा माहुरीको चरण बनाई औषधीय गुणको मह उत्पादनमा सहयोग गर्ने लक्ष्यका साथ सुरु गरिएको कार्यक्रमलाई अब विस्तार गरिने प्रमुखका उम्मेदवार कार्कीको भनाइ छ । सैनामैनामा ३३७७ हेक्टर वन क्षेत्र रहेको छ । चुरे क्षेत्रलाई नगरपालिकाले तारबार लगाएर संरक्षण गर्दै आएको छ । हालसम्ममा नगर पालिकाले करिब ७ किलोमिटर तारबार लगाएर संरक्षण गरिएको छ । संरक्षित वन क्षेत्रमा पुष्परसका विरुवा रोपिने पहिलो चरणमा चिउरीका बिरुवा रोप्ने कार्यलाई निरन्तरता दिइने प्रमुखका उम्मेदवार कार्कीले बताए ।

यसअघि भएका केही प्रयास
सैनामैनाले कृषिलाई समृद्धिको पहिलो आधार बनाएको छ । कृषि क्षेत्रको विकास, विस्तार र संवद्र्धनका लागि नगरपालिकाले आवश्यक उपकरण, मल बीउ, प्राविधिक ज्ञान र कृषि उपजको बजारिकरणका लागिसमेत सहयोग गर्दै आएको छ । किसनलाई उत्पादनका आधारमा प्रदान गरिँदै आएको अनुदानले हौसला बढाएको छ । यसअघिको निर्वाचनमा निर्वाचित भएका जनप्रतिनिधिहरुले सुरु गरेका नौला अभ्यासहरु यसक्षेत्रमै अनुकरणीय मानिन्छन् ।
कृषिलाई पहिलो प्राथमिकतमा राख्दै सुरु भएका अभियानले उत्पादकत्व बढाउने काम गरेको छ । नगरपालिकाले विभिन्न समयमा मौरीपालक किसानलाई घारमा अनुदान उपलब्ध गराएको थियो । माहुरी पालक किसानलाई विशेषज्ञता तालिम प्रदान गर्ने र किसानहरुको समूह गठन गरी प्रोहोत्सान गरिएको छ । चुरे क्षेत्रमा माहुरी उत्पादनको मुख्य पुष्परस प्रदायक करिब ५० हजार चिउरीका रूखहरु रोपिएको थियो । ती विरुवाका लागि हेरालुसमेत राखिएको छ । किसानबाट उत्पादित महको लेबलिङ र ब्रान्डिङ गरी बिक्री बितरणमा पनि सहयोग गरिँदै आएको छ । यसलाई विस्तार गरेर वनहरुमा पुष्परसका विरुवाहरु रोपिने भएको छ ।

कल्पवृक्ष पनि हो चिउरी
समुद्र सतहबाट २०० देखि १,५०० मिटरसम्मका भीरपाखा, नदी किनार तथा खोचमा हुर्कने चिउरीलाई कल्पवृक्ष पनि भनिन्छ । रुख १५ देखि २० मिटरसम्म अग्लो हुने चिउरीलाई बहुउपयोगी रुख मानिन्छ । नेपालमा पूर्व–देखि पश्चिमसम्मै यसलाई हुर्काउन सकिन्छ । चिउरीको एउटा बोटबाट ५० देखि १५० किलोग्रामसम्म बिजुला निस्कन्छ । धेरै उपयोगी हुनाले यसलाई कल्पवृक्षको रुपमा लिइने वैज्ञानिकहरु बताउँछन् । हल्का पहेलो रंगको फूल हुने चिउरी असोज–कार्तिकदेखि माघसम्म फुल्छ । अनि फागुनदेखि असारसम्म फल लाग्छ । फल काँचोमा हरियो र पाकेपछि पहेंलो हुन्छ । फलभित्र १ देखि ३ वटासम्म बिजुला हुन्छन् । यिनै फुलको रस खान माहुरीको आकर्षण हुन्छ । सोही रस खाएका मुहारीबाट उत्पादन हुने महलाई औषधीय गुणको र बहुउपयोगी मानिन्छ ।

चिउरीको पात गाइवस्तुलाई खुवाउन र टपरी गाँस्न र पूजाआजामा पनि प्रयोग गरिन्छ । यसको घिउ खान (तरकारी पकाउन र सेल रोटी पकाउन) र औषधीको रुपमा (खुट्टा फुटेकोमा, घुँडा दुखेकोमा, अनुहारमा आएको दाग हटाउन) प्रयोगमा आउँछ । चिउरीको घिउ साबुन र मैनबत्ती बनाउन उपयोगी हुन्छ । पेलेर बाँकी रहेको पिनाबाट जैविक मल र किटनाशक औषधी बनाउन सकिन्छ । चिउरीको काठबाट विभिन्न सामान बनाउन सकिन्छ ।

माहुरीपालक किसानहरु खुशी
माहुरीका लागि पुष्परसको चरण क्षेत्र बनाउने एमालेको प्रतिबद्धताले यहाँका माहुरीपालक किसानहरु खुशी भएका छन् । सयौं घार माहुरी पालन गर्दै आएका किसानहरुले पुष्परसका बिरुवा रोप्ने र माहुरीका लागि आवश्यक चरण बनाउने एमालेको संकल्पले उत्साहीत भएको बताएका छन् । सैनामैना नगरपालिकामा चुनिएका एमालेका प्रतिनिधिले आफूहरूको कृषि कर्ममा महत्वपूर्ण सघाउ गरेको र अहिले फेरि नयाँ संकल्प गरेको भन्दै किसानहरु खुशी भएका छन् ।

सैनामैना–४ का माहुरीपालक किसान लेखनाथ न्यौपानेले किसानलाई प्राथमिकतामा राख्नु खुशीको कुरा भएको बताए । उनले सहयोग पाएमा विभिन्न प्रकारका मह उत्पादन गर्न सकिने बताए । न्यौपानेले विगत चार वर्षदेखि माहुरीपालन गर्दै आएका छन् । विदेशबाट फर्केर कृषिमा होमिएका न्यौपानेलाई नगरपालिकाको अनुदान कार्यक्रमले हौसला बढाएको छ । १० घारबाट सुरु भएको व्यवसायमा अहिले ५० घर माहुरी छन् ।

मौरीपालक कृषक समूह नै गठन गरेर व्यवसायिक काममा यहाँका किसानहरु जुटेका छन् । १८ जना सदस्य रहेको समूहले माहुरीका लागि आवश्यक चरण क्षेत्रको पहिचान गर्ने, जडिबुटीयुक्त मह उत्पादनका लागि तालिम लिएका छन् । पुष्परसका बिरुवा रोप्ने कुराले किसानहरु खुशी भएका छन् । १८ जना सदस्य आबद्ध समूहमा १७ सय माहुरीका घारबाट मह उत्पादन हुँदै आएको छ ।

सैनामैना–३, पर्सावलका टंकबहादुर खत्रीले व्यावसायिक रूपमा ५ सय घार मौरीपालन गरेका छन् । उनले नगरपालिकाले अनुदान र हौसला प्रदान गरेर काममा समिर्पित हुने वातावरण बनाएको बताए । न्यू मलमला माहुरी उद्योग नाम राखी पाँचवटा घारबाट सुरु गरी अहिले एक्लै पाँच सय घारमा माहुरी पालन गरिरहेको उनको भनाइ छ । उद्योगमा हाल ५० क्विन्टल मह उत्पादन भएको छ भने वैशाखसम्म मौसम र फूलले साथ दिए थप ५० क्विन्टल उत्पादन हुने लक्ष्य रहेको खत्रीको भनाइ छ । उत्पादित मह बाल्टीमा प्याक गरी मुलुकका विभिन्न स्थानमा पठाइन्छ ।

कति हुन्छ मह उत्पादन ?
सैनामैनामा हाल करिब १८०० घार मौरी रहेका छन्, जसबाट वार्षिक ५०० क्विन्टल मह उत्पादन हुँदै आएको छ । यसलाई विस्तार गर्ने तयारी छ । उत्पादित महलाई नगरपालिकाको सहयोगमा मौरीपालक समूहले महको लेबलिङ भई ब्रान्ड गरी बिक्री बितरण गर्दै आएका छन् । व्यावसायिक रूपमा माहुरी पालनको लागि सैनामैना उपयुक्त रहेको माहुरी पालक किसानहरुले बताउँदै आएका छन् । मह हाम्रो शरीरको लागि बहुउपयोगी खाद्य वस्तु हो । महले मान्छेको स्मरण शक्ति तेज बनाउनुका साथै अनेक रोकको औषधीको रूपमा प्रयोग गर्न सकिन्छ । हाम्रो दैनिक जिवनामा आवश्यक कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन बी र सी, आइरन, म्याग्नेसियम, क्याल्सियम, पोटासियम, फस्फोरस, सोडियमज जस्ता आवश्यक तत्व पाइन्छ त्यसेले पनि मह सेवन गर्नु आवश्यक मानिन्छ ।

वनको संरक्षणसँगै बहुउपयोगको योजना
सैनामैनामा भएका प्राकृतिक वन तथा रुखहरूको संरक्षण गर्नुका साथै वनको बहुउपयोग गर्ने योजना रहेको प्रमुखका उम्मेदवार कार्कीको भनाइ छ । चुरेमा रहेका वन र तराईमा रहेका वनको थप अध्ययन गरेर दुवै ठाउँमा उपयुक्त हुने बिरुवा रोप्ने, भूस्खलन रोक्ने र जडिबुटीको अलग प्लट बनाउने योजना रहेको कार्कीले बताए । सैनामैनामा एमालेले प्राकृतिक रूपमा नै वनको पुनःस्थापना गर्ने र बहुउपयोग गर्ने रणनीतिका साथ नयाँ कार्यक्रम बनाएको प्रतिबद्धतामा उल्लेख छ ।

कार्बन सञ्चितीकरण गर्न र वायुमण्डलमा जलवायु परिवर्तनका असरको मात्रा घटाउन वनको प्रयोग गर्ने उद्देश्यका साथ तयार पारिएका धेरैजसो वृक्षारोपण परियोजनाहरूमा विभिन्न प्रजातिका चाँडै हुर्कने बिरुवाहरू रोप्ने, पुष्परसका विरुवामा ध्यान दिने, वनको संरक्षण गर्ने, वनपथ, वनअध्ययन केन्द्रको विकास गर्नेलगायतका कार्यक्रम बनाइएको एमालेको प्रतिबद्धतामा उल्लेख छ ।