आज लुम्बिनीमा भारतीय प्रम मोदीको भ्रमण

मेचीकाली संवाददाता

२ जेष्ठ २०७९, सोमबार
354 shares

अमृत गिरी
लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनी यतिबेला चरिच्याट्ट भएको छ । बुद्ध जयन्तिको अवसर पारेर आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक सांस्कृति भ्रमण हुँदैछ । लुम्बिनीमा विशेष सुरक्षा व्यवस्था मिलाइएको छ भने मायादेवी मन्दिर परिसर र अन्तर्राष्ट्रिय ध्यान केन्द्रलाई विशेष रुपले सजाइएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदी नेपालको औपचारिक सांस्कृतिक भ्रमणको सिलसिलामा आज बिहान ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै लुम्बिनी आउँदैछन् । प्रतिनिधिमण्डलमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, परराष्ट्र सचिव विनयमोहन क्वात्रा, विदेश मन्त्रालयका सहसचिवद्वय अनिन्दम बाग्ची र अनुराग श्रीवास्तव, प्रधानमन्त्री कार्यालयका सहसचिव रुद्रा गौरव श्रेष्ठलगायत रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारतीय प्रधानमन्त्री मोदीलाई अन्तर्राष्ट्रिय वौद्ध प्रार्थना केन्द्र तथा प्रेक्षालय नजिक निर्माण गरिएको हेलिप्याडमा प्रधानमन्त्री शेरबहादुर देउवालगायतले स्वागत गर्ने कार्यक्रम छ ।

ऐतिहासिक सांस्कृतिक भ्रमण
भारतीय सरकारका तर्फबाट अहिले हुन लागेको सांस्कृतिक भ्रमण ऐतिहासिक भएकाले पनि लुम्बिनी अहिले अन्तर्राष्ट्रिय चासोमा परेको छ । भारतीय चक्रवर्ती सम्राट अशोक, राजा कनिस्को र हर्षबद्र्धन पछिको ऐतिहासिक भ्रमण भारतीय प्रम मोदीबाट हुँदैछ ।
कोषका उपाध्यक्ष शाक्यपुत्र भिक्षू मेत्तैयाका अनुसार लुम्बिनीमा छिमेकी मुलुकबाट धेरै वर्षपछि विशिष्ट र ऐतिहासिक भ्रमण हुँदैछ । बौद्ध विचारलाई अझ विश्वव्यापीकरण गर्न मित्रराष्ट्र भारतका प्रधानमन्त्री मोदीको भ्रमण एउटा कडी हुने भिक्षू मेत्तैयाको भनाइ छ ।

उनले लुम्बिनीको पर्यटन प्रबद्र्धनका लागि यसप्रकारको विशिष्ट सांस्कृतिक भ्रमण महत्वपूर्ण कडी हुने र लुम्बिनी तीर्थ स्थल मात्रै होइन, बौद्धमार्गीहरुको स्थल मात्रै होइन र अन्तर्राष्ट्रिय केन्द्र पनि हो भन्ने कुराको बोध गराउन पनि यसप्रकारका भ्रमणले मद्दत गर्ने बताए ।
लुम्बिनीको गुरुयोजना अनुरुपका काम पनि पूरा हुने चरणमा रहेको र लुम्बिनीमै अन्तर्राष्ट्रिय ध्यान केन्द्र समेत निर्माण भएको अवस्थामा मोदीको उच्चस्तरीय सांस्कृतिक भ्रमण हुन लागेको हो ।

यस्तो छ भारतीय प्रम मोदीको भ्रमण कार्यक्रम
लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यका अनुसार भारतका प्रधानमन्त्री मोदी आज बिहान ११ बजे हेलिकोप्टरबाट लुम्बिनी आइपुग्ने कार्यक्रम छ । कोषको गुरुयोजनामै रहेको हेलीप्याड अहिले तयार भएका छन् अन्तर्राष्ट्रिय ध्यान केन्द्रको नजिकै रहेको हेलीप्याडमा ओर्लेने कार्यक्रम छ । त्यहाँ नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री देउवाले स्वागत गर्नेछन् ।

लगत्तै विश्व सम्पदा सूचीकृत मायादेवी मन्दिर परिसरमा विशेष कार्यक्रम हुनेछ । त्यहाँ कोषका पदाधिकारी र परराष्ट्रमन्त्रीले स्वागत गर्ने कार्यक्रम छ । त्यसपछि मायादेवी मन्दिरमा आमन्त्रित भन्ते÷गुरुमाले स्वागत गर्ने कार्यक्रम छ । त्यसलगत्तै प्रधानमन्त्री मोदीले मायादेवीमा पूजा गर्ने कार्यक्रम हुनेछ र त्यस अवसरमा मुलुकका सबैभन्दा ठूला भिक्षु र लामा गुरुको उपस्थिति हुने कोषका सदस्यसचिव शाक्यले बताए । पूजा सकिएपछि प्रधानमन्त्री मोदीले मायादेवीको मूर्ति र मार्कर स्टोन निर फूल चढाउनेछन् र त्यसैबेलामा परित्रान पाठ गरिने छ ।

पूजा सकिएपछि भारतीय प्रधानमन्त्री मोदीले मायादेवी मन्दिर परिक्रमा गर्ने, अशोक स्तम्भ परिसरमा दीप प्रज्वलन गर्ने, मायादेवी मन्दिर परिसरमै मोदीले यसअघि उपहार स्वरुप पठाएको बोधीवृक्षमा जल सिंचन गर्ने कार्यक्रम छ । तत्कालीन भारतीय राजदूत रञ्जित रेले मोदीले पठाएको बोधीवृक्ष मायादेवी मन्दिर परिसरमा रोपेका थिए र अहिले उक्त वृक्ष हुर्किसकेको छ । मायादेवी मन्दिरको कार्यक्रमपछि ‘भिजिटर बुक’ मा हस्ताक्षरको कार्यक्रम रहेको कोषका सदस्य सचिव शाक्यले बताए ।

त्यसलगत्तै भारतीय प्रम मोदीले लुम्बिनीको पश्चिमी विहार क्षेत्रमा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय बुद्धिस्ट कन्फेडेरेसन (आईबीसी) विहारको एक संक्षिप्त र ऐतिहासिक समारोहीबीच शिलान्यास गर्ने कार्यक्रम रहेको छ । यो विहार भारतीय संस्कृति मन्त्रालयअन्तर्गत रहेको छ । यी कार्यक्रमहरु सकेपछि मोदी लुम्बिनीमै रहेको स्टार होटल पवन होटलमा जानेछन् । त्यहाँबाट फर्केर मोदी अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा आयोजना गरिएको बुद्ध जयन्ति मूल समारोहमा सहभागी हुनेगरी कार्यक्रम तालिका तयार भएको कोषले जनाएको छ ।
आज मोदीको लुम्बिनी भ्रमण हुने दिन जेठ २ मा बिहान ९ बजेदेखि कम्तीमा तीन घण्टा सर्वसाधारणलाई मायादेवी मन्दिर प्रवेशमा रोक लगाइने भएको र मध्याह्न कार्यक्रम सकिएपछि खुला गरिने कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (शिद्धिचरण)ले जानकारी दिए । उनले मित्रराष्ट्रका प्रधानमन्त्री मोदीको भ्रमणले लुम्बिनीको पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण टेवा मिल्ने बताए । यसका लागि कोषले सबै तयारी मेहनतका साथ गरिरहेको उनको भनाइ छ ।

आज २५६६ औँ बुद्धजयन्ती
आज २५६६ औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस । विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाइँदैछ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका रुपमा लिने गर्छन् ।
मन्दिर आसपासका पुरातात्विक संरचनालाई फूल र मालाले सजाएर आकर्षक बनाइएको छ । मन्दिर परिसरको भित्र, बाहिर र अशोक स्तम्भभित्र सरसफाइ गरेर आकर्षक पारिएको छ । स्तम्भसम्म पुग्ने सडक पनि सफा गरेर सुन्दर बनाइएको छ । मन्दिर र पवित्र उद्यान क्षेत्रमा झिलीमिली बत्ती राखिएको छ ।

ठाउँ ठाउँमा बुद्ध वचन, वाणी र पञ्चशिलका नयाँ तुल व्यानार टाँसिएको छ । आगन्तुकलाई स्वागतका लागि बाहिर नै गेट बनाइएको छ । अघिल्ला वर्षहरूभन्दा यसपटक लुम्बिनीलाई विशेषरुपमा सजाउने काम गरिएको र लुम्बिनीका लागि विशेष महत्वको रहेको कोषका उपाध्यक्ष भिक्षू मेत्तैयाको भनाइ छ ।
लुम्बिनीमै बनेको अन्तर्राष्ट्रियस्तरको बौद्ध सभाहल तथा ध्यान केन्द्रको पनि बुद्धजयन्तीका दिन शुभारम्भ गर्ने कार्यक्रम छ । राष्ट्रिय गौरवको योजनाअन्तर्गत निर्माण थालिएको अत्याधुनिक सुविधासहितको सभाहल चार वर्षमा पूरा भएको छ । सो सभाहलकोे प्रधानमन्त्री शेरबहादुर देउवाले शुभारम्भ गर्ने बताइएको छ ।

यस पटक बुद्धजयन्तीको अवसरमा बुद्धजन्मस्थल तथा देवदह र कपिलवस्तुको तिलौराकोटमा चार दिनसम्म विशेष कायर्कम गरिने कोषका कोषाध्यक्ष तथा प्रचारप्रसार उपसमितिका संयोजक ढुण्डिराज भट्टराईले जानकारी दिए ।
उनका अनुसार बुद्धजयन्ती तथा लुम्बिनी दिवसका अवसरमा अघिल्लो दिन जेठ १ गते नै गौतमबुद्धको मावली देवदह तथा अस्तुधातु राखिएको स्थल नवलपरासीको रामग्राममा विशेष कार्यक्रम गरिएको छ । जेठ दुई गते बुद्धजयन्ती विशेष समारोह लुम्बिनीमा आयोजना हुने छ । यही जेठ ३ र ४ गते कपिलवस्तुको तिलौराकोटमा कार्यक्रम छ । बुद्धजयन्ती तथा लुम्बिनी दिवस मनाउन सो कोषले रु एक करोड बजेट व्यवस्थापन गरेको संयोजक भट्टराईले बताए ।

बौद्ध ग्रन्थका अनुसार इपू ६२३ को वैशाष पूर्णिमाको दिन कपिलवस्तुका राजा शुद्धोदनकी रानी मायादेवी आफ्नो माइती देवदह जाने क्रममा लुम्बिनी उद्यान आइपुगेपछि सिद्धार्थ गौतमको जन्म भएको थियो ।

नेपाल र भारतबीच पाँचवटा समझदारी हुँदै
लुम्बिनी । शैक्षिक–सांस्कृतिक सम्बन्ध सुदृढ तुल्याउन नेपाल र भारतबीच पाँचवटा समझदारी हुने भएको छ । नेपाल र भारतबीचको शताब्दी पुरानो शैक्षिक एवं सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ तुल्याउन दुई देशबीच पाँचवटा समझदारी हुने भएको हो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा आज सोमबार लुम्बिनीमै पाँचवटा समझदारीपत्रमा हस्ताक्षर हुन लागेको हो । भारतीय शैक्षिक एवं सांस्कृतिक प्रतिष्ठानले लुम्बिनी बौद्ध विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित एक–एकवटा तथा काठमाडौँ विश्वविद्यालयसँग तीनवटा समझदारीपत्रमा हस्ताक्षर गर्न लागेको हो ।

लुम्बिनी बौद्ध विश्वविद्यालय र भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आइसिसीआर), त्रिभुवन विश्वविद्यालय नेपाल तथा एशियाली अध्ययन केन्द्र (सिनास) र आइसिसीआर, काठमाडौँ विश्वविद्यालय र आइसिसीआर, सोही विश्वविद्यालय र चेन्नइस्थि भारतीय प्रविधि प्रतिष्ठानसँग अन्य दुईवटा सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।