तिलोत्तमा नगर प्रमुखमा कांग्रेसका खाण र उपप्रमुखमा एमालेकी चौधरी निर्वाचित

मेचीकाली संवाददाता

१३ जेष्ठ २०७९, शुक्रबार
732 shares

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका रामकृष्ण खाण र उपप्रमुखमा एमालेकी जागेश्वरी देवी चौधरी विजयी भएकी छन्।

गठबन्धनबाट उम्मेदवार बनेका खाण ७६५ मतान्तरले विजयी भएका हुन्। कांग्रेस रुपन्देहीका सभापतिसमेत रहेका खाणले २४ हजार ३९६ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का मोहन चापागाईंले २३ हजार ६३१ मत पाएका छन्। २०७४ को निर्वाचनमा एमालेका बासुदेव घिमिरेसँग २ हजार ३ सय मतान्तरले पराजीत भएका रामकृष्ण गृहमन्त्री बालकृष्ण खाणका भाइ हुन्।

उपप्रमुखमा भने फराकिलो मतान्तर सहित एमालेकी उम्मेदवार चौधरी विजयी भएकी छन्। चौधरीले २३ हजार ८६ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार हेमलाल पाण्डेले ११ हजार ५४६ मत पाएका छन्।

२०७४ को निर्वाचनमा पनि चौधरीले जनमुक्तिकी गिता सारू मगरलाई पराजित गर्दै उपप्रमुखमा विजयी भएकी थिइन्। ८५ हजार ७४७ मतदाता रहेको तिलोत्तमामा ६४ हजार मत खसेको थियो।

को हुन् रामकृष्ण खाण ?

विसं २०२२ माघ १७ गते रुपन्देहीको मणिग्राममा जन्मिएका रामकृष्णका बुवाआमा २०१७ सालमा स्याङ्जा बिसिङकोट (हालको चापाकोट) बाट रुपन्देही आएका हुन्। 

उनी गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणका सहोदर भाइ हुन्। उनका बुबा पनि कांग्रेसको राजनीतिमा सक्रिय थिए। रामकृष्ण २०३५ सालदेखि नै आफ्ना बुवा र दाइको पदचाप पछ्याउँदै पञ्चायत बिरोधी आन्दोलनमा लागेका थिए।

२०४७ सालमा बुटवल बहुमुखी क्याम्पसको स्ववीयु इकाइको कोषाध्यक्ष भएका थिए। २०५४ सालमा उनी कांग्रेस रुपन्देहीको जिल्ला कार्यसमिति सदस्य भए। त्यसपछि उनी २०६६ सालमा जिल्ला सचिव भए।

त्यसपछिका कार्यकाल पनि सचिव भएका उनी गत मंसिरमा सम्पन्न कांग्रेसको १४ औँ महाधिवेशनबाट कांग्रेस रुपन्देहीको सभापतीमा निर्विरोध निर्वाचित भएका थिए। उनले स्नातक तह सम्मको अध्ययन गरेका छन्।

१७ वटा वडा रहेको तिलोत्तमा नगरपालिकामा वडा नम्बर १, ४, ७, ८, १०, ११, १२ र १५ मा नेकपा एमालेले जितेको छ भने वडा नम्बर २, ३, ५, ६, ९, १३, १४, १६ र १७ मा नेपाली कांग्रेसले बिजय हासिल गरेको छ। 

जो वडाध्यक्षमा निर्वाचित भए

वडा नम्बर १ : फर्सुराम गिरी (एमाले)    

वडा नम्बर २ : डिल बहादुर भट्टराई (कांग्रेस)

वडा नम्बर ३ : कल्याण पौडेल (कांग्रेस)

वडा नम्बर ४ : हरि बहादुर क्षेत्री (एमाले)

वडा नम्बर ५ : रमेश डुम्रे (कांग्रेस)

वडा नम्बर ६ : गणेश पाठक (कांग्रेस)

वडा नम्बर ७ : देविप्रसाद पंगेनी (एमाले)

वडा नम्बर ८ : कृष्णप्रसाद पौडेल (एमाले)

वडा नम्बर ९ : ध्रुव न्यौपाने (कांग्रेस

वडा नम्बर १० : गोपालप्रसाद घिमिरे (एमाले)

वडा नम्बर ११ : विष्णु बराल (एमाले)

वडा नम्बर १२ : सहदेव थारु (एमाले)    

वडा नम्बर १३ : नारायण ढकाल (कांग्रेस)

वडा नम्बर १४ : अश्विन पौडेल (कांग्रेस)

वडा नम्बर १५ : खेमराज गुरुङ (एमाले)  

वडा नम्बर १६ : झविलाल भुषाल (कांग्रेस)

वडा नम्बर १७ : दानबहादुर चौधरी (कांग्रेस)