योगको परीभाषा र यसको बढदो महत्व

मेचीकाली संवाददाता

७ असार २०७९, मंगलवार
135 shares


योगको शाब्दिक अर्थ जोडनु हो । शरीरलाई मनसँग मनलाई आत्मासँग र आत्मालाई परमात्मासँग जोडनुलाई योग भन्ने गरिन्छ । योग शब्दको सामान्य अर्थ संवन्ध पनि हो ।
पतन्जलीको सिद्धान्तअनुसार चित्तको वृत्तिलाई वास्तविक निरोध गर्नुनै योग हो । वास्तवमा हाम्रो अस्थिर मनलाई स्थीर बनाउनुनै योग हो । हाम्रो मनमा अनेक प्रकारका राम्रा नराम्रा वृत्ति उत्पती र लय भईरहेको हुन्छ । योगले मानिस भित्र रहेको रोगलाई निरोध गर्न सक्छ ।
रोगीका लागि योग चिकित्सा पद्धति हो भने निरोगीका लागि जीवनपद्धती हो । वास्तवमा योग भनेको अज्ञानताबाट ज्ञानतर्फ जडबाट चेतनातर्फ निर्बलताबाट सबलतातर्फ प्रत्यक्षबाट परोक्षतर्फ एवं सीमितबाट असिमिततर्फको आध्यात्मिक यात्रा
अहिले मानिसहरुलाई शारिरीक तथा मानसीक समस्याले सताएको छ ।यस अर्थमा अहिले मनसँग शरीरको जोडलाई नै योग भन्न सकिन्छ ।यस अर्थमा शारिरीक रुपमा स्वस्थ मानसीक रुपमा शान्त तथाआध्यात्मिक रुपमा उच्च चेतनायुक्त भएर जिउने कलालाई नै योग भनिन्छ ।
केही परीभाषाहरु
• पातन्जल योगदर्शन चित्तवृत्ती निरोध नै योग हो

• विष्णुपुराणका अनुसार जीवात्मा तथा परमात्माको पूणतया मिलननै योग हो ।

• भागवत गीताका अनुसार दुख- सुख लाभ-हानी शत्रु-मित्र शीत-उण्ण आदि द्धन्दमा समभाव राख्ने योग हो ।

• बौद्धधर्मकाअनुसार कुशल चित्तको एकाग्रता योग हो ।

• सदगुरुकाअनुसार योग सधै शरीर परिवर्तन गर्न कोशिस गर्दछ किनकि यदि शरीर परिवर्तन भयो भने दिमाग आफै परिपक्व हुन्छ ।
योगको ऐतिहासिक पृष्ठभुमीमा पतन्जली
योग सम्वन्धी उपलब्ध प्राचीन प्रमुख ग्रन्थहरुमा महर्षी पतन्जलीद्धारा रचित पातन्जलयोगप्रदीप प्रामाणिक ग्रन्थ हो । इतिहासकारहरुले पतन्जलीलाई ईसापुर्व दोश्रो शताब्दीका मानेका छन । पतन्जली योग सुत्रमा ४ पाद छन । प्रथम समाधि पादमा ५१ सुत्र , दोश्रो साधना पादमा ५५ सुत्र, तेश्रो विभुति पादमा पनि ५५ सुत्र, चौथो कैवल्य पादमा ३४ सुत्र छन । यसरी पतन्जली योग सुत्रमा कुल १९५ सूत्र छन । सूत्र भनेको ज्ञानको बीजगणीतिय सुत्रजस्तै संक्षिप्त प्रारुप हो । जस्तै योगस्य चित्तवृत्तिनिरोध: अर्थात चित्तवृत्तिको निरोध/रोकावटनै योग हो । अथवा मनमा कुनैपनि ईच्छा कल्पना चिन्ता चिन्तन विचार भय आदि आउनै नदिनु नै योग गर्नु हो । त्यस्तो अवस्थामा मात्र मन पूर्ण विचार शुन्य भई ध्यान धारणा र समाधितिर उन्मुख हुन्छ । मनलाई विचार शुन्य बनाउन धेरै कठीन छ । यो अवस्था प्राप्त गर्न त्यति सहज हुदैन । भगवान श्रीकृष्ण गीतामा अर्जुनसँग भन्नुहुन्छ असंशयं महाबाहो मनो दुर्निग्रहं चलम् । अभ्यासेन तु कौन्तेय वैराग्येण च गृह्ययते ।। (गीता) अर्थात हे महाबाहु अर्जुन ! मनलाई नियन्त्रण गर्न धेरै कठीन छ तापनि यसलाई अभ्यास वा वैराग्यले नियन्त्रणमा ल्याउन सकिन्छ । योगको प्रमुख उदेश्य शरीर र मनलाई मलरहित बनाई आत्मालाई परमात्मामा एकिकरण / विलय गराउनु हो ।

              आधुनिक समयअनुसार  भौतिकरुपमा सुखी जीवन जीउने चाहना अनुरुप सबैले शिक्षा सम्पती मान प्रतिष्ठा प्राप्त गर्न सफल भएता पनि स्वास्थ्य र आनन्द( खुसी )  प्राप्त गर्न सकिरहेका छैनन । शारिरीक रुपमा स्वस्थ तथा मानसीक रुपमा खुसी प्राप्तीका लागि योगनै उपयुक्त विधी/माध्यम हो । योगले शरीर मन र आत्मालाई एकाकार बनाई मन शान्त र स्थीर रहन मद्यत गर्दछ । योगासन र प्राणायामको निरन्तर अभ्यासले शारिरीक मानसीक र आध्यात्मिक व्यक्तित्व विकास हुने गर्छ । श्वासप्रश्वासलाई ध्यानमा राखेर आसन गर्दा  शरीरमा लचकता र मानसीक शान्तीको लाभ मिल्छ । योगासनबाट शरीरमा स्फुर्ति जागरण र हल्का मानसीक तनाव कम र राम्रो निद्रा पाचन क्रिया बलियो अल्छीपन हटने शरीर निरोगी छाला नरम भई अनुहार चम्किलो हुन्छ ।बिभिन्न किसिमका रोग र बिरामी मानिसलाई योगासन र प्राणायामबाट उपचार गर्न सकिन्छ । योगमा उमेर  जति ढल्किदै जान्छ त्यति बढि समय दिदै योग साधनामा रमाउदै जीवन सहज र सरलरुपमा बिताउने माध्यम बन्छ । योगासन बालक देखि युवासम्म र युवादेखि वृद्धसम्म सबैले गर्न सकिन्छ । योगकक्षामा स्वस्थकर भोजन गहन आराम प्राणायाम र प्रणव ध्यान पनि सँगसँगै आउछन । योगासन व्यायामले शरीरको लचकता र शुद्धि हुनमा सहयोग पुर्याउछ भने प्राणायाम र ध्यानले एकाग्र भई आनन्द प्राप्त गर्न सकिन्छ । समग्रमा योगसाधनाले जीवन र जगतमा सुख र शान्तसँग बाच्ने कलाको विकास गर्दछ ।

ध्रुवराज भण्डारी
वरिष्ठ कविराज निरीक्षक आयुर्वेद शाखा
मायादेवी गाउँपालिका रुपन्देही