हिरोसिमा र नागासाकी त्रासदीको बार्षिकी

मेचीकाली संवाददाता

२१ श्रावण २०७९, शनिबार
120 shares

डा.एमएल शर्मा भुसाल
जापानको हिरोसिमा र नागासाकी सहरमा परमाणु बमले ध्वंस मच्चाइएको पनि ७७ वर्ष पुगिसकेछ । तर मानव सभ्यतामा भोग्नुपरेको त्यो कहरको घाउको खाटा त्यति राम्ररी बस्न नसकेको महसुस हुन्छ – प्रतीत हुन्छ, त्यसैले लाग्छ समय अलिक ढिलो ढिलो नै बितिरहेको छ । आम जिन्दगीहरूको वास्ता नगरिकन कसरी शासकहरूले आफ्नो राग–द्वेष साट्न, अगाडि बढ्न सक्दा रहेछन् भन्ने ज्वलन्त उदाहरणहरू मध्येको एउटा प्रतिनिधि घटना हिरोसिमा र नागासाकीमा मच्चाइएको ताण्डव हो भन्न सकिन्छ । विज्ञान र प्रविधिको क्षेत्रमा बिसौं शताब्दीमा गरिएको चमत्कारपूर्ण आविष्कार र नवप्रवर्तनहरूको कसरी भयावह हुने गरी दुरूपयोग हुन पुग्यो भन्ने कुराको पनि उदाहरण हो हिरोसिमा र नागासाकी घटना । परमाणू बमको कहरले त्यहाँ प्रत्यक्ष पैदा गरेको अकल्पनिय भोगाइसम्म पुग्दा त्यस घटनाको पृष्ठभूमिमा एकछिन विचार गर्न वाञ्छनीय देखिन्छ ।

पहिलो विश्वयुद्ध (सन् १९१४–१९१८) ले यूरोपमा पैदा गरेको अस्थिरताले अर्को अन्तर्राष्ट्रिय द्वन्द सिर्जना गरेको थियो र त्यसको दुई दशकपछि अर्को युद्ध सुरू भयो । प्रथम विश्वयुद्धलाई अन्त्य गर्न महत्वपूर्ण भूमिका खेलेको सन् १९१९ को भर्सेलिस सन्धिको उल्लङ्घन गर्दै आपूmलाई सर्वोच्च नेताको रूपमा उभ्याउँदै जर्मनीका हिटलर अगाडि बढे । सेम्टेम्बर १, १९३९ मा हिटलरले पोल्यान्डमाथि आक्रमण गरे । त्यसको दुई दिन पछि बेलायत र फ्रान्सले हिटलरको नाजी जर्मनीसित युद्धको शङ्खनाद गरे र दोश्रो विश्वयुद्धको सुरूवात भयो । त्यतिनै बेला भनिन्छ जापानी सैन्य साम्राज्यवाद पनि बेलगाम अगाडि बढिरहेको थियो । त्यसभन्दा अगाडि सन् १९३९ मै हिटलर र सोभियत संघका जोसेफ स्टालिनले एकअर्काको देशमा आक्रमण नगर्ने सन्धि गरेका थिए । त्यस कुराले बेलायत र फ्रान्सलाई संशकित तुल्याएको थियो । पोल्यान्ड माथि आक्रमण गर्ने हिटलरको योजना पहिला देखिनै थियो । बेलायत र फ्रान्सले पनि त्यस्तै परिहाले सैन्य सहयोग गर्ने वचन पोल्यान्डलाई दिएका थिए ।

सुरूवाती वर्षमा संयुक्त राज्य अमेरिका आन्तरिक सशक्तीकरणमा लागेको थियो र युद्धमा प्रत्यक्ष होमिएको थिएन । दोश्रो विश्वयूद्ध अगाडि बढ्दै जाँदा यूरोपमा हिटलरको नाजी जर्मनी केन्द्रविन्दुमा रहन पुग्यो । जर्मनीद्वारा अष्ट्रिया, तत्कालिन चेकोस्लोभाकिया, बेज्जियम, डेनमार्क र नर्वे आदि देशहरूमा कब्जा तथा आक्रमण गर्ने प्रयास गरिएका थिए । त्यसै गरी एसिया महादेशमा ‘एसिया एसियालीहरूको’ भन्ने भावना जागृत भइरहेको अवस्था थियो । जापानले आफ्नो साम्राज्य र सैन्य शक्ति बढाउँदै लगेको प्रतीत भइरहेको अवस्थामा दोश्रो विश्वयुद्धमा खासै संलग्न नदेखिएको अमेरिकाको हवाइ राज्यको पर्लहार्बरमा एक्कासी र कल्पनै नगरिएको जापानी आक्रमणपछि दोश्रो विश्वयुद्धमा नयाँ र खतरनाक मोड आएको मान्न सकिन्छ ।

डिसेम्बर ७, १९४१ का दिन जापानले अमेरिकाको पर्लहार्बरमा जलसेनासित सम्बन्धित बेडामा अप्रत्यासित आक्रमण ग¥यो । पर्लहार्बर हवाइराज्यको होनुलुलु शहरको नजिकैको ठाउँ हो । यहाँ अमेरिकी जलसेनाको ठूलाठूला जङ्गी युद्धपोतहरू राखिएको थियो । लाखौं ग्यालन तेल भरिएका जङ्गी जहाजहरू पनि राखिएका थिए । त्यहाँको आक्रमणमा ती तेलबाहक जहाज डुवेको र त्यहाँबाट तेल निस्किरहेको अहिले पनि देख्न सकिन्छ । पर्लहार्बर आक्रमणको समयमा अघिल्लो राति नै केही सैनिकहरू होनुलुलुको शहरमा रहेका थिए भनिन्छ । अपेक्षाकृत कम सैनिक रहेको र कल्पनै नगरिएको अवस्था परेको हुँदा पर्लहार्बरमा ठूलो संख्यामा हताहती भएको थियो । लगभग दुई हजार चार सयको मृत्यु र एकहजार जना घाइते भएका थिए । त्यसको लगत्तै एकदिन पछि डिसेम्बर ८ का दिन संयुक्त राज्य अमेरिकाले पनि जापानका विरुद्ध युद्धको शंखघोष ग¥यो । धेरै इतिहासकारहरूले पर्लहार्बर घटना नै परमाणुबमको निर्माण र त्यसको ध्वंसात्मक प्रयोगको कारक र सुरूवात रहेको बताउने गरेका छन् ।

पर्लहार्बर आक्रमणपछि अमेरिकाले बम बनाउने कामको लागि म्यानहाटन परियोजना सुरू ग¥यो । वास्तबमा म्यानहटन परियोजना भनेको दोश्रो विश्वयुद्धमा प्रयोग गर्नका लागि चाहिने परमाणु बमको विकास र निर्माणको सांकेतिक नाम थियो । यो काम वास्तवमा सन् १९३० देखि नै जर्मन वैज्ञानिकहरूले त्यस्तै खालको बमको विकास र निर्माणमा लागेको भन्ने सुनिएको र त्यसलाई परिआएको बखतमा जवाफी कारवाहीको लागि आपूmलाई तैयारी अवस्थामा राख्नको लागि गरिएको काम थियो । म्यानहटन परयोजनाको लागि तत्कालीन अमेरिकी राष्ट्रपति फ्रैन्कलिन रुजबेल्टले डिसेम्बर १८, १९४२ मा दिएका थिए । त्यस महात्वाकांक्षी कार्यको लागि तमाम वैज्ञानिकहरू र सैन्य अधिकृतहरूलाई न्यूक्लियर बम बनाउने काममा लगाइएको थियो ।

यसक्रममा यूरेनियम – २३५ र प्लुटोनियम – २३९ प्रयोग गरिएका बमहरू बनाउन सफलता पप्त गरिसकेपछि तिनको सफल परिक्षण पनि न्युमेक्सिको राज्यको दूरदराजको मरूभूमिजस्तो विरान ठाउँमा गरिएको थियो । युरोप तिर युद्ध १९४५ को अप्रिल महिनातिरै मत्थर भइसकेको थियो भने एसिया प्रशान्त क्षेत्रमा जापानी र अमेरिकाको बिचमा चर्किरहेको अवस्था थियो । अमेरिकी राष्ट्रपति ट्रुमेनले जापानलाई आत्मसमर्पण वा कुनै ठूलो क्षति व्यहोर्नका लागि तैयार रहने खालको धम्कीको घोषणा गरेका थिए, जसलाई पोस्टड्याम घोषणाको नामले जानिन्छ ।

द्धविराम नभएपछि विश्व इतिहासमा भयानक कालो दिन र समय पनि आयो त्यो हो अगस्ट ६, १९४५ बिहानको आठ बजेतिरको समय । जब हिरोसिमा शहरमा सूर्य उदाएर झलमल्ल हुँदै थियो त्यतिनै बेला अमेरिकी बमवर्षक बिमानद्वारा बम खसालियो र पूरै शहर आगोको लपेटामा आएसरी ताप र विकिरणमा जकडियो । जसमा लगभग ९०५ हिरोसिमा शहर पुछियो र तत्कालै असी हजार भन्दा बढीले ज्यान गुमाए । जापानलगायत विश्वभरी कोलाहल मच्चियो । स्वयम् जापानीहरू अप्रत्याशित र कल्पनाबाहिरको घटना मानिरहेका थिए ।

यसै बीचमा तीन दिनपछि ९ अगस्ट का दिन नागाशाकीमा अर्को बम खसालियो । भनिन्छ, बम दुई पहाडको बिचमा खस्न पुगेकोले तुलनात्मक रूपमा कम क्षति भएको थियो । नागाशाकीको त्यो विपतमा चालिस हजार जनसंख्याको तत्कालै मृत्यु भएको थियो । मानव इतिहासकै सबैभन्दा भयङ्कर, नयाँ तथा क्रूर घटनाले जापानी सम्राट हिरोहितोले अगस्ट १५ का दिन रेडियो सन्देशबाट आत्मसमर्पण गरेको घोषणा गर्नुप¥यो । पछिल्ला प्रभावहरू जस्तैः तापको राप र रेडियो विकिरणको कारणले गर्दा हिरोसिमामा १,५०,००० र नागाशाकीमा ७५,००० जनाको मृत्यु भएको थियो ।

हिरोसिमामा खसालिएको यूरेनियम – २३५ बमको साड्ढेतिक नाम ‘लिटिल ब्वाय’ र नागासाकीमा खसालिएको प्लुटोनियम – २३९ बमको नाम ‘फ्याटम्यान’ राखिएको थियो । जापानी शहरहरुमा खसालिएका ती परमाणु बमहरुले जापानीहरुलाई मात्र नभएर सिङ्खो विश्वजगतलाई दुखी तुल्यायो । पृथ्वीको एक भूखण्डमा भयानक त्रासदी व्यहोरिसकेको अवस्थामा समकालीन विश्बमा अहिले पनि यस्तै खालका ध्वंस गर्ने हिसाबले अझ विकास गरिएका आणविक हातहतियारहरूको डरलाग्दो होडबाजी चलिरहेको अनुमान सहजै गर्न सकिन्छ । संयुक्त राष्ट्र संघमार्फत यस्ता क्रियाकलाप तथा होडबाजीलाई निस्तेज पार्न पहल गर्न प्रयास गरिए तापनि वास्तविक धरातलमा त्यो हुन सकिराखेको छैन । भोक र गरिबीबाट मुक्त हुन एउटा ठूलो हिस्सा संघर्ष गरिरहेको छ भने आणविक हतियारको होडबाजीमा ठूलो धनराशी खर्च भइराखेको छ । आणविक अप्रसार सन्धिको जति नै वकालत गरे पनि शक्ति सम्पन्न राष्ट्रहरूले नै यस्ता हतियारको भण्डारण गरेको बुझ्न सकिन्छ । यस्तै हतियारहरूको विकास र तिनका परीक्षणहरूले पनि मानव सभ्यतालाई विभिन्न कोणबाट चुनौति दिँदै अगाडि बढिरहेका छन् ।

आज भन्दा ७७ वर्ष भन्दा पहिलेको घटेको घटनाको दीर्घकालीन प्रभाव अहिले पनि परिराखेको छ । शारीरिक विकृति, रक्त क्यान्सरलगायत तमाम आणुवंशिक रोगहरू र उत्परिवर्तनका घटनाहरू देखिएका छन् । शासक जातिमा रहेको शक्ति र दम्भले लाखौं जिन्दगीहरूसँग कसरी खेलबाड गर्न सक्दोरहेछ र सनकको भरमा कसरी ठूलो क्षति पुग्न जाँदोरहेछ भन्ने उदाहरण पर्लहर्बर, हिरोसिमा र नागासाकी जस्ता प्रतिनिधि घटना । हिराशिमा र नागासाकीको त्यो प्रलयकारी घटना र त्यसबाट मानव जातिले चुकाउनु परेको पीडा कति गहिरो बनेर मनमस्तिष्कमा रहेको छ भन्ने कुराको अनुमान मात्र पनि लगाउन सकिंदैन ।

जापानी सम्राट हिरोहितो त्यस बीभत्स घटनापछिका दिनहरूमा जीवनभर दुःखी रहनुभयो र विश्वयुद्धताकाका जापानी प्रधानमन्त्री तोजो हिडेकी को आत्महत्याको प्रयास र पछि उनलाई दिइएको मृत्युको कारण पनि त्यही रह्यो । मानव सभ्यतामा घट्न पुगेको यस महाप्रलयकारी घटना अन्तिम होस् । युक्रेन र रुसको युद्धमा परमाणु हतियारको प्रयोग कुनैपनि अवस्थामा नहोस भत्रे कुरामा सँयुक्त राष्ट्र सँघ, शक्ति राष्ट्रहरु र सम्बन्धित देशहरुले ध्यान पु¥याउनै पर्दछ । आपसी असमझदारीलाई वार्ताद्वारा समाधान गरिनु पर्दछ । हिरोसिमा र नागासाकी घटनाको वार्षिकीको यस घडीमा सम्पूर्ण दिवङ्गत जनमा भावपूर्ण शब्द श्रद्धाञ्जली । (डा.भुसाल त्रिभुवन विश्वविद्यालय, रसायनशास्त्र केन्द्रीय विभागका प्राध्यापक हुनुहुन्छ ।)