सडक दुर्घटनाका कारण र समाधानका उपायहरु

मेचीकाली संवाददाता

११ आश्विन २०७९, मंगलवार
716 shares

रीमा बि.सी
पछिल्ला केही दिनमा भएका सडक दुर्घटनाका घटनाहरूले हामी सबैलाई स्तब्ध बनाएको छ। चाडपर्व नजिकदै गर्दादिनहुँजसो घटने यस्ता घटनाले मन खिन्न पारेको छ । नेपालमा सडक दुर्घटनाका कारण वर्षेनी करिब २५ सय भन्दा बढीले ज्यान गुमाउनु, दशौं गुणा बढी घाइते र हजारौं अपांगता हुनुले सडक दुर्घटनाको कहालीलाग्दो अवस्थालाई झल्काउँछ ।आजको लेखमा यसै सेरोफेरोमा रहेर चर्चा गर्न खोजेको छु ।

नेपालको संविधानमा यातायात सुविधामा नागरिकहरूको सरल, सहज र समान पहुँच सुनिश्चित गर्दै यातायात क्षेत्रमा लगानी अभिवृद्धि र वातावरण अनुकूल प्रविधिलाई प्राथमिकता दिँदै सार्वजनिक यातायातलाई प्रोत्साहन र निजी यातायातलाई नियमन गरी यातायात क्षेत्रलाई सुरक्षित, व्यवस्थित र अपाङ्गता भएका व्यक्ति अनुकूल बनाउने कुरा उल्लेख छ।त्यस्तै सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को प्रस्तावनामै दुर्घटना रोकथाम गर्ने, दुर्घटनाबाट पीडित पक्षलाई क्षतिपूर्ति दिलाउने, बिमा व्यवस्था गर्ने लगायतका उद्देश्यहरू पूरा गर्न ऐन जारी गरिएको उल्लेख छ। तर उल्लिखित उद्देश्य पूरा गर्न ऐन, नियमावली तथा दर्जनौ कार्यविधि र निर्देशिकाहरूमा गरिएको व्यवस्थाको कार्यान्वयन भने कमजोर देखिन्छ ।

सवारी अनुमतिपत्र सम्बन्धी उल्लिखित व्यवस्थाको विगतमा प्रभावकारी कार्यान्वयन हुन नसकेका कारण सडक दुर्घटनामा वृद्धि भएको विभिन्न अनुसन्धानबाट पुष्टि भैसकेको छ । बिना सवारी अनुमति सवारी चलाउने, नक्कली सवारी अनुमति पत्रको प्रयोग गरी सवारी चलाउने, अरूको सवारी अनुमति प्रयोग गरी सवारी चलाउने, दुई पाङग्रेको सवारी अनुमतिले अन्य सवारी साधन चलाउने जस्ता अभ्यासहरूका कारण पनि दुर्घटना बढेको हो भन्ने लाग्छ ।यस्ता डर लाग्दा घटनाहरु घटदा खेरी पनि सवारी चालक अनुमतिपत्र प्रणालीमा सुधार गर्न ध्यान दिएन भने यसको जोखिम अझ बढने निश्चित छ ।

हुनत केही वर्षयता ’लाइसेन्स’को प्रयोगात्मक परीक्षा प्रणालीमा सुधार, परीक्षामा सिसिटिभी जडान लगायत प्रविधिको प्रयोगद्वारा अनुगमन, बायोमेट्रिक अभिलेख सहितको स्मार्ट सवारी अनुमति आदिको माध्यमबाट सवारी अनुमति व्यवस्थापनलाई व्यवस्थित गर्ने प्रयास गरेको देखिन्छ तथापी कार्ड छपाईमा सीमितताका कारण परीक्षामा उत्तीर्णहरूले लामो समयसम्म स्मार्ट कार्ड पाउन नसकी रसिदका भरमा सवारी चलाइरहेको अवस्थाले सुधारका प्रयासहरू ओझेलमा परेको भान हुन्छ ।लामो दूरीको सार्वजनिक सवारी चालकको लागि अझ विशेष योग्यता तोक्न र दुई जना चालक राख्नुपर्ने कानुनी व्यवस्थाको कडाइका साथ कार्यान्वयन गर्न जरुरी छ । चालक अनुमति पत्र नवीकरण गर्दा चालकको सवारी सञ्चालन अभिलेखका आधारमा गरिनु पर्दछ। सवारी सञ्चालनको क्रममा गम्भीर प्रकृतिको लापरबाही गरेको वा पटक पटक अनुशासन उल्लङ्घन गरेको पाइएमा अनुमति पत्र रद्द गर्ने व्यवस्था गर्न सकेमा लापरवाहीबाट हुने जोखिम पनि कम गर्न सकिन्छ ।

सवारी तथा यातायात व्यवस्था नियमावलीको नियम १८ (५) मा सवारी साधनको प्रकृतिअनुसार फरक–फरक अधिकतम् गति तोकिएको छ। सवारी साधनको प्रकृतिका अतिरिक्त सडकको अवस्थाको प्राविधिक परीक्षण गरी प्रत्येक सडक खण्डमा अधिकतम गति निर्धारण गरी सडकमा चालकले देखिने गरी राख्ने र प्रविधिको प्रयोग गरी सोको प्रभावकारी अनुगमन गर्नु आवश्यक देखिन्छ। विगतमा केही सडक खण्डमा लागु गरिएको ’टाइम कार्ड’ले उक्त खण्डहरूमा दुर्घटना न्यूनीकरणमा योगदान गरेको तथ्यलाई मनन गर्दै गतिको व्यवस्थापन गर्नुपर्छ ।

सडक दुर्घटना सम्बन्धमा गरिएका अधिकांश अध्ययन, विश्लेषण र समीक्षाहरूले सवारी चालकको लापरबाही र तीव्र गति, यान्त्रिक गडबडी, सडकको अवस्था आदिलाई दुर्घटनाका मुख्य कारणहरूको रुपमा उल्लेख गरेको पाइन्छ। यद्यपि सवारी साधनको क्षमताभन्दा बढी यात्रु बोक्नु, ’लेन’ अनुशासनको पालना नगर्नु, जथाभावी चढ्ने र ओर्लने गर्नु, दुई पाङग्रेमा पछाडि बस्नेले ’हेल्मेट’ नलगाउनु, पैदलयात्रीले जथाभावी सडक काट्नु जस्ता हेलचेक्र्याइँपूर्ण व्यवहारले पनि सडक दुर्घटना बढाउन मद्दत गरेको भन्ने लाग्छ। चालकको सम्बन्धमा सवारी तथा यातायात व्यवस्था ऐन तथा नियमावलीमा सवारी चालक अनुमतिपत्रका लागि दरखास्त दिनेहरू मध्ये परीक्षणमा सफल हुने व्यक्तिलाई मात्र चालक अनुमति पत्र दिने, मझौला तथा साना सवारी चलाउन १८ वर्ष तथा ठूला सवारी चलाउन २१ वर्ष उमेर पूरा भएको हुनु पर्ने, सानो सवारी चलाएको २ वर्ष नभएसम्म ट्याक्टर बाहेकका ठूलो तथा मझौला सवारी साधन चलाउन अनुमति नदिइने, ६० वर्ष उमेर पूरा भएको कुनै पनि व्यक्तिलाई ठूलो तथा मझौला सवारी चलाउन अनुमति नदिने लगायतका व्यवस्था गरेको छ ।

सडक दुर्घटना एउटा अपरझट आइलाग्ने घटना हो । विभिन्न समयमा गरेका अनुसन्धानमा दुर्घटना हुनुको मुख्य कारण भनेको चालकको लापरबाही, यात्रुको गल्ती, ओभरटेक, तीव्र गति, सडकको अवस्था, मापसे, चौपाया, यान्त्रिक गडबडी, ओभरलोड, मौसमको अवस्था आदि कारणहरु दुर्घटनाका मुख्य कारण हुन् । प्रहरीका अनुसार कानुनी रूपमा सबैभन्दा बढी जिम्मेवार निकाय यातायात व्यवस्था विभाग हुनुपर्ने हो तर यो विषयमा यातायात व्यवस्था विभाग त्यत्ति संवेदनशिल भएको देखिदैन् । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार विभागले सवारीको ब्लु बुक दिने, जाँचपास दिने, सवारी दर्ता खारेज गर्न सक्ने, लाइसेन्स दिन र निलम्बन तथा खारेज गर्न सक्ने, रुट परमिट दिन सक्ने, यातायात सेवा सञ्चालन अनुमति रद्द गर्न सक्ने, यात्रु संख्या र मालसामानको वजन तोक्न सक्ने, ट्राफिक संकेत टाँस्ने, टाँग्ने वा जडान गर्ने, पार्किङ तथा बस बिसौनी निर्धारण गर्ने र दुर्घटना रोकथामका लागि प्रचारप्रसार गर्ने र गराउने गर्न सक्छन् ।

सडक दुर्घटनाका धेरै कारण हुनसक्छन त्यसमध्ये सडक दुर्घटना हुने प्रमुख कारणहरुमा १) सडकको अवस्था २) सवारी साधनको अवस्था र ३) सवारी चालकको अवस्थालाई लिइने गरिन्छ । अन्य कारणहरुमा बाटो काट्ने बटुवा, जनावरहरु र सवारी साधनमा यात्रा गर्ने यात्रु पनि दुर्घटनाको कारण बन्ने गरेको पाइन्छ ।सवारी दुर्घटना कम गर्न कुनै एक पक्षमात्रै लागेर हुँदैन । यसमा सरकार, निजी क्षेत्र तथा आम जनताको साथ र सहयोग आवश्यक पनि त्यतिकै महत्वपूर्ण रहेको छ । नेपालमा दुर्घटना हुने मुख्य तीन कारण छन् सडक, साधन र चालक । यी तीनपक्ष नै सुदृढ अवस्थामा नभएसम्म दुर्घटनालाई कम गर्न सकिदैन् ।

सडकको अवस्था ः सडक देश विकासको मेरुदण्ड हो । विश्वका जति पनि विकसित देशहरु छन् त्यो देशका सडक अति नै मजबुत देखिने गर्छन् ।अर्को अर्थमा, कुनै देश वा ठाउँको सडकको अवस्थाले त्यो देश वा ठाउँ कति विकसित छ भन्ने देखाउँछ । उदाहरणका लागि जापान, चीन, अमेरिकाले सडक निर्माणमा ठूलो लगानी गरिसके र त्यहाँका सडकहरु अत्यन्त मजबुत र उच्चस्तरीय हुने गर्छ ।हाल प्रचलनमा रहेको र धेरै सवारी साधन गुडने सडकमध्ये पूर्वपश्चिम राजमार्ग तथा काठमाण्डौ जाने सडक जो दुई लेनबाट ४ लेनको बनाउन थालिएको छ । अन्य सडकहरु कुनै पनि हिसाबले बैज्ञानिक छैनन् । पहाडका प्रायः सडकहरु साँघुरा छन् । दुईवटा सवारी साधन एकैपटक छिर्न धौधौ पर्दछ, ग्रेडिङ मिलेको छैन । सडकहरु कच्ची छन्, घुम्तीहरु नजिक नजिकवाट काटिएका छन्, प्रायः घुम्तीहरुमा गाडी घुमाउनेसम्म ठाउँ पुग्दैन ।प्रायः ग्रामीण भागका सडक निर्माण गर्दा इञ्जिनियर प्रयोग गरिँदैन । यस्तो अवस्थाको सडक चालकलाई जिम्मा लगाउँछौं । अनि उही चालकलाई गाली गर्छौं र सुरक्षित यात्राको कल्पना गर्छौं । त्यसैले सडकको अवस्थाले गर्दा हुने सम्पूर्ण दुर्घटनाको कारण सरकार बाहेक अरु कोही हुँदैन किनकि सडक बनाउने जिम्मा सरकारले लिएको छ । त्यसैले, अहिलेसम्म बनेका सम्पूर्ण सडकहरुको वर्गीकरण गरी नयाँ योजनामा सडक निर्माण र स्तर उन्नति गर्नुपर्ने देखिन्छ ।

सवारी साधनको अवस्था ः सवारी धनीले सवारी साधन किनेपछि त्यसको माया लाग्नु र त्यसलाई सुरक्षित राख्नु स्वाभाविकै हो । त्यसैले होला, प्रायः नयाँ गाडीहरु शहरका पीच बाटोहरुमा चल्छन् भने पुराना तथा थोत्रा गाडीहरु अप्ठ्यारो ग्रामीण भेगमा चलाउने गरिन्छ । उदाहरणका लागि जति सुगममा जानुहुन्छ, त्यहाँ नयाँ गाडीहरु देख्न पाइन्छ भने जति दुर्गममा गयो, त्यहाँ पुराना गाडीहरु देख्न पाइन्छ । तिनै पुराना र थोत्रा गाडीमा हामी असुरक्षित यात्रा गर्न बाध्य हुन्छौं । सरकारी तवरबाट चलाइएका साझा लगायतका गाडी पनि सहर केन्द्रित नै हुने गरेको छ । प्रायः पुराना सवारी साधनको ब्रेक फेल हुने, टायर फुट्ने, टायर निस्कने जस्ता समस्याले गर्दा दुर्घटना हुने गरेको छ । सम्पूर्ण सवारी साधनको समय–समयमा सरकारी तवरबाट अनिवार्य जाँच तथा परीक्षण गर्ने र निश्चित अवधि तोकेर मापडण्ड नपुगेका साधनलाई हटाउने व्यवस्था मिलाउन सकियो भने सवारी साधन दुर्घटनाबाट हुने क्षति न्यूनीकरण गर्न सकिन्छ । यसका लागि प्रत्येक वर्ष सवारी साधन पुनः दर्ता गर्नुपर्ने अनिवार्य व्यवस्था र दर्ता गर्न ‘चलाउनका लागि सुरक्षित’ मापडण्ड पूरा गर्नुपर्ने बाध्यकारी व्यवस्था लागु गर्न सक्नुपर्छ ।

त्यस्तै चालकको अवस्था ः नेपालमा धेरै ठाउँबाट रात्रिकालीन सवारी साधनहरु चल्ने गर्छन् र सबैजसो सवारी साधन एकजना चालकको भरमा रातभर गुडिराखेका हुन्छन् । एकजना चालकले कति घण्टासम्म गाडी चलाउन सक्छ ? हामी एकजना चालकका भरमा बाजुरा वा जुम्ला वा ताप्लेजुङबाट रात्रिबस काठमाण्डौंसम्म ल्याउन सक्छ भन्ने कल्पना गर्छौं भने कसरी हामी नागरिकको सुरक्षामा ध्यान दिएको मान्ने ?हामी सडक सुरक्षामा कत्ति पनि संवेदनशील हुन सकेका छैनौं । हामी बेलाबेलामा दुईजना चालकको व्यवस्था गर्ने भनेर कुरा उठाउँछौं तर कार्यान्वयन हुँदैन । धेरै देशहरुमा नियमित रुपमा एक दिनमा ८ घण्टासम्म एकजनाले सवारी साधन गुडाउन सक्छ भन्ने मान्यता छ । तर, हाम्रोमा चालकलाई अनावश्यक ठाउँमा जति पनि रोक्ने अनि अरुबेला हतारै भएको हुन्छ र यात्रुलाई पनि एकछिन रोक्न पनि हतारै भएको हुन्छ ।सवारीसाधन चलाउँदा मोबाइलमा कुरा गर्ने, नजिकमा बसेको यात्रुसँग कुरा गर्ने, मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने, तिब्र गतिमा सवारी चलाउने आदि कारणले चालकको ध्यान साधनमा नभई अन्यत्र हुने हुँदा सडक दुर्घटना बढ्ने गरेको पाइएको छ । त्यस्तै यात्रु बोक्ने साधनमा बाख्रादेखि सुँगुरसम्म, मलदेखि चामलसम्म बोक्ने र क्षमताभन्दा बढी यात्रु बोक्ने गरिन्छ । सुरक्षित यात्राका लागि सवारी चालक स्वास्थ्य हुनु र सडक सुरक्षाको पूर्ण ज्ञान हुनु जरुरी छ ।

निष्कर्षमा भन्नु पर्दा सडक दुर्घटना हुनु प्रतिशतको मात्रा फरक हुनसक्ला तर दोष सबै पक्षको छ । कुनै एक पक्षलाई मात्र दोष लगाएर आफु पन्छिन खोज्नु कि त पानीमाथीको ओभानो हुन खोज्नु हो कि त जो होचो उसैको मुखमा घोचो भन्ने उखान जस्तै मात्र हो । सार्वजनिक सवारी उपभोक्ता, पैदल यात्री तथा सर्वसाधारणले लगाउने आरोपलाई अन्यथा मान्न नसकिएला तर भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, ट्राफिक प्रहरी, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, जिल्ला समन्वय समिति, गाउंपालिका, यातायात व्यवसायी संघ तथा महासंघहरु, यातायात श्रमिक सम्बध संगठनहरु तथा राजनीतिक दलहरु सबैले यो विषयमा चासो दिन सकेमा दुर्घटना कम हुन्छ ।