रेसुङ्गा विमानस्थलमा नियमित उडानको आशामा गुल्मेली

मेचीकाली संवाददाता

२५ पुष २०७९, सोमबार
497 shares

टोपलाल अर्याल
गुल्मी । निर्माण सुरु भएको १६ वर्षपछि आइतबार गुल्मीको रेसुङ्गा विमानस्थलमा तारा एअरको विमानले प्रदर्शन उडान (डेमो फ्लाइट) सञ्चालन गरेको छ । रेसुङ्गा नगरपालिका– १० सिमीचौर थालेमालेस्थित रेसुङ्गा विमानस्थलमा तारा एयरको नाइन एन एएलओ ट्वीनअटर जहाजले प्रदर्शन उडान गरेको हो । उक्त जहाज तारा एअरका वरिष्ठ चालकद्वय क्याप्टेन सन्तोषकुमार साह र क्याप्टेन सन्जीव श्रेष्ठले रेसुंगा विमानस्थलमा सफलतापूर्वक अवतरण गराएका हुन् ।

प्रदर्शन उडानका लागि काठमाडौंको त्रिभुवन विमानस्थलबाट आएको जहाजमा गुल्मीबाट निर्वाचित सांसद चन्द्र भण्डारी, एमाले उपमहासचिव प्रदीप ज्ञवाली, प्रदेशसभा सदस्य धनेन्द्रबहादुर कार्की, नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री, रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीलगायत तारा एयर र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारी सवार थिए । उनीहरुले गुल्मेलीको जहाज चढ्ने सपना पूरा भएको भन्दै खुशी व्यक्त गरे ।

जहाज काठमाडौंबाट ४५ मिनेटमा गुल्मी आइपुगेको थियो । तारा एयरका क्याप्टेन सञ्जीव श्रेष्ठले रेसुङ्गा विमानस्थलमा दिउँसो हावाको गति बढी हुने भएकाले बिहानी समयमा भने नियमित उडान गर्न सकिने बताए । रेसुङ्गा विमानस्थलमा रेसुङ्गा नगरपालिकासँगको सहकार्यमा नियमित उडान गर्न सकिने तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले बताए । उनले गुल्मीबाट काठमाडौंसम्मको भाडा प्रतियात्रु ८ हजार रुपैयाँसम्म हुन सक्ने बताए । परीक्षण उडान सम्पन्न गरेपछि अब एक हप्तापछि टावर निर्माणको काम सम्पन्न गर्ने रेसुङ्गा विमानस्थलका सहायक आयोजना प्रमुख दिनेश परियारले बताए ।

जहाज अवतरण गरेको हेर्न विमानस्थल वरपर धेरै सर्वसाधारण भेला भएका थिए । उनीहरु वरपरका घरको छत र अग्लो स्थानमा जम्मा भएर जहाज अवतरण भएको हेरेका थिए । स्थानीय सिर्जना पन्थीले जहाज चढ्ने चाहना पूरा हुने बताइन् । गुल्मी उद्योग वाणिज्य संघका उपाध्यक्ष ताराप्रसाद भुसालले नियमित उडान भए जिल्लाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए ।

रेसुङ्गा विमानस्थलको काम एमाले नेता प्रदीप ज्ञवाली पर्यटन मन्त्री भएका बेला ०६३ सालमा सुरु भएको थियो । तर ०७२ सालपछि मात्र यसको निर्माणले गति लिएको थियो । रेसुङ्गा विमानस्थलको धावनमार्ग ५२० मिटर लामो र २० मिटर फराकिलो छ । १५६ रोपनी जग्गामा फैलिएको विमानस्थल निर्माणमा ३३ करोड रुपैयाँ खर्च भएको रेसुङ्गा विमानस्थलका सहायक आयोजना प्रमुख दिनेश परियारले बताए । विमानस्थल निर्माणका क्रममा २८ परिवारको जग्गा अधिग्रहण गरिएको थियो र तीमध्ये १४ परिवार विस्थापित भएका थिए । यसअघि २५ जेठ ०७५ मा तारा एयरले नै कच्ची धावनमार्गमा परीक्षण उडान गरेको थियो ।

‘डेमो फ्लाइट’ गर्नका लागि क्यानले तारा एयरलाई २२ पुसमा अनुमति प्रदान थियो । आइतबारकोे ‘डेमो फ्लाइट’ लाई सर्वसाधरणले नियमित भनेर बुझेका छन् किनकि गुल्मेली नागरिकले जहाजको नियमित उडानको प्रतिक्षामा एक दश बिताए । तर, नियमित उडानको सम्भावना निकै कम रहेको छ । विमानस्थल नियमित सञ्चालन भएमा जिल्लाको समग्र आर्थिक विकासले फड्को मार्नेछ भने गुल्मीसहित छिमेकी जिल्ला अर्घाखाँची, प्यूठान, बागलुङ र पाल्पाका सर्वसाधरणले प्रत्यक्ष लाभ लिन सक्ने अपेक्षा गरिएको छ ।