वास्तुबारे बुटवल सम्मेलनमा जे सुनेँ

मेचीकाली संवाददाता

२३ श्रावण २०८०, मंगलवार
1055 shares

डी.आर. घिमिरे

नेपालमा पहिलोपटक यही श्रावण १९ र २० गते बुटवलमा धर्म, ज्योतिष तथा वास्तु सम्मेलन गरिएको छ । ज्योतिष जनार्दन न्यौपानेको नेतृत्वमा सम्पन्न उक्त सम्मेलनको दोस्रो दिन यो पंक्तिकार सहभागी थियो । पहिलो दिन अनुपस्थित रहेपनि दोस्रो दिन पूरै दिनभर बसेर यसबारेमा बुझ्ने, सिक्ने र जान्ने अवसर प्राप्त भएकोमा आयोजकप्रति आभारी छु । यो मेरो रुचिको विषय नभएपनि यसबारे जिज्ञासा मेट्नका लागि सहभागी हुन आवश्यक हुन्थ्यो ।

दोस्रो दिनको कार्यक्रम खासमा वास्तुसँग सम्वन्धित भएपनि अन्य कतिपय विषयमा राखिएका प्रवचन ज्ञानवद्र्घक थिए । सामान्यतः घर वा भवन बनाउँदा भरसक वास्तु मिलाउनुपर्छ भन्ने गरिन्छ । यस अर्थमा यो हरेकले जान्न र बुझ्नपर्ने विषय पनि हो । घर बनाउँदा वास्तु मिलाउने भनेर भनिएपनि वास्तविक रुपमा मिलाउन कठिन छ । सीमित जग्गामा घर बनाउनेलाई अझ वढी समस्या हुने नै भयो । तैपनि यसका जानकारहरुले धेरै हदसम्म मिलाउने प्रयत्न गर्छन् । ज्योतिष तथा वास्तु सम्मेलन भएकोले मलाई पनि यसवारे जिज्ञासा थियो । संयोग नेपालकै सुप्रसिद्घ वास्तुविद् प्रा.डा. माधव मंगल जोशी स्रोत व्यक्तिका रुपमा हुनुहुन्थ्यो । एकजना प्राज्ञिक व्यक्तिसमेत भएकोले उहाँका विचारमा तर्क हुने नै भए ।

मेरो आफ्नो कुरा गर्दा घर बनाउँदा त्यसप्रति कुनै वास्ता गरिएन । जे मिलेको होला त्यो संयोग हो । तर जोशीको कुरा सुन्दा भरसक मिलाएरै बनाए उचित हुने रहेछ भन्ने लाग्यो । ज्योतिष र वास्तु विज्ञानसम्मत भएकोले आजभोलि पश्चिमी मुलुकमा पनि यसको अध्ययन गर्ने गरिन्छ । डा. माधव मंगल जोशी एकजना तथ्याङ्क शास्त्री हुन् । नेपाल सरकारको जागिरे हुँदा तथ्यांकमा हुने तोडमोडले दिक्क लागेर नयाँ पेशामा लागेका उहाँ नेपालको सुप्रसिद्घ वास्तुविद् हुनुहुन्छ ।

राजज्योतिष दीव्य मंगल जोशीका सुपुत्र जोशीको पारिवारिक वातावरण पनि त्यस्तै थियो । उहाँका बुबाहरु तीन भाइ थिए । जेठो बुबा र कान्छो बुबाका परिवार नै एकपछि अर्को पेटको क्यान्सर भएर दुःखद निधन भएको थियो । एकपछि अर्को मृत्यु हुँदै जाँदा जेठी आमाहरु चार जनासम्म भए र उनीहरु सबै र कान्छो बुबा, आमा, दुई जना दिदी, दुई दाजु सबै जनाको क्यान्सरकै कारण मृत्यु भयो । यसपछि अनुसन्धान गर्दा ९४ प्रतिशतले वास्तु नमिलेरै दुःख पाएको निष्कर्षमा पुगे ।

रोचक कथा दरबार काण्डसँग पनि जोडिएको छ । उहाँ आफँैले दरबारमा तीन पटक विन्तीपत्र चढाएर मूल गेटको दक्षिणी भागलाई सुधार्ने सुझाव दिनुभएको रहेछ । दोहोरो सडक तर, एकातिर बन्द रहेको अर्थात् टी आकारको बाटोलाई फेर्नुपर्ने उहाँको सल्लाह रहेछ । यस्तोमा दोब्बर फोर्स हुने भएकोले घटना हुने सम्भावना वढ्दो रहेछ । त्यसैले कुनै पनि घरको ढोकामा बाटो टुंगिनु खराब हुने निष्कर्ष उहाँको रहेछ ।

राजज्योतिष दीव्यमंगल जोशीले दीपेन्द्र शाहको जन्म भएकै दिन एकदमै खराब समयमा जन्म भएकोले राज वंश नै नाश हुन सक्ने भनेर भनेबापत जागीर छोड्नुपरेको तीतो यथार्थ पनि रहेछ । तथापि ६ महिनापछि एक तह प्रमोशन गरेर पुनः राखेको अवस्थालाई पनि माधव मंगल जोशीले स्मरण गर्नुभयो । राजज्योतिष र राजाका बिच भएको कुराकानी सुनेको भनेर मैले देखेको दरबारमा विवेक शाहले उल्लेख गरेका छन् ।

वास्तु शास्त्र भन्दासाथ घर, भवन अथवा मन्दिर निर्माण गर्ने प्राचीन विज्ञान हो । यसलाई हाम्रो मौलिक विज्ञान भन्दा हुन्छ । जसलाई आधुनिक समयमा आर्किटेक्चर भनिन्छ । जीवनमा दैनिक उपयोगमा आउने वस्तुलाई कसरी राख्ने भन्ने कुरानै वास्तु हो । यसरी वस्तु शब्दबाट वास्तुको निर्माण भएको पाइन्छ ।

वास्तुभित्र केवल घर वनाउने विषय मात्र हैन, भित्र राख्ने सबै सामानको पनि कुरा आउँछ । यसमा कुन सामान कसरी कता राख्ने भनेर पनि चर्चा गरिएको पाइन्छ । वास्तु शास्त्रका प्रणेता ऋषि मामुनि माया हुन् । जो विश्वकर्माको नामबाट चिनिन्छ भने यसको प्रयोग ज्यामितीय हिसावले गरिन्छ । त्रिकोण मिलाएर मात्र यसको प्रयोग गरिएको हुन्छ ।

पहिलाजस्तो पात्रो हेरे मात्र हैन अहिले प्रविधिको प्रयोगबाट विश्वासिलो र भरोसायोग्य वनाउने गरिन्छ । डा.जोशीले ल्याएका कतिपय सामाग्रीवाट त्यस्तो जान्न सकिने विश्वास लाग्यो । उहाँले तामाको एकप्रकारको सुइरोबाट मान्छेको शक्ति पनि पत्ता लगाएर देखाउनुभएको थियो । औरामिटर अर्थात् मानिसको तेजपना पत्ता लगाउने इलेक्टोम्याग्नेटिक फिल्डवाट पनि धेरै विषय थाहा हुने रहेछ । यसबाट घर घडेरीको तलपट्टि नाग वा अरु जीवित प्राणी छन् छैनन् भनेर पनि सहजै थाहा हुने रहेछ । प्रविधिले खानी, तेल, युरेनियम त पत्ता लाग्छ भने अरु कुरा पत्ता नलाग्ने कुरै भएन । यो विज्ञानसम्मत कुरा नै हो ।

यसबाहेक घरका कुना कुनामा मेसिनले हेरेर पनि त्यो घर कति खतरा छ भनेर पत्ता लगाउन सकिने नै भयो । यसलाई जोशीले व्यवहारिक प्रयोगबाटै देखाएर विश्वास जगाउन खोज्नुभयो । यहाँसम्म कि घरमा भूतसमेत रहे नरहेको भनेर पत्ता लगाउन सकिने दृढ विश्वास उहाँमा थियो । कतिपय घरहरु कैयौं वर्षसम्म प्रयोगमा नआउने आइहाले पनि टिकाउ नहुनेजस्ता समस्याहरु शायद यस्तै कारणले हो कि ? मैले एकपटक काठमाण्डौको व्यस्त सहरमा पनि रित्तै घर भेटाएको थिएँ र त्यहाँ कोही नबस्ने गरेको बताएका थिए ।

यद्यपि सबै कुरा वास्तुमा भर पर्न सकिँदैन । जोशीको भनाइमा पनि भाग्य, कर्म र वास्तुलाई तीन भागमा राखेर हेर्न सकिने र त्यसो गर्दा दुई तिहाइ अर्थात् कर्म र वास्तुको अंशवाट समस्याको समाधान गर्न सकिने बताउनुभयो । करिब तीन घण्टाको प्रशिक्षणमूलक उहाँको प्रवचन धेरैका लागि असाध्यै रुचिकर देखियो । प्रायः ज्योतिषहरु नै रहेकोले उनीहरुसँग यस्ता जिज्ञासा आइरहने भएकोले पनि शायद ज्ञानवद्र्घक र आवश्यक भएर होला । उहाँले भनेका सबै कुरा यस लेखमा उल्लेख गर्नु सम्भव छैन । तर, सामान्यतः कतिपय विषय सबैले जान्नैपर्ने पनि रहेछन् जस्तो लाग्यो मलाई ।

जस्तो कि–घडेरीको उत्तर पूर्वी कुना (इसान कोण) को क्षेत्र ज्यादै राम्रो मानिने रहेछ । घडेरी बनाउँदा चारैतिर बराबर भएको जग्गा भए असाध्यै उत्तम । यसको अर्थ चारैतिर नमिले पनि उत्तर पूर्वको कुनोमा घर बनाएमा सबै प्रकारका दुःखकष्ट निवारण हुने, आर्थिक आर्जन हुन सक्ने आदि रहेछ ।
घरको उत्तर पूर्वी कुनो असाध्यै महत्वपूर्ण हुनुको कारण त्यस कुनावाट इनर्जी आउने भएकोले हो । त्यस्तो इनर्जी आउने ढोकामा फोहोर आदि राख्नभएन । शौचालय, सेफ्टी ट्याङ्की अथवा फोहर राख्ने गरिएको छ भनेपनि त्यसो गर्नुभएन । त्यस कोठालाई पूजाआजा गर्ने कोठा बनाउँदा उत्तम हुने रहेछ । शौचालय, सेफ्टी ट्याङ्की उत्तर पश्चिम बनाउँदा राम्रो मानिने रहेछ । यसबारे उहाँले एउटा अनुसन्धानकै प्रसंग पनि ल्याउनुभएको थियो । क्यान्सर रोगबाट पीडित १०४ घरमध्ये ९४ घरमा शौचालयको वास्तु मिलेको थिएन । स्वयं उहाँको आफ्नै परिवारमा पनि यस्तो दुःखद घटना भएको रहेछ ।

यस कुनामा सम्भव भएसम्म भ¥या¨ वा सिँढी पनि नबनाउन सल्लाह दिइने रहेछ । ती सबैले इनर्जीलाई सहज ढंगले आउन वाधा पर्ने तर्क रहेछ । यदि घर बनिसकेको अवस्थामा यसको उपचार गर्न पनि सम्भव रहेछ । उहाँको भनाइ थियो–जसरी मानिसको होलबडी जाँच गरेर रोग पत्ता लगाई उपचार गरिन्छ त्यसरी नै घरको जाँच भनेको वास्तु हेर्नु हो । त्यसैले सिंढी वा भ¥या¨ मिलेन भने सिँढीको प्रत्येक स्टेपमा क्रिस्टलको पिरामिड राखेर नकारात्मक ऊर्जालाई शोषण गर्नसक्ने बनाउन सकिने रहेछ ।

भ¥या¨को एकातिरको कुनामा पानीको फोहरा राखेर पनि उपचार गर्न सकिने भनाइ जोशीको थियो । दक्षिण पश्चिममा इनार वा खाल्डो खनेर पानी जम्ने ठाउँ बनाउनुभएन । जोशीले एउटा रोचक उदाहरण प्रस्तुत गर्दै भन्नुभयो–काठमाण्डौमा एकजनाको बच्चा बेहोस भयो । उसको चिनामा कुनै प्रभाव देखिएन । चिकित्सकले पनि रोग नभएको बताए । अनि घरको दक्षिणमा इनार वा खाल्डो छ कि भनेर सोध्दा इनार खनेको पाइयो । तत्काल गएर इनार पुर्ने सल्लाह दिएपछि उनले त्यसै गरे । जसको परिणाम बच्चाको होस आयो र ऊ स्वस्थ्य भयो । यसको दुष्परिणाम ऋण लागेर आत्महत्या गर्ने वा दुर्घटना हुने सम्भावना पनि हुने रहेछ ।
घरको ढोका कहाँ राख्ने ? यसको सिधा जवाफ घरको बिचबाट दायाँतिर ढोका राख्ने । तर कुनामा नराख्ने । सुत्ने कोठामा ढोकाको आवाज आउँछ भने त्यो पनि खराब रहेछ । त्यसलाई ग्रीस वा तेल हालेर पनि आवाज बन्द गर्नुपर्ने सल्लाह उहाँको थियो । त्यस्तै जोशीले जोड दिएरै भने–दक्षिण पश्चिम कुनामा पानी ट्याङ्की नराख्ने । भान्सा कोठा दक्षिण पूर्व कुनामा बनाउनु ठिक हो । त्यसो गर्न सम्भव नभए उत्तर पश्चिम गराउन सकिन्छ । उत्तर पश्चिमको भान्सामा पाहुना धेरै आउने गर्दा रहेछन् । खाना पकाउँदा पूर्व फर्केर पकाउने अन्यथा उत्तर दक्षिण फर्कन सकिन्छ । तर, पश्चिम फर्केर पकाउनुभएन ।

छिटो फाल्नुपर्ने सामान छ भने त्यसलाई दक्षिण पश्चिम नराख्ने । धन वा गरगहना भने राख्न सकिने भयो । काम गर्ने कागजहरु अदालती झमेला वा बिक्री गर्नुपर्ने जग्गा छ भने त्यसको पूर्जा उत्तर पश्चिम राख्दा छिटो विक्री हुन सक्ने आदि पनि हुँदो रहेछ । किनकि यी चिज जति रहेपनि भयो । श्रीमान्–श्रीमती सुत्ने कोठा उत्तर पूर्व नराख्ने । यसो गर्दा धेरैको स्वास्थ्य समस्या वा सम्बन्ध विच्छेद भएको रहेछ । दक्षिण पश्चिमको कोठामा सुत्दा भने सम्बन्ध बढ्ने रहेछ । उत्तर पूर्वमा बुढाबुढी नसुतेको राम्रो मानिने रहेछ । यस्ता कोठामा चिसो रोग लाग्ने सम्भावना पनि धेरै हुने रहेछ । तर अध्ययन कक्ष भने बनाउन सकिन्छ । जसले दिमागलाई रचनात्मक र सृजनशील बनाउँछ । उत्तर पश्चिमको कोठामा अध्ययन गर्दा मनमा असान्ति हुने रहेछ ।

यस्ता धेरै कुराहरु छन् जसलाई यो सानो लेखमा उल्लेख गरेर सम्भव छैन । खासमा यस आलेखले यसप्रति संवेदनशीलता बढाउने मात्र हो । चाइना, ब्रिटेन, अमेरिकातिर पनि यसको प्रयोग बढ्दो छ । उहाँ स्वयं विभिन्न देशमा कक्षा लिन जानुहुन्छ । उनीहरु वास्तु भन्दैनन् । लाइफ फोर्स इनर्जी भन्छन् । जोशी स्वयंले यो प्रविधि बेलायतबाट सिक्नुभएको हो ।