मनोवैज्ञानिक दृष्टिमा बुढेसकाल

मेचीकाली संवाददाता

१९ जेष्ठ २०८३, मंगलवार
15 shares

ओम बानियाँ

बुढेसकाल मानव जीवनको एउटा स्वाभाविक अवस्था हो । जन्म, बाल्यकाल, किशोरावस्था, युवावस्था हुँदै मानिस अन्ततः बुढेसकालमा प्रवेश गर्छ । यस अवस्थासँगै व्यक्तिको शारीरिक, मानसिक, सामाजिक तथा भावनात्मक जीवनमा विभिन्न परिवर्तनहरू आउँछन् । मनोविज्ञानले बुढेसकाललाई केवल उमेर बढ्ने प्रक्रिया मात्र नभई व्यक्तिको सोच, भावना, व्यवहार, सम्बन्ध तथा जीवनप्रतिको दृष्टिकोणमा आउने परिवर्तनहरूको अध्ययन गर्ने महत्वपूर्ण चरणका रूपमा हेर्छ । बुढेसकालमा मानिसले जीवनभरका अनुभवहरूलाई मूल्याङ्कन गर्ने, आफ्नो पहिचानलाई पुनः परिभाषित गर्ने तथा समाज र परिवारमा आफ्नो भूमिकालाई नयाँ ढङ्गले बुझ्ने प्रयास गर्छ । त्यसैले बुढेसकालको अध्ययन मनोविज्ञानको महत्वपूर्ण गहन विषय हो ।

सामान्यतया बुढेसकाल ६० वर्ष वा सो भन्दा माथिको उमेरलाई मानिन्छ । यस समयमा व्यक्तिको शारीरिक शक्ति क्रमशः घट्दै जान्छ । दृष्टि कमजोर हुनु, श्रवणशक्ति कम हुनु, हिँडडुलमा कठिनाइ हुनु, रोग प्रतिरोधात्मक क्षमता घट्नु जस्ता परिवर्तनहरू सामान्य मानिन्छन् । यद्यपि मनोवैज्ञानिक दृष्टिले हेर्दा बुढेसकाल केवल शारीरिक कमजोरीको अवस्था होइन । यो अनुभव, परिपक्वता, आत्मबोध र जीवनका उपलब्धिहरूको मूल्याङ्कन गर्ने अवसर पनि हो । व्यक्तिको मानसिक स्वास्थ्य, आत्मविश्वास र सामाजिक समर्थनले बुढेसकालको गुणस्तर निर्धारण गर्न महत्वपूर्ण भूमिका खेल्दछ ।

प्रसिद्ध मनोवैज्ञानिक एरिक एरिक्सनका अनुसार बुढेसकालमा व्यक्तिले आफ्नो विगत जीवनलाई हेरेर मूल्याङ्कन गर्छ । यदि उसले आफ्नो जीवनलाई सफल, अर्थपूर्ण र सन्तोषजनक ठान्छ भने उसमा आत्मसन्तुष्टि र शान्तिको भावना विकसित हुन्छ । यसलाई अहम् समग्रता भनिन्छ । तर यदि व्यक्तिले आफ्नो जीवनमा धेरै असफलता, अपूर्णता वा पश्चाताप अनुभव गर्छ भने उसमा निराशा, दुःख र मृत्युको डर बढ्न सक्छ । त्यसैले बुढेसकालमा मानसिक सन्तुलन कायम राख्न जीवनप्रतिको सकारात्मक दृष्टिकोण अत्यन्त आवश्यक हुन्छ ।

बुढेसकालमा स्मरणशक्ति तथा संज्ञानात्मक क्षमतामा पनि केही परिवर्तन आउन सक्दछ । नयाँ जानकारी सिक्ने गति कम हुन सक्छ, कुनै कुरा सम्झिन समय लाग्न सक्छ वा ध्यान केन्द्रित गर्न कठिनाइ हुन सक्छ । तर सबै वृद्ध व्यक्तिमा यस्ता समस्या समान रूपमा देखिँदैनन् । अधिकांश वृद्ध व्यक्तिहरूमा जीवन अनुभवका कारण निर्णय क्षमता, व्यवहारिक ज्ञान तथा समस्या समाधान गर्ने क्षमता अझ प्रभावकारी हुन सक्छ । मनोविज्ञानले यसलाई क्रिस्टलाइज्ड इन्टेलिजेन्स अर्थात् अनुभवजन्य बुद्धिमत्ता भन्छ । यस प्रकारको बुद्धिमत्ता उमेर बढ्दै जाँदा पनि कायम रहन सक्छ वा अझ वृद्धि हुन सक्छ ।

ब्रेन बाइट्स

एक वृद्धाश्रममा ८५ वर्षका बुढाबा बस्नुहुन्थ्यो । उहाँ सधैँ खुसी देखिनुहुन्थ्यो, सबैसँग हाँस्नुहुन्थ्यो, ठट्टा गर्नुहुन्थ्यो । एक दिन मनोवैज्ञानिकले सोधे, बुवा, तपाईंको उमेर ८५ वर्ष भयो । शरीर पनि पहिले जस्तो छैन । तर तपाईं सधैं यति खुसी कसरी हुनुहुन्छ ? यसको रहस्य के हो ? बुढा मुस्कुराउँदै भने, मसँग एउटा गोप्य सूत्र छ । मनोवैज्ञानिक जिज्ञासु भए, कस्तो सूत्र ? बुढाबाले भने, जब म जवान थिएँ, सबै कुरा नियन्त्रण गर्न खोज्थेँ, श्रीमतीलाई, छोराछोरीलाई, समाजलाई, देशलाई । अनि तनावमाथि तनाव हुन्थ्यो । तर, अहिले म बिहान उठ्छु र आफैँलाई एउटा प्रश्न सोध्छु, आज संसार बचाउने जिम्मा मेरो हो कि होइन ? त्यसपछि ? त्यसपछि म आफैँ उत्तर दिन्छ, होइन । अनि आरामले चिया खान्छु । मनोवैज्ञानिक हाँसे । तर बुढाबाले थपे, बुढेसकालको सबैभन्दा ठूलो ज्ञान भनेको धेरै कुरा बिर्सिनु होइन, धेरै कुरा आफ्नो नियन्त्रणमा छैनन् भन्ने सम्झिनु हो । मनोवैज्ञानिकले नोटबुक बन्द गरे । किन नोट गर्न छोड्नुभयो ? हजुरबुवाले सोधे । मनोवैज्ञानिक मुस्कुराए, तपाईंले एक मिनेटमा त्यो कुरा सिकाउनुभयो, जुन मैले २० वर्षदेखि पढाउँदै आएको छु ।

भावनात्मक रूपमा पनि बुढेसकाल संवेदनशील अवस्था हो । अवकाश प्राप्ति, जीवनसाथीको मृत्यु, साथीभाइसँगको दूरी, शारीरिक कमजोरी तथा आर्थिक समस्याका कारण वृद्ध व्यक्तिहरूमा एक्लोपन, चिन्ता र अवसादको सम्भावना बढ्न सक्छ । विशेष गरी परिवारबाट पर्याप्त माया, सम्मान र साथ नपाउँदा मानसिक समस्या अझ गम्भीर बन्न सक्छ । तर परिवार तथा समाजबाट सकारात्मक सहयोग प्राप्त भएमा वृद्ध व्यक्तिहरूले खुशी, आत्मसम्मान र जीवनप्रति उत्साह कायम राख्न सक्छन् । त्यसैले वृद्धावस्थामा भावनात्मक समर्थन अत्यन्त महत्वपूर्ण हुन्छ ।

बुढेसकालमा सामाजिक सम्बन्ध मानसिक स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित हुन्छ । मानिस सामाजिक प्राणी भएकाले उसलाई जीवनभर सम्बन्धको आवश्यकता पर्दछ । बुढेसकालमा परिवार, साथीभाइ तथा समुदायसँगको सम्बन्धले व्यक्तिलाई मानसिक सन्तुष्टि प्रदान गर्छ । यदि वृद्ध व्यक्तिहरू सामाजिक गतिविधिमा सहभागी हुन्छन्, आफ्ना अनुभवहरू बाँड्छन् तथा परिवारका सदस्यहरूसँग घुलमिल हुन्छन् भने उनीहरूमा एक्लोपन र अवसादको सम्भावना कम हुन्छ । समाजमा सम्मानित र उपयोगी महसुस गर्ने वृद्ध व्यक्तिहरू सामान्यतया मानसिक रूपमा बढी स्वस्थ देखिन्छन् ।
आधुनिक समाजमा पारिवारिक संरचनामा आएको परिवर्तनले पनि वृद्ध व्यक्तिहरूको मनोवैज्ञानिक अवस्थालाई प्रभावित गरेको छ । संयुक्त परिवारको स्थानमा एकल परिवारको वृद्धि, वैदेशिक रोजगारी, शहरीकरण तथा व्यस्त जीवनशैलीका कारण धेरै वृद्ध व्यक्तिहरू एक्लै बस्न बाध्य भएका छन् । यसले उनीहरूमा असुरक्षा, उपेक्षा तथा सामाजिक अलगावको भावना बढाउन सक्छ । मनोवैज्ञानिक दृष्टिले यस्तो अवस्था मानसिक स्वास्थ्यका लागि चुनौतीपूर्ण मानिन्छ । त्यसैले परिवारका सदस्यहरूले वृद्ध व्यक्तिहरूसँग नियमित संवाद गर्ने, उनीहरूको भावना बुझ्ने तथा आवश्यक सहयोग प्रदान गर्ने प्रयास गर्नुपर्छ ।

बुढेसकालमा आत्मसम्मानको भावना पनि महत्वपूर्ण हुन्छ । जब वृद्ध व्यक्तिहरूलाई परिवार र समाजले सम्मान दिन्छ, उनीहरूको अनुभवलाई मूल्य दिन्छ तथा निर्णय प्रक्रियामा सहभागी गराउँछ, तब उनीहरूमा आत्मविश्वास र सन्तुष्टि बढ्छ । तर यदि उनीहरूलाई बोझका रूपमा हेरिन्छ वा उपेक्षा गरिन्छ भने आत्मसम्मानमा कमी आउन सक्छ । यसले अवसाद, निराशा तथा मानसिक तनावलाई बढावा दिन सक्छ । त्यसैले वृद्ध व्यक्तिहरूको गरिमा र अधिकारको सम्मान गर्नु आवश्यक छ ।

मनोविज्ञानले सक्रिय बुढेसकालको अवधारणालाई पनि महत्व दिन्छ । सक्रिय बुढेसकाल भन्नाले शारीरिक, मानसिक तथा सामाजिक रूपमा सकेसम्म सक्रिय रहनु हो । नियमित व्यायाम, सन्तुलित आहार, पुस्तक अध्ययन, नयाँ कुरा सिक्ने प्रयास, सामाजिक सहभागिता तथा सकारात्मक सोचले वृद्ध व्यक्तिहरूको मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ । विभिन्न अनुसन्धानहरूले सक्रिय जीवनशैली अपनाउने वृद्ध व्यक्तिहरूमा स्मरणशक्ति, आत्मसन्तुष्टि तथा जीवनको गुणस्तर राम्रो हुने देखाएका छन् ।

धार्मिक तथा आध्यात्मिक गतिविधिहरूले पनि बुढेसकालमा सकारात्मक मनोवैज्ञानिक प्रभाव पार्न सक्छन् । धेरै वृद्ध व्यक्तिहरू प्रार्थना, ध्यान, पूजा तथा आध्यात्मिक चिन्तनमार्फत मानसिक शान्ति प्राप्त गर्छन् । यस्ता गतिविधिहरूले तनाव कम गर्न, जीवनको अर्थ खोज्न तथा मृत्युको डरलाई कम गर्न सहयोग पुराउन सक्छन् । मनोवैज्ञानिक दृष्टिले आध्यात्मिकता व्यक्तिको भावनात्मक सन्तुलन कायम राख्न सहायक तत्व मानिन्छ ।
बुढेसकालमा देखिने प्रमुख मानसिक समस्या मध्य अवसाद, चिन्ता तथा डिमेन्सिया उल्लेखनीय छन् । अवसादका कारण व्यक्तिमा उदासी, निराशा, रुचिको कमी तथा सामाजिक अलगाव देखिन सक्छ । चिन्ताले अत्याधिक डर, बेचैनी तथा असुरक्षाको भावना उत्पन्न गर्न सक्छ । डिमेन्सिया भनेको स्मरणशक्ति तथा अन्य संज्ञानात्मक क्षमतामा गम्भीर ह्रास आउने अवस्था हो । यस्ता समस्याहरूको समयमै पहिचान र उपचार आवश्यक हुन्छ । परिवार, स्वास्थ्यकर्मी तथा समाजले वृद्ध व्यक्तिहरूको मानसिक स्वास्थ्यप्रति संवेदनशील हुनुपर्छ ।
बुढेसकाल जीवनको अन्तिम चरण भए पनि यो निरर्थक अवस्था होइन । यो अनुभव, ज्ञान र परिपक्वताको समय हो । वृद्ध व्यक्तिहरू समाजका महत्वपूर्ण सम्पत्ति हुन् । उनीहरूले आफ्नो अनुभव, ज्ञान तथा जीवनका पाठहरू नयाँ पुस्तालाई हस्तान्तरण गर्न सक्छन् । मनोवैज्ञानिक रूपमा स्वस्थ बुढेसकालका लागि परिवारको माया, सामाजिक सम्मान, आर्थिक सुरक्षा, स्वास्थ्य सेवा तथा सकारात्मक सोच आवश्यक हुन्छ । जब यी पक्षहरूको उचित व्यवस्था हुन्छ, तब वृद्ध व्यक्तिहरूले आफ्नो जीवनलाई सन्तुष्ट, सम्मानित र अर्थपूर्ण रूपमा बिताउन सक्छन् ।

अतः बुढेसकाल मानव विकासको महत्वपूर्ण चरण हो जसलाई मनोविज्ञानले गहिरो रूपमा अध्ययन गर्दछ । यस अवस्थामा शारीरिक परिवर्तनसँगै मानसिक, भावनात्मक तथा सामाजिक परिवर्तनहरू पनि देखा पर्छन् । उचित पारिवारिक सहयोग, सामाजिक सहभागिता, आत्मसम्मान, सक्रिय जीवनशैली तथा सकारात्मक सोचले बुढेसकाललाई सुखद र अर्थपूर्ण बनाउन मद्दत गर्छ । त्यसैले वृद्ध व्यक्तिहरूलाई सम्मान, माया र सहयोग प्रदान गर्दै उनीहरूको मानसिक स्वास्थ्य र जीवनको गुणस्तर सुधार गर्नु परिवार, समाज तथा राष्ट्र सबैको साझा जिम्मेवारी हो ।