नागपञ्चमी पर्वको इतिहास

मेचीकाली संवाददाता

४ भाद्र २०८०, सोमबार
794 shares

संसारका पुराना जातिहरूले पनि साँप जोगाउन पूजा गर्दथे । भयले भगवान् बनाउने युगमा बिस्तारै साँपलाई पनि भगवान् मानेको इतिहास छ । उनीहरू पूजा गरे साँपले डस्दैन भन्ने विश्वास गर्दथे । ढुङ्गे युगपछि आएको काँश युगमा मेसोपोटामिया र सुमेरतिर बस्ने जनजातिले बनाएका भाँड़ामा साँपका चित्र अङ्कित गरेका पाइएका छन् । एसिरियाका हिट्टेली मन्दिरतिर पनि साँपका प्रतिमा बनाइएका उदाहरण पुरातत्त्वविद्हरूबाट थाहा लाग्दछ । प्राचीन मिश्र देशमा चाहिँ फणधर कोब्रालाई पूजा गरिँदथे भन्ने बुझिन्छ । ईशलय अर्थात् इज्रायलको पुरानो जुडा बाइबलमा मान्छेहरूलाई जोगाउन ईश्वरले मोजेसलाई काँशाको साँप नहुस्तनलाई ठाड़ो पारेर झुण्डाइदिने आदेश दिएका रहेछन् । मोजेसको लौरो पनि साँपकै छ । हिब्रु बाइबल र नवनियममा साँपलाई दुष्टको प्रतीक मानिएको तर मेसोपोटामिया र सुमेरमा साँपलाई द्यौता मानिँदथ्यो भन्ने कुरा पुरातात्त्विक ग्रन्थ पढ्दा थाहा लाग्दछ । स्पेनले उपनिवेश विस्तार गर्नुभन्दा अघिको मेसोअमेरिकी क्षेत्रमा माया सभ्यताका अवशेषहरूमा प्वाँख भएका साँपका मूर्तिहरू पाइएका छन् । अफ्रिकाको पुरानो इतिहास दुर्लभ भए पनि सत्रौँ शताब्दीतिर अफ्रिकीहरूले साँप पुजेका कुरा युरोपेली प्रलेखबाट थाहा पाइएको छ । काम्पुचिया वा हिन्देशियातिर भने त्यहाँका साँप पूजा पहिलो शताब्दीदेखि हिन्दू र बौद्ध प्रभावले भारतको जस्तै बनेको थाहा लाग्दछ ।

भारतमा नागपूजनको परम्परा आदिकालदेखि प्रचलित थियो भन्ने सिन्धु घाटीको सभ्यताका अवशेष साक्षी छन् । हिमालय क्षेत्रमा प्राचीनकालदेखि नै नाग जाति थिए । तिनीहरूको एक हाँगा अहिलेको छत्तीसगढपट्टि आएको बुझिन्छ । एकातिर पाहाड़लाई नग पनि भनिन्छ, पाहाड़वासीलाई नागा भनिन्थ्यो । पाहाड़तिर नाग पनि मानिन्छ । कतिले कश्मीर र हिमाचलतिर वा हिमालपल्लोपट्टि रहने शकहरू नै नागवंशका थिए पनि भन्दछन् । कतिपय सन्दर्भमा तिब्बतीलाई पनि नागजाति भनिएको पाइन्छ । उत्तराखण्ड, बङ्ग, कलिङ्ग (ओडीशा) र कामक्ष्य (वृहदसम)– मा मनसादेवीलाई नागदेवी भनी अझ पूजा गरिन्छ । हिन्दू मिथककथाले नागदेवी शिवजीकी मानसपुत्री भनिएको छ । यसरी साइनो केलाउँदा मनसा नागराज वासुकीकी बहिनी पर्छिन् । महाभारतअनुसार शिवको मस्तकबाट जन्मेकी मनसाका पति जगत्कारु हुनाले यिनलाई पनि जगत्कारु नै भनिन्छ । यिनीहरूको छोरोको नाम आस्तिक हो । आस्तिक साँपका मित्र थिए भनिन्छ । पुराणअनुसार नाग प्रजातिका मानिस कश्मीरमा भएको प्रमाण अहिलेको अनन्तनाग जनपदले दिँदछ । भारतीय संस्कृतिमा काँचुली फेर्ने हुनाले साँपलाई पुनर्जन्म, मृत्यु र क्षणभङ्गुरताको प्रतीक मानिन्छ ।

भारतीय इतिहासमा कुषाण र गुप्तकालमा भारतमा विराट् नागजाति निवास गर्दथे भन्ने उल्लेख पाइन्छ । उनीहरू बौद्ध धर्मावलम्बी थिए । श्रावण पञ्चमीमा उनीहरूको वार्षिक पञ्चायत हुने गर्दथे । उनीहरू संस्थागारमा भेला भएर आराध्यदेव बुद्धलाई पुजेर सङ्घनायक चुन्ने प्रतियोगिता गर्दथे – खड्गयुद्ध, मल्लयुद्ध, घोड़दौड़, वीरता, साहस र सत्यप्रदर्शन आदि । योग्यता सिद्ध गर्नेलाई सेनापति, मुखिया वा कुनै श्रेष्ठ पदमा चयनित गरिन्थ्यो । नागवंशका पञ्च पराक्रमी राजाहरूका नाम लिनपर्दा इतिहासमा अनन्त, वासुकी, तक्षक, कर्कोटक र पिङ्गल उल्लेख भएको पाइन्छ । उनीहरूका नाममा अझ जम्मू–कश्मीरमा अनन्तनाग, कैलाश मानसरोवरमा वासुकी, तक्षशीलामा तक्षक, नेपालमा कर्कोटक, रावी नदी वरपर पिङ्गलका अवशेष पाइन्छन् । आर्यहरूसित नागहरूको युद्ध भइरहन्थ्यो । युद्धमा नागजातिले कौरवलाई सघाए । त्यसको साटो पाण्डवका पछिल्ला सन्तानले लिए । अर्जुनका नाति, अभिमन्युका छोरो परीक्षित नागराज तक्षकबाट पराजय भएको कथा महाभारतमा पाइन्छ । तक्षकले परीक्षितलाई मारेको कुरा पनि पढ्न पाइन्छ । बाबुको मृत्युको प्रतिशोध छोरो जनमेजयले लिए । उनैले नागजाति निमिट्यान्नै पार्न देशभरिका नागजनलाई जलाएर मारेको बुझिन्छ । यसबाट युक्तिले कर्कोटक र तक्षक बाँचेको बुझिन्छ तर ब्राह्मण ग्रन्थहरूले इन्द्र र शिवको शरण परेको हुनाले बाँचे भन्दछन् । कालान्तरमा पुराणहरूले नागजनलाई साँपकै रूपमा वर्णन गरे ।

कलिङ्गका सर्पपूजक नागहरूले आषाढ शुक्ल पक्ष द्वितीयामा सर्परक्षित बुद्धको प्रतिमा यात्रा गर्दथे । भगवान् बुद्धका मूर्तिलाई पञ्चमुख वा सप्तमुख सर्पले रक्षित गरेको देख्न पाइन्छ । सर्परक्षित बुद्धको जात्रा कालान्तरमा जगन्नाथ जात्रा भएको इतिहासले भन्दछ । ब्राह्मण शक्ति बलवती भएपछि जगन्नाथ यात्रा भनिने भयो । पछि बाह्रौँ शताब्दीमा महाकवि जयदेवले ‘गीत गोविन्द’–को एक ठाउँमा लेखे– ‘केशवधृत बुद्ध शरीर, जय जगदीश हरे’ अर्थात् बुद्ध बनेर हरी आउनेछन् जय गाऔँ । बौद्ध ग्रन्थमा धर्मोदयको लागि बुद्ध आए भनिएको पाएर ब्राह्मणहरूले बौद्धलाई आफूतिर आकर्षित गर्न गुप्तकालदेखि नै विष्णुका दशावतारमा बुद्धलाई समेट्ने प्रयास गर्दैथे । पछि जयदेवले दशावतारलाई भारतीय संस्कृतिमा पूर्ण रूपले स्थापित गराउँदा बुद्ध विष्णुका अवतार बने । कुषाणकाल र गुप्तकालमा शेषशयनमा बसेका बुद्धका प्रतिमा धेरै बनिए । कालान्तरमा वैष्णव धर्म बलवती हुँदैगएपछि बुद्धका गुण र रूपलाई ब्राह्मणहरूले विष्णुमा आरोपित गर्दै गए । यसरी विष्णु पनि ससुराली सागरमा शेषनागमाथि विश्राम गरेको कथा लेखिए– ‘शान्ताकारं भुजगशयनं पद्मनाभं सुरेशम्’ अर्थात् सुरश्रेष्ठ पद्मनाभ विष्णु शान्त आकारमा साँपमाथि सुतेका छन् । साथमा सेविका स्वास्नी लक्मीने पनि छिन् । बुद्धको मूल मूर्तिमा तर सुसारे छैन ।

भारतकी प्रथम महिला शासक नागकन्या नागनिका थिइन् । यिनको शासन इसापूर्व पहिलो शताब्दीमा थियो । अङ्गीयकुलपुत्री नागकन्या नागनिकाको बिहा सातवाहन घरानाका सिरी सातकरणिसित भएपछि बौद्ध सभ्यताको पताका फहराउने सातवाहन वंशको गौरव अझ बढेको थियो । रानी नागनिकाको चाँदीको सिक्का महाराष्ट्रमा प्राप्त भएको छ । सिक्काको बीचैमा रानी नागनिकाको नाम लेखिएको छ । यसको लिपि धम्म (ब्राह्मी) अनि भाषा प्राकृत छ । लेखिका शुभाङ्गी भडभडेले मराठी भाषामा रानी नागनिकामाथि एउटा ऐतिहासिक उपन्यास लेखेकी छन् ।

नागहरूको वर्चस्व शमन हुँदैगएपछि आर्यहरूको शत्रु रहेका नागहरू जनजातिसित सम्मिलित भए । उनीहरूका सन्तान अझ छन् । ब्राह्मण ग्रन्थहरूमा नाग साँप वा शत्रुका रूपमा वर्णित हुनथाले । पछिका ब्राह्मणग्रन्थका मिथकअनुसार नाग महर्षि कश्यप र उनकी पत्नी कद्रूका सन्तान हुन् भनिएको पाइन्छ । पुराणअनुसार सूर्यको रथमा बाह्र सर्प (नाग) छन्, जसले क्रमशः प्रत्येक मास पालैपिलो रथका सात घोड़ा खेप्दछन् । युद्ध गरेर थाकेका विष्णुलाई ससुरा सागरले शेषनागको ओछ्यान बनाइदिएर विश्राम गर्नाका साथै छोरी लक्ष्मीलाई एटेन्डेन्टको ड्युटी दिए अनि ब्रह्मासित टेलिकम फ्यासिलिटी पनि कनेक्ट गरिदिए । शेषनाग नै रामावतारमा लक्ष्मण र कृष्णावतारमा बलरामका रूपमा अवतरित भएका थिए भन्ने कथा लेखिए ।
नेपाल उपत्यकामा जलाशय थियो । चीनबाट मञ्जुश्री आएर नागराज कर्कोटकलाई टउदहमा जाने आग्रह गरेपछि तरवारले काटेर वाग्मती र विष्णुमती नदी निस्के तब नेपाल देश बनियो । त्यहाँ धर्माकरलाई पहिलो राजा बनाइयो भन्ने कुरा बौद्ध पुराणमा पाइन्छ ।

मिथककथाका नेटवर्क कताकता हुन्छहुन्छ । गहिरो बुझे मात्र ठीक अर्थ खुलिन्छ । अधकल्चे बुझाइले गर्दा त पुरोहितवादको भर परेर जनसाधारण अलमल्ल पर्दछन् । कुरा राम्रो छ तर चाम्रो छ । अक्क न बक्क परेर मुक्तिको बाटो यो पो हो भन्ने जुनसुकै आयातित सम्प्रदायमा लाग्नु पनि हुँदैन । पहिले आफ्ना कुरा बुझ्ने प्रयास गर्नु पर्दछ ।
पौराणिक मिथकअनुसार शेषनागले धरतीलाई धारण गरेको छ । महाभारतमा दुर्योधनले भीमलाई विष खुवाएर नदीमा फ्ञाकिदिँदा पानीका साँपले उनका विष निकालेर सुरक्षित बाहिर निस्केका थिए । वासुदेवले भर्खर जन्मेको कृष्णलाई वृन्दावनदेखि गोकुल लैँजादा नाग नै छाता बनेर नानीलाई वर्षादेखि जोगाएको कथा छ । यमुना नदीमा विष घोलिदिने दुष्ट कालेनागलाई चाहिँ कृष्णले मारेको कथा छ ।

अचेल पुरोहितहरूले अष्टनागको नाम लिँदछन् । यीमध्ये पाँचवटा नागमा पाँचजना ऋषिको शक्तिले वर्षभरि साँप, बिच्छी आदि विषालु जीवहरूको भय नहुने विश्वास दिलाइएको पाइँदछ । घरको मूल ढोकामा नागको पोस्टर टालेर पञ्चवज्रवारकको नाम लिइँदछ– ‘अगस्त्यश्च पुलस्त्यश्च वैशम्पायन एव च । सुमन्तुर्जैमिनिश्चैव पञ्चैते वज्रवारकाः’ अर्थात् अगस्त्य, पुलस्त्य, वैशम्पायन, सुमन्तु र जैमिनी यी पञ्च बज्रवारक हुन् ।

यी सबै इतिहास र मिथकीय कुरा नजानीकन पनि हिमाली सनातनी जनजातिले नागका साथै नगेनी मान्दथे । हिमाली समाज मातृसत्तात्मक थियो । ‘त्यहाँ नाग–नगेनी छ’ भन्ने निहुँ पाउनासाथ मुहानमा केराको बोट, पैञु र कदम रुखका बिरुवा उमार्दथे । पैञुलाई संस्कृतमा सर्पदंश–नाशक वृक्ष भनिन्छ । मुहानमा शौच गर्दैनथे, मैला फ्ञाक्दैनथे । हिलो, धुलो र फोहोरले हुने घाउ–खटिरा मन्साउन नागसँगै नागेश्वरीको पनि नाम लिन्थे । नाग–नगेनी (संस्कृतमा नाग–नागी)–का भजन गाउँथे । झाँक्री–वैद्यले पनि नाग–नगेनीका मन्त्र फलाक्थे । त्यो ठाउँ सफा गरेर अछेतापाती छर्दथे । त्यो आफै जलस्रोत क्षेत्र बन्दथ्यो – क्याचमेन्ट एरिया । तल्तिर मूल फुटेका हुन्थे । ‘नाग मान्नेले साँप मार्नु हुँदैन’ भन्दथे । साँपले बारीका अन्नबाली नष्ट गर्ने मुसा–कीरा–लाटा खाइदिन्थे । त्यस बेला पारिस्थितिकीमा आफ्नै आहार–चक्र थियो । कीरा–मुसाले बाली खान्थे, कीरा–मुसा साँपले खान्थे, साँपलाई अजिँगरले खान्थे, अजिँगरका सिनो स्याल, गिद्धहरूले खान्थे । काग, गिद्धहरू प्राकृतिक सफाइकर्मी हुन्थे । दूध साँपलाई होइन तर बालीनाशक मुसा–कीरा दूधमा लागून् र साँपलाई आहार होऊन् भन्ने ठान्दथे । वृक्ष–वनस्पति बचाउन पशु–पक्षी बचाउनुपर्दछ, पशुपक्षी बचाउन वृक्ष–वनस्पति बचाउनुपर्दछ भन्ने जान्दथे । पर्यावरण जोगाउन शास्त्र, पुराण, विज्ञान पढिबस्नु पर्दैनथ्यो ।

दसैँ–तिहार, नाग पञ्चमी, साउने सग्राँति, संसारी पूजाहरू पाहाड़ी जनजातिको साझा सनातन संस्कृति थियो । दसैँजस्तै नाग–नगेनी सबै जातका गोर्खाले मान्दथे । पछिबाट सनातनी जनजातीय संस्कृति खल्बल्याउन मध्यदेशीय तथाकथित हिन्दू मान्यता र आयातित सम्प्रदाय आए । पितृसत्तात्मक कुरा आयो, नागेनी हरायो, नाग मात्र रह्यो । त्यहीमाथि जाते कुरा ल्याएर फलानो–फलानो जातको यो–यो पर्व भन्ने आदेश दिनथाले । यसरी पर्यावरण–प्रिय जनजातीय पद्धतिमा विकार आयो ।

विडम्बना के छ भने प्राचीन ग्रन्थमा कतै नागलाई दूध खुवाउनुपर्दछ भनेको पाइँदैन तर अचेल दूध खुवाउन ढिपी गर्दछन् । साँप पिण्डज (viviparous /live–bearing) र स्वेदज (diaphoratic /sweat born) होइन । (oviparous /egg born) हो । साँपले न दूध खान्छ न नानीलाई दूध खुवाउँछ ।

सर्पादि सरीसृप प्राणीका आहार दूध होइन । उनीहरू कीरा–फटेङ्रा खाने हुन् । दूध त साँपलाई पच्दैन अनि मृत्युकारक हुँदछ । साँप नचाउने सपेराहरूले कति दिन साँपलाई भोकै राखेर मान्छेहरू भेला भएपछि स्वाङ पारेर दूध खुवाएको अभिनय गर्दछन् । धेरै सपेराहरूले साँपलाई यातना दिएर विष ओकल्न लाउने र दाँत निकालिदिने गर्दछन् । दाँत निकाल्दा पीड़ाको प्रभाव फोक्सोमा परेर सयमा अस्सी साँप मर्दछन् भन्ने तथ्याङ्क पर्यावरणविद्हरूले प्रस्तुत गरेपछि अचेल वन विभाग सचेत बनेर सपेरालाई ढिम्कन नदिने नियम बनाएको पाइन्छ । अर्को विडम्बना के छ भने सबै साँप विषाला हुँदैनन् । भारतमा एक दिन नाग पञ्चमीमा नागदेव भनेर स्याल्याक्कै हुन्छन् तर अरू दिन साँपसँग भयको भाव राख्दछन् । भयले क्रूरतालाई जन्म दिँदछ । नचलाए पशुप्राणीले केही गर्दैनन् भनिन्छ तर ठुङ्छ–डस्छ भनेर सयौँ साँप डढेलो लाएर मारेका पनि देखिन्छ । कथनी र करनीमा विरोधाभास देखिन्छ ।

दार्जिलिङको बाघ डाँड़ा, कालेबुङका नेउरा र डेलो, गान्तोकको रातेचुहरूमा नाग–नागिनी बस्छन् भन्थे । दार्जिलिङको लालढिकी र कालेबुङको बाघधारा मास्तिर बिल्डिङ बनेपछि त्यहाँका नाग–नगेनी कता गए होलान्! बाघडाँड़ामा विमानस्थल धन्य बनिएन, हुटेल बनेछ । सिञ्चेलमा नाग पोखरी छ अझै । अहिलेका हाम्रा कमान–बस्तीतिर टुरिस्ट हब बनिएर नगर सभ्यता आयो भने रहेबचेका हामी नाग–नागेनीहरू कता जानुपर्ला ! जनमेजयले नाग जाति निमिट्यान्नै पारेजस्तै भाषा र भूमिलाई आक्रमण गरेर हामी नाग–नगेनीलाई जनमेजयाले उठिबास लगाइदिने त होइन? सबै मुहान–पोखरीका हे नाग–नगेनी ! रक्खे गर ।
साभारः दिवाकर प्रधान
काशी हिन्दु विश्वविद्यालय, बनारस