बुटवल । केउली थारू र सुदन थारू बुटवल उपमहानगरपालिका–१९ का स्थायी बासिन्दा हुन् । दुई थारू परिवार मनोहरापुरमा बसोबास गरेको वर्षौं भइसक्यो । केउली र सुदनको परिवार बुटवलका जमिनदार स्व.भरतसिंह मल्लको जग्गामा जोतभोग गर्दै आइरहेको थियो । हरूवा–चरूवा उनीहरूलाई भरतसिंहले बसोबास गर्दै आएको जग्गा दिने भनेर विश्वास दिलाएका थिए ।
तर, भरतसिंहको निधनपछि केउली र सुदन बस्दै आएको घरमा भरतसिंहकी छोरी अंगीला मल्लले जग्गा खाली गर्न भनेर घरमा डोजर चलाएपछि उनीहरूको बिचल्ली भएको छ । तीनपुस्तादेखि बस्दै आएको झुपडीमा जमिनदारले डोजर लगाएर भत्काइदिएपछि दुई परिवार बेघरबार बनेका हुन् । अहिले जग्गा भरतसिंहको श्रीमती आगमदेवी मल्लको नाममा रहेको अंगीलाले बताइन् । केउलीका ससुरा रामचरण र श्रीमान् पूर्णवासी थारूले समेत सोही जग्गामा जोतभोग गर्दै आएका थिए । वि.सं.२०३८ सालदेखि जोतभोग गर्दै आएका दुई परिवार अहिले सडकमा आइपुगेका छन् ।
‘हामी तीन पुस्तादेखि यहीँ साहुकोमा काम गर्दै आएको हौँ,’केउलीले गहभरि आँसु ल्याउँदै भन्छिन्, ‘हामीसँग जग्गाको नाममा एक टुक्रा पनि जमिन छैन । बस्दै आएको झुप्रो पनि भत्काइदिए । हाम्रो बोलिदिने र आवाज सुनिदिने कोही भएनन् ।’ लामो समय जग्गाको जोतभोग र रेखदेख गर्दै आएका सबै परिवारलाई स्व.सिंहले बस्ने बास नामसारी गरेरै दिने वचन दिँदै आएका थिए । केउलीका चार जनाको परिवार पनि बस्दै आएको घर आफूहरूबाट जमिनदारले नलैजानेमा विश्वस्त थिए । अहिले आएर भरतसिंहको निधनपछि छोरी अंगीला र उनका श्रीमान् आएर घर भत्काइदिएको केउलीकी छोरी संगीता बताउँछिन् ।
बास भत्काइदिएपछि केउलीको परिवार अहिले सोही ठाउँमा लामो समयदेखि बन्द रहेको जग्गाधनीको घरमा छन् । ‘मेरा ससुरा र श्रीमान्ले यही जमिनदारको जोतभोग गर्दै बितेर गए । हामीलाई अहिले आएर अलपत्र पार्न खोजेका छन् । हामी कहीँ जाने ठाउँ छैन । हाम्रो पीडा र दुःख कसैले देखेनन् ।’ मजदुरी गरेर गुजारा गर्दै आएकी केउलीका दुई छोरा र एक छोरी छन् । ‘बेलाबेला आएर धम्काउछन्,’ संगीता भन्छिन्, ‘अरु हामीजस्तैले धेरै चलाख भएर जग्गा पाए । हामी साहुले दिन्छ भनेपछि ढुक्क हुँदा अलपत्र परियो । हामीले धेरै केही मागेका छैनौं, अहिले बस्दै आएको ठाउँ हामीले दिए हुन्छ ।’ उनीहरू बस्दै आएको जग्गा साढे तीन कठ्ठा छ । केउलीले न्यायको लागि बुटवल उपमहानगरपालिका न्यायिक समितिमा निवेदन पनि दिइन् । त्यसको कुनै सुनुवाई भएन । स्थानीय सीता रानाले केउलीको परिवारलाई जसरी पनि बस्दै आएको जग्गा साहुले दिनुपर्ने बताउँछिन् ।
केउली प्रकृतिका अन्य केही परिवारलाई स्व. मल्लले जग्गा नामसारी गरेर दिएपनि केउली र सुधनको परिवारलाई नदिएको सीता बताउँछिन् । घर भत्काए पनि सुदनको भने, एउटा झुप्रो बाँकी छ । त्यही झुप्रोमा सुदनको परिवार बस्दै आएको छ । सुदन परिवारले जग्गाा जोतभोग मात्र होइन वर्षाँैदेखि अगमदेवीको घरमा काम गर्दै आएका छन् । प्रहरीसँग पुगेर पनि तुरुन्त त्यहाँबाट हट्न र नहटे जे पनि हुनसक्ने चेतावनी दिने गरेको केउलीकी छोरी संगीतालाई भन्छिन् । न्यायको लागि केउली र संगीता सबैसँग अनुनय विनय गरिरहेका छन् । तर, उनीहरूको आवाज कसैले गम्भीर रुपमा नलिएको उनीहरूको दुखेसो छ ।
नेपालको संविधानले प्रत्येक नागरिकलाई गास, बास र कपासको ग्यारेन्टी गरेको छ । वडा सदस्य तथा स्थानीय लक्ष्मी थारूले पुर्खाैंदेखि बसोबास गर्दै आएकोलाई कुनै हालतमा उठाउन नपाइने बताउँछिन् । पीडित केउली र सुदनको पक्षमा आफू सधैँ लडिरहने जनप्रतिधिसमेत रहेकी लक्ष्मी थारूले बताइन् । मल्लको जग्गा धेरै थियो, कतिले त जग्गा लिएर बेचबिखन गरेर यो ठाउँबाट हिँडिसके तर, यी दुई थारु परिवारलाई साहुले दिन्छु भनेको समयमा जग्गा नामसारी नदिँदा अहिले बिचल्ली पर्ने अवस्था आएको हो । केही वर्ष अघि केउलीका श्रीमान् पूर्णवासीको निधन भयो । अहिले उनीहरुले जग्गा जोत्न पनि छाडेका छन् । जमिन्दारले पनि मनोहरापुर क्षेत्रको धेरै जग्गा बिक्री गरिसकेका छन् । ज्यान पाल्न केउलीको परिवार मजदुरी गर्छन् ।
नेपालको संविधान २०७२ को भाग (३) धारा १६ ले प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार प्रत्याभूत गरेको छ । सोही भागको धारा २५ ले प्रत्येक नागरिकलाई कानुनको अधीनमा रही सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, व्यावसायिक लाभ प्राप्त गर्ने र सम्पत्तिको अन्य कारोबार गर्न सक्ने अधिकारहरू दिएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर १७ का अध्यक्ष चन्द्रसिंह थापाले निमुखा केउली र सुदनको परिवारले उक्त ठाउँमा जग्गा पाउनुपर्ने बताउँछन् ।
‘भरतसिंहका छोरीज्वाइँ अहिले हाबी भएर भूमिहीन दुई थारू परिवारलाई अफ्ठ्यारो पारेका सुन्छु,’अध्यक्ष थापाले भने, ‘उनीहरूले जग्गा पाउनुपर्छ । मेरो तर्फबाट उनीहरू सक्दो सहयोग गर्नेछु । उनीहरू वास्तविक निमुखा हुन् । उनीहरू धेरै कुरा पनि थाहा छैन ।’ अंगीलाले आफ्नो परिवारको नाममा रहेको जग्गामा जे गर्ने पनि अधिकार रहेको दावी गरिन् । ‘यो विषय मेरो सरोकारको विषय होइन,’ उनी भन्छिन्, ‘उनीहरु तिन पुस्ता त्यहाँ बसेका होइनन् । आफ्नो जग्गा हाम्रो परिवारको अधिकारको विषय हो ।’