कञ्चनको छोरा प्रवृत्तिमाथिको क्रान्ति

भन्छिन्, ‘फरक छोराछोरी होइन सोँच हो’

मेचीकाली संवाददाता

५ आश्विन २०८०, शुक्रबार
307 shares

टोपलाल अर्याल

गुल्मी । २० वर्षीया कञ्चन रोका मगरले भर्खरै आमाको किरिया सकिन् । हाम्रो समुदायमा केश मुण्डन र सेतो वस्त्रलाई दुखसँग जोडिन्छ । तर, त्यसलाई कञ्चनले छोरा प्रवृत्तिमाथिको क्रान्ति भनिन् । परिवारमा छोरा नभएकोमा जीवन जीवन जस्तो नभएर चुक्चुकाइरहेका कैयौँ दम्पती छन् । छोरी भएकै कारण भ्रूण हत्या हुन्छ । नेपाली समुदायका कैयौँ संस्कार छोरा केन्द्रित छन् । तर, कञ्चनले पूरै कपाल फालेर किरिया बसिन् । ‘कतिपयले थोरै कपाल फाल्न पनि भने । मेरो मनलेनै मानेन,’उनले भनिन्,‘कपाल फर्किन्छ आमा फर्किनु हुँदैन ।’

मालिका गाउँपालिका–७ की कञ्चन चार छोरीहरुमध्येकी साँइली हुन् । दुई जना दिदीहरुले बिहे गरे । परदेशी बुवा । आमा र सानी बहिनीसँगैको परिवार । उनले परिवारका सबै दुखमा असल छोरीको भूमिका निर्वाह गरिन् । बुबालाई कहिल्यै छोराको महसुस हुन दिइनन् । सानैदेखि क्रान्तिकारी स्वभाव भएकी कञ्चनले छोराहरुमा मात्रै पौरख र संस्कारका कर्म निरन्तरता देख्ने पितृसतात्मक सोच र समुदायका लागि आमाको उपचारदेखि घाट र किरियासम्म परिवर्तनको सन्देश प्रवाह गरेकी छन् । किरिया बसेकी कञ्चनको घरमा थुप्रै महिलाहरु आउँछन् । घरदेखि पधेँरासम्म महिलाहरुकै सहयोग पाएकी छन् किनकि कञ्चनको आमा हुमकला गाउँका थुप्रै समूह र संघसंस्थाको अगुवा थिइन् ।

क्षेत्री र ब्रह्मण जातिको बाहुल्यता भएको गाउँमा मगर चेलीले देखाएको क्रान्तिबाट समुदायनै खुसी छन् । ‘छोराछोरीमा केही फरक छैन । फरक त केवल हाम्रो सोँच हो,’उनले भनिन्,‘सबैको स्याबासीले पीडामा पनि ऊर्जा थपेको छ ।’ स्थानीय तथा अगुवा समाजसेवी सन्तोष लम्सालले दुखद क्षणमा कञ्चनले गरेको सुखद क्रान्तिको सम्मान गरे । छोराहरुले मात्रै चलाउन पर्ने किरिया कर्मको गलत सोंचलाई कञ्चनले तोडेको लम्सालले बताए । बुबा ताराबहादुर रोकामगरले पनि आफूहरुले कहिल्यै छोराको महसुस गर्न नपरेको बताए । आमाको उपचारदेखि किरियाकर्मसम्म छोरीले देखाएको ऊर्जा र हिम्मतले आफू निकै प्रभावित भएको प्रतिक्रिया मगरले दिए ।

आँसु लुकाएर आमा र आफन्त सम्झाएँ
कञ्चनकी हजुरआमा ७२ वर्षीया ओमकुमारी रोकामगर बिरामी थिइन् । बुटवलमा महिनादिन उपचारपछि ज्यान २८ साउनमा ज्यान गयो । घरमा आमा ४५ वर्षीया हुमकला बिरामी परिन् । परदेशबाट बुबा ताराबहादुर रोकामगर घर आए । तीन दिनपछि आमाको किरियामा बसे । कञ्चनलाई हजुरआमाको शोकमा आमा बिरामी भएको पीडा थियो । उनले २ भदौमा आमालाई उपचारको लागि गुल्मी अस्पताल तम्घास पुराइन् । जण्डिसले गालेकाले डाक्टरहरुले तुरुन्त बुटवल लैजान सुझाव दिए । कञ्चनलले एक्लै एम्बुलेन्स र पैसाको जोहो गरेर बुटवल लगिन् । अवस्था झनै बल्झिएपछि बुटवलबाट पनि डाक्टरहरुले काठमाण्डौ जान भने । कञ्चनको मनमा चिसो पस्यो । आमा अवस्था । कहिल्यै नपुगेको काण्माण्डौ र उपचार ।

कञ्चनले हिम्मत जुटाइन र हतपतमा आमालाई दौडाएर काठमाण्डौ पुराइन् । काठमाण्डौ त पुराइन तर डाक्टर झस्किए । अवस्था गम्भिर भएको सुनाएँ । कञ्चनको खुट्टा सेलाउँदै गए । अस्पतालले कहिल्यै सुखद कुरा सुनाउन सकेन । डाक्टरहरुले आफन्तहरु भेट्न लगाए । कञ्चन आफूले बुझ्थिन तर आमालाई भन्थिनन् । घरबाट बुवालाई बोलाइन् । फोनमा सानी बहिनीसँग केहिबेर बोलेपछि आमा शिथिल बनिन् ।

अवस्था बल्झिदै गएपछि अस्पतालले भेन्टिलेटरमा राख्ने वा नराख्ने भने । तर, कञ्चनले झिनो आशा गर्दै राखिन् । आमाको पीडा अचाक्ली थियो । उनले डाक्टरलाई दुखाइ कम गर्न भन्थिन् । त्यसका लागि १० हजार खर्चेर औषधी ल्याइन् । रगत खोजिन्, औषधीको दौडधुप र न भोक न निद्रा । कञ्चनले आमाको माया मारिन् । आमाले भेट्न पुगेका श्रीमान् चिनिनन् । कञ्चनले शिथिल बुवालाई ऊर्जा भरिन र भनिन्,‘बुबा जीवन हो भोग्नपर्छ, म छु केही चिन्ता नलिनुस् ।’ अन्तत १३ भदौमा अस्पतालले कञ्चनलाई आमा नभएको सुनाए । केहीबेर स्तब्ध बनिन् । तर, आँसु लुकाएर बाबा र आफन्त सम्झाइन् ।

आमाको मंगलशुत्र बुझेपछि मुर्छा परेँ
घर व्यावहार बुझेकी कञ्चन । छोरीहरुको भविष्य सम्झिएका बाबाआमा । उनलाई आफूहरुको सधैँ खुसी खोज्ने आमाको गलामा मंगलशुत्र देख्ने रहर थियो । एकदिन कञ्चनलेनै जोड गरेर आमालाई मंगलशुत्र लगाइदिएकी थिइन् । बिरामी आमा थला पर्दै गएपछि कञ्चनलाई अस्पतालले बोलाएर त्यही मंगलशुत्र हातमा दिए र कागज गराए । अस्पताल अँध्यारो बन्यो । केही सोच्न सकिनन् । उनले आफैँले जिद्धि गरेर आमाको घाँटीमा पहि¥याइदिएको पलको स्मरण गरिन् । मनले माया मा¥यो । फर्किँदा आमाको याद र त्यही मंगलशुत्र मात्रै रह्यो । ‘घरदेखि काटमाण्डौसम्म सयौ पीडा खेपेँ । तर, अस्पतालले मंगलशुत्र बुझाउँदा मुर्छा परेँ,’उनले भनिन्,‘आमा छोडेर गहना मात्रै बोकेर फर्किनुपर्नेमा विश्वस्त भएँ ।’

शोक र पीडाले कठोर बनायो
कञ्चनले आमा मरेपछि बाबा सम्झाइन् । त्यसपछि बाबाले कञ्चनलाई सोधे– कसरी दाहा संस्कार गर्ने भनेर । कञ्चनले काठमाण्डौ नै मृत्यु भएकाले पशुपति नै लैजाने भनेर बुबालाई सहमत गराइन् । त्यसपछि आफन्तमा दागबत्तीको चर्चा चल्यो । कञ्चन आफैँले आमाको दागबत्ती र किरिया गर्ने निर्णय सुनाइन् । कञ्चनको शाहसमा कसैले टिप्पणी गरेनन् । अस्पतालदेखि घाटसम्मको व्यवस्थापनमा सक्रिय कञ्चनले आमाको दागबत्ती दिइन् । उनले २८ साउनमा मृत्यु भएकी ७२ वर्षीया हजुरआमा ओमकुमारी रोकामगरको पनि दागबत्ती दिएकी थिइन् ।

‘आफ्नै आमालाई आगो लगाउँदा पनि एक थोपा आँसु झरेन । मैले शोकभन्दा छोरासरहको बाँकी कर्म सम्झेर कठोर थिएँ,’उनले भनिन्,‘हजुरआमाको शव पनि मैलैनै हस्ताक्षर गरेर बुझेकी हुँ ।’ दाहासंस्कार गरेर घर फर्किँदा दिदीहरु पीडाले अचेत थिए । कञ्चनले दिदीहरुको शोकलाई पनि शक्तिमा बदल्ने हिम्मत दिइन् । २० वर्षीया कञ्चन रोका मगरको मनमा आमाका अतीत छन् । तर, अब देख्नको लागि दैलो नजिकको तस्विरबाहेक अरु केही छैन ।