१६ दिने अभियान ‘समानताका लागि सहकार्य’ हुन सक्दैन र ?

मेचीकाली संवाददाता

१० मंसिर २०८०, आईतवार
964 shares

घनश्याम कोइराला

जहाँ विभेद हुन्छ, त्यहाँ अन्याय हुन्छ, उत्पीडन हुन्छ । विभेद, अन्याय, अत्याचार उत्पीडनका विरुद्धमा आन्दोलन अभियानहरू चलाइनुपर्दछ । यही मान्यताअनुसार प्रत्येक वर्ष नोभेम्बर २५ देखि सुरू भई १० डिसेम्बरसम्म चलाइने लैङ्गिक हिंसाका विरुद्धमा अभियान चलिरहेको छ । अभियान अन्तर्राष्ट्रिय अभियान हो । केही अपवादबाहेक संसारका सबै देशमा यो अभियान चलिरहेको छ । नेपालमा पनि यस अभियानमा सरकारी तथा गैरसरकारी क्षेत्रको सङ्लग्नता रहने गरेको छ । सोह्रश्राद्धभन्दा अनौठो मान्ने मानिसहरूले समेत ‘यो सोह्र दिन नै किन ?’ सम्म नभनी यस अभियानका कर्ताहरू अभियानमा सहभागी भइरहेका छन् ।

न्याय–अन्यायको घटना जहाँ भएको होस्, त्यसको विरोध सबैतिर, सबैले गर्नुपर्दछ । विभेद र अन्याय, अत्याचार, उत्पीडन जहाँ होस् त्यसको अन्त्य हुनै पर्दछ । ल्याटिन अमेरिकी देश डोमिनिकन गणराज्यका शासकको अत्याचारका विरुद्धमा मानवअधिकार तथा लोकतान्त्रिक राजनीतिक अधिकारका लागि आन्दोलनरत पेटिया, मिनार्गा र मारियाको त्यहाँको सरकारद्वारा गरिएको हत्या गरिएको थियो । त्यहाँ महिलाहरूलाई कुनै प्रकारको राजनीतिक अधिकारमाथि बन्देज थियो । शासकीय बन्देजविरुद्धको सङ्घर्षका क्रममा मारिएका ती तीनै जना राजनीतिक अधिकारकर्मी महिलाहरू एकै घरका दिदीबहिनी थिए । यो हत्याकाण्ड सन् १९८१ नोभेम्बर २५ मा भएको थियो । पेटिया, मिनार्गा र मारियाको आन्दोलनप्रति ऐक्यबद्धता तथा उनीहरूको हत्याको विरुद्ध सुरु भएको यो आन्दोलनले अन्तर्राष्ट्रिय रूप लियो । नेपालमा पनि यो अभियान सन् १९९७ देखि सरकारी स्तरमा समेत सञ्चालनमा छ ।

यो अभियान सुरू हुँदा नेपालमा पञ्चायत नामको निरङ्कुश निर्दलीय राजनीतिक व्यवस्था थियो र यस्ता क्रियाकलापमा पनि प्रतिबन्ध थियो । राजनीतिककर्मीहरूमाथि चर्को दमन थियो । वि.सं. २०४६ (सन् १९९०) सालको जनआन्दोलनको बलमा प्रजातन्त्र पुनःस्थापनापछि यस्ता अभियानहरू चल्ने चलाउने वातावरण बनेको हो । प्रजातन्त्र पुनःस्थापनाको सातौँ वर्ष सन् १९९७ देखि यो अभियान सरकारी स्तरमा पनि मनाउन थालिएको हो । अभियानका वक्ताहरूका दमदार भाषण सुन्दा हामीलाई लाग्न सक्दछ कि महिला हिंसा नेपालमा मात्र छ, महिला हिंसा हुनुको कारण यहाँ प्रचलनमा रहेका धर्म, संस्कृति, परम्परा र मूल्य–मान्यता हुन् भन्ने जस्तो लाग्दछ ।

नेपालमा ‘लैङ्गिक हिंसा’ भनेर महिला र पुरुषबाहेकका अन्य लैङ्गिक–यौनिक समुदाय विभेदमुक्त छैनन् र यसतर्फ पनि ध्यान दिन आवश्यक छ भन्ने बोध गरिएको देखिन्छ । यस वर्षका लागि नेपालमा तय गरिएको राष्ट्रिय नारा ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता ः बालबालिकामा ऐक्यबद्धता !’ गरिएको रहेछ । तर, निर्धारित नाराले सभ्य समाजको काम र पहिचान सधैँ लैङ्गिक हिंसाविरुद्ध अभियान चलाइरहन पर्ने हो कि जस्तो देखियो, अर्थात् लैङ्गिक हिंसाका विरुद्ध अभियान चलाइरहनुपर्ने, यो समस्या कहिल्यै समाधान नै नहुने श्रेणीमा राखिएको जस्तो बुझिन्छ । कुनै पनि नारा निर्धारण गर्दा प्राप्ति वा गन्तव्यलाई ध्यान दिनुपर्ने हुन्छ, न कि माध्यमको निरन्तरतालाई । निर्धारित नारा हेर्दा यो अभियान रहँदासम्म लैङ्गिक हिंसा रहिरहने जस्तो देखिन्छ । जब कि यसलाई फेरेर लैङ्गिक समानताका लागि भनेर अभियान विकास गर्नुपर्ने हो । यी दुवै नारा हेर्दा यो अभियान फगत औपचारिकता मात्र हो भन्ने देखिन्छ ।

कुनै पनि सभ्य समाजमा हुने भेदहरू कामका आधारमा हुन्छन्, त्यस्ता भेद वा विभेद स्वाभाविक हुन्छन् । तर जाति, लिङ्ग, रङ्ग, धर्म, भाषा, भूगोल, शारीरिक बनोट आदिमा आधारित अन्य विभेदहरू मानवअधिकारका दृष्टिले अनुचित र निन्दनीय हो । अङ्ग्रेजीमा लेखिएको ‘अन्तर्राष्ट्रिय’ नाराले महिला र बालबालिका विरुद्धको हिंसालाई मात्र विषय बनाएको छ, लैङ्गिक–यौनिक समुदायमाथि रहेको विभेदबारे मौन रहेको छ । समग्र लैङ्गिक हिंसाबारे हामीले ध्यान दिनुपर्ने हुन्छ । तर, यस्ता आयातित नारा, अभियान र कार्यक्रमले हाम्रा वास्तविकता वहन गर्न सक्दैनन् ।

जहाँसम्म सङ्गठित हुने विषय छ, हाम्रो भुइँमा, हाम्रो समाजमा उहिल्यैदेखि ठूलो महत्व दिइँदै आएको छ । भनिएको छ–अल्पानामपि वस्तूनां संहतिः कार्यसाधिका । तृणैर्गुणत्वमापन्नैर्बध्यन्ते मत्तदन्तिनः अर्थात् साना वस्तुहरूको एकजुटताले ठूलो काम गर्न सक्दछ । ससाना झारबाट बनाइएको डोरीले शक्तिशाली हात्तीलाई नियन्त्रण गर्न सकिन्छ । शास्त्रमा भनिएको छ–संघे शक्ति कलौ युगे अर्थात् अहिलेको समय सङ्गठित शक्तिमा बल हुने समय हो । यसको अर्थ हो, सबैका लागि सबै सङ्गठित हुने र अवरोध—बाधा व्यवधानका विरुद्ध लड्ने । विभिन्न नामका अभियानहरूका नारा बनाएर पठाउने गरेका पश्चिम जगतका देशहरू नउठ्दै, नजाग्दै यता पूर्वीय जगतमा विभेद थियो र विभेदका विरुद्ध कसरी अघि बढ्ने भन्ने विचार पनि जागृत भइसकेको थियो । उनीहरू ईसापछिका कुरा गर्छन्, तर हाम्रा वेद, पुराण, उपनिषद् त छँदैछ, सबैभन्दा पछिल्लो कुरा मात्र गर्ने हो भने पनि इसापूर्व ५६३ वर्षअघि नेपालमै जन्मनु भएका, विश्वशान्तिका अग्रदूत भगवान बुद्धले भन्नुभयो–सङ्घं शरणं गच्छामि अर्थात् सङ्घको शरणमा जान्छु, सङ्घलाई उच्च महत्व दिन्छु । यो मानवजातिका लागि ठूलो प्रेरणा हो ।

उताका महिला, बालिका तथा लैङ्गिक समुदायलाई समस्या परेछ, उनीहरूमाथि विभेद भएछ, उनीहरूले यस्ता विभेद, अन्याय, अत्याचारका विरुद्ध सङ्गठित हुनुपर्छ भन्ने आवश्यकता बोध गरेछन्, हामीकहाँ पनि यस्ता समस्या नभएका होइनन्, हामी र उनीहरूबिच ऐक्यबद्धता गलत होइन । त्यसैले अन्तर्राष्ट्रिय स्तरमा यस्ता अभियान चलाउनु राम्रै हुन्छ, तर हामी उनीहरू जागेपछि मात्र जागेका होइनौँ भन्ने जानकारी त उनीहरूलाई पनि दिनु राम्रै होला नि !

युरोपलगायत पश्चिमी जगतका लैङ्गिक–यौनिक समस्या उस्तै नहुन पनि सक्दछ । भनिन्छ–समस्या जहाँ छ, समाधान त्यहीँ खोज्नु पर्दछ । हाम्रो समाजमा महिलाहरू अपहेलित छन्, विभेदग्रस्त छन् । हामी सबै मिलेर समाजमा रहेको यस्तो विभेद अन्त्य गर्नु पर्दछ । हामी सबैलाई थाहा छ–अहिलेको नेपाली समाजलाई महिला अधिकारको आँखाले हेर्दा सन्तोषजनक रूपमा महिलामैत्री छैन । नियम, कानुन, सभ्यहरूको सहभागिताका सभा–सम्मेलनका भाषणहरूमा बाहेक महिलाहरूप्रतिको बोली, व्यवहार समतामूलक छैनन् । नियम–कानुन पनि पूर्ण रूपमा महिलामैत्री त छैन, तर यो सुधारको तीव्र प्रक्रियामा भने रहेको देखिन्छ ।

अहिलेको समाज, अहिलेका नियम, अहिलेका व्यवहार, अहिलेका वचन आदि फेर्नै पर्दछ । यो परिवर्तनको प्रक्रियामा महिला मात्र होइन, समतामूलक समाजको पक्षमा रहेका पुरुषहरू पनि सहभागी हुनैपर्दछ । विभेदरहित समाज सुन्दर र सभ्य समाज हुन्छ । यस्तो समाज निर्माणमा नारी मात्र किन र ? पुरुष पनि उत्तिकै तत्परतासाथ लाग्नुपर्दछ । नत्र पुरुष अधिकार खोस्ने वर्गमा परिन्छ र नारी मुक्ति आन्दोलनको निशाना बनिन्छ । घरघरमा थप अशान्ति हुन्छ । यो अशान्तिबाट समाजलाई जोगाउन र समतामूलक, सभ्य समाज निर्माण गर्न पुरुषहरूको सोच, विचार र भूमिका महिला अधिकारमैत्री हुनु आवश्यक छ । कतिपय मानिसहरू महिला उत्पीडनको कारण धर्मशास्त्रहरू भएको बताउँछन् । हिन्दू धर्मका आधार ग्रन्थहरु–वेददेखि पुराणहरूसम्म हेर्नुभयो भने त्यस्ता कुराको केही पुष्ट्याइँ पाइँदैन । धर्म र धर्मशास्त्रलाई देखाएर महिला हिंसाको औचित्य साबित गर्न त्यसो गरेका हुन् भने ती बिचराहरूलाई के भन्नू र ?

महिला हुन् वा पुरुष अहिलेको समाज धर्मशास्त्रबाट शासित वा निर्देशित छैनन् र हुन बाध्य पनि छैनन् । यदि कुनै वर्ग, क्षेत्र, समुदायविशेष शोषित, उत्पीडित, अपहेलित छन् भने ती कुराको जिम्मेवारी धर्म, धर्मशास्त्र, संस्कृतिलाई दिनु भनेको आपूm दायित्वबाट उम्कनु र पीडितहरूलाई मूर्ख बनाउनुबाहेक अरू केही होइन । संस्कृति कुनै पुस्तक या मानवनिर्देशित हुँदैन । पुस्तकहरू त ती विषयका पुराना लिखत हुन सक्दछन्, निर्देशन होइन । आजको समाज शास्त्रनिर्देशित, धर्मनिर्देशित होइन, कानुननिर्देशित, विधिद्वारा शासित छ र उत्पीडन, अपहेलना, विभेद आदि पनि राजकीय नीतिको माध्यमबाट उच्छेद गरिनु पर्दछ । नीतिको लागि नेतृत्व छ, प्रक्रियाका लागि प्रशासनयन्त्र छ र अभ्यासका लागि तपाइँ हामी स्वयं छौँ ।
पूर्वीय सभ्यता र संंस्कृतिमा महिलाहरूको स्थान उच्च रहेको पाइन्छ । भूमि, धर्ती वा पृथ्वीलाई माता भनिएको छ । ‘माता भूमि तव पुत्रोद्र हं पृथिव्या ! अर्थात् हे भूमि माता म तपाइँको छोरो हुँ र तपाइँ आमा हुनुहुन्छ ।’ यो विषय मातृशक्तिलाई स्वीकार गरिएको उद्घोष हो ।

सनातन वैदिक परम्पराका प्रायः सबै पूजा विधानमा मातृकाहरूको पूजा गरिन्छ । ब्राह्मी, माहेश्वरी, कौमारी, वैष्णवी, बाराही, इन्द्राणी, चामुण्डा नाम गरेका सप्तमातृकाको पूजा गरिन्छ । नवदुर्गाको पूजा गरिन्छ । शक्तिशाली भनिने देवताहरूले पनि नसकेका युद्ध यिनीहरूले जितेको भनिएको छ । नारीलाई देवी मानिएको छ ।
नारी शक्तिलाई मातृशक्ति मानिएको छ । समृद्धिकी देवी लक्ष्मी, ज्ञानकी देवी सरस्वती, शक्तिकी देवी दुर्गा आदि मानेर सम्मान गर्ने संस्कृति छ । अझ थप सबै प्राणीहरूमा व्याप्त चेतना, बुद्धि, निद्रा, क्षुधा, छाया, शक्ति, तृष्णा, क्षान्ति, जाति, लज्जा, शान्ति, श्रद्धा, कान्ति, लक्ष्मी, वृत्ति, स्मृति, दया, तुष्टि, मातृ आदि तथा सबै इन्द्रियहरूकी अधिष्ठात्री भनिएको छ । कुमारी–कन्याका रूपमा नारीलाई पूजिन्छ । व्रह्मवैवर्तपुराणमा ‘स्तनदात्री गर्भधातृ भक्ष्यदातृ गुरूप्रिया । अभीष्टदेवपत्नी च पितुःपत्नी च कन्यका ।। सगर्भजा च भगिनी पुत्रपत्नी प्रियाप्रसूः । मातुर्माता पितुर्माता सोदरस्य प्रिया तथा ।। मातुःपितुश्च भगिनी मातुलानी तथैव च । जनानां वेदविहिता मातरः षोडशः स्मृताः ।

अर्थात्, स्तनपान गराउने, गर्भमा राख्ने, खाना खुवाउने, गुरूकी पत्नी, इष्टदेउताकी पत्नी, सौतेनी आमा, सौतेनी दिदीबहिनी, सहोदर दिदीबहिनी, छोराकी पत्नी, पत्नीकी आमा, आमाकी आमा, बाबुकी आमा, भाउजु÷भाइ बुहारी, सानिमा, फुपू र माइजू यी सोह्र वेदविहित आमाहरू हुन् भनिएको छ र यिनीहरूलाई बोलाउँदा सम्मानजनक सम्बोधन गरेर बोलाउनू भनिएको छ । प्रायः सबै शुभकार्यमा षोडश मातृकाको पूजा हुन्छ । हामीले महिला हिंसा वा लैङ्गिक हिंसाका विषयमा अन्तर्राष्ट्रिय दिवसहरू मनाइरहँदा उतैका मात्र उदाहरण र तथ्यहरू भट्याउने कि हाम्रा यी विषय पनि उता लैजाने ? अब नेपाली महिलाहरूले लिङ्गमा आधारित नकारात्मक विषय उठाइरहँदा यी गौरवशाली तथ्य, कथ्य र परम्परामाथि दाबी गर्ने कि अर्कैका विषय मात्र बोकेर, आफ्ना वैभव र विरासतलाई कुल्चेर हिँड्ने ? अब सबैले सोच्ने बेला आइसकेको छ ।

जसरी लैङ्गिक हिंसाको समर्थन गर्न कदापि सकिँदैन, त्यसरी नै हामीले हाम्रो समाजलाई मार्गदर्शन गरिरहेका संस्कार संस्कृतिको अपमान पनि सहनुहुँदैन । लैङ्गिक हिंसाविरुद्धको आन्दोलन यतिबेला अमूर्त छ । यो अभियान कसका विरुद्ध हो ? ठम्याउन सकिएको देखिँदैन । राजनीतिक दलहरू, पेसागत तथा सामाजिक सङ्घ–संस्थाहरू, समाचार माध्यमहरू यहाँसम्म कि सरकारहरू र राज्य नै यस अभियानका कर्ता, अभियन्ता, प्रायोजक, सहयोगी र अभियन्ताको भूमिकामा छन् । यदि यो अभियान जागरण, ध्यानाकर्षणका लागि हो भनेविरुद्ध भनेर किन भन्नुप¥यो ?

राजनीतिक अधिकार प्राप्तिको आन्दोलनमा जस्तो सामाजिक अभियानलाई ‘विरुद्ध’ भन्नु उपयुक्त नहोला, यसलाई त लैङ्गिक समानताका लागि सहकार्य जस्तो नारा र अभियान चलाउनु सान्दर्भिक हुने देखिन्छ । यस्तो अभियान त नेपालमा योगमाया न्यौपानेको अगुवाइमा वर्षौँ पहिले सुरू गरिएको इतिहास विरासतका रूपमा हामीबिच छ, त्यसलाई बिर्सनु हुँदैन ।

अभियान नै चलाउँदा पनि जुन संस्कृतिले नारीहरूलाई गौरवशाली सम्मान दिएको थियो, ‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः अर्थात् जहाँ नारीहरूको सम्मान हुन्छ, त्यहीँ देवताहरू खुसी हुन्छन् भनिएको छ, इतिहासका कुनै कालखण्डमा नारीहरू सर्वपूजिता हुनुहुन्थ्यो, सर्वशक्तिस्वरूपा हुनुहुन्थ्यो, अन्य लिङ्गी समुदायलाई किन्नर आदिका नाममा सम्बोधन गरेर देव सूचीमा राखिएको छ, त्यस संस्कृतिलाई अन्तःकरणमा पुनर्जागृत गर्न आवश्यक छ । (लेखकः संस्कृति अध्येता तथा अभियन्ता हुनुहुन्छ ।)