संकल्प यात्राको सन्देश र अबको यात्रा

मेचीकाली संवाददाता

१ पुष २०८०, आईतवार
378 shares

युवराज बास्कोटा

यतिबेला नेकपा (एमाले) अध्यक्ष कमरेड केपी शर्मा ओलीको अत्यन्तै सफल र रणकौशल नेतृत्वमा झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्राको अन्तिम चरणमा छ । १९ दिने लामो यो यात्राको विषयलाई लिएर विभिन्न कोण र जोडबाट चर्चा हुने गरेको पाइन्छ । एमालेविरुद्ध खनिएको कम्फरटेबल गठबन्धन सरकार र सरकार संरक्षित सञ्चारमाध्यमका कतिपय चर्चा परिचर्चा प्रायोजित त हुन्छन् नै, त कतिपय चर्चा परिचर्चा परिसंवादजस्तै मात्र पनि । कसैले यसलाई व्यङ्गको अर्थमा लिएका छन् त, कसैले खिसिट्युरीमा पनि ।

नेपाली समाजमा बढ्दो निराशाको खेती, आशाभन्दा पनि उदासिनताको बढ्दो अभ्यास र बढ्ता जाग्दो नकारात्मक प्रभावसामु बजारमा उठ्ने र हुने गरेका चर्चा परिचर्चालाई व्यक्तिको बुझाइ र विषयगत योग्यताका साथ बुझ्न वाञ्छनीय होला !

यात्रा आरम्भको सैद्धान्तिक जग
पार्टीको सम्पन्न पाँचौँ केन्द्रीय कमिटीको बैठकले पार्टी निर्माणको ७५ औँ वर्षको अवसरमा निर्माणकालका महासचिव कमरेड पुष्पलाल श्रेष्ठको चीरस्थायी सम्मानमा अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनुभएको बेला निर्माण आरम्भ गरिएको पुष्पलाल मध्यपहाडी लोकमार्गमा पदयात्रा गर्ने, पुष्पलालमा उभिएको पार्टीको अग्रसरता विकास–निर्माणमा केन्द्रीत गर्ने र समृद्ध राष्ट्रनिर्माणको अभिभारा पूरा गर्न नेकपा एमाले यो देशको अजेय शक्ति हो भनेर सन्देश प्रवाह गर्ने निर्णय गरेसँगै आवश्यक कार्यारम्भ भयो ।

विगतमा सम्पन्न ऐतिहासिक मेची–महाकाली यात्राबाट प्राप्त सग्ला अनुभव र अग्लो शिक्षा लिँदै यो यात्रा तय गर्नु र तय गरिएको यात्रा पूर्ण गर्नु निकै कठिन थियो । कम्युनिष्टविरोधी देशी–विदेशी शक्तिको सक्रियतामा उब्जेको चौतर्फी घेराबन्दीको शिकार भएको एमालेका लागि व्यापक जनसमर्थनबाहेक केही पनि अनुकूल अवस्था छैन । कतिपय व्यापारिक व्यवसायिक मति र गति भएका व्यक्तिदेखि लिएर समाजमा साम्प्रादायिक अन्तरविरोधहरू सिर्जना गर्न उद्दत शक्तिहरू पनि एमालेको संगठनात्मक पहुँच र पकडविरुद्ध धावाका साथ सडकमा उत्रिएका बेला सम्पन्न यो यात्राले दिने सन्देशलाई सञ्चय गर्नु निकै कठिन कार्य थियो, नेतृत्वको बुद्धिमतापूर्ण कदमबाट यो सहजै सम्भव भएको छ ।

नेपालको राजनीतिक मानचित्रमा दक्षिणस्थित मित्रशक्तिको यदाकदा च्वास्स घोच्ने छुचो र ननिको प्रभावका हिसाबले रणनीतिक महत्त्व रहेको यो पुष्पलाल मध्यपहाडी सडकखण्ड अद्यापि पूर्णतः सुविधासम्पन्न छैन । अधिकांश खण्डमा पिच भएको, कहीं ग्राभेल भएको र कहीँ ट्रयाक मात्रै खोलिएको मात्र छ । सडक निर्माणकार्यको आरम्भ गर्ने पार्टीले यसका अधुरा अपुरा कार्यभारहरू पूरा गर्ने संकल्प गर्नु पनि अनिवार्य थियो । समावादउन्मुख समाजको आधारशीला निर्माण गर्न र समग्रमा यसको मुहार फेर्न स्थानीय सम्पदा र विशेषताहरू सम्हालेर बसेको ग्रामीण जनमतसँग एमालेले अघि सारेका काममध्ये अधुरा र अपुरा रहेका कार्यभारहरू पूरा गरिछाड्ने संकल्प गर्दै यात्रा अघि बढ्यो ।

पहाडी क्षेत्रमा उपलब्ध मानवमैत्री स्रोतसाधन र पूर्वाधार विकासको स्थलगत अवलोकन र पहाडबाट हुने बसाइसराइको प्रवाहलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने अध्ययन गर्नु र कार्यान्वयनको लागि यसको दस्तावेजीकरण गर्नु यात्राको मुख्य उद्देश्य थियो । पूरा हुन लागेको यो समृद्धिका लागि संकल्प यात्राले मध्यपहाडी क्षेत्र प्रकृतिप्रेमी मानव जीवन र बस्ती विकासका लागि भविष्यको समृद्धिको आधार सूचक भन्ने यथार्थलाई उजागार गर्न सकेको छ ।

नेतृत्व क्षमताको अभूतपूर्व पक्ष
उमेर समुहका हिसावले औसत अग्रणी उमेर ७०/७२ वर्षको व्यक्तिले २०/२२ वर्षको भरिलो लक्काजवान, तरुणतन्नेरीजस्तो भएर १९ दिने यो अभियानको नेतृत्व गर्नुभएको छ । राजनीतिक रणकौशल योग्यता र सक्रियताका साथ हामी छोरानाती उमेर समुहकालाई चुनौती दिँदै उम्दागतिका साथ अध्यक्षले यसको सफल नेतृत्व गर्नुभएको छ ।

साधारण अवस्था मात्र होइन, असाधारण स्वास्थ्यउपचारको अवस्थाको यो सक्रियता जीर्ण भएर बाँच्नुहुने उहाँ श्रद्धेय अध्यक्ष कमरेडका लागि कति हितकर छ तर हाम्रालागि भने गौरव गर्न लायक अर्को एउटा प्रेरणाको स्रोत बनेको छ । दुई–दुईपटक मिर्गौला फेरेको यथार्थ उहाँको सक्रियतामा गुमनामझैँ छ यतिबेला । ठिहीले कटकटी खाने मध्यजाडोको समय सार्वजनिक भेटघाट र जनसंवादमाथिको सम्बोधनक्रममा कुनै प्रवाहबिना व्यतीत भएको छ । साँझ, बिहान अनि राति नभनी दैनिक सयौं किलोमिटर यात्रा उत्तिकै सक्रियताका साथ गरिरहनुभएको छ ।

यात्राको अर्थराजनीतिक पक्ष
राजनीतिक आदर्श, क्रान्तिकारी गफ, राजनीतिक दाउपेच, सरकार गठन–विघठन, फगत चुनावी मुद्दा, जनतालाई आश्वस्त पार्ने गुलिया र मिठा प्रतिवद्धताबाहेक कार्यक्रमिक र कार्यनीतिक रूपमा अघि सारिएका विषयवस्तुलाई वस्तुपरक कार्यान्वयनको तहमा दलहरू अहिलेसम्म नओर्लिएको स्थितिमा एमालेले सत्तामा रहँदा होस् वा प्रतिपक्षमा ! आफ्ना घोषित प्रतिबद्धताहरू पूरा गर्न तयार छ भन्ने विषयोपर गम्भीरतापूर्वक छलफल चलाएको छ ।

झुलाघाट–चिवाभञ्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प यात्रामार्फत नागरिकमा छाएको निराशालाई आशामा परिणत गर्न र सुतेका शक्तिलाई जनापेक्षित गतिमा विकास–निर्माणतर्फ जगाउन सफल भएको छ । राष्ट्रिय राजनीतिमा नयाँ र फरक ढंगले छलफल र बहस चलाएको छ । पछिल्लो समय जन्मेका नयाँ जोगीले पुरानालाई बिस्थापन गर्न अलिक बढी खरानी घस्ने गरेको यथार्थसामु एमालेले आफूलाई निर्विघ्न, निर्भीक र निर्विकल्प शक्तिको रूपमा उभ्याएको छ । नेपाली समाजमा आशाको दीप जलाएको छ, पृथक मूल्यका साथ रक्तसञ्चार प्रवाह गराएको छ । अब समाजमा उल्झिएका सस्याना मुद्दाबाहिर जिम्मेवार जो कोही पनि जान सक्दैन, समाज रुपान्तरणको मुद्दासँग स्थानीय पार्टी कमिटी र निर्वाचित जनप्रतिनिधिलाई उभ्याएको छ, यसलाई सजह सुल्झाउन सम्बन्धित सबैलाई थप जिम्मेवारीबोध गराएको छ । जनप्रतिनिधि, पार्टी कमिटी र कार्यकर्ता पंक्तिलाई जनसरोकारका मुद्दामा नजिकैबाट जोडेको छ ।

सम्भाव्यताका दृष्टिकोणले यात्राको क्रममा स्थानीय उत्पादन, उत्पादनको आधार, नागरिकको बसोबासको प्रकृति, विविधतामा खँदिलो एकतापूर्ण जनजीवन, यसनिमित्त हुर्र्किएका ऐतिहासिक विशेषताहरू, सामाजिक–सांस्कृतिक पक्षहरूको सुक्ष्म अध्ययनले एमालेलाई बलियो बनाएको छ । अर्थराजनीतिक महत्त्वका दृष्टिकोणले पार्टीको सैद्धान्तिक आलोक, राजनीतिक र संगठनात्मक कार्यारम्भ, आन्तरिक व्यवस्थापन र गति निर्माणका लागि पनि प्रशस्तै ऊर्जा प्राप्त भएको छ । काठमाण्डौँ बसेर ग्रामीण जनजीवनले झेलेका समस्या चिन्न र चिर्न सकिन्न, समाजलाई यहाँको वस्तुगत आधारमा वैज्ञानिक व्यवस्थापन गर्नुपर्छ र समुदायलाई समेत तिनले झेलेका मुद्दामामिलामा आधारित रहँदै तदानुकूल गतिका साथ अघि बढ्नुपर्छ भनेर स्वयंमा सक्रियता बढाउँदै आशावादी बनाउने काम गरेको छ ।

नेपाली विशेषताका आधारमा निर्धक्क उभिन नसकेको नेपालको राजनीतिप्रति चासो राख्ने हरेक नागरिकले यो यात्रालाई बाटबाटै स्वागत र सम्मान मात्र गरेका छैनन्, बरु एकदमै सफल र सार्थक यात्राका रूपमा चित्रण समेत गरेका छन् । यात्राका क्रममा सर्वदलीय र सर्वपक्षीय जनसहभागिता जुटाएका छन्, सर्वदलीय र सर्वपक्षीय महत्त्वका साथ स्थानीय नागरिकले एमाले नेतृत्वसमक्ष ज्ञापनपत्र बुझाएका छन् । एमालेविरुद्धको विषबमन र जनमतमा फैलाइएको निराशालाई उत्साहमा परिणत गर्न यो यात्रा कोशेढुंगा सावित भएको छ ।

यात्राको सामाजिक–सांस्कृतिक सद्भावको पक्ष
यत्रतत्रको भीड हेर्दा लाग्दथ्यो–यो यात्रा एउटा सामाजिक–सांस्कृतिक सम्मिलन हो, एउटा बृहत् महोत्सव हो । लोपोन्मुख भाखा, भाका, लयमा नागरिकको प्रस्तुति र गर्विलो उपस्थितिले नेपाल समाज सामाजिक–सांस्कृतिक महत्त्वका हिसावले संसारको धनी सम्पदा हो भन्न अन्कनाउनु पर्दैन । सस्याना बालबालिकादेखि लठ्ठी टेकेर कार्यक्रमस्थलमा पुग्नुहुने ज्येष्ठ नागरिकसम्मको पंक्ति एमालेको भनाइ सुन्न आतुर भएको अनुभूति हुन्थ्यो ।

यात्राले स्थानीय मौलिक संस्कृतिलाई राष्ट्रियकरण गर्ने काम पनि अदम्य योगदान गरेको छ । लोपोन्मुख र गुमना मध्यपहाड क्षेत्र आधारित मौलिक संस्कृति यहाँको पृथक परिचयको मानक रहेछ भन्ने कुरा विभिन्न खालका झाँकीबद्ध उपस्थिति र प्रस्तुतिबाट प्रकट भएको छ । महेन्द्र राष्ट्रिय राजमार्ग दक्षिण आधारित हाम्रो संस्कृतिक विविधितमा मध्यपहाडी विविधताको समिश्रण जरुरी छ भन्ने बोध गराएको छ यो यात्राले । समिश्रित सम्पदा साँचो अर्थमा नेपालको विकसित परिचयका रूपमा बहुजातिय, बहुभाषिक, बहुसांस्कृतिक छ भन्ने तथ्य जगजाहेर भएको छ । यसले नेपाली नेपालीमाझ खँदिलो एकताको आधार तयार गर्न थप मलजल गरेको छ, उर्वर उर्जा भरेको छ ।

मूलतः यात्राका क्रममा एमाले अध्यक्ष केपी आलीप्रतिको रुझान, आकर्षणता अभूतपूर्व सांस्कृतिक महत्त्वका हिसावले प्रकट भएको छ । हिजो चुनावताका अरुलाई समर्थन जनाइयो, भोट अरुलाई हालियो, अब त यो गल्ती किन पो गरिन्छ र भनेर थकथक मान्ने मानिसको भीडमा छाएको उत्साहको सञ्चारले एमालेलाई निर्विकल्प शक्ति सावित गरेको छ । च्वास्स चुस्कीमा फुर्ति लगाउने, क्षणिक सनकमा रमाउने र फूर्तिलाई बजारमा साट्न हतारिने एउटा कथित बौद्धिक जमात, कलमबाज र लेखनशिल्पकारीले एमाले र एमाले नेतृत्वको जुनसुकै अक्षरमा आलोचना गर्ने गरेको भए पनि ग्रामीण परिवेशमै रैथाने दिनचर्याका साथ रमाउन चाहने जनताको एमालेलाई हेर्ने, बुझ्ने र ग्रहण गर्ने दृष्टिकोण फरक भएको पक्ष यसपटक सचित्र देख्न र भेट्न पाइयो ।

अतिवादी भड्कावविरुद्ध यात्रा
इतिहासमा प्रायशः व्यवस्था परिवर्तनका लागि संगीन लडाइँ लड्दै आएका नेपाली नागरिकले आफ्नो बलिदानीपूर्ण संघर्षको प्रतिफलस्वरुप प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई मासेर फेरी राजतन्त्र ब्युँझाउन चाहने उद्देश्यनिर्देशित र स्वार्थअन्तरनिहीत गतिविधिलाई यात्राले एक हदसम्म खारेज गरेको छ, निस्तेज गरेको छ । यसनिमित अपनाइएका अस्त्रस्वरुप समाजमा अस्थिरता ल्याउने, अराजकता मच्चाउने, सामाजिक सद्भाव भड्काउने खालका गतिविधिलाई गतिलो झापड दिएको छ । अर्थात् यात्रामा केही शक्ति प्रेरित व्यक्तिको उक्साहटमा पहिचानका नाममा वर्षौंदेखि प्रगाढताका साथ मिलेर बसेको समाजमा तिक्तता फैलाउन खोजेको, यसनिमित धर्म, सँस्कृति, भाषा, भूगोल तोडने चाहनेका विरुद्ध यसलाई जोड्ने मनहरू एक ठाउँमा उभिएको देखियो ।

बाटबाटै अवरोध सिर्जना गर्ने, बाटामा ढुंगामुडा पल्टाउने, बाटो उधिन्ने र भत्काउने, रुखबुटा काटेर बाटामा लम्पसार पार्ने, ठाउँठाउँमा काला टाला देखाउने आदि गरे पनि एमाले बनाउने कुरा गर्छ, यिनीहरू भत्काउने औजार बन्छन् भन्दै यस्ता शक्तिलाई बेवास्ता गर्दै मानवसागर बनेर नागरिकको उर्लंदो उपस्थिति हुनुले पनि अतिवादी भड्कावलाई गत्तिलो झापड दिन यात्रा सफल भएको मान्न सकिन्छ । अर्थात् तिनका बारबन्देजलाई उछिन्दै एमालेको जनसंवादमा जुट्नुले पनि नागरिक अभिमत तिनको पक्षमा नरहेको प्रष्टसँग देख्न, भेट्न र अध्ययन अनुसन्धान गर्न सकिन्छ ।

एमालेको पक्षमा दृढ रहेको जनताको अजेय शक्तिलाई एमालेले यसपटक घरघरै पुगेर आफ्नो अभियानप्रति जोडेको मात्र छैन, सम्भावित खतराबारे सचेत गराएको छ । लुटाहाविरुद्ध राष्ट्रशक्ति निर्माणमा एमालेको पछिल्लो भूमिकाबारे प्रशिक्षित गर्नुले नेपाली राजनीतिमा पुलपुलिएको बाह्यप्रभाव छर्लंङ भएको छ । लोकतन्त्र कसैको कम्फरटेबल संरचना निर्माणका लागि मात्र होइन, बरु लोकतन्त्रप्रति बलिबेदीमा चढ्न तयार जनतालाई सर्वशक्तिमान्य बनाउने माध्यम हो भन्ने कुरालाई समेत एमालेको यात्राले जबरजस्त पुष्टि गरेको छ ।

उपसंहारमा यो यात्रा
औषधीय गुण भएको जल, जमिन, जडिबुटी, जीवजन्तु, जलाधार, जलवायू आदिले भरिपूर्ण पहाडी क्षेत्रलगायत सुगम मानिएको नेपाली भूभागमा पनि केही छैन, जीवनमा कुनै परिवर्तन सम्भव छैन, गरिखान कुनै सम्भावना नै छैन, पुराना दलको अकर्मण्यताले सबै नास, विनास र सर्वनास छ भनेर राष्ट्रिय राजनीतिलाई कमजोर पार्न भ्रमको खेती गर्ने, दिग्भ्रमित तुल्याउने, नेपाल र नेपालीप्रति अफवाह सिर्जना गर्ने स्वरविरुद्ध सकारात्मक तरंग सिर्जना भएको छ । स्थानीय व्यावसायिक उत्पादन आरम्भ गर्न सके समृद्धिको आरम्भ बिन्दु पहाडी भूभाग हुने सुनिश्चिय गरेसँगै मानिसमा परम्परागत उत्पादन र बजार प्रणालीलाई व्यावसायिकीकरण गर्नतर्फ आकर्षित गरेको छ ।

चुनावताका मात्र होइन, अरु बेला पनि एमाले नेतृत्व घरघर आउने कुराले जनमत जागृत भएको छ । मध्यपहाडी संकल्प यात्राले ग्रामीण जनजीवन सहित रैथाने परिवेशमा बाँचेको जनतासँग एमालेको सम्बन्धलाई नङ र मासुको सम्बन्धको रूपमा असाध्यै निकट बनाएको छ । एमाले कमजोर बन्दै गएको छ भन्ने स्यालहुँइयाँलाई नजिकैबाट चिरेको छ, प्रायोजित भ्रमको तुँवालो फटाउने काम गरेको छ । देश विकास र सम्मृद्धिका लागि एमालेबाहेक अर्को कुनै शक्ति छैन मानक पाएको छ र जनताबाट दर्विलो विश्वास कमाएको छ ।

एमालेमा यतिबेला सिद्धान्ततः राजनीतिक–वैचारिक मुद्दाको निक्र्यौल, यसलाई बोक्ने नीति, परिचालनको लागि स्थापित नेतृत्व, निर्दिष्ट संगठन, संगठनात्मक गन्तव्य आदिका हिसावले परस्पर वैरभाव छैन, फरक मत छैन र कसैको कसैसँग तिक्तता छैन । परस्पर खँदिलो मेलको आवश्यता खड्किएको छ । यो अभियानले जनस्तरबाट पाएको नयाँ उर्वर ऊर्जा, प्राप्त मनोबल र आत्मविश्वासका साथ आन्तरिक एकता र सुदृढ एकताका साथ माथि उठाउन सक्दा मिसन ८४ एमालेको एकल बहुमत प्राप्तिको मिसन हुने निश्चित छ ।

अबको चुनावी प्रतिबद्धतापत्र लेखनमा मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटनलगायत पक्षको अध्ययन र व्यवस्थित कार्यान्वयनको तहमा जान यात्राले एउटा मानक स्थापित गरेको छ, गोरेटो तय गरेको र राजनीतिक महत्त्वका साथ दिशानिर्देश समेत गरेको छ । यात्राले मध्यपहाडको मौलिक पहिचानलाई जुरुक्क उठाएसँगै यहाँको मौलिक पहिचानलाई राष्ट्रियस्तरमा संगठित ढंगले चिनाउने काममा फड्को मारेको छ ।