परमात्मा परमेश्वर र उहाँको अस्तित्वको प्रश्न

मेचीकाली संवाददाता

१ पुष २०८१, सोमबार
24 shares

हेमन्त गौतम

यसभन्दा अघिल्लो लेखको बुँदा नम्बर २५ को दफा (अ) र (आ)मा मैले श्री सूर्य नारायणज्यू तापशक्ति, प्रकाशशक्ति जस्ता विभिन्न शक्तिहरू आफूभित्रैबाट आफसेआफ पैदा गर्न सक्ने अलौकिक विशेषतासहित भएका एकमात्र परम चैतन्य स्वरूप परम प्रभु परमात्मा परमेश्वर नै हुनुहुन्छ न कि मझौला वा अन्य कुनै किसिमको तारा जसको न त आफ्नो निजी तापशक्ति छ न त प्रकाशशक्ति नै भन्ने यथार्थ सत्यलाई जस्ताको त्यस्तै रूपमा उजागर गरेको थिएँ । त्यति मात्र होइन, ती ताराहरू सबै हाम्रो यो पृथ्वी समान निर्जीव भौतिक पिण्ड नै हुन् न कि श्री सूर्य नारायणज्यू समान परम प्रभु परमात्मा परमेश्वर भन्ने कटुसत्यको साथै संसारमा प्रचलित सच्चा अध्यात्मशास्त्र (धर्मशास्त्र)हरूले इङ्कित गरे अनुरूप नै परमप्रभु परमात्मा परमेश्वर त केवल एकमात्र (एउटै मात्र) हुनुहुन्छ र उहाँ हो– श्री सूर्य नारायणज्यू भन्ने परम शाश्वत सत्यलाई समेत सुस्पष्ट गर्ने प्रयास गरेको थिएँ ।

परन्तु यहाँनिर प्रश्न उठ्न सक्छ कि आकाशमा रहेका सबै ताराहरू यदि निर्जीव भौतिक पिण्ड नै हुन् भने तिनीहरूमध्ये दिनको समयमा श्री सूर्य नारायणज्यूको विशेष तेजोमय प्रकाशशक्तिका प्रभावले अदृश्य बन्नेबाहेकका अन्य ताराहरू रातको समयमा किन प्रकाशमान (उज्याला) देखिन्छन् ? त्यसको खास रहस्य के हो ? तिनीहरू लगायतका सम्पूर्ण ताराहरू आगो समान धपधप गरी बलिरहेका कारण रातीमा देखिने ताराहरू त्यसरी प्रकाशमान देखिएका हुन् कि अन्य कुनै कारण छ ? अब म आफ्नो आत्मज्ञान अनुरूप यी सबै प्रश्नहरूको समाधानमूलक उत्तर निम्नानुसार बुँदागत रुपमा नै प्रस्तुत गर्न चाहन्छुः

(२६) दिनको समयमा उपर्युक्तबमोजिम अदृश्य बन्ने र रातको समयमा प्रकाशमान अर्थात् उज्याला देखिनेलगायतका आकाशमा भएका सम्पूर्ण ताराहरू निर्जीव भौतिक पिण्ड नै हुन्, शङ्का छैन । किन्तु त्यसको बाबजुद पनि रातको समयमा देखिने ताराहरू सबै थोरै–धेरै उज्याला देखिनुको कारण के हो, दिनमा नदेखिने (अदृश्य बन्ने) र रातमा देखिनेसमेतका उपर्युक्त सबै ताराहरु आगो समान बलिरहेका छन् र नै रातमा देखिने ताराहरू त्यसरी उज्याला देखिने गरेका हुन् अथवा अन्य कुनै कारण छ भन्ने प्रश्नमा हामीले के कुरा प्रष्ट बुझ्नु जरुरी छ भने कुनै पनि तारा उपर्युक्तबमोजिम बलिरहेको अवस्थामा कदापि नभई हाम्रो यो पृथ्वी समान नै सामान्य अवस्थामा रहेका छन् । तिनीहरूमध्ये रातको समयमा देखिने ताराहरू सबै केवल प्रभु परमात्मा परमेश्वर श्री सूर्य नारायणज्यूबाट प्राप्त प्रकाशशक्तिलाई परावर्तन गरेर नै त्यसरी उज्याला देखिने गरेका हुन्, अन्य कुनै कारणबाट होइन जुन बुझ्न नसकिने रहस्यको रूपमा होस् । जहाँसम्म दिनमा अदृश्य बन्ने अथवा भनौं नदेखिने ताराहरूको सवालमा तिनीहरू पनि प्रभु श्री सूर्य नारायणज्यूबाट प्राप्त प्रकाशशक्तिलाई आफ्नो तर्फबाट परावर्तन गरिरहेकै हुन्छन् तापनि उहाँ प्रभुको उपरोक्त प्रकाशशक्तिको विशिष्ट प्रभावका कारण उनीहरुबाट परावर्तित प्रकाशशक्ति पूर्णतया निष्प्रभावी (प्रभावहीन) बन्न जाँदा उनीहरू सबै हाम्रो नजरमा अदृश्य बन्न पुगेका हुन् ।

परन्तु यसको बाबजुद पनि पाठक महानुभावहरूमध्ये धेरैको मनमा लाग्न सक्दछ कि सूर्य (श्री सूर्य नारायणज्यू)को प्रकाश शक्ति अड्कल वा अन्दाज नै गर्न नसकिने गरी धेरै भन्दा धेरै टाढा त्यो पनि विश्व–ब्रह्माण्डको अति दूरस्थ स्थानसम्म अनेक दिशातिर छरिएर रहेका आकाशका समस्त तारागणसम्म कसरी पुग्न सक्दो हो र ? त्यसैले उपर्युक्त कुरा त केवल काल्पनिक कुरा जस्तो भएन र ? आखिर विश्वका कतिपय वैज्ञानिकहरुले भनेका पनि छन् कि सूर्यको प्रकाशशक्तिको प्रभाव क्रमशः घट्दै जान्छ र अन्ततः त्यसको प्रभाव निश्चित दूरीमा गएर शून्यमा परिणत हुन पुग्दछ । फलस्वरूप सो भन्दा उताको आकाश वा अन्तरिक्षमा सूर्यको प्रकाशको कुनै प्रभाव पर्दैन । त्यसैले आकाश वा अन्तरिक्षमा रहेका रातको समयमा देखिने साना–ठूला सबै ताराहरू आफ्नै प्रकाशशक्तिको आधारमा उज्याला देखिएका हुन् । कारण, तिनीहरू र अन्य बाँकी ताराहरु समेत आगो समान निरन्तर रुपमा बल्दा भौतिक पिण्ड हुन् ।

वास्तवमा उपर्युक्तबमोजिमको भनाइ पूर्णतया गलत छ चाहे त्यो संसारका जुनसुकै वैज्ञानिकको भनाइ होस् । हो, यदि श्री सूर्य नारायणज्यू उनीहरूले कल्पना गरेअनुसार नै एउटा आगोको रूपमा बलिरहेको निर्जीव भौतिक पिण्ड भएको भए उहाँको प्रकाशशक्ति अगाडि बढ्दै जाँदा सो प्रकाशशक्तिको प्रभाव नजिकभन्दा टाढा क्रमशः घट्दै जाने भौतिक नियमअनुसार अन्ततः त्यस्तो सीमा पनि आउनु पूर्णतया स्वाभाविक हुन्थ्यो जसभन्दा अगाडि सो (श्री सूर्य नारायणज्यूको) प्रकाशशक्तिको प्रभाव स्वतः शून्य हुन जान्थ्यो । अनि परिणामस्वरूप यस विश्व–ब्रह्माण्डको अतिभन्दा अति टाढासम्म सबैतिर फैलिएर रहेका सानाठूला सबै तारासम्म उक्त प्रकाशशक्ति पुग्न सक्ने सम्भावना नै रहने थिएन र उक्त ताराहरूमध्येका रातमा देखिने ताराहरु के कति कारणले उज्याला देखिन्छन् भन्ने कुरा हाम्रो निम्ति रहस्यको विषय बन्नेथियोहोला अथवा खोजबिनको विषयको रुपमा कायम रहन्थ्यो होला । तर श्री सूर्य नारायणज्यू उक्तबमोजिमको कुनै बल्दो निर्जीव भौतिक पिण्ड कदापि नभई परम सजीव–सचेतन, सर्वशक्तिसम्पन्न, सर्वज्ञ जस्ता अनेकानेक अलौकिक विशिष्ट विशेषतायुक्त परम प्रभु परमात्मा परमेश्वर हुनुभएको र तिनै विशिष्ट विशेषता अन्तर्गत उहाँभित्रैबाट तापशक्ति, प्रकाशशक्ति, आदि कतिपय शक्तिहरू निरन्तर रुपमा पैदा भई नजिकको अपेक्षा टाढा क्रमशः अरु थप प्रभावकारी बन्दै यस विश्व–ब्रह्माण्डको सम्पूर्ण दिशातिर विखरित भइरहने हुँदा ती नजिक वा टाढा जहाँसुकै विद्यमान तारा वा अन्य कुनै पनि आकाशीय साना–ठूला पिण्डहरूले प्रभु श्री सूर्य नारायणज्यूबाट प्राप्त सोही प्रकाशशक्तिलाई निरन्तर रूपमा परावर्तन गर्दछन् र रातको समयमा देखिने ताराहरू सो प्रकाश परावर्तन क्रियाकै नतिजा स्वरूप त्यसरी उज्याला देखिएका हुन्, अन्यथा कतै सम्भव थिएन । जहाँसम्म प्रभु श्री सूर्य नारायणज्यूको प्रकाशशक्ति नजिकभन्दा टाढा क्रमशः थप प्रभावकारी बन्दै जाने कुराको प्रमाणिकताको हकमा सो बारेमा यस अघिका लेखहरूमार्फत आवश्यक दृष्टान्तसहित स्पष्ट पारिसकिएकोले पुनः दोहो¥याइएको छैन ।

के त्यसो भए आकाश वा अन्तरिक्षमा रहेका कुनै पनि तारा आगोसमान बलिरहेका नभई हाम्रो पृथ्वी समान सामान्य अवस्थामा छन् र केवल प्रभु श्री सूर्य नारायणज्यूबाट प्राप्त प्रकाशशक्तिलाई परावर्तन गरेर मात्र तिनीहरूमध्ये रातमा देखिने ताराहरू उज्याला देखिएका हुन् त ? पाठकहरूमध्ये कसैलाई पनि यस्तो समेत लाग्न सक्दछ र फेरि वास्तविक यथार्थ पनि त्यसैअनुरुप नै रहेको हामी पाउँदछौँ । कारण, उपर्युत्त ताराहरु आगोसमान बलिरहेका हुन्थ्ये र तिनीहरुको आफ्नै प्रकाशशक्ति हुन्थ्यो भने प्रथम कुरा, आकाश वा अन्तरिक्षमा दृश्यमान वा अदृश्य रहेका सबै ताराहरु यात डढेर समाप्त भएरै जाने थिए यात कमसेकम क्रमशः साना बन्दै जाने थिए, युगौँयुगसम्म सदा सर्वदा एक समान अवस्थामा रहने थिएनन् । किनभने संसारमा पाइने प्रज्वालनशील (बल्ने विशेषतायुक्त) वस्तुमा आगो लागेमा त्यो क्रमशः बल्दै पनि जान्छ र लामो कालसम्म बलिरहँदा त्यो अन्ततः पूरै डढेर समाप्त भएर पनि जान्छ । कथमकदाचित समाप्त नभएपनि कमसेकम आकार–प्रकारमा क्रमशः सानो बन्दै जान्छ, ज्यूका त्यूँ अथवा जत्राको तत्रै कदापि रहँदैन । दोस्रो कुरा, त्यो बल्दो वस्तु ठोस अथवा ठोस, तरल तथा ग्यास मिश्रित अवस्थाको भए त्यसबाट एकापट्टि धुवाँ र अर्को पट्टि खरानी पैदा हुँदै जान्छ, तरल वा ग्यास अवस्थाको भए बाक्लो वा पातलो जस्तो भएतापनि धुवाँ पैदा हुँदै जान्छ भने त्यो क्रम तबसम्म जारी रहन्छ जबसम्म सम्बद्ध वस्तु जलेर समाप्त हुँदैन । त्यसैले उपर्युक्त ताराहरू यदि आगो समान बलिरहेका हुन्थे भने तिनीहरू ठोस पदार्थबाट वा ठोस, तरल र ग्यास पदार्थ मिलेर बनेका अथवा तरल वा ग्यास जेसुकैबाट बनेका भएमा पनि युगौँयुगसम्म बल्दै आउँदा ती ताराहरूबाट क्रमशः धुवाँ र खरानी अथवा बाक्लो वा पातलो धुवाँको मुस्लो निरन्तर रूपमा पैदा हुन गई यो सारा विश्व–ब्रह्माण्ड नै धुवाँ र खरानी अथवा धुवैं धुवाँले ढाकेको हुनुपर्ने र अरु कुनै केही नदेखिनुपर्ने हो । किन्तु हामी त्यस प्रकारको कुनै संकेतसम्म पनि पाउँदैनौँ । त्यति मात्र कहाँ हो र ? ती ताराहरू जो रातमा देखिने हुन्, ती ताराहरू पनि उसैगरी उत्रै रुपमा देखिएकै छन्, पहिलेभन्दा अलिक साना भएकि भन्ने स्थान पनि कत्ति छैन । त्यसैले प्रष्ट छ कि आकाश वा अन्तरिक्षमा रहेका ताराहरू न त आगो समान बोलिरहेका छन् नत तिनको आफ्नै प्रकाशशक्ति छ । तिनीहरू पनि हाम्रो यो पृथ्वी समान सामान्य अवस्थामा छन् र केवल परम प्रभु परमात्मा परमेश्वर श्री सूर्य नारायणज्यूबाट प्राप्त प्रकाशशक्तिलाई परावर्तन गरेका आधारमा मात्र तिनीहरूमध्येका रातमा देखिने ताराहरू उक्तबमोजिम प्रकाशमान अर्थात् उज्याला देखिएका हुन्, कसैमा भ्रम नरहोस् । अरु बाँकी सबै आगामी लेखहरूबाट । अङ्क १६ (क्रमशः)