म को हो र मेरो कर्तव्य के हो ?

मेचीकाली संवाददाता

२५ माघ २०८१, शुक्रबार
284 shares

टेकराज पन्थी

‘म’ को हो र मेरो कर्तव्य के हो भन्ने विषयमा खासै चर्चा परिचर्चा हुने गरेको पाईदैन । जताततै घमण्ड, अहमता र जालझेल मात्र को ब्याप्त छ । एकले अर्काको आलोचना गर्ने, छुल्याइफटाई र चोरी चकारी गर्ने कामले प्रशय पाएको देखिन्छ । भ्रष्ट्राचार, घुषखोरी, ठगी, छलछाम गर्ने कार्य जताततै भएको पाइन्छ ।

आखिर यति धेरै केका लागि हो । जिवनको के भरोसा छ र ? सबै कार्य हुनु र देखिनुमा ‘म’ नै हो । ‘म’ अरू पनि छन् भन्ने हेक्का नभएको देखिन्छ । आखिर ‘म’ भनेको केहो ? र ‘म’ को हु ? ‘म’ शरीर होइन किनकि शरीर एक दिन मर्छ । ‘म’ मन होइन किनकि मन परिवर्तनशील हुन्छ त्यसैले ‘म’ आत्मा हुँ किनकिआत्माको परिभाषा ब्यापक छ । किनकि आत्मालाई शस्त्रले काट्न सक्दैन, आगोले जलाउन सक्दैन, पानीले भिजाउन सक्दैन, हावाले यसलाई सुकाउन सक्दैन । यो आत्मा जन्मनु अगाडि पनि थियो, अहिले पनि छ र मृत्युपछि पनि शाश्वत रहन्छ । त्यो ‘म’ हो । जब ‘म’ हो भनेर बुझ्न सकिन्छ तब मृत्यु भय समाप्त हुन्छ । अनि नातागोता, लोभ लालच, रिस डाह, घमण्ड, इश्र्या, अहमता, धन पैसा सबै भुलिन्छ । ‘म’ आत्मा हु भनेर मानवरूपी शरीर धारण गरेर प्रमाणित गर्न आएको हु । त्यसैले मनुष्य चोला धारण गरेर मात्र ‘म’ को हु भनेर बुझ्न सकिन्छ । अन्त्यतः आत्मा हो भनेर पहिचान गर्न सक्नु नै कर्तव्य हो ।

आज भोलि सबैले ‘म’ को महत्व दर्साउँछन् । आफूभन्दा असल र राम्रो अरुलाई ठान्दैनन् । बरु अरुले आफूलाई ठूलोबडो मानून् भन्ने चाहना जो सुकैको ‘म’ मा हुन्छ । ‘म’ भनेको अरु पनि हुन्छन् भन्ने कुरा मानिसले बुझेकै हुँदैन । उसले बुझेको हुन्छ आफ्नोमात्र ‘म’ । त्यसैले नजानी नजानी ठुल्याई छाँटेको हुन्छ । आफूलाई सर्वश्रेष्ठ ठान्छ । अरुलाई साना–तिना भुसुना मानेको हुन्छ । ‘म’ यति घमण्डी हुँदो रहेछ कि नहुने कुरालाई हुने बनाउन प्रयत्न गरेको हुन्छ । ‘म’ शब्दमा यति धेरै अहमता हुन्छ कि कसैलाई गन्दैन । किनकि त्यहाँ ‘म’ को हैकम चलेको हुन्छ । ‘म’ भन्दा ठूलो त्यहाँ अरु कोही हुँदैनन् । ‘म’ मा मौलिकता भेटाउन सकिएन । अरूले दिएको शिक्षा, देखेको र पढेको मात्र थाहा हुने ‘म’ रहेछ । ‘म’ भन्दा ठूलो त्यहाँ अरू कोही हुँदैनन् र देख्न पनि चाहँदैन । ‘म’ भन्ने शब्द नै यस्तो रहेछ कि अरुलाई टेर्दै टेर्दैन । अरु भनेका केही होइनन् । ‘म’ मात्र हुँ र मैले जे भने पनि ठीक हुन्छ भन्ने भावना धेरै मानिसमा भएको हुन्छ । यो नै मानवीय दुर्गुण र अहमता हो । शक्तिशाली ‘म’ ले कमजोर ‘म’ लाई ठगेकै हुन्छ र जालझेल, छलकपट गरेकै हुन्छ ।

कसैले तिमी को हौ भनेर सोधे भने घमण्ड, ठूल्याई र मपाइत्व देखाएर गमक्क परेर अरुले राखिदिएको नाम भन्नु पर्ने ‘म’ मा मौलिकता छैन । ‘म’ को परिचय पनि अरुले राखी दिएको नामबाट नै बताउनुपर्ने । ‘म’ ले जब अरुको मुखबाट आफुलाई सुन्न खोज्छ, अरुको बुझाइबाट आफूलाई बुझ्न खोज्छ, सभ्य भन्छन् वा असभ्य, ज्ञानी भन्छन् वा अज्ञानी, जान्ने भन्छन् वा नजान्न्ने, मुर्ख भन्छन् वा बुद्धिमान तब ‘म’ आफूमा मात्र ‘म’ होइन रहेछ अरूमा पनि ‘म’ रहेछ भन्ने ज्ञान आउँछ र ‘म’ मा भएको घमण्ड, अहमता र ठुल्याई क्रमशः ‘म’ को हु भन्नेतर्फ लाग्न सक्छ । मलाई थाहा छैन ‘म’ कस्तो छु । ‘म’ ज्ञानी भने फुरुङ हुन्छु, अज्ञानी भने खस्रक्क हुन्छु । तसर्थ राती निदाएको समयमा ‘म’ को हु भन्ने ज्ञान हुन्छ तबमात्र घमण्ड, ठुल्याई र मपाईत्व हटेको हुन्छ । काम, क्रोध, लोभ, मोह त्यागेर ‘म’ को अर्थ आत्मा हो भनेर प्रमाणित गर्ने काम नै कर्तब्य हो ।

त्यसैले जीवन केही छैन अस्थाई हो । तेरो मेरो, धन पैसा, रिस डाह, लोभ लालच, घमण्ड ठूल्याई, संसारमा ‘म’ भन्दा जान्ने बुझ्ने कोही छैन ‘म’ मात्र सबै बुझेको छु, सबै मैले नै जानेको छु अरूको केही विश्वास छैन भन्नु बेकार छ । सकिन्छ भने आफुले सकेको सहयोग गरौं र सकारात्मक सोचको विकास गरौं । जतिसुकै कानुन निर्माण गरेपनि नैतिकता र सकारात्मक सोच भएन भने कानुनको कुनै अर्थ छैन । सामाजिक सञ्जालको प्रयोग गर्दा पनि ‘म’ मात्र जान्ने छु र अरूले आफ्नो कार्यलाई देख्न सक्दैन भनि फेक आइडि बनाएर कमेन्ट गर्ने, पोष्ट गर्ने गरी नकारात्मक विचारलाई राख्दा जतिसुकै गोप्य भएपनि संसारले हेरेको हुन्छ ।

‘म’ भन्दा पनि हामीबाट शुरूवात गरी सकारात्मक सोचको विकास र प्रयोग गरी ‘म’ भन्ने आफूमात्र नभएर अरूमा पनि ‘म’ छन् भन्नेमा बुझ्ने गरौं । त्यसो भएमा सभ्य समाजको निर्माण भएर सुशासन कायम हुने र भ्रष्ट्राचारको अन्त्य हुनेछ । ‘म’ को हु र मेरो कर्तव्य के हो भन्ने ज्ञान प्राप्त हुनेछ । त्यसपछि ‘म’ को हु र मेरो कर्तव्य के हो भन्ने बुझाइबाट घमण्ड, द्वेश, झगडा, काटमार, हत्या हिंसा, भ्रष्ट्राचार, कुरीति, कुसंस्कार, बेतिथि, काम, क्रोध, लोभ, मोह, धनी, गरीब, तेरो मेरो, मपाइत्व जस्ताको अन्त्य भई सभ्य समाजको विकास हुन जानेछ । यसो भएमा ‘म’ भनेको आत्मा हो भनेर प्रमाणित गर्न सक्नु मानवजीवनको कर्तव्य हुनेछ ।