

डिल्लीराज आचार्य
असंगठित रुपमै र छरिएर रहेका विभिन्न व्यक्तिपरक नेतृत्वहरुमै भएपनि नवयुवा (जेनजी) हरुको आन्दोलनले ओदे (ओली–देउवा) सरकारको तख्दा पल्टाइदियो । तत्काल सरकारमा रहेका नेकपा एमाले र नेपाली कांग्रेस नै समग्रमा सरकारकै पक्षमा नभएको र गुटगत राजनीति हाबी भएको जगजाहेरै पक्षलाई स्मरण गर्ने हो भने ओदे सरकार भनेर रुखो शब्द प्रयोग गरेकोमा प्रिय पाठकहरुलाई धेरै निधार खुम्च्याउनु नपर्ला । भित्री यथार्थतामा समग्र एमालेको पनि सरकार थिएन र कांग्रेसको पनि । नेपाल सरकार भन्नका लागि त चरित्र नै त्यस्तो थिएन । ओली र देउवा गुटको जस्तो भएकाले अधिक जनको जिब्रोमा ओदे सरकार भन्ने थियो र यँहा पनि त्यही भावमा लिइएको हो ।
बहुलवादी समाजमा दलहरुभित्र बिचारको स्वतन्त्रता र स्वस्थ्य दुईलाइन संघर्षको वातावरणको अभाव भयो भने गुटगत विचार हाबी हुन्छ । यो बहुदलीय व्यवस्थाको असफलताको मुख्य अवगुणमध्येको एक हो । सिद्धान्त र व्यवहारलाई व्यक्तिवादी दम्म र चरित्रले खाइदिएपछि त्यहाँ संगठनात्मक पद्दति भन्ने केही बाँकी रहँदैन । सत्ताको मादमा रहेको व्यक्तिवादी झुण्डले सत्ताको शक्तिबाहेक केही देख्दैन । उसको नजरमा सबै भुसुना हुन्छन् र आफूहरु सधै हात्ती भइरहेको भान हुन्छ । भित्रभित्र कुहिँदै गएको हुन्छ तर बोक्रो छामेर सबल नै रहेको आभासका साज दङ्ग परेको हुन्छ । विचार र संगठनात्मक क्रियाकलामा फरक बिचार वा फरक धारलाई पूर्ण निषेध गर्नु (गराउनु) उसको चरित्र नै बनिसकेको हुन्छ । विचारअनुसारको संगठनात्मक पद्दतिमा भर र विश्वास हैन, नातावाद कृपावाद हँुदै कोठरीमय हुन पुगेको हुन्छ ।
अर्को शब्दमा बहुलवाद भनेको सबैकिसिमका विचारहरु फुल्ने र फल्ने बहु विचारको फूलबारी हो । यसलाई बिचारको सप्तरङ्गी बगैँचा पनि भन्न सकिन्छ । तर जतिबेला यसको सप्तरङ्गी रुप कोठरीवादको कालोधब्बाले बिरुप हुन पुग्दछ । त्यतिवेला बिचारको फूलबारी काडाँघारीमा परिणत भइसकेको हुन्छ । समकालीन नेपालमा दलतन्त्रले बहुदलयी सप्तरङ्गिभित्र काँढाघारीको विकास गर्न पुग्यो । स्वतन्त्र विचार होइन, तन्त्र हाबी हुन थाल्यो । शिक्षा, स्वास्थ्य, खाद्यसहितका सबै आहार बिहार र व्यवहारका क्षेत्रहरु दलीय तन्त्रमा परिणत भए । सत्तारुढ दलको सदस्यबाहेक अरु सबै राज्यका अवसरहरुबाट बन्चित हुने क्रम तीव्र भयो । जनतामुखी हुनुपर्ने बहुदलीय पद्दति कार्यकर्तामुखी हँुदै, केही पहिलेदेखि त भुरेटाकुरे नेतामुखि मात्र बनेर, सीमित हुन पुग्यो । चुनावका बेला मात्र जनता अरु बेला अन्त ! चुनावका बेला मात्र जनता, अरुबेला लखनेको जन्त !!
सबै नीतिहरुको माउ नीति राजनीति, हिजो आज कुरा गर्न वा सकारात्मक भाव वा लगावका साथ केही लेख्न पनि लाज हुने (लाजनीति) हुन पुगेको छ । विचारविहीन मान्छे नै हुदैन भनिने तर बिचारबाट स्खलित भयोभनेपनि मान्छे नहुने ?! राजनीतिमा लाग र सकेसम्म धाक जमाउ, जसरीपनि कमाउ र रमाउ राजनीतिक यात्राको गन्तब्य बन्न पुगेपछि राजनीति असफल नभएर अरु के हुने हो त रु समकालिन नेपालमा त्यही भइरहेको छ । बरुबरु… भन्ने मानिसहरुको सँख्या बढिरहेको छ ।
‘विचारविहीन मान्छे हुन्न भकारीको भूस, मान्छेबाट गिरेपछि मान्छे खान्छ घूस’ । कवि केवलपुरे किसानले कुनैबेला लेखेका थिए यसरी । हिजोआज विचार पनि नहुने र भएपनि विचारअनुसारको व्यवहार नहुने, अनि घूस बिना कामै नहुने घूस्याहा संस्कृतिको थालनी र विकास गर्नेमा को भनियो भने ? कर्मचारीतन्त्र र राजनीति ! ठूला कर्मचारीलाई शक्तिमा रहन राजनीतिकै वरिपरि हुनुपर्ने, राजनीतिले ठूला कर्मचारीको कलमका माध्यमबाट गैरकानुनी रुपमा सम्पत्ति आर्जन गर्नुपर्ने । अनि मिलेन त रयाङ्को ठ्याङ्ग !? लोभ्याउने र सिकाउने ठूला कर्मचारी र सु¥याउने र कुम्ल्याउने केही ठूला राजनीतिज्ञहरु !
राजनीति राज्य सञ्चालनको मूल नीति भएको हुनाले र राजनीति कै असफलता र राजनीतिज्ञहरुकै असक्षमताले मुलुकी अवस्था दयनीय हुन पुगेकोले सुधार होइन कि आमूल परिवर्तन अर्थात रुपान्तरण हुनुपर्ने पहिलो क्षेत्र भनेको यही अर्थात् राजनीति बनेको छ । रुपान्तरण राजनीतिक विचार, कार्यपद्दति र ब्यवहार मै हो ।
यसका लागि पहिलोतः चुनावका बेला चौवन्नी सदस्य बाँडेर कार्यकता यति र उति भन्ने नीति नै गलत छ । दलीय कार्यकर्ता र शुभचिन्तक फरक हुनुपर्छ । कार्यकर्ता दीर्घकालीक र सीमित तथा शुभचिन्तक कार्यक्रमिक र आवधिक हुनुपर्छ । हरेक दलका दलीय सदस्यहरुको नामावली निर्वाचन आयोगको स्थानीय कार्यालयमा दर्ता हुनुपर्ने र दलीय सदस्यता त्याग वा परिवर्तन गर्दा निर्वाचन आयोगमा रहेको अभिलेखमै परिवर्तन गर्नुपर्ने व्यवस्था गर्नु जरुरी छ । यसो गरियोभने एक व्यक्ति अनेक दलको सदस्यताको रोगदेखि ठूला पदमा नियुक्तिका लागि दलीय सदस्यता र ठूलो रकमको चन्दाको बेथिति अन्त्य हुनेछ । यसैगरी एक दलत्याग गरी अर्कोमा जान त पाइने तर गइसकेपछि कम्तिमा दल परिवर्तन वा प्रवेशको मितिले २ वर्षसम्म नयाँ दलमा कार्यकारी सदस्य हुन निषेध गर्ने विधान हुनु जरुरी छ । अन्यथा चुनावैपिच्छे दल फेर्दै मतदाता हेर्दै गाँउघर घुम्ने नकचरा (नकचरी) हरुको सँख्या झनै बढ्ने छ ।
राजनीति रुपमान्तरणको अर्को उपाय भनेको राजनीतिक पदहरुलाई पूर्ण सेवामुखी बनाउनुपनि हो । वडा सदस्यसम्मले तलव र अन्य सुविधा खान पाउने हाम्रो जस्तो जागिरे राजनीतिले देश उभो लाग्दछ ? कदापि लाग्दैन । बढीमा तोकिएको यातायात खर्च र खाजा खर्चबाहेक अरु केही पनि नपाउने गरी नीतिगत रुपमै व्यवस्थित गरिएन भने नेपालको राजनीतिमा झनै व्यवसायिक र बिरुप बन्दै जाने छ ।
राजनीति र राजनीतिज्ञलाई श्रमसंस्कृतिसँग अनिवार्य आबद्दता समकालीन तेस्रो आवश्यकता हो । राजनीति गर्नुभनेको चौबीसै घण्टा राजनीति भन्ने होइन र हुनुहुँदैन । कुनै निश्चित पेशाबिना राजनीतिक आबद्धतापनि विधानतः निषेधित हुनु (गरिनु) पर्छ । आवश्यक परेका बेला राजनीति काममा अरुबेला व्यक्तिगत पेशा वा व्यवसायमा । बिना श्रमको राजनीतिक सम्बद्धता ठगी खाने र बसीखाने संस्कृतिको परिचायक हो भन्ने बुझाइका साथ श्रमसंस्कृतिमा अनिवार्य आबद्धता अबको राजनीतिक संस्कार हुनुपर्छ । अमेरिकी राष्ट्रपति बारक ओवामाले डिपार्टमेन्टमा काम गरेको र बेलायती प्रधानमन्त्री ऋतिक सुनकले माइक्रोसफ्टमा रिसर्च मेनेजर भएर खान्गी जोहो गरेका जस्ता पक्षमा यहाका राजनीतिज्ञहरुको ध्यान जानु र लानु जरुरी छ ।
नाताबाद र कृपावादको हाबी यतिबेलाको अर्को राजनीतिक बिरुपताको कारण हो । सचिवालयमा ज्वाइँ–साला–साली भतिजा–भतिजिदेखि ठाँउ ठाउँका जागिरहरुमा पनि भएसम्म नातावादका आधारमा, नभए कृपावादबाट । कृपावादको आधार पनि खल्तीबाद बाट ? यसरी भइरहेको छ, कुराजनीतिक अपसंस्कृतिमा बिरुपको पनि महाविरुप ! यसमा पनि रुपान्तरण जरुरी भइसकेको छ ।
सत्ताको कुर्सीमा जाने, मनपरि गरेर कालोधन आर्जन गर्ने अनि त्यही कालोधन खर्चेर नमरुन्जेल त्यही सत्ताकै वरिपरि बस्ने ? गजबको कुलँघारी राजनीतिक अपसंस्कृतिमा डुब्यो नेपालको अधिक राजनीति । कुनैपनि तहको कुनैपनि पदमा बढीमा २ पटक मात्र र हरेक तहको समग्र कार्यकारीणीमा कम्तीमा २५ प्रतिशत नवयुवाहरुसहित समग्र समावेशिताको नीतिबिना रुपान्तरिण हुनै नसक्ने अवस्थमा पुगिसकेको छ ।
पारदर्शिकता लोकतन्त्रमाथि जनताको विश्वासको सञ्जिवनी हो । अन्तरराजनीतिक नियुक्तिहरुदेखि राजकीय नियुक्तिहरु सबैमा अमुक व्यक्तिको नियुक्तिको आधार सार्वजनिक गरिनु जरुरी भइसकेको छ । अन्यथा नक्कली प्रमाणपत्र राखेरभित्र भित्र आवश्यक योग्यता र अनुभवबिना पनि शक्तिको कलम चलाउन पुग्नेहरुको रजाँइ जारी रहनेछ । हरेक तहका सार्वजनिक पदाधिकारीहरु र राजनीतिक पदाधिकारीहरु दुवैले हरेक दुईदुई वर्षमा स्थानीय स्तरमा सम्पत्ति सार्वनजिक करण गर्ने नीति ल्याऔँ त ? कसरी हुन्छ भ्रष्टाचार र भइहालेपनि कहाँ लगेर लुकाउँछ कालो धन ? सुरुङ खनेर वा पानी ट्याङ्कीमा अर्को तह बनाएर राखे जसरी अनेक उपाय निकाले मात्रै हो ! त्यहीपनि कतिदिनका लागि र कसका लागि ? मरेपछि पनि पनि भ्रष्टाचारी कालो नाउको दागधारी बन्नुपर्ने ।
धेरै कोणहरुबाट गर्न सकिन्छ राजनीतिक रुपमान्तरण । राजनीतिक रुपान्तरण बिना सामाजिक आर्थिक, सांस्कृतिक सबै क्षेत्रमा रुपमान्तरण दीगो हुन सक्दैन किनकि सबै नीतिहरुको मूल नीति राजनीति नै हो । मूल फोहोरिएपछि कुला वा पाइपहरुको पानी फोहोर हुनु स्वभाविक नै हो । मूल सफा गर्न सबै जुरुक्क उठेर आत्मदानयुक्त श्रमदान गर्नु जरुरी छ । ऐरावती–१ धनबोट प्यूठान ।