राजस्व छलीका कनेक्सन खोज्दै अनुसन्धान कार्यालय

मेचीकाली संवाददाता

१५ फाल्गुन २०८१, बिहीबार
1333 shares

–पोकापन्तुरा चेकजाँच गर्दा लाखौं मूल्यका सामान
–नेपालमा उत्पादन नै नहुने ह्वीस्कीका नक्कली ढक्कन बराबद
–एउटै पोकाको बिगो र जरिवाना झण्डै तीन करोड दाबी
–उपकरणसहितको दक्ष जनशक्ति परिचालन

अमृत गिरी
बुटवल । राजस्व अनुसन्धान कार्यालय बुटवलको एक टोलीले सीमा नाकाबाट सहरतिर आउने ग्रामीण क्षेत्रका सडकमा हालै चेकजाँच गरेको थियो । त्यसक्रममा केही स–साना पोकापुन्तरा बोकेका मोटरसाइकल, साइकल, पैदल हिँड्नेहरुलाई चेकजाँच गरियो । अचम्मै पर्नेगरी ती पोकापन्तुराबाट २६ लाख रुपैयाँसम्मका भन्सार नगरेका सामान फेला परे । यस्ता पोकापन्तुरा बोक्नेहरुको ठूलै लर्को छ र त्यसमा सीमा क्षेत्रदेखि पसलसम्मै कनेक्सन मिलाउने गिरोह नै रहेको बताइन्छ ।

भन्सार छलेर र राजस्वको दायरामा नआएका त्यस्ता पोकापन्तुराहरु भरिया वा सेटिङ मिलाउने विचौलियाहरुले मुलुकका विभिन्न सहरका पसलसम्म पु¥याउने गरेको सूचनाका आधारमा राजस्व अनुसन्धान कार्यालय बुटवलले मातहतका क्षेत्रमा विशेष टोली परिचालन गरिरहेको छ । सोही टोलीले तीन महिनाको अवधिमा करोडौं मूल्यका सामान नियन्त्रणमा लिएको तथ्याङ्क छ ।
राजस्व अनुसन्धानलाई नै अलमलाउने गरी बढिरहेका तस्करका नयाँनयाँ जुक्ति र प्रवृत्तिबाट अनुसन्धानका अधिकारीहरु हैरान भइरहेका बेला बुटवलको राजस्व अनुसन्धान कार्यालयले भने विशेष रणनीति बनाएर सर्च गरिरहेको बताएको छ ।

भरियामार्फत तस्करीको नाइकेसम्मै पुग्नेगरी अभियान चलाइएको बुटवलस्थित राजस्व अनुसन्धान कार्यालयका प्रमुख विवेक घिमिरेको भनाइ छ । तस्करीका जस्तासुकै उपायको पनि पत्तो लगाउनेगरी उपकरणसहित जनशक्ति परिचालन गरिएको अनुसन्धान अधिकृत घिमिरेले बताए ।
तस्करीको कनेक्सनमा रहेका हरेक पाटालाई केलाउँदै राजस्व अनुसन्धानमा खटिएका अधिकारीहरुले दायरा फराकिलो बनाइरहेका छन् । ती अधिकारीहरुले संयन्त्रलाई त्यस्ता सम्भावित नाका र क्षेत्रमा परिचालन गरेर प्रविधिको समेत मद्दतमा तस्करका नाइकेको खोजी गरिरहेका छन् ।

राजस्व अनुसन्धान कार्यालय बुटवलले आफ्नो कार्यक्षेत्रका नाका, क्षेत्र र सम्भावित बजारहरुको मिहीन अध्ययन गर्दै राजस्व छलीको कनेक्सन खोजीरहेको छ । देख्दा सामान्य लाग्ने भरियाबाट लाखौं मूल्यका सामान फेला पार्नेदेखि नाम चलेका ब्राण्डेड मदिरा (रक्सी) का दुरुस्तै देखिने नक्कसी रक्सी बनाउने मेसिनसमेत बरामद भएका छन् । कतिपय सामान नेपालमा रहेका उद्योगका उत्पादन पारी अर्थात् भारतमै उत्पादन गरेर लुकाइछिपाइ नेपाल ल्याउने गरेको अवस्थामा पनि फेला परेका छन् ।
तीन महिनाको अवधिमा यहाँ ल्याएर स्टीकरमात्रै टाँस्न बाँकी राखेर उतै रेडिमेड गरेका जुत्ताका कैयौं पोकापन्तुरा फेला परेको राजस्व अनुसन्धान कार्यालयले जनाएको छ । त्यसको पनि परैसम्मको कनेक्सनको खोजी भइरहेको छ । त्यसरी बरामद भएका सामान र भरियाको अवस्था केलाउँदा कनेक्सन परैसम्म रहेको भन्दै अनुसन्धानको दायरालाई बढाइएको र विभागमा पत्राचार गरिएको अनुसन्धान कार्यालयका प्रमुख घिमिरेले बताए ।

नक्कली रक्सीका सामानसहित नियन्त्रणमा लिएकालाई १ करोड ३० लाख २७ हजारभन्दा धेरै विगो र उत्तिकै मात्राको जरिवानासमेत तोकेर कैद सजायँ माग गरिएको छ । राजस्व अनुसन्धान विभागबाट राजस्व अनुसन्धान कार्यालय, बुटवलमार्फत नियन्त्रणमा लिएर मातहतका विभागमा पठाइएका रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१, बेलहिया बस्ने ३३ वर्षीय शशांक खनाल र काभ्रपलाञ्चोक, चौरीदेउराली गाउँपालिका–४ स्थायी ठेगाना भई हाल काठमाडौँ महानगरपालिका–४ बालुवाटार बस्ने ४५ वर्षीय रमेश गौतमलाई प्रतिवादी बनाई उच्च अदालत तुलसीपुर बुटवल इजलाशमा मुद्दा दायर भएको छ ।

उनीहरुविरुद्ध राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित गरेको कार्य गरी ऐ.ऐनको दफा ४ बमोजिमको कसुर गरेको अभियोगमा मंगलबार उच्च अदालत तुलसीपुर बुटवल इजलासमा अभियोग पत्र दायर गरिएको राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर कार्यालयकी उपनिर्देशक तथा प्रवक्ता कृष्णकुमारी श्रेष्ठले जानकारी दिइन् ।

‘खनालले विनास्रोतका इम्पोर्टेड ह्वीस्की (नेपालमा उत्पादन नहुने) लगायतका मदिराका ढक्कन (क्राउन क्रक) र अन्य सामग्री चोरी तस्करी गरेको साथै उक्त सामग्रीको कानुनी प्रयोगको कुनै आधार, कारण प्रमाण पेश गर्न नसकेको र भन्सार चोरीपैठारी गरेका मालवस्तुको कारोबार गरी भन्सार महसुल, मूअकर तथा अन्तः शुल्कलगायत राजस्व चुहावट गरेको कसुरका सम्बन्धमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५५२ को दफा ‘घ’ ले निषेध गरेको कार्य गरी दफा ४ को खण्ड (छ) र (झ) बमोजिम कसूर गरेको पुष्टि हुन आएकाले उक्त राजस्व चुहावटको प्रकृति, गाम्भिर्यता तथा राजस्व चुहावट भएको रकमसमेतलाई मध्यनजर गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २ (छ १) बमोजिम बिगो रु.१,३०,२७,२९०।– (एक करोड तीस लाख सत्ताइस हजार दुईसय नब्बे) कायम गरी सोही ऐनको दफा २३ (१) बमोजिम बिगो रु.१,३०,२७,२९०।–(एक करोड तीस लाख सत्ताइस हजार दुईसय नब्बे) असुल गरी बिगोको शतप्रतिशत रकम रु.१,३०,२७,२९०।–(एक करोड तीस लाख सत्ताइस हजार दुईसय नब्बे) जरिबाना हुन र सोही ऐनको दफा २३(१) (ख) बमोजिम हदैसम्म कैद सजाय हुन मागदावी लिइएको छ’ राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुरले जारी परेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

राजस्व अनुसन्धान विभागले यसअघि राजस्व अनुसन्धान कार्यालय बुटवलमार्फत बुटवल उपमहानगरपालिका–५ नेपालगञ्जरोडस्थित अलिम इन्टरप्राइजेजका सञ्चालक अलिम मियाँविरुद्ध राजस्व चुहावट कसुरमा मुद्दा दायर गरेको थियो । विभागले अलिम इन्टरप्राइजेजका सञ्चालक मियाँले बिनास्रोतका भन्सार चोरीपैठारी गरिएका मालवस्तुको कारोबार गरी भन्सार महसुल, मूल्य अभिवृद्धि कर बिलविजक जारी नगरिकनै मूल्य अभिवृद्धि कर तथा आयकर छलेर राजस्व चुहावट गरेकाले उच्च अदालत तुलसीपुर बुटवलमा मुद्दा दायर गरेको हो ।

प्रतिवादीले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन (संशोधनसहित) २०५२ को दफा ३ द्वारा निषेधित कार्य गरेका विषयमा अनुसन्धान गर्दा सोही ऐनको दफा ४ को कसुर गरेको पुष्टि हुन आएकाले प्रतिवादी मियाँबाट सोही ऐनको दफा २ (छ, १) बमोजिम बिगो रु.तीन करोड ४३ लाख ३९ हजार चार सय ३३ बिगो र सोही ऐनको दफा २३ को उपदफा (१) बमोजिम बिगोको शतप्रतिशत जरिवाना मागदाबी गरिएको थियो ।

के के सामान भेटिन्छन् तस्करबाट ?
भन्सार छलेर कपडा, चिनी, अवैध भेप, चकलेट, बिस्कुट, पास्ता, आलु–प्याज, सुर्ती, मैदा र माछा समेत तस्करी भएको पाइएको छ । त्यस्तै, कतिपय नाकाबाट गाडीका पार्टस्हरु, जुत्ता–चप्पल, कलर र हार्डवेयरका सामान पनि बरामद हुने गरेका छन् । कुरकुरे, कुरमुरे, बिस्कुट, काजु, किसमिस, पिस्ता, बदाम, मैदा, केमिकल, साबुन, मलखाद, भेली,दाल, चामल, डेरी उत्पादन, मासु, रेडिमेड कपडा, इलेक्ट्रिक पार्टस्, मोटर पार्टस्, खाद्यान्न र फलफूलको समेत बढी बरामद भएको तथ्यांकले देखाएको छ ।
मिस्री, गुँड (भेली), कपडा, दाल, खानेतेल, मोटर पार्टस् बढी मात्रा तस्करी हुने गरेको छ ।

मुलुकका १७ मध्ये १५ नाकाबाट बढी मात्रामा तस्करीका कपडा बरामद हुने गरेको विभागको तथ्यांकले देखाएको छ । मेची भन्सारआसपासका नकलबन्द र सतीघट्टा, विराटनगर, जलेश्वर, सुनसरी, सिराहा, गौर, सर्लाही, वीरगन्ज, महेशपुर, कृष्णनगर, भैरहवा, नेपालगन्ज, कैलाली र कञ्चनपुरबाट कपडा तस्करीका घटना धेरे रेकर्ड भएको विभागको तथ्यांकमा छ । नौ नाकाबाट भने चिनीको तस्करीको जोखिम बढी देखिएको छ । विराटनगर, सुनसरी, रौतहटको गौर, पश्चिम नवलपरासीको महेशपुर, कपिलवस्तुको कृष्णनगर, भैरहवा, नेपालगन्ज, कैलाली र कञ्चनपुरबाट बढी मात्रामा तस्करीको चिनी बरामद हुँदै आएको तथ्यांकले देखाएको छ ।

के गरिरहेको छ राजस्व अनुसन्धान कार्यालय बुटवलले ?
कर छली, भन्सार छली तथा अवैध पैसाको कारोबार रोकथाम । कालो धन सर्तकता अभियानमार्फत वित्तीय पारदर्शिता अभिवृद्धि । कर संकलन प्रभावकारी बनाउन नयाँ प्रविधि र डिजिटल प्रणालीको प्रयोग । व्यवसायहरूलाई कर प्रणालीको सही जानकारी दिने तथा स्वेच्छिक अनुपालन प्रोत्साहन । नक्कली बिल तथा झूटा कागजात रोकथाम । वस्तु तथा सेवा कर चोरी नियन्त्रणका लागि कडाइ । ठगी गर्ने समूहमाथि निगरानी तथा कानुनी कारबाही । सुरक्षित आर्थिक वातावरण निर्माण । व्यवसाय तथा नागरिकको करप्रति सचेतना अभिवृद्धि । लगानीकर्तालाई सुरक्षित वातावरण उपलब्ध गराउने प्रयास । तस्करी नियन्त्रण गर्न प्रविधि–आधारित अनुगमन प्रणाली । अन्तर्राष्ट्रिय स्तरमा सहकार्य गर्दै अवैध कारोबार रोकथामलगायतका काममा विशेष ध्यान दिइएको राजस्व अनुसन्धान कार्यालय बुटवलका कार्यालय प्रमुख घिमिरेको भनाइ छ ।

भन्सार प्रक्रियालाई सहज र कर निर्धारणलाई थप पारदर्शी बनाइँदै
भन्सार विभागले भन्सारका प्रक्रियालाई सहज र कर तथा शुल्कहरुको निर्धारणलाई थप पारदर्शी बनाइने बताएको छ । हाल मुलुकमा ३५ वटा ठूला भन्सार र १ सय ३६ वटा छोटी भन्सार रहेका छन् । ती सबै नाकाहरुमा भन्सार प्रक्रिया र शूल्क निर्धारणका कामलाई थप सहज, पारदर्शी बनाउने काम भइरहेको नेपाल सरकारको भन्सार विभागका सेवाग्राही सहजीकरण शाखाका निर्देशक तथा सूचना अधिकारी मुक्तिप्रसाद श्रेष्ठको भनाइ छ ।

घटबढ भइरहेपनि समग्रमा भने आयात बढिरहेको उनको भनाइ छ । भन्सार छली भए नभएको हेर्ने निकाय भने अलग्गै छ । एचएस कोडको प्रयोग गरेर भन्सार प्रक्रियालाई सहज बनाउने र कर तथा शुल्कहरूको निर्धारणलाई पारदर्शी बनाउन लागिएको बताउँदै सूचना अधिकारी श्रेष्ठले पारदर्शितालाई उच्च प्राथमिकता दिइएको बताए ।

गत आ.व.को पुस मसान्तसम्ममा कपडा आयातको कुल मूल्य रु.१ अर्ब ५० करोड रहेकोमा, यस आवको सोही अवधिमा ६५ प्रतिशतले वृद्धि भई रु.२ अर्ब ४७ करोड पुगेको विभागको तथ्यांकमा छ । कपडाको आयातका लागि प्रयोग हुने हरमोनाइज्ड सिस्टम (एचएस) कोडहरू ५० देखि ६३ सम्मका अध्यायहरूमा पर्दछन्, जसमा विभिन्न प्रकारका कपडाजन्य वस्तुहरू समावेश छन् । यी कोडहरूको प्रयोगले अन्तर्राष्ट्रिय व्यापारमा वस्तुहरूको वर्गीकरण र ट्रयाकिङलाई सहज बनाउँछ ।