नेपालको माटो सुहाउदो अर्थतन्त्रः बौद्ध अर्थतन्त्र

मेचीकाली संवाददाता

११ चैत्र २०८२, बुधबार
59 shares

बलबहादुर आचार्य

के हो बौद्ध अर्थशास्त्र ?
बौद्ध अर्थशास्त्र भनेको बौद्ध धर्मका शिक्षाहरुलाई अर्थशास्त्रका विषयहरुसंग समन्वय गरी अर्थशास्त्रको व्याख्या विश्लेषण गर्ने विषय हो । अहिलेसम्ममा विशेष गरी पूँजीवादी अर्थशास्त्रीहरुले अर्थशास्त्रलाई केवल धन कमाउने साधनको रूपमा हेर्ने र सोही अनुसार व्यवहार गर्ने गरेको पाइन्छ तर बौद्ध अर्र्थशास्त्रले अर्थशास्त्रलाई केवल कमाउने साधनको रुपमा नहेरी मानव कल्याण, नैतिकता, सन्तुलित उपभोग र आध्यात्मिक उन्नतिसँग जोडेर हेर्ने दृष्टिकोण अपनाए । यो विचार बौद्ध धर्मका सिद्धान्तहरू बौद्ध शिक्षाका प्रतित्यसमुत्पाद, मध्यम मार्ग, अहिंसा, करुणा, अनासक्ति र सम्यक आजीविका जस्ता विचारहरुमा आधारित छन्। जसले अर्थशास्त्रलाई धन कमाउने साधनका रुपमा मात्र नलिई मावनीय सुख, सामाजिक कल्याण र प्राकृतिक सन्तुलन कायम राखि दिगो विकाससंग गहिरो सम्वन्ध राख्दछ ।

१. बौद्ध अर्थशास्त्रको अर्थ
बौद्ध अर्थशास्त्रमा आर्थिक गतिविधिको मुख्य उद्देश्य अधिकतम नाफा कमाउने मात्र होइन यसको साथमा मानवीय सुख, सन्तोष र सामाजिक कल्याणको पनि विकास गर्नु हो ।

बौद्ध अर्थशास्त्रका मुख्य विशेषताहरू

सम्यक आजीविका
यस्तो पेशा जसले अरूलाई हानि नपु¥याओस्।
मध्यम उपभोग
अनावश्यक विलासिता त्याग र आवश्यकताको आधारमा उपभोग गर ।
अहिंसात्मक उत्पादन
उत्पादनका प्रत्येक क्षेत्रमा प्रकृति र जीवजन्तुलाई कम हानि हुने वाताबरण कायम गरी उत्पादन गर ।
मानव–केन्द्रित अर्थतन्त्र
मानिसको आन्तरिक विकासलाई महत्व दिने सोच राख । स्थानीय उत्पादन र उपभोगमा प्राथमिकता देउ जसले स्थानीय कच्चा पदार्थको उपभोग बढछ, आन्तरिक उत्पादन बढछ , रोजगारी विस्तार हुन्छ, व्यापार घाटा प्रतिस्थापन हुन्छ र राष्ट्रिय आयको विकास हुन्छ ।
वास्तविक हेरचाह गर
उत्पादनमा सहभागी सवै पक्षहरुको सहअस्तित्व र विकासको बाताबरण हुने गरी सवैको वास्तविक हेरचाह गर ।
नोक्सान कम गर्ने उपायहरु अपनाउ
(प्रतित्यसमुत्पादलाई कायम राख) उत्पादन र उपभोगका सन्दर्भमा हुने हानी नोक्सानीहरुलाई मिनिमाइज गर्ने प्रयत्न गर किन कि एउटा बस्तुको नासले बातावरणीय तन्त्रमा असर पर्न जान्छ र त्यसको विनासले अर्को विनास निम्त्याउन सक्छ ।
इच्छा शक्तिलाई सरल बनाउ
मानिसका असिमित चाहनाहरु हुन सक्छन् तसर्थ आप्mना अनावश्यक चाहनाहरु कम गर महत्वपूर्ण चाहनाहरुलाई कार्यान्वयन गर ।

बेलायति दार्शनिक, अर्थशास्त्री तथा तथ्यांकशास्त्री, Small Is Beautiful का लेखक E.F. Schumacher का अनुसारः

‘बौद्ध अर्थशास्त्रको उदेश्य उपभोगलाई अत्यधिक बनाउने होइन बरु न्युनतम उपभोग मार्फत मानवीय कल्याणलाई अधिकतम बनाउनु हो ।’ The aim of Buddhist economics is not to maximize consumption but to maximize human well–being with minimum consumption

३. बौद्ध अर्थशास्त्रका मुख्य सिद्धान्त
१. मध्यम मार्ग– न अत्यधिक उपभोग न अत्यधिक अभाव ।
२. सम्यक आजीविका– हिंसा, ठगी, शोषणबाट मुक्त पेशा ।
३. सन्तोष– कम चाहना, बढी सन्तुष्टि ।
४. करुणा र सामाजिक कल्याण– आर्थिक प्रणालीले समाजलाई सहयोग गर्नुपर्छ।
५. प्रतित्यसमुत्पाद– प्रकृतिसँग सन्तुलन र वातावरण संरक्षण।

नेपालको वर्तमान अवस्था
नेपाल सामन्ति समाज हुदै पूँजीवादी समाजमा रुपान्तरण भएको छ । हुन त हाम्रो संविधानमा समाजवाद उन्मुख अर्थतन्त्रको विषय समावेश गरेकोछ र ३६ बर्षको बहुदलीय व्यवस्थामा विगतमा नेपालका कम्युनिष्टहरु समेत पटक पटक सरकार संचालन गरेका छन् । कम्युनिष्ट सरकारले जनताका आधारभूत आवश्यकता पुरा गर्ने, पिछडिएको क्षेत्र र पिछडिएको समुदायलाई विकासमा प्राथमिकता दिन्छ भन्ने सोचका साथमा जनताहरु आशावादी पनि थिए । तर यो दर्शन बाकेको कम्युनिष्ट पार्टीले समेत आफ्नो सोच र दृष्टिकोण अनुसार कार्य गर्न नसक्दा भरखरै सम्पन्न चुनावले जनताहरु कम्युनिष्ट पार्टी प्रति निरास भएको नतिजा आएको छ । अर्को तर्फ नेपाली काँगे्रस जस्तो पूँजीवादी पाटीले पनि जनताका आशा र भरोसा जित्न नसकेका कारण यसको पनि चुनावी नतिजा ज्यादै कमजोर भएको छ ।

अहिले पनि नेपालको सुदुर पश्चिमका जनता आफ्नो गाउँघर जानका लागि विदेशी भूमि हुदै जानु पर्ने, दुर्गम बस्तिहरुमा मानिसहरु अस्पताल पुराउने बाटो नहुदा वाटो मै मृत्यु बरण गर्नुपर्ने, जनताका छोरा छोरीहरु स्कूलमा पढन नसक्ने अवस्था नहुने, रोजगारीको अवशर नहुदा ठुलो संख्यामा नागरिकहरु विदेशीनु पर्ने, देशका उत्पादनहरु देशभित्र लान नसकिने, कृषिको उत्पादन क्रमशः घटदै पराश्रित हुनुपर्ने, प्रचुर मात्रामा रहेका प्राकृतिक संपदाहरु सदुपयोग हुन नसक्ने, राष्ट्रिय आय र उत्पादन कमजोर हुदा देश विदेशी रिणको बोझमा थिचिनु पर्ने, व्यापारघाटा दिन प्रतिदिन बढदै जाने, नागरिकहरु वीचको आय असमानता बढदै जाने, एकातिर अरवपति र खरवपति निद प्रति दिन धनी हुदै जाने र अर्कातर्फ गरिवहरु झन झन गरिव हुने अवस्था लगायतका समस्याको भूमरीमा देश फसिरहेको छ ।

किन नेपालमा बौद्ध अर्थशास्त्रको उपादयता छ ?
यस्तो परिस्थितिमा नेपालका सरकारका संचालकहरुले बौद्ध अर्थशास्त्रको ज्ञान राख्ने र यसलाई कार्यान्वयनमा लान सक्ने हो भने देशको विकास र जनताको सन्तुष्टिलाई सन्तुलन गर्ने कार्यमा ठुलो योगदान हुन सक्छ । जसरी आज भूटानले देशको विकासको मापदण्ड GDP होइन GNH मा बनाएको छ र यो विश्वका लागि एउटा सिकाइको विषय पनि भएको छ । हाम्रो जस्तो गौतम बुद्ध र बौद्ध धर्मको उद्गम भएको देशले यस विषय प्रति ज्ञान नराख्ने र सदुपयोग गर्न नसक्नु भनेको माल पाएर चाल नपाउने जस्तो हो ।
न्म्ए भनेको देशभित्र एक वर्षमा उत्पादन भएका सम्पूर्ण वस्तु र सेवाको कुल आथर््िाक मुल्य हो भने न्ल्ज् भनेको देशका नागरिक कति सुखि, सन्तुष्ट र स्वस्थ जीवन बाचीरहेका छन भन्ने मापन गर्ने अवधारणा ।

के हुन्छ नेपालले बौद्ध अर्थशास्त्रलाई अपनाउँदा ?
बौद्ध अर्थशास्त्रको बहुआयामिक महत्व रहेको छ । यसले समाजको धेरै पक्षहरुलाई सम्वोधन गर्दछ । यस शास्त्रले समाजमा विकास शान्ति,सन्तुष्टि, सामाजिक कल्याण र प्राकृतिक सन्तुलन लगाउतका धेरै विषयहरुलाई समेटेर अर्थतन्त्रलाई ठिक दिशामा ल्याउन महत्वपूर्ण भूमिका खेल्न सक्दछ । यसका मुलभूत उपयोगिताहरु यस प्रकार चर्चा गर्न सकन्छि ।

१. मध्यम मार्गको अवलम्वन
जस्ले कुनै पनि बस्तु वा सेवा न अत्यधिक उपभोग न अत्यधिक अभाव हुने गरी संचालन हुन सक्छ । जसले अत्यधिक धन कमाउने नाममा भएका गलत प्रवृतिलाई नियन्त्रण गर्न सकिन्छ ।

२. सम्यक आजीविका
धन कमाउन र संपतिका लागि जे पनि गर्ने हत्या, हिंसा, ठगी, मानव बेचविखन, तस्करी, भ्रष्टचार र शोषणबाट आदी विचारहरुमा नियन्त्रण हुन्छ र मानिसमा करुणाको विकास हुन्छ यस खालका गलत पेशा व्यवशायवाट मानिसले आफुलाई टाढा राख्छ ।

३.सन्तोषपनाको विकास
मानिसका असिमित चाहनाका पछि लाग्ने र आफुलाई सम्यम गर्न नसक्नेहरु पनि क्रमशः कम चाहना राख्ने र बढी असन्तुष्टि हुने प्रवृतिवाट टाढा रहने स्वभावको विकास हुदै जान्छ ।

४.करुणा र सामाजिक कल्याण
मानिसहरुमा करुणाको विकासले सवै क्षेत्रमा वास्तविक हेरचाहको भावना विकास हुन्छ, समाजमा कल्याणकारी भावनको विकास भइ समाजमा सद्भाव र सहिष्णुताको विकास हुन्छ ।

५.प्रतित्यसमुत्पाद
प्रतित्यसमुत्पाद बौद्ध दर्शनको एउटा प्रमुख सिद्धान्त हो । संसारका सवै बस्तुहरु प्रकृतिको महासंजालमा सम्वन्धित छन् । एउटा पक्षमा असर पर्दा प्रकृतिको अर्को पक्षमा अनिवार्य असर हुन्छ भन्ने कार्य कारण सिद्धान्त प्रति मानिसमा चेतना आउछ । यसले समाजमा सवैले सवै प्राणीहरु र विशेष गरी मानवहरुमा आफ्नै सुरक्षा र विकासका लागि भए पनि प्रकृति प्रति सचेत हुनेछन् । यस सार्वभौम नियमले देशको विकास, वाताबरण सन्तुलन, सामाजिक कल्याण, ऐन नियमको पालना र समाजिक कल्याण लगायतका धेरै विषयमा मानिसमा चेतना आउने र देशकोे वास्तविकता महशुस गर्दै देशमा शान्ति र समृद्धिका पक्षमा लाग्न प्रेरित गर्नेछ ।

कसरी हुन्छ त व्यवहारिक प्रयोग
नेपालका बौद्ध अर्थशास्त्रका बारेमा निरन्तर कलम चलाइरहनु भएका लुम्बिनी बौद्ध विश्व विधालयका सहायक प्राध्यापक एवं युवा अर्थशास्त्री सुरज घिमिरे भन्नु हन्छ यदि हामीले बौद्ध अर्थशास्त्रलाई हाम्रो जीवनमा र नेपालक अर्थ व्यवस्थामा प्रयोग गर्न सक्यो भने नेपालमा बौद्ध अर्थशास्त्रले धेरै महत्वपूर्ण योगदान दिन सक्छ । उहाँले बौद्ध अर्थशास्त्रलाई प्रयोग गर्दै स्वयम पनि आफ्ना चाहनाहरुलाई नियन्त्रण गर्दै केहि रकम बचाउने र सो रकम दान र सहयोगमा खर्च गर्ने गरेको छु र त्यसले मनमा छुट्टै आनन्द र सन्तुष्टि आएको बताउनु हुन्छ । त्यसै गरी उहाँले विधालयमा विधार्थीहरुलाई हप्ताको एक दिन ५ रुपैया बचत गरी विभिन्न सहयोगका कार्यक्रमहरु गरिरहेका विधार्थीहरुमा करुणा, सेवा र उत्साहाको भावनावाट विधार्थीहरु प्रभावित भएको कुरा सुनाउनु हन्छ ।

हामीले विचार गरौ त नेपालका ४ लाख विधार्थीहरुले हप्तामा ५ रुपैया मात्र बचत संकलन गर्ने हो भने हप्तामा २० लाख रुपैया जम्मा हुदो रहेछ त्यो रकमवाट दुर्गम स्थानमा एउटा विद्यालय नै बन्न सक्दो रहेछ । ५ हजार विधार्थी हुने स्कूले यो कार्य गर्दा महिनामा ८० हजार र वर्षमा ९ लाख ६० हजार जम्मा हुन सक्ने रहेछ र यस रकमवाट शिक्षाकै क्षेत्रमा सहयोग कार्य गर्ने हो भने कति राम्रो कार्य हुन सक्ला । त्यसैले सवैले आफ्ना स्थानमा यस खालका कार्यहरु गर्ने हो भने देशमा करुणा, सद्भाव, सहयोग र आपसी मित्रता र विश्वासको विकासमा कति ठुलो योगदान पुग्ला ? त्यसैले सिद्धान्तलाइ सिद्धान्तका रुपमा कण्ठ गर्ने भन्दा त्यसलाई व्यवहारमा लान सक्ने हो भने समाज र देश बन्न धेरै समय लाग्ने छैन ।

निष्कर्षः
बौद्ध अर्थशास्त्रले अर्थतन्त्रलाई केवल धन उत्पादन गर्ने प्रणाली मात्र नभई नैतिक, मानवीय र दिगो जीवनको माध्यमका रुपमा मान्दछ । जसले लोभ, अत्यधिक उपभोग र पर्यावरण विनाशलाई कम गर्दै सन्तुलित र करुणामय समाज निर्माण गर्दै दिगो विकासको लक्ष्य प्राप्तिमा महत्वपूर्ण योगदान गर्नेछ । नेपालको सन्दर्भमा हेर्दा नेपालले यस बौद्ध अर्थतन्त्रलाई प्रयोगमा ल्याउन सकेमा यसले नेपालको शान्ति, समृद्धि, सामाजिक कल्याण, मानवीय सन्तुष्टि र वाताबरणको विकास गर्दै नेपाललाई बौद्ध अर्थशास्त्रको विकासको प्रयोगका एउटा मोडलका रुपमा विकास गर्न महत्वपूर्ण भूमिका खेल्न सक्दछ ।