

अमृत गिरी
बुटवल । खेलकुदका माध्यमबाट सैनामैनाको पहिचान थप विस्तार गर्नेगरी यहाँका युवाहरुको सक्रियतामा मनकारीहरुबाट सहयोग जुटाउँदै फुटबलको प्रतिष्ठित प्रतियोगिता आयोजना गरेका छन् । सैनामैनाको मुर्गियामा पहिलोपटक आयोजना हुन लागेको सुनगाभागा सैनामैना गोल्ड कप फुटबल प्रतियोगिता–२०८१ को आज उद्घाटन हुँदैछ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको र खेलकुदसँग सम्बन्धित अधिकारीहरु सबै जुटिसकेको खेल संयोजक अशोक खड्काले जानकारी दिए ।
सैनामैना नगरपालिकाको संरक्षकत्वमा मुर्गिया फुटबल क्लबद्वारा आयोजित प्रतियोगिता आज फागुन १९ मा सुरु भएर २८ गतेसम्म सैनामैना फुटबल रंगशाला मुर्गियामा सञ्चालन हुने छ । आयोजकले पूर्वसन्ध्यामा शनिबार मैदानमै पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी गराएका थिए ।
प्रतियोगिताको महत्व र टिमहरूको सहभागिता
तिलोत्तमा गोल्डकपपछिको रुपन्देहीकै दोस्रो ठूलो फुटबल प्रतियोगिता मानिएको सैनामैना गोल्ड कपमा नेपालका दुई विभागीय टिम नेपाल पुलिस क्लब र एपिएफ क्लब तथा भारत सिक्किमको ‘दि जोङग्री’ क्लबसहित १० टिमको सहभागिता रहनेछ ।
क्लबका अध्यक्ष प्रविन भारीका अनुसार मुर्गिया फुटबल क्लब, काठमाडौंको महावीर क्लब, नवलपुर रजहरको अभिषेक चर्च, चितवनको हनामी बिएफसी, कपिलवस्तुको कपिलवस्तु–११, बुटवलको गोर्खा ब्वाइज क्लब तथा रुपन्देहीकै फर्साटिकर युथ क्लब उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । यति धेरै टिम सहभागी भएर हुन लागेको यसक्षेत्रकै पहिलो प्रतियोगिता हो यो ।
उत्कृष्ट पुरस्कार राशि र खेलाडीलाई अवसर
हामीकहाँ खेलकुदमा सम्भावना भएर पनि खासै साकार हुन सकिरहेको पाइँदैन । खेलकुदमार्फत नाम, दाम, सम्मान र अवसर प्राप्त गर्न सकिने सम्भावना छन् । यस्ता सम्भावनालाई साकार पार्दै खेलकुदका प्रतिभाको पहिचानका लागि पनि नियमित प्रतियोगिताको खाँचो रहेको सैनामैनाका पूर्वप्रमुख चित्रबहादुर कार्कीको भनाइ छ । कार्की मेयर भएको पालामै यहाँको खेल मैदानको संरक्षण, स्तरोन्नति र प्याराफिट निर्माणलगायतका पूर्वाधार विकासका महत्वपूर्ण काम भएका थिए ।
प्रतियोगिताको उपाधि विजेताले नगद ७ लाख रुपैयाँ, उपविजेताले ४ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने विभिन्न विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि पुरस्कृत गरिनेछ । यो पुरस्कार राशि पनि यसक्षेत्रकै धेरै हो ।
साथै प्रतियोगिताले स्थानीय तथा राष्ट्रियस्तरका युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गर्ने सैनामैना–४ का अध्यक्ष रामप्रसाद अधिकारी बताउँछन् । सैनामैनाको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उनको विश्वास छ । एन्फाको स्वीकृतिमा प्रत्येक टिममा ५ जना विदेशी खेलाडी खेल्न पाउने नियम बनाइएकोले स्वदेशी खेलाडीलाई थप सिक्ने परिस्कृत हुने अवसर समेत मिल्नेछ ।
खेलकुदका पुर्वाधार र लगानी
प्रतियोगिताका लागि मुर्गियाकै संस्थागत विद्यालय सुनगाभा पब्लिक स्कुलले ७ लाख रुपैयाँ मुख्य प्रायोजन गरेको छ भने सैनामैना नगरपालिकाले ५ लाख नगद तथा खेलमैदान मर्मतका लागि थप ५ लाख सहयोग उपलब्ध गराएको छ । सैनामैनाबासी, सैनामैनालाई माया गर्ने र खेलकुदलाई सम्मान गर्ने हरेकले सहयोग र सहकार्यको प्रतिबद्धता जनाएको खेल संयोजक खड्काको भनाइ छ ।
सैनामैनाका नगरप्रमुख फणेन्द्रप्रसाद शर्माले खेलकुदमार्फत हासिल गर्न सकिने समृद्धि र अवसरलाई साकार पार्न नगरपालिकाले आवश्यक योजना र नीति बनाएर काम गरिरहेको बताए । उनले युवाहरुको सक्रियता र सहयोगीहरुको साथले प्रतियोगिता सफल हुने विश्वास व्यक्त गरे ।
प्रतियोगिता सम्पन्न गर्न ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको र सहयोगीहरुको प्रतिबद्धता पाउने क्रम जारी रहेको आयोजकमध्येका अर्का अगुवा युवा सुशिल पौडेलको भनाइ छ । पौडेलले समग्र सैनामैनाबासी नै आयोजक रहेको सम्झेर सहयोग, सहकार्य र समन्वय गर्न जरुरी रहेको बताए ।
स्थानीय व्यवसाय र पर्यटन प्रवद्र्धनमा प्रभाव
एउटा प्रतिष्ठित प्रतियोगिताको सफल आयोजनाले स्थानीय स्तरको पहिचान वृद्धिदेखि बहुआयामिक सफलतामा समेत प्रभाव पार्ने स्थानीय अगुवा तथा प्राध्यापक यमलाल खरेलको टिप्पणी छ । गोल्ड कपले स्थानीय व्यवसाय, होटल तथा यातायात क्षेत्रलाई प्रत्यक्ष फाइदा पु¥याउने अर्का अगुवा तथा पूर्वशिक्षक चित्रबहादुर केसीको भनाइ छ ।
राज्यको भूमिका र खेलकुदको भविष्य
नेपालमा फुटबल लोकप्रिय खेल हो, तर प्रश्स्त पूर्वाधार, लगानी र अवसर अभावका कारण खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा देखाउन संघर्ष गर्नुपरेको छ । अहिले गोल्डकपको आयोजना भइरहेको स्थान पनि केही समय अघिसम्म जीर्ण, अतिक्रमित र असरल्ल थियो ।
जब चित्रबहादुर कार्कीको नेतृत्वमा जनप्रतिनिधि निर्वाचित भएर आए तब सैनामैनाका ११ वटै वडामा खेलकुदका पुर्वाधारको संरक्षण, विस्तार, सम्बद्र्धन, प्रवद्र्धन खेलकुदका प्रतियोगिता सञ्चालनका लागि महत्वपूर्ण आधार तयार भए । साथै प्रतियोगिताको आयोजनाले खेलाडी उत्पादनमा समेत महत्वपूर्ण टेवा मिल्ने आधार प्रस्तुत भए ।
यसप्रकारका ठूला प्रतियोगिताले स्थानीय खेलाडीहरूलाई प्रोत्साहन अर्थात् मोटिभेट गर्ने, युवा पुस्तालाई खेलतर्फ आकर्षित गर्ने र भविष्यमा खेल पर्यटन प्रवद्र्धन गर्न मार्ग प्रशस्त गर्ने नगर खेलकुद विकास समितिका सचिव डीआर गैरे ‘अविरल’ को विश्वास छ ।
तीनै तहका सरकारले यस्ता प्रतियोगितालाई संस्थागत रूपमा प्रोत्साहन गर्न स्थानीय तथा राष्ट्रियस्तरका खेल मैदानहरूको स्तरोन्नति, आर्थिक लगानी वृद्धि र खेलाडीहरूको प्रशिक्षणमा विशेष जोड जरुरी रहेको आयोजक क्बलका गतिविधिको निरन्तर रिर्पोटिङ गर्दै आएका स्थानीय पत्रकार कृष्ण भण्डारीको भनाइ छ ।
सैनामैना गोल्ड कपको सफल आयोजनाले रुपन्देहीमा फुटबल विकासको नयाँ युगको सुरुवात गर्ने विश्वास गरिएको आयोजकमध्येका अर्का युवा गोपाल खड्काको दाबी छ ।
प्रतियोगिताहरू निरन्तर रुपमा आयोजना गरिए भने नेपालमा खेलकुदको भविष्य उज्ज्वल हुने निश्चित रहेको स्वयम् सेवक व्यवस्थापन समितिका संयोजकसमेत रहेको युवा सुवाश केसीको भनाइ छ ।
युवाहरूको पहलकदमीको प्रशंसा
सैनामैना गोल्ड कप स्थानीय युवाका लागि प्रेरणाको स्रोत बन्न सक्ने सम्भावना रहेको स्थानीय अगुवाहरुको भनाइ छ । प्रतियोगिताले स्थानीय स्तरमा खेल्ने युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने उत्कृष्ट मञ्च प्रदान गर्ने प्याब्सनका नगर अध्यक्ष टोपलाल भट्टराईको प्रतिक्रिया छ ।
सैनामैना गोल्ड कप केवल एक खेल प्रतियोगिता मात्र नभई स्थानीय युवाहरूको मेहनत, लगनशीलता र खेलप्रतिको समर्पणको प्रतिबिम्ब रहने स्थानीय व्यवसायी दीपेन्द्र ढकालको प्रतिक्रिया छ ।
सफल प्रतियोगिताले विशेषगरी मोफसलका खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने र खेलकुदको पेशागत यात्रामा अघि बढ्न मद्दत पुग्ने अर्का युवा व्यवसायी गोविन्द ज्ञवाली बताउँछन् ।
खेलाडीहरूले सीमित स्रोत–साधनकै भरमा फुटबल खेल्ने अवसर सिर्जना गर्दै आएको अवस्थामा यस्ता प्रतियोगिताले तीनै तहका सरकारलाई पनि झक्झकाउने वातावरण बनाउने अर्का युवा व्यवसायी दीपेन्द्र सुवेदी बताउँछन् ।
स्थानीय खेलाडीहरूका लागि भविष्यको ढोका
स्थानीय खेलाडीहरुलाई राष्ट्रिय स्तरमा चिनिने अवसर मिल्ने नगर प्रमुख शर्माको विश्वास छ । ‘प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने खेलाडीहरूलाई ए डिभिजन क्लबहरूमा खेल्ने अवसर प्राप्त हुनसक्छ, वृत्तिविकासमा पनि टेवा मिल्न सक्छ,’ प्रमुख शर्माको भनाइ छ ।
प्रतियोगितामा समावेश हुनसक्ने विदेशी खेलाडीहरूसँग प्रतिस्पर्धा गर्दा यहाँका खेलाडीहरुमा अझ निखारता आउने र नियमले स्थानिय खेलाडीहरूले अन्तर्राष्ट्रिय अनुभव सँगाल्न सक्ने अवसर रहेको मुख्य प्रयोजकसमेत रहेका सुनगाभा पब्लिक स्कुलका प्राचार्य तिलब केसीको भनाइ छ ।
प्रतियोगिताले स्थानीय क्लबहरूलाई अझ व्यवस्थित रूपमा खेलाडी उत्पादन गर्न प्रेरित गर्ने र स्थानीय टिमको सशक्तिकरणमा समेत योगदान मिल्ने विश्वास गरिएको सैनामैना व्यापार संघका अध्यक्ष सुरेन्द्र पौडेलको प्रतिक्रिया छ ।
सैनामैना गोल्ड कपको सफलतासँगै स्थानीय युवाहरूका लागि फुटबल खेल केवल रहर नभई व्यावसायिक करियर बनाउन सकिने एउटा महत्वपूर्ण मार्ग बन्न सक्ने सम्भावना रहेको सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद पोखरेलको भनाइ छ ।
स्रोतसाधनको अभाव, प्रशिक्षक तथा खेल सामग्रीको कमी र व्यवस्थित खेलमैदानको अभावमा संघर्ष गरिरहेका बेला यस्ता प्रतियोगिताले सम्भावनाका ढोका खोल्ने स्थानीय युवा श्री दर्लामीको भनाइ छ ।
सार्वजनिक–निजी सहकार्यको खाँचो
स्थानीय स्तरमै खेल एकेडेमी स्थापना गरेर युवा खेलाडीहरूलाई प्रशिक्षण दिने कार्यक्रम बनाउन राज्यको विशेष भूमिकाको खाँचो रहेको छ । नियमित प्रतियोगिता आयोजना गर्दै खेलाडीहरूको निरन्तर अभ्यास सुनिश्चित गर्ने काममा सार्वजनिक–निजी साझेदारीका अभियान पनि प्रभावकारी हुने खेलकुद विज्ञहरुको सुझाव छ ।
साथै खेल मैदानहरूको सुधार तथा नयाँ पुर्वाधार निर्माणगरी खेलाडीको उत्पादन, प्रतिभाको खोजी र प्रदर्शन गर्ने अवसरको समेत सिर्जना गर्न राज्यले विशेष नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने खेलकुदका क्षेत्रमा कलम चलाउँदै आएका पत्रकार सुमन अधिकारीको भनाइ छ ।
