चाडपर्व: सद्भाव, सकारात्मक सोच र सामाजिक रूपान्तरणको अवसर

मेचीकाली संवाददाता

२१ आश्विन २०८३, बुधबार
29 shares

डा.रामबहादुर राउत

हाम्रो अभियान खुसी बटुल्ने र खुसी बाँडने अभियान हो । चाडपर्व मानिसको जीवनमा आउने खुसीका क्षण मात्र होइनन् । चाडपर्व हाम्रो सभ्यता, संस्कृति, संस्कार, इतिहास र सामाजिक सम्बन्धका जीवन्त अभिव्यक्ति पनि हुन् । साथै सुखदुखको आदान प्रदान गरेर सद्भाव बिकास र बिस्तार गर्ने अचुक अश्त्र पनि हुन । नेपाली समाज विविधताले भरिएको समाज हो । यहाँ विभिन्न जातजाति, भाषा, धर्म, संस्कृति, परम्परा र जीवनशैलीका मानिसहरू पुस्तौँदेखि मिलेर बस्दै आएका छन् । यही विविधताभित्रको एकता नेपालको मौलिक शक्ति हो । त्यसैले हाम्रा चाडपर्वलाई केवल व्यक्तिगत वा पारिवारिक उत्सवमा सीमित नगरी सामाजिक सद्भाव, आपसी सम्मान, सकारात्मक सोच र सामूहिक रूपान्तरणको माध्यम पनि हुन र हामीले सद्भाव अभिबृद्धिको औजार बनाउन आवश्यक छ ।

चाडपर्व आउँदा घरमा उमङ्ग आउँछ । परिवारका सदस्यहरू एक ठाउँमा जम्मा हुन्छन् । टाढा रहेका आफन्तहरू भेटिन्छन् । मनमुटाव भएका मानिसहरूबीच संवादको वातावरण बन्छ । छिमेकीबीच आत्मीयता बढ्छ । बालबालिकाले संस्कार र संस्कृति सिक्ने अवसर पाउँछन् । नयाँ पुस्ताले आफ्नो मौलिक पहिचानसँग परिचित हुने मौका पाउँछन् । यस अर्थमा चाडपर्व पुस्तान्तरणको महत्वपूर्ण माध्यम पनि हुन् । हाम्रा दशैँ, तिहार, छठ, नेपाल संवत्, ल्होसार, माघी, ईद, क्रिसमस, उभौली–उधौली तथा विभिन्न जातजाति र समुदायका मौलिक पर्वहरूले नेपाली समाजको बहुरङ्गी पहिचानलाई उजागर गर्छन् । कुनै पर्व एउटा समुदायको मात्र भए पनि त्यसबाट प्राप्त हुने प्रेम, सद्भाव, सहकार्य र मानवीयताको सन्देश सबैका लागि समान हुन्छ । एउटा समुदायको खुसीमा अर्को समुदाय सहभागी हुनु नै नेपाली सामाजिक संस्कृतिको सुन्दर पक्ष हो । हाम्रो पूर्वीय दर्शनले पनि सम्पूर्ण मानव समुदायलाई एउटै परिवारका रूपमा हेर्न प्रेरित गरेको छ ।

“वसुधैव कुटुम्बकम् ।”अर्थात्, सम्पूर्ण पृथ्वी नै एउटा परिवार हो । यो एउटा छोटो वाक्यभित्र मानव सभ्यताको अत्यन्त गहिरो दर्शन समेटिएको छ । जात, धर्म, भाषा, भूगोल र संस्कृतिको विविधताभन्दा माथि उठेर मानिसलाई मानिसका रूपमा सम्मान गर्नुपर्ने सन्देश यसले दिन्छ । त्यसैगरी उपनिषद्को प्रसिद्ध वाक्य छ—“सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः। सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःखभाग्भवेत्। ।” सबै सुखी होऊन् । सबै निरोगी होऊन् । सबैले शुभ देख्न पाऊन् । कसैले पनि दुःख भोग्न नपरोस् भन्ने यसको भाव हो । चाडपर्व मनाउँदा हाम्रो सोच यही भावनातर्फ उन्मुख हुनुपर्छ ।

यही सोचलाई नेपाल प्रशंसनीय दृष्टिकोण राष्ट्रिय सञ्जालले आफ्नो सामाजिक अभियानसँग जोड्न चाहन्छ । प्रशंसनीय दृष्टिकोणले मानिस, परिवार, संस्था र समुदायभित्र रहेका असल पक्ष, सम्भावना, क्षमता र सफल अभ्यासलाई पहिचान गरेर त्यसैको आधारमा अझ राम्रो भविष्य निर्माण गर्न सकिन्छ भन्ने मान्यता राख्छ । समस्या मात्र खोजिरहने दृष्टिकोणले निराशा बढाउन सक्छ । तर राम्रो कुरा पहिचान गरेर त्यसलाई विस्तार गर्ने दृष्टिकोणले आशा र सम्भावना जगाउँछ । चाडपर्व यही सकारात्मक दृष्टिकोण अभ्यास गर्ने उत्कृष्ट अवसर हुन् ।

चाडपर्वलाई सामाजिक सद्भावको अभियानसँग जोड्न “एउटा पर्व, एउटा सकारात्मक काम” भन्ने अभियान सञ्चालन गर्न सकिन्छ । हरेक परिवारले पर्वको अवसरमा कम्तीमा एउटा सामाजिक काम गर्ने संकल्प गर्न सक्छ । कसैले वृक्षरोपण गर्न सक्छ । कसैले गरिब विद्यार्थीलाई शैक्षिक सामग्री दिन सक्छ । कसैले वृद्धाश्रममा सहयोग गर्न सक्छ । कसैले रक्तदान गर्न सक्छ । कसैले सार्वजनिक स्थल सफा गर्न सक्छ । कसैले एक्लिएका ज्येष्ठ नागरिकलाई भेट्न सक्छ । कसैले फरक समुदायको पर्वमा सहभागी भएर शुभकामना दिन सक्छ । सानो काम पनि ठूलो परिवर्तनको सुरुवात बन्न सक्छ । भनिन्छ हजारौं माइलको यात्रा पनि पहिलो पाइलाबाट सुरु हुन्छ ।

चाडपर्वमा हामीले “म” भन्दा “हामी” को भावना विकास गर्नुपर्छ । व्यक्तिगत प्रदर्शनभन्दा सामूहिक खुसीलाई प्राथमिकता दिनुपर्छ । प्रतिस्पर्धाभन्दा सहकार्यलाई महत्व दिनुपर्छ । खर्चिलोपनभन्दा अर्थपूर्ण उत्सवलाई रोज्नुपर्छ । देखावटीभन्दा सेवाभावलाई प्राथमिकता दिनुपर्छ । आज चाडपर्वको स्वरूपमा पनि परिवर्तन आएको छ । सामाजिक सञ्जालले शुभकामना आदानप्रदानलाई सहज बनाएको छ । संसारका विभिन्न स्थानमा रहेका आफन्तसँग क्षणभरमै सम्पर्क गर्न सकिन्छ । तर प्रविधिले सम्बन्धलाई सहज बनाउँदै गर्दा प्रत्यक्ष भेटघाट र आत्मीय संवाद कमजोर नहोस् भन्ने कुरामा पनि ध्यान दिनुपर्छ । मोबाइलको स्क्रिनमा शुभकामना पठाउनु राम्रो हो। तर सम्भव भएसम्म व्यक्तिको घरमा पुगेर आत्मीयता बाँड्नु अझ राम्रो हो। सामाजिक सञ्जालमा सकारात्मक सन्देश लेख्नु राम्रो हो । तर व्यवहारमै सकारात्मकता देखाउनु अझ महत्वपूर्ण हो ।

सामाजिक सद्भाव केवल भाषणबाट निर्माण हुँदैन । सद्भाव व्यवहारबाट निर्माण हुन्छ । सद्भाव एकअर्कालाई सुन्ने क्षमताबाट निर्माण हुन्छ । सद्भाव सम्मानपूर्ण संवादबाट निर्माण हुन्छ । सद्भाव सहयोगबाट निर्माण हुन्छ । सद्भाव क्षमाबाट निर्माण हुन्छ । चाडपर्व क्षमा र सम्बन्ध सुधारको पनि अवसर हुन् । कहिलेकाहीँ सानो असमझदारीले वर्षौँसम्म सम्बन्धमा दूरी ल्याउँछ । एउटा फोन, एउटा भेट, एउटा शुभकामना र एउटा “माफ गर्नुहोस्” ले त्यो दूरी हटाउन सक्छ । त्यसैले यस वर्षको चाडपर्वमा हामीले कम्तीमा एउटा बिग्रिएको सम्बन्ध सुधार्ने प्रयास गरौँ ।

कसैसँग रिस छ भने संवाद गरौँ । कसैसँग मनमुटाव छ भने भेटौँ । कसैले गल्ती गरेको छ भने क्षमाको बाटो रोजौँ । आफूबाट गल्ती भएको छ भने माफी माग्न हिचकिचाउनु हुँदैन ।“क्षमा वीरस्य भूषणम् ।” क्षमा वीरको आभूषण हो भन्ने संस्कृत सूक्तिले हामीलाई क्षमाको शक्ति सम्झाउँछ । क्षमा कमजोरी होइन । क्षमा सम्बन्ध बचाउने शक्ति हो ।

चाडपर्वले स्थानीय अर्थतन्त्रलाई पनि चलायमान बनाउँछन् । किसानका उत्पादनको बजार बढ्छ । स्थानीय हस्तकला, कपडा, खाद्य सामग्री र घरेलु उत्पादनको बिक्री बढ्छ । त्यसैले चाडपर्वमा स्थानीय उत्पादनको प्रयोग गर्नु पनि सामाजिक जिम्मेवारी हो । “स्थानीय किनौँ, स्थानीय प्रयोग गरौँ, स्थानीय उद्यमलाई बलियो बनाऔँ” भन्ने भावना विकास गर्नुपर्छ। यसले किसान, महिला, साना उद्यमी, कारीगर र स्थानीय व्यवसायीलाई सहयोग पु¥याउँछ । स्थानीय सरकारले यसकुरालाइ मध्येनजर गरेर वातवरण निर्माण गरौं । चाडपर्वलाई आर्थिक रूपमा पनि समावेशी बनाउन आवश्यक छ । हामी चार्वाक दर्शनको ऋणं कृत्वा घृतं पिबेत् अर्थात ऋण काडेर भएर पनि घिउ पिउनुपर्दछ भन्ने दर्शनले पर्व मनाउने नाममा ऋण लिएर अत्यधिक खर्च गर्ने प्रवृत्ति निरुत्साहित गर्नुपर्छ । सामाजिक प्रतिष्ठाका लागि अनावश्यक प्रतिस्पर्धा गर्नु हुँदैन । खुसी किनेर होइन, बाँडेर बढ्छ भन्ने कुरा बुझ्नुपर्छ ।

चाडपर्वको अवसरमा समुदायस्तरमा सकारात्मक संवाद सञ्चालन गर्न सकिन्छ । टोलमा बसेर समुदायका राम्रा अभ्यासको चर्चा गर्न सकिन्छ । युवालाई सामाजिक सेवामा परिचालन गर्न सकिन्छ । महिला समूहलाई सद्भाव अभियानमा जोड्न सकिन्छ । विद्यालयलाई सकारात्मक सोचको केन्द्र बनाउन सकिन्छ । स्थानीय सरकारलाई सामाजिक एकता प्रवद्र्धन गर्ने कार्यक्रम सञ्चालन गर्न आग्रह गर्न सकिन्छ ।

युवाको भूमिका अझ महत्वपूर्ण छ । युवाहरू समाजको ऊर्जा हुन् । उनीहरू प्रविधिसँग जोडिएका छन् । उनीहरू नयाँ विचारका वाहक हुन् । चाडपर्वमा युवालाई केवल मनोरञ्जनमा सीमित नगरी स्वयंसेवा, सरसफाइ, वृक्षरोपण, रक्तदान, विपन्न परिवार सहयोग र सांस्कृतिक संरक्षणमा परिचालन गर्न सकिन्छ । बालबालिकाका लागि पनि चाडपर्व सिकाइको अवसर हो । उनीहरूले संस्कार सिक्नुपर्छ । तर संस्कारसँगै समानता पनि सिक्नुपर्छ। उनीहरूले आफ्नो धर्म र संस्कृति जान्नुपर्छ । तर अरूको धर्म र संस्कृतिलाई सम्मान गर्न पनि सिक्नुपर्छ । उनीहरूले परम्परा बुझ्नुपर्छ । तर आवश्यक परे सकारात्मक परिवर्तन गर्न सक्ने विवेक पनि विकास गर्नुपर्छ । चाडपर्वमा ज्येष्ठ नागरिकको भूमिका विशेष हुन्छ । उनीहरू संस्कृतिका जीवित पुस्तक हुन् । उनीहरूसँग पुराना कथा, परम्परा, गीत, संस्कार र अनुभव हुन्छन् । नयाँ पुस्ताले उनीहरूसँग संवाद गर्नुपर्छ। उनीहरूको अनुभव सुन्नुपर्छ । यसले पुस्ताबीचको दूरी घटाउँछ । त्यसैगरी अपाङ्गता भएका व्यक्ति, एकल महिला, आर्थिक रूपमा कमजोर परिवार, बालबालिका, श्रमिक तथा सामाजिक रूपमा पछाडि परेका समुदायलाई पनि पर्वको मूलधारमा जोड्नुपर्छ । कसैलाई दया होइन, सम्मान र सहभागिता आवश्यक हुन्छ ।

नयनको प्रस्तावित अभियानलाई “सद्भावको पर्व, सकारात्मक सोचको पर्व” का रूपमा अघि बढाउन सकिन्छ । यस अभियानअन्तर्गत प्रत्येक व्यक्ति, परिवार, संस्था र समुदायले केही सरल प्रतिबद्धता गर्न सक्छ । यो प्रतिवद्धताका लागि नयनका अभियानकर्ताले यो प्रतिबद्धता सार्वजनिक गर्नुपर्दछ । पहिलो, म फरक संस्कृतिको सम्मान गर्छु । दोस्रो, म चाडपर्वमा कम्तीमा एक सामाजिक सेवा गर्छु । तेश्रोे, म वातावरणमैत्री पर्व मनाउँछु । चौथो, म स्थानीय उत्पादनलाई प्राथमिकता दिन्छु । पाचौं, म सामाजिक सञ्जालमा सकारात्मक सन्देश फैलाउँछु । छैठौं, म आफ्नो समुदायमा सकारात्मक तरंग सिर्जना गर्ने प्रयास गर्छु । यस्ता साना प्रतिबद्धता हजारौँ मानिसले गरे भने त्यसको प्रभाव ठूलो हुन्छ । सामाजिक रूपान्तरण सधैँ ठूला योजनाबाट मात्र सुरु हुँदैन । एउटा घरबाट सुरु हुन्छ । एउटा परिवारबाट सुरु हुन्छ । एउटा विद्यालयबाट सुरु हुन्छ । एउटा टोलबाट सुरु हुन्छ । एउटा सकारात्मक शब्दबाट सुरु हुन्छ । एउटा मुस्कानबाट सुरु हुन्छ ।

त्यसैले नयन सबैलाई आह्वान गर्दछ—यस वर्षको चाडपर्वमा हामीले केही फरक गरौँ । केवल शुभकामना आदानप्रदान नगरौँ । शुभ व्यवहार पनि गरौँ । केवल पूजा नगरौँ, सेवा पनि गरौँ, केवल भेटघाट नगरौँ, सम्बन्ध पनि सुधारौँ केवल उत्सव नगरौँ सामाजिक जिम्मेवारी पनि पूरा गरौँ ।

हामी विश्वास गर्छौँ—हरेक मानिसभित्र केही न केही राम्रो पक्ष हुन्छ । हरेक समुदायभित्र केही न केही सकारात्मक शक्ति हुन्छ । हरेक संस्थाभित्र केही न केही सम्भावना हुन्छ । हरेक समस्याभित्र समाधानको सम्भावना हुन्छ । हरेक वर्तमानभित्र राम्रो भविष्य निर्माण गर्ने अवसर हुन्छ । त्यसैले हामीले निराशाभन्दा आशा रोजौँ । विभाजनभन्दा एकता रोजौँ, द्वेषभन्दा प्रेम रोजौँ । हामी सबैले एउटा प्रश्न आफैँलाई सोधौँ—“यो चाडपर्वमा मेरो परिवार, मेरो टोल र मेरो समाजलाई मैले के सकारात्मक योगदान दिने ?”

अन्तमाः चाडपर्वको वास्तविक अर्थ बाहिरी सजावटमा होइन, मनको उज्यालोमा छ । घरमा बत्ती बाल्नु राम्रो हो, तर मनमा पनि उज्यालो बालौँ । मन्दिरमा दीप प्रज्वलन गर्नु राम्रो हो तर सम्बन्धमा पनि विश्वासको दीप बालौँ । आफन्तलाई शुभकामना दिनु राम्रो हो तर अपरिचित र आवश्यकतामा रहेका मानिसलाई पनि मानवताको शुभकामना दिऔँ । हामी सबै मिलेर यस्तो समाज निर्माण गरौँ जहाँ प्रत्येक चाडपर्वले नयाँ सम्बन्ध जोडोस्, पुराना सम्बन्ध सुधारोस्, सकारात्मक सोच बढाओस्, सेवा भावना जगाओस् र सामाजिक सद्भावलाई अझ बलियो बनाओस् । यहि अभियान नयनका अभियानकर्मीको अभियान हुनेछ । सर्वे भवन्तु सुखिनः (लेखकः नेपाल प्रशंसनीय दृष्टिकोण राष्ट्रिय सञ्जाल (नयन) का राष्ट्रिय अध्यक्ष हुन् ।)