

कमल पन्थी
फाल्गुण शुक्ल पूर्णिमा ! हिन्दूहरुको अत्यन्तै प्राचीन पर्व होली (होरी) तथा फागु ! परस्परमा रङ छ्यापेर वा अबिर दली आनन्दकासाथ मनाइने उत्सव । होली रङ्गहरुको चाड हो । यो चाडले वशन्त ऋतुको आगमनको पनि संकेत गर्छ । हामी हिन्दूहरु धेरै चाडपर्वहरु मनाउँछौँ । यसका पछाडि धेरै सामाजिक, ऐतिहासिक एवं आध्यात्मिक पृष्ठभूमि रहेका हुन्छन् । प्रत्येक चाडपर्वले पौराणिक, आध्यात्मिक, ऐतिहासिक, सांस्कृतिक र सामाजिक महत्व वोकेको हुन्छ । फागुपर्व हिमाली र पहाडीलगायतका ५६ जिल्ला पूर्णिमाको दिन र तराईलगायत भित्री मधेसका २१ जिल्लामा भोलिपल्ट मनाउने गरिन्छ । सोहीअनुसार सरकारले परम्परादेखि सार्वजनिक बिदा दिँदै आएको छ । यसबाट के पुष्टि हुन्छ भने फागु पर्व राज्यले पनि महत्व दिएको चाड हो ।
हाम्रा मौलिक चाडपर्वहरु, संस्कृति र तिनका प्राचीन स्वरुपहरुका बारेमा युवापुस्तालाई जानकारी गराउने अभिभारा हाम्रो पुस्ताको हो तसर्थ चाडपर्व, धर्म, संस्कृति, परम्परा, इतिहास र सार्वजनिक चासोको विषयको निरन्तरताको रुपमा यो आलेख मुख्य गरेर पहाडमा मनाईने फागुको सेरोफेरोमा रहेर परापूर्वकालदेखि चलिआएको पावन पर्व फागुको संस्कृति र विकृतिको सन्दर्भमा केन्द्रित रहनेछ ।

‘फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म परस्परमा रङ अविर आदि हाल्ने र नाच्ने गाउने तथा प्रिति भोजआदिगरी रमाइलो उत्सव होली’ भनी प्रज्ञा नेपाली वृहत शब्दकोषले परिभाषित गरेको छ । भूगोलअनुसार चलनचल्तीको भाषामा फाउ पूर्णे, फागु, होरी, होली नामले पुकारिन्छ।एउटा लामो समयसम्म कुनै पनि पर्व चलिरहँदा यसले फरक नाम पनि लिदो रहेछ । वर्तमान युवापुस्ता भने सामाजिक सञ्जालको बढ्दो प्रयोग र छिमेकी राष्ट्र भारतीय संस्कृतिको प्रभावले होली भनेर बुझ्छन् र भन्न पनि रुचाउँछन् । शिशिर ऋतुको अन्त्य र वशन्तऋतुको शुरुवाती चरणमा फागुन महिनामा मनाइने फाल्गुनी हुदै फागु बन्न पुगेको चाड । यो निकै प्राचिन भएतापनि यसको स्वरुप र उदेश्य बदलिदो समयसँगै फेरिँदै गएको छ ।
राणाकालमा एक हप्ता अगाडि अष्टमीदेखि नै फाउँ खुलेको राज्यले नै घोषणा गर्दथ्यो, जसलाई फागु फुक्नु भनिन्थ्यो । फागु खेल्न वैध मानिन्थ्यो । तत्कालीन राजा महेन्द्रवाट राज्य रजौटा उन्मुलन ऐन,२०१७ लागू गर्नुपूर्व कायम बाइसे चौबीसे राज्यका कुनै न कुनै रुपमा अस्तित्वमा रहेका राजा रजौटाहरुले आफ्नो अधिकार क्षेत्रको स्थानमा फाउ खुलेको घोषणा गर्ने गरेको र अर्घाखाँची माझकोट धैरेनीका राजा चिरन्जिवी शाहले फागु खुलेको घोषणा गर्ने गरेको मेरो नब्बे वर्षीय आमाले अहिले पनि सुनाउनुहुन्छ । उहाँका अनुसार जसरी अहिले गाईजात्रामा बेथिति र व्यक्तिको खुलमखुला आलोचना गर्ने परम्परा छ त्यतिबेलाका शासकलाई पनि फागुमार्फत आलोचना गर्ने छुट नागरिकलाई हुने गर्दथ्यो ।
विगतमा गाउँघरमा फाउँ खेल्ने भन्नाले अश्लीलतासँग पनि जोडेर हेरिन्थ्यो । बिहेका दिन दुलाहा अन्भाएपछि दुलाहाका घरमा महिला दिदीबहिनीहरु जम्मा भएर गाइने रत्यौली जस्तै फागुलाई पुरुष रत्यौलीकोरुपमा पनि हेरिन्थ्यो समयक्रममा भने यो प्रचलन हरायो । विशेष गरेर राम र कृष्णमा आधारित गीत गाउने प्रचलन छ । प्रेमका सुखद क्षेण, विछोड, विरहका जस्ता गीतहरु तथा भजनहरु पृथक लय र भाकामा गाईने गरिन्छ । फागुका आफ्नै मौलिक गीतहरु छन । चलचित्र एवं बजारलाई दृष्टिगत गरी तयार गरिएका होलीका गीतहरुले पुराना गीतहरुलाई क्रमशः विस्थापित गर्दै छन ।
चीरः दहन वा पोल्नेः
‘फागुन शुक्ल अष्टमीका दिन काठमाण्डौको वशन्तपुरमा लिङ्गो गाँडेर टाँगिने कपडाको ध्वजालाई चीर भनिएकोछ ।’ असत्यमाथि सत्यको विजय भएको सुचकका रुपमा सोहि दिन चिरोत्थान गरी काठमाण्डौमा होली शुरु भएको मानिन्छ । पूर्णिमाको दिन वाजागाजा सहित टुँडिखेलमा लगेर जलाउने प्रचलन छ । जलेको चीरको खरानीलाई शुभ लक्षणको रुपमा लिइन्छ र टीका लागाउँदा कुनै अनिष्ट नहुने विश्वास गरिन्छ ।
मोफसलमा पनि यो प्रचलन स्थान विशेषअनुसार फरक फरक किसिमको रहेको पाइन्छ । निर्धारित स्थानमा प्रत्येक घरधुरीवाट चीर दहनका लागि दाउरा तथा सिठुवा जम्मा गरेर चीर बाल्ने र युवाहरुमा दन्कीरहेको आगोमा गाडिएको हरियो बाँसको लिङ्गोलाई होलिकाको आकृति बनाई काट्ने प्रतिस्पर्धा नै हुने गर्दछ । चीरको खरानीको टीका लगाउदा शुभ हुने सामाजिक मान्यता एवं धार्मिक विश्वास रहेको छ । सायद कृषि प्रधान देश भएकाले फागुको साँझ सबैलै आआफ्ना खेतबारीमा अनावश्यक काँडाकुडी, सुकेका झारपात तथा सिठुवा जम्मा गरेर ठूलो आगो बाल्ने गरिन्छ । जसलाई स्थानीय बोलिचालीमा चीर बाल्ने भनिन्छ । माटोको उर्वरशक्ति र उत्पादकत्व बढाउने र वर्षायाममा खेतबारीमा काम गर्न सहजताहोस भन्ने अभिप्रायले यसो गरिएको हुन पनि सक्छ ।
पचका (पिचकारी) र गुड:
हरियो बाँस काटेर आफैँ बनाएको पिचकारी, जाँगेको एउटा खल्तीमा अविर, अर्को खल्तीमा गुड राखेर समकक्षीलाई झुक्काएर पानी र रंगले भुतुक्कै हुने गरी छेपेको अहिले मानसपटलमा ताजै छ । हिमचिमको मानिसलाई हाकाहाकी वा झुक्काएर भएपनि टाउकोमा अविर दलिदिनुलाई हामी फाउ खेल्ने भन्दथ्यौँ । समयको प्रवाहसँगै प्लास्टिकका बोतल हुदै बजारमा सुविधायुक्त पिचकारी आइसकेका छन् । विगतको र अहिलेको फागु पर्वको रौनकतामा फरकपन आएको छ ।
होलीसँग सम्बन्धित केही प्रसंगहरुः
होलीका पृष्ठभूमि र मनाउने परम्पराका प्रचलनहरु प्रसस्तै धर्मशास्त्रमा वर्णित छन् । जसमध्ये केही मुख्य बुँदाहरुलाई हेराँै ।
१) शक्तिको दुरुपयोग गर्ने प्रवृत्तिकी प्रतीक होलिका र होलीः
हिन्दू संस्कृतिअनुसार यसको पौराणिक इतिहास त्रेतायुगसंग जोडिन्छ । पौराणिक किंवदन्तिअनुसार दैत्य हिरण्यकशिपुका पुत्र भक्त प्रल्हाद भगवान् विष्णुका परम भक्त थिए । यो कुरा पीता हिरण्यकशिपुलाई मन नपरेकाले छोरा भक्त प्रल्हादलाई मार्ने धेरै षड्यन्त्र गरे तर भक्तिको अगाडि शक्तिको केही लागेको थिएन । दैत्य हिरण्यकशिपुकी बहिनी होलिका अग्निवाट नजल्ने वरदानयुक्त थिइन् । तसर्थ दाजु दैत्य हिरण्यकशिपुले भक्त प्रल्हादलाई मार्ने जिम्मा बहिनी होलिकालाई दिए । होलिकाले प्रल्हालाई आफूसंगै आगोमा हालेर जलाउदा स्वयं होलिका जलेर भष्म भइन् तर भक्त प्रल्हाद भने खेल्दै खुसी हुँदै आगोबाट बाहिर निस्के । यससँगै खुसियालीमा शक्तिको दुरुपयोग गर्ने प्रवृत्तिकी प्रतीक होलिका दहन भएको र भक्त प्रल्हाद सकुशल रहेको खुसीयालीमा होली खेल्ने परम्परा चलेको विश्वास गरिन्छ । असत्यमाथि सत्यको जीत भएको सन्दर्भको यही प्रसंग सबैभन्दा प्रचलित रहेको पाइन्छ ।
२) श्रीकृष्ण र होली
हिन्दू संस्कृतिअनुसार यसको पौराणिक इतिहास द्वापर युगसंग पनि जोडिन्छ । भगवान् श्रीकृष्ण श्याम वर्णका र राधा गोरी थिईन। माता यशोदासंग श्रीकृष्णले यस विषयको सिकायत गरे । माता यशोदाले तिम्रो रंग राधालाई लगाइदिनु अनि बराबर भइहाल्छ भन्ने आदेश गरिन । अनि श्रीकृष्णले साथीभाईको साथमा गएर आफ्नो रंग राधिकालगायत उनका सबै संगिनीहरुलाई लगाइदिए । तत्पश्चात एकआपसमा रंग लगाउने चलन चलेको पनि धर्मग्रन्थहरुमा उल्लेख छ ।
मामा कशद्वारा भान्जा श्रीकृष्णलाई मार्न विष मिसिएको स्तन चुसाउन राक्षसनी पुतनालाई पठाएको र विषपूर्ण स्तन चुसाउन लाग्दा मारिएको, शरीर लुप्त भएको उल्लेख छ । नन्दगाउँ (मथुरा) बासीले पुतनाको पुतला बनाई दहन गरेपछि मथुरामा होली मनाउन थालिएको प्रसंग जोडिएको पाइन्छ ।
थकाली समुदायमा तीर हान्ने प्रचलनः
फागु पर्वका अवसरमा थकाली समुदायमा अत्यन्तै लोकप्रिय तीर हान्ने प्रतियोगिता सात दिन सम्म चल्छ । दाजुभाइ तथा नातेदार भेला हुने, मिठामिठा परिकार खाने र रङ्गीचङ्गी पोशाकमा सजिएर रमाईलो गर्ने चलन छ ।
होलीका केही विकृतिहरुः
अत्यधिक रंगहरुको प्रयोग/अत्यधिक मादकपदार्थको सेवन/हिंसा र अराजकता
होली रमाइलो र मनोररन्जन गरी मनाउने नाममा युवायुवतीहरु रासायनिक पदार्थ मिसाईएका रंगहरु जोरजबरजस्ती दलिदिने, लोला हान्ने, गाजा,भाङ, जाँड,रक्सी जस्ता नशालु पदार्थको अत्यधिक सेवन गरी एक आपसमा लडाई झगडा गर्ने र सडक नै अवरुद्द गर्ने गरेको पनि पाईन्छ।सार्वजनिक स्थलहरुमा होहल्ला गर्ने अनुमति विना रंग दलि दिने र नशामा सवारी साधन चलाउदा दुर्घटना पनि वढ्दो छ। नशा सेवन गरेर घरका छत बाट खस्ने,बिजुलीका तारमा छोइएर करेन्ट लाग्ने र पुलवाट नदीमा हामफाली वेपत्ता हुने जस्ता समाचारहरु वर्षेनी होलीमा सुनिन्छन् । हाम्रो संस्कृतिलाई जीवन्त राख्ने सदभाव र भाइचाराको पावन पर्वले हिंसा र अराजकताको सामना गरिरहेको गत विगतका अनुभवले बताउँछ ।
मनोरञ्जको चाड कि त्राशको ?
मर्यादित तथा सौहार्दपूर्ण वातावरणमा होली पर्व मनाउन अनुरोध गर्दै स्थानीय प्रशासनले सूचना नै जारी गर्नु पर्ने अवस्था छ । यात्रुबाहक तथा अन्य सवारी साधन रोकी रङ दल्ने रकम अशुल्ने जस्ता अवाञ्छित तथा अमानवीय कार्य दण्डनीय हुने भएकाले यस्ता कार्य गर्ने उपर कानुनबमोजिम कडा कारवाही हुने सूचना प्रत्येक होलीको पूर्वसन्ध्यामा जारी गर्ने गरिएवाट मनोरन्जको चाड कतै त्राशको चाड त बनिरहेको छैन भनेर चिन्ता व्यक्त गर्न थालिएको छ ।
हिजोका नराम्रा कुरा बिसौँ
वर्तमान सन्दर्भमा नेपाली समाजले हिजोका तितो, पीरो, आपसी वैरभाव, कटुता सबै बिर्सेर उत्साह र मनोरन्जन एवं हर्ष उमंगकासाथ विभिन्न प्रकारका रंगहरु लगाएर एक आपसमा भाइचारा, सदभाव, मित्रभाव कायम गर्ने उद्देश्यले होली पर्व मनाउनुपर्छ । विगतका वैमनश्यता त्यागेर सदभाव फैलाउने पर्वको रुपमा पछिल्लो समय नयाँ शिरावाट अगाडि बढ्न संकल्प गर्ने मित्रताको पर्व बनाउनुपर्छ । हामीहरुले अनुमतिविना कसैलाई जोरजबरजस्ती रङ नदलौँ र लोला पनि नहानौँ । शान्त, सभ्य र भव्य तरिकाले फागु पर्व मनाऔँ ! सबैमा फागुको शुभकामना !