पारिवारीक स्वास्थ्य प्रोफाईल अभियान पाल्पाबाट सुरु

मेचीकाली संवाददाता

१२ चैत्र २०८१, बुधबार
61 shares

पाल्पा । लुम्बिनी प्रदेशका तीन जिल्ला पाल्पा, बाँके र अर्घाखाँचीमा मोबाईल मार्फत पारिवारीक स्वास्थ्य प्रोफाईल तयारीको शुरुवात पाल्पाबाट सुरु भएको छ ।

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले पाल्पामा समुदाय स्तरका परिवार स्वास्थ्य प्रोफाईल तयारी तथा मोबाईल स्वास्थ्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम अभियानको उद्घाटन गर्दै मन्त्री सारुले आम नागरिकको आधारभूत स्वास्थ्यलाई मध्यनजर गर्दै आवस्यक सल्लाह तथा सुझावका आधारमा योजना बनाई आफुहरु काम गरेको बताए । ग्रामीण तथा दुर्गम क्षेत्रमा चिकित्सकको उचित व्यवस्थापन गरि सेवा प्रवाहलाई अगाडी बढाईएको उनले बताए । उनले एक्लो मानिसले मात्र केहि गर्न नसक्ने भन्दै यसमा सबै तह र क्षेत्र लाग्नुपर्ने बताउदै कामगर्न सकिने संभावनाहरुका क्षेत्रमा आवश्यक सुझावहरु सहज तरिकाले दिन आम नागरिकमा अनुरोध गरे ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सदस्य तथा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठले व्यक्ति स्वस्थ रहे समाज र राष्ट्र स्वस्थ रहने हुँदा शिक्षा र स्वास्थ्यमा सेवा बढाउन सकेमात्र मुलुकको समृद्धि हुने बताए । लुम्बिनी प्रदेशमा पोषणको अवस्था कहालीलाग्दो हुनु दुखद भन्दै सरकारले विशेष योजना बनाएर काम गर्नुपर्ने उनको भनाई थियो ।
जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले प्रविधि प्रयोग गरेर मोनिटरिङ र फलो अप गर्न सकिने, स्वास्थ्य स्थितीको जानकारी मोबाईल एप मार्फत लिन सकिने विषय राम्रो भएको बताए ।

तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रसस्त लगानी गर्न सके समाज परिवर्तन गर्न सहज हुने तर जनताले भौतिक निर्माणलाई मात्र बिकास ठान्नेहुँदा अरु क्षेत्र ओझेलमा परेको बताए । स्थानीय सरकारले शिक्षा र स्वास्थ्यमा लगानी गर्नुपर्छ भन्ने विषय बोलीमा मात्र सीमित रहेको उनको भनाई थियो ।
कार्यक्रममा माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले मानविय स्वास्थ्यमा सर्वव्यापी पहुँच बढाउन स्थानीय, प्रदेश र संघीय सरकारले समन्वय गरेर आधारभूत स्वास्थ्य सेवामा लगानी बढाउनुपर्ने र त्यसका लागि स्थानीय सरकार प्रतिवद्ध रहेको बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले सर्वेक्षण गर्दा त्यसको विश्वसनीयता कायम राख्नुपर्ने बताए । उनले मोबाईलको प्रयोग गर्न नसक्ने नागरिकहरुलाई अत्यावस्यक सेवा दिन अप्ठेरो हुने लगायतका विषयमा ख्याल गर्नुपर्नेमा जोड दिएका थिए ।
मेडिक मोबाईलका पवन वैश्यले ओपन स्लो सफ्टवेयर अन्तरगतको मोबाईल एप मार्फत पारिवारीक स्वास्थ्य प्रोफाईल तयार गरिने बताए । उनले सबै स्वास्थ्य डाटा एकै ठाउँमा संकलन गर्ने र व्यवस्थापन गर्ने, जिल्ला, नगरपालिका तथा गाँउपालिका र स्वास्थ्य संस्थाको स्वास्थ्य सम्बन्धी जानकारी एकै ठाउँमा हेर्न सकिने बताए ।

कार्यक्रममा स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य प्रशासक विशाल सुवेदीले नेपालको संविधान धारा ३५ मा रहेको स्वास्थ्य सम्बन्धी हक अनुसार प्रत्येक नागरिकलाई निशुल्क आधारभूत स्वास्थ्य सेवा राज्यले उपलब्ध गराउनुपर्ने बताए ।