सडक पूर्वाधारमा युगीन फड्को

मेचीकाली संवाददाता

५ बैशाख २०८२, शुक्रबार
428 shares

– ३२ मुलुक जोड्ने एसियाली राजमार्ग बन्दै
– पूर्व–पश्चिम र उत्तर–दक्षिणका रणनीतिक सडकले बस्ती जोडिँदै

अमृत गिरी

बुटवल । ‘अर्थतन्त्रको आधारः सबल र उत्थानशील पूर्वाधार’ नीति लागू गर्दै अहिले मुलुकमा सडक पूर्वाधारको क्षेत्रमा उल्लेख्य काम भइरहेका छन् । धुलाम्मे र कच्चीसडकका त्रासदी र दुखद स्थितिमा क्रमश सुधार आउनेक्रम चलिरहेको छ । नागरिक पहुँच र आर्थिक प्रतिफललाई प्रमुख आधार मानेर राजमार्ग तथा पहुँचमार्गहरु धमाधम स्तरोन्नितसहित निर्माण भइरहेका छन् ।
सडक सुरुङमार्गका रूपमा सिद्धबाबा सुरुङमार्ग, नागढुंगा–सिस्नेखोला, काठमाडौं–तराई मधेश द्रुतमार्ग (फास्टट्र्याक) सुरुङको ‘ब्रेकथ्रु’ भइ इनलाइनका काम धमाधम भइरहेका छन् । चालु आर्थिक वर्ष २०८१/८२ असार मसान्तमा त्रिभुवन राजपथ अन्तर्गत नौबीसे नागढुंगा सुरुङमार्ग, नेपालगञ्ज गुलरिया सडक, ग्वार्को फलाइओभर आयोजना सम्पन्न हुने चरणमा छन् ।

धेरै आयोजनाहरु एकसाथ थालनी गर्ने तर समयमा तोकिएको गुणस्तर सहित सम्पन्न नगर्ने र आयोजना रुग्ण बनाउने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने आवाज उठिरहेका बेला अहिले सरकारले सोही अनुरुपका काम गरेको देखिन्छ । अन्तर्राष्ट्रिय मापदण्डको राजमार्गका रुपमा ३२ मुलुकलाई जोड्ने ‘एसियाली राजमार्ग’ निर्माणदेखि आन्तरिक वाइपास र रणनीतिक महत्वका कैयन सडकहरुको निर्माणकार्य धमाधम भइरहेको छ ।

पूर्वी नेपालको काँकडभिट्टा देखि पश्चिमको महेन्द्रनगर सम्म १०२७ किमीको सबै सडकलाई अहिले अन्तर्राष्ट्रिय मापदण्डमा स्तरोन्नति गरिँदै छ । यो खण्डमध्ये काकडभिट्टा–लौकही सडक, कमला–कञ्चनपुर सडकखण्ड, बुटवल–नारायणगढ सडकखण्ड, बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडक खण्डमा धमाधम काम भइरहेको छ । नेपालमा वि.सं २०७४/७५ सालताका कालोपत्रे सडक मुलुकभर करीब १४ हजार किमी रहेकोमा ६ वर्षभित्र करीब २० हजार कालोपत्रे सडक निर्माण भएको छ । प्रादेशिक र स्थानीय सडक त एकलाखकै हाराहारीमा निर्माण भई कुनाकाप्चा र दूरदराजसम्म नागरिकको पहुँच बढेको सरकारी तथ्यांकमा डाटासहित उल्लेख छ ।

कहाँबाट कहाँसम्म जोड्छ एशियन राजमार्गले ?
एशियन हाइवे थाइल्यान्डको बैंककबाट शुरू भई म्यान्मार, बङ्गलादेश, भारत हुँदै नेपालको काँकडभिट्टाबाट पूर्व–पश्चिम राजमार्ग भएर भारतको दिल्ली हुँदै पाकिस्तानको कराँची सम्म पुग्नेछ । रक्सौल नारायणगढ काठमाडौं कोदारी सडकले राजधानीसँग पहुँच मात्रै होइन उत्तर–दक्षिण पहुँच र व्यापारमा कायापलट ल्याउने देखिन्छ । एसियाली राजमार्गको स्तरोन्नतिले नेपालको अन्तर्राष्ट्रिय व्यापार सम्भावना मात्रै होइन, आयात तथा निर्यात दुबैमा सकारात्मक प्रभाव पार्ने र उपभोक्तामा सस्तो पर्न जाने सरकारी दाबी छ ।

राष्ट्रिय राजमार्गमा पर्ने काकरभिट्टा–महेन्द्रनगरमध्येका काकरभिट्टा–चन्द्रौटाको सडक ३ वर्ष भित्र पूर्ण रुपमा सम्पन्न गर्नेगरी स्रोतको सुनिश्चितता भइसकेको छ । सबल अर्थतन्त्र र कनेक्टिभिटी कायम गर्न सक्नेगरी उत्थानशील सडक पूर्वाधारका काम भइरहेका छन् ।

नारायणगढ–बुटवल सडक २०८२ सम्म सक्ने अल्टिमेटम
काम सुरु भएको लामो समयसम्म पनि बुटवल–नारायणगढ सडक करिव नबन्ने, ठेक्का तोड्नुपर्ने अवस्थामा थियो । त्यस अवस्थामा प्रधानमन्त्री ओली औफैले ठेक्काको जिम्मेवारी पाएको चाइनीज कम्पनीलाई खोज्दै चाइनासम्म पुगेर त्यहाँको सरकारसंग समन्वय गरेर कामलाई अगाडि बढाउने वातावरण बनाएका थिए । यो घटनालाई मुलुकका इन्जिनियरहरुले हाइप्रोफाइलबाट भएको नौलो र पहिलो प्रयास मानेर प्रशंसा गर्नेगर्छन् ।

कुल लम्बाई ११२.९६ कि.मी. रहेको रहेको यो सडक खण्डको हालसम्मको समग्र भौतिक प्रगति करीब ६६ प्रतिशतको हाराहारीमा रहेको छ । सन् २०१८ डिसेम्बर १९ मा सम्झौता भई १७.२७ (परिमार्जित) रकममा ठेक्का लागेको यो आयोजना सन् २०२५ जुलाई २३ मा सक्नुपर्नेछ । यो सडकलाई पहिलो ६४.४२५ किमी र दोस्रो खण्ड ४८.५३५ किमीमा विभाजन गरेर काम भइरहेको छ । अहिले सडकको दुबै खण्डको ६५ प्रतिशतभन्दा बढि प्रगति भइसकेको अवस्था छ । केहि स्थानमा विधुत पोल र खानेपानी पाइप स्थानान्तरणको काम वाँकी देखिए पनि तत्काल निकास खोजी दाउन्ने खण्डको समस्यालाई यथाशीघ्र हल गर्न सरकारले निर्देशन दिएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलको भनाइ छ ।

बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडक
एशीयाली मापदण्डको राजमार्गका रुपमा विकास भइरहेकोमध्येको अर्को प्रमुख खण्ड हो–बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडक । पहिलो चरणमा कुल लम्बाई ५० कि.मीमा अहिले धमाधम काम भइरहेको छ । सडकको हालसम्मको समग्र भौतिक प्रगति ६ प्रतशितको हाराहारीमा छ । बुटवल–गोरुसिंगे सडक ४ देखि ८ लेनको, ६ वटा त अन्डरपास र पैदलयात्रु र वन्यजन्तुका लागि लक्षित गरेर अण्डर र ओभर पास पुलहरु पनि बनाइनेछ ।

माघ ८ गते शिलान्यस भएको यो सडक खण्डमा बैशाख पहिलो सातासम्म झण्डै ६ प्रतिशत काम भइसकेको छ । यो खण्डमा बन्ने सबै पुलको फाउण्डेशन तयार भइसकेको छ । सडक खण्डको यो लम्बाईलाई पनि दुई खण्डमा बाँडेर काम भइरहेको छ । सडक खण्डमा पर्ने ३० भन्दा धेरै पुलको सबै फाउण्डेशन समेत तयार भइसकेको र धमाधम काम भइरहेको आयोजना प्रमुख इन्जिनियर कुशलता न्यौपानेको भनाइ छ । सन् २०२४ अक्टोबर २० मा १२.४९ अर्ब लागतमा ठेक्का सम्झौता भएको सडक सम्पन्न गर्नुपर्ने अवधि ३ वर्षको छ । यसको मर्मतसम्भारको अवधि भने पाँच वर्षको राखिएको छ ।

सिद्धबाबा सुरुङ्गमार्ग
प्रधानमन्त्री ओलीबाटै ब्रेक थ्रू भएको र अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अर्को ड्रिम प्रोजेक्ट मध्येको सिद्धबाबा सुरुङमार्ग ११२६ मिटर लम्बाईको छ । यो तराई–पहाडको लाइफलाइन सडकको प्रवेश बिन्दु हो । विसं. २०७८ चैत ९ गते ७.४ अर्बमा ठेक्का सम्झौता भएको हो । यहाँ १५०, १६१ र १३० मिटर लम्बाईका बाइपास सुरुङ पनि निर्माण पूरा भएका छन् । २०८३ चैत ८ गते निर्माणकार्य पूरा हुनेलक्ष्य छ भने यहीँ वर्षात्मा गाडी सुरुङमार्गबाटै गुडाउन मिल्नेगरी काम भइरहेको छ ।

सिद्धबाबा सुरुङमार्ग बाहेक दुबै खण्डको सडक सुरक्षित पारिने
प्राविधिका हिसाबले चुनौतीपूर्ण मानिएको सिद्धबाबा सुरुङ्गमार्गले टनेलमार्गमा नयाँ खुड्किलो पार गरेको छ । भेदन भैइसकेको यस टनेलमार्ग पनि विसं २०८३ भित्र सम्पन्न भई मुलुकमा आर्थिक विकासमा टेवा दिनेछ । सिद्धबाबा सुरुङमार्गका अतिरिक्त बुटवल र तानसेनतिरका दुबै खण्डको सडकलाई सुरक्षित पार्न रकसेट विधिमा काम हुनेछ । यो भनेको सडकको कुनाबाट माथिसम्मै करिब पाँच मिटरको ढलान गरेर ढुंगा झर्न रोक्नु हो । सुरुङको भागका अतिरिक्तको दुबैतर्फको जोखिमपूर्ण सडकखण्डलाई सुरक्षित पारिने छ ।

नागढुंगा सुरुङ्गमार्ग
नागढुंगा सुरुङ्गमार्गको ब्रेकथ्रू भइसकेको छ । मुख्य टनेल लम्बाई २.६८८ किमी रहेको छ । कुल टनेल लम्बाई ५.४९९ कि.मीको छ । सन २०१९ सेप्टेम्बर २३ मा सम्झौता भएको र सन २०२५ अक्टोबर २५ मा सम्पन्न हुने छ । टनेलको भित्री काम सकिएको, फ्लाईओभरको काम केही बाँकी रहेको छ । स्थानीय अवरोधको कारण केही दिन निर्माणकार्य रोकिएको थियो । अहिले सुचारु हुने क्रममा रहेको छ ।

त्रीदेशीय सडक आयोजना: कालीगण्डकी कारिडोर
कालिगण्डकी कोरिडोर र कोशी कोरिडोर अहिले निर्माणको चरणमा रहेका उत्तर–दक्षिण जोड्ने प्रमुख रणनीतिक राजमार्गहरु हुन् । उत्तर दक्षिण लोकमार्ग कालीगण्डकी कोरिडोर (४४७ किलोमिटर) को गैडाकोट–राम्दी–मालढुङ्गा खण्ड २४५ किलोमिटरमध्ये आर्थिक वर्ष २०८१/८२ को फागुनसम्म १९५ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ । २०८१ असारसम्म मालढुंगा–बेनी–जोमसोम–कोरला खण्ड अन्तर्गत ८७ किलोमिटर ग्राभेल, ६० किलोमिटर कालोपत्रे सडक र १० वटा पुलको निर्माण सम्पन्न भएको ।सो खण्डमा चालु आर्थिक वर्षको फाल्गुनसम्म ६५ किलोमिटर कालोपत्रे सडक निर्माण तथा १३ वटा पुल निर्माण सम्पन्न भएको छ ।

भारत र चीनलाई जोड्ने त्रीदेशीय राजमार्गका रुपमा रहेको कालीगण्डकी करिडोरको काम अहिले अन्तिम चरणमा पुगेको छ । यो करिडोरले मुलुकका ६ वटा प्रमुख राजमार्गलाई जोडेको छ । जसले सुनौलीबाट भित्रिने पर्यटक अब केही घण्टाको सडक यात्रामार्फत सिधैं मुस्ताङसम्म पुग्ने छ । कालीगण्डकी करिडोर गैडाकोटबाट सुरु भएर पाल्पाको राम्दी हुँदै गुल्मी, स्याङ्जा, पर्वत, बाग्लुङबाट मुस्ताङ र चीनको सीमा नाका कोरोलासम्म पुगेको छ । यो करिडोरका प्रमुख खण्डको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।

एकताक सपनाको राजमार्गका रुपमा लिइएको यो करिडोरले अहिले पूर्णता पाउने अवस्था आउँदा मुलुकका कैयौं जिल्लाका कैयौं बस्तीमा खुशीयाली छाएको एमाले उपमहासचिव तथा करिडोरका परिकल्पनाकार मध्येका एक नेता प्रदीप ज्ञवालीको भनाइ छ । मुलुकको पहाडीक्षेत्रमा देखिएको असन्तुलित विकास, तीब्र बसाइसराइ, रितिएका गाउँबस्ती, खण्डहर घरधुरीका कहालीलाग्दो तस्बीरलाई यस्ता रणनीतिक महत्वका सडकले सहजतामा रुपान्तरण गर्ने उनको विश्वास छ ।
यस्तै सालझण्डी–ढोरपाटन सडकको स्तरोन्नतिले तराई–पहाडको पहुँच सहज भएको छ । सिद्धार्थ राजमार्गको स्तरोन्नतिले सडक दुरी मात्रै होइन; नागरिकको आवतजावतमा समय समेत बचत गर्नेछ ।

पुष्पलाल (मध्यपहाडी ) राजमार्ग
मध्यपहाडी (पुष्पलाल) लोकमार्गको कूल लम्बाई १८७९ किलोमिटर मध्ये २०८१ फागुनसम्म १४६३ किलोमिटर कालोपत्रे सम्पन्न भएको । लोकमार्गमा पर्ने १३७ पुल मध्ये २०८१ फागुनसम्म १०७ पुलको निर्माण सम्पन्न भएको छ । मध्यपहाडी (पुष्पलाल) लोकमार्गको कूल लम्बाई १८७९ किलोमिटर मध्ये २०८१ फागुनसम्म १४६३ किलोमिटर कालोपत्रे सम्पन्न भएको । लोकमार्गमा पर्ने १३७ पुल मध्ये २०८१ फागुनसम्म १०७ पुलको निर्माण सम्पन्न भएको छ । यो आयोजनाले नयाँसहर निर्माण, सडकको स्तरोन्नति, गाउँबस्ती जोड्ने पहुँचमार्गको विस्तार र बसाइँसराइ नियन्त्रणमा प्रभावकारी काम भइरहेको सार्वजनिक भएका तथ्यकंले नै बताउँछन् ।

ग्रामीण क्षेत्रमा पूर्वाधार र उत्पादनलाई एकीकृत गरी मध्यपहाडी लोकमार्ग वरपर सम्भावित आर्थिक केन्द्रहरुको निर्माणकार्य अगाडि बढ्नु यसका उदाहरण हुन् । २०८१ फागुनसम्म यससडकको १४६३ किलोमिटर कालोपत्रे सम्पन्न भएको छ । भने, लोकमार्गमा पर्ने १३७ पुलमध्ये २०८१ फागुनसम्म १०७ पुलको निर्माण सम्पन्न भएको अवस्था छ ।

उत्तर–दक्षिण कोशी कोरिडोर
उत्तर–दक्षिण जोड्ने रणनीतिक महत्वको कोशी कोरिडोर १६२ किलोमिटरमध्ये २०८१ फागुनसम्म ८० किलोमिटर ग्राभेल सडक तथा २ किलोमिटर पक्कि सडक निर्माण भएको छ । बाँकी क्षेत्रमा काम भइरहेको छ । ११ वटा पुल निर्माण सम्पन्न भएको छ ।

काकरभिट्टा–लौकही सडक
पूर्वपश्चिम राजमार्गको पूर्वी खण्डमा रहेको काकरभिट्टा–लौकही सडक खण्डको स्तरोन्नतिको काम भइरहेको छ । यसको कुल लम्बाई ९५.७६ कि.मी.रहेको छ । सन् २०२३ अक्टोबर १९ मा ३४.९१ अर्ब रुपैयाँमा ठेक्का सम्झौता भएको सडकलाई पाँच खण्डमा विभाजन गरेर स्तरोन्नति गरिएको छ । यसाको निर्माण अवधि तीन वर्षको छ ।

नागढुङ्गा–नौविसे–मुग्लिङ्ग सडक
नागढुङ्गा–नौविसे–मुग्लिङ्ग सडक खण्ड संघीय राजधानी जोड्ने मुख्य खण्डमध्येको एक हो । यसको कुल लम्बाई ९४.६६३ कि.मी.रहेको छ । यसको हालसम्मको समग्र भौतिक प्रगति करीब ३७ प्रतिशत रहेको छ । सन् २०२२ जुन ९ मा कुल लागत ११.८६ अर्बमा ठेक्का सम्झौता भएको यो आयोजना सन् २०२५ जुन २५ सम्म सक्नुपर्ने छ ।

मुग्लिङ्ग–पोखरा सडक
मुग्लिङ्ग–पोखरा सडक अर्को प्रमुख सडक खण्ड हो । यसको कुल लम्बाई ८०.३३३ कि.मी.रहेको छ । यसमा मुग्लिङ्ग–आवुखैरनी खण्ड समावेश छैन । यसको हालसम्मको समग्र भौतिक प्रगति करीब ६५ प्रतिशत रहेको छ । सन् २०२१ जनवरीमा १५.९० अर्बमा ठेक्का सम्झौता भएको सडकको म्याद थपिएको समेत गरि सन २०२५ डिसेम्बर ३१ सम्ममा सम्पन्न गर्नुपर्ने छ ।

(म्याद थप समेत) विद्युत पोल, खानेपानी र अन्य पूर्वाधार हटाउने कार्यमा हुने ढिलाई र स्थानीय निर्माण सामग्रीको बेचबिखनमा स्थानीय तहले आआफ्नै नीति अनुरुप निकासी कर लगाउदा दोहोर करको मारमा परेको निर्माण व्यवसायीको गुनासोले काममा केही सुस्तता उत्पन्न भएको छ । यसबारेमा अदालतमा मुद्दा समेत परेको छ ।

कमला–कञ्चनपुर सडक
कमला–कञ्चनपुर सडकको कुल लम्बाई ८६.८३ किमी हो । हालसम्मको समग्र भौतिक प्रगति करीब ५७ प्रतिशत रहेको छ ।

सन् २०२० जुनमा १५.६६ अर्ब लागतमा बन्नेगरी ठेक्का सम्झौता भएको सडक २०२५ डिसेम्बरमा सम्पन्न गर्नुपर्ने छ । विद्युत पोल, खानेपानी र अन्य पूर्वाधार हटाउने कार्य केही स्थानमा अझै बाँकी रहेकाले निर्माणकार्यले भनेजति गति भने लिएको छैन ।

कमला–ढल्केवार–पथलैया सडक

कमलादेखि पथलैयासम्मको दुरी १३० कि.मी.कि.मी.रहेको हाल कमला–बागमती खण्ड (७४.७५ कि.मी.) को मात्र ठेक्का व्यवस्थापन भएको छ । बागमती–पथलैयासम्मको ठेक्का व्यवस्थापन गर्ने काम चलिरहेको छ ।

कमला–बागमती खण्ड (७४.७५ कि.मी.)
करिब ७५ किमीको यो रणनीतिक सडकको अहिले निर्माणकार्य धमाधम भइरहेको छ । चैत मसान्तसम्म समग्र भौतिक प्रगति करीब ४ प्रतिशत रहेको छ । २०८१ भदौमा १८.९४ अर्बमा ठेक्का सम्झौता भएको यो सडक २०८४ पुसमा सम्पन्न गर्नुपर्नेछ ।