

रमेश पराजुली
बुटवल । सुविधासम्पन्न भौतिक पूर्वाधार, गुणस्तरीय शिक्षा र अंग्रेजी माध्यामको पढाइले पछिल्ला वर्ष रूपन्देहीका सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ । जसले गर्दा संस्थागत विद्यालय छाडेर सामुदायिक विद्यालयमा विद्यार्थी भर्नाको लर्को लाग्ने गर्छ । ‘विश्वविद्यालय’ जस्ता देखिने केही सामुदायिक स्कूलमा विद्यार्थीको चाप थेग्नसमेत हम्मे–हम्मे पर्ने गरेको छ ।
बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालय देशैभरमा सबैभन्दा बढी विद्यार्थी हुने विद्यालय हो । ‘सेक्टर वान’ र ‘सेक्टर टु’ गरी सञ्चालन गरिरको कालिकामा झण्डै ८ हजार विद्यार्थी अध्ययनरत छन् । धेरै विद्यार्थी कालिकामा पढ्न चाहना राखे पनि यो वर्ष स्कूलमा ६०० विद्यार्थी नयाँ भर्ना लिइने विद्यालयका प्रधानाध्यापक दिनेश थापा बताउँछन् । ‘विद्यालयले यस शैक्षिक सत्रका लागि ६०० नयाँ विद्यार्थी भर्ना गर्ने योजनामा छ,’प्राचार्य थापा भन्छन्, ‘जसमा १५० जना विद्यार्थी यसअघि नै बालविकासमा भर्ना भइसकेका छन् अब ४५० जना विद्यार्थी मात्रै भर्ना हुन हुनेछन ।’ भर्नाका लागि ३ हजारभन्दा बढी विद्यार्थी आउने हुँदा प्रवेश परीक्षा लिएर विद्यार्थी राख्नुपर्ने अवस्था रहेको प्रअ थापाको भनाइ छ । गत वर्ष कालिकाले ६५० जना नयाँ विद्यार्थी भर्ना लिएको थियो ।

‘हामीले कक्षा १० बाट बाहिरिने विद्यार्थी संख्या र अन्य कक्षाहरूमा खाली भएका केही सिटका आधारमा विद्यार्थीको नयाँ भर्ना लिने हो । चाहेर पनि त्योभन्दा बढी विद्यार्थी राख्नसक्ने अवस्था छैन । भर्नाका लागि दुई हजारभन्दा बढी विद्यार्थी आउने गर्छन् ।’
दिनेश थापा
प्रधानाध्यापक, कालिका मानवज्ञान मावि
‘हामीले कक्षा १० बाट बाहिरिने विद्यार्थी संख्या र अन्य कक्षाहरूमा खाली भएका केही सिटका आधारमा विद्यार्थीको नयाँ भर्ना लिने हो,’थापा थप्छन, ‘चाहेर पनि त्योभन्दा बढी विद्यार्थी राख्नसक्ने अवस्था छैन ।’ दिनानुदिन बढ्दै गइरहेको सूचना र प्रविधिलाई अनुसरण गरेर स्कूल अघि बढेको छ ।
यस्तै बुटवल देवीनगरस्थित नविन औद्योगिक कदरबहादुर रीता माविमा पनि नयाँ विद्यार्थीहरूले भर्ना पाउन मुस्किल छ । यसवर्ष नर्सरीदेखि कक्षा ९ सम्म करिब ६०० नयाँ विद्यार्थी थप गर्न सकिने विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेत बताउँछन् । जसमध्ये करिब एक सय विद्यार्थी यस अघिनै बालविकासमा भर्ना भइसकेका छन् । विद्यालयले नयाँ विद्यार्थी भर्नाका लागि कक्षाअनुसार सिट निर्धारण गरेको छ ।

‘नर्सरीदेखि कक्षा ९ सम्म करिब ६०० नयाँ विद्यार्थी थप गर्न सकिन्छ । जसमध्ये करिब १०० विद्यार्थी यसअघि नै बालविकासमा भर्ना भइसकेका छन् । नयाँ विद्यार्थी भर्नाका लागि कक्षाअनुसार सिट निर्धारण गरेका छौँ ।’
प्रेमबहादुर बस्नेत
प्रधानाध्यापक, नवीन औद्योगिक कदरबहादुर रीता मावि
विद्यालयकोे क्षमताका आधारमा नयाँ भर्नाका लागि सिट निर्धारण गरिएको प्रधानाध्यापक बस्नेतको भनाइ छ । भौतिक संरचनाको अभावकै कारण धेरै विद्यार्थी भर्ना गर्न नसकिने उनले बताए । ‘प्रयाप्त कक्षा कोठा नै छैनन् । २० देखि २५ वटा कक्षाकोठा थप गर्नुपर्ने अवस्था छ । शिक्षकहरू पनि थप गर्न सक्ने अवस्था छैन’, उनले भने । गत वर्ष नवीनमा ६७६ जना भर्ना लिइएकोमा १ हजार ६०० प्रवेश परीक्षामा सहभागी भएका थिए । विद्यालयमा ४ हजार ७०० विद्यार्थीहरू अध्ययनरत छन् भने १७५ जना शिक्षक कर्मचारी कार्यरत रहेका छन् । नवीनमा शिक्षाको गुणस्तरमा सुधार ल्याउन ०६० देखि अंग्रेजी माध्यममा पठनपाठन सुरु गरिएको थियो । ०६४ साल यताको नतिजा उत्कृष्ट रहँदै आएको छ ।
यस्तै सरकारी विद्यालय भएर पनि आफूलाई अब्बल स्थापित गर्नेमा बुटवलकै अर्को विद्यालय हो कान्ति मावि । यस वर्ष करिब ७०० नयाँ विद्यार्थी भर्ना गर्ने विद्यालयले जनाएको छ । कक्षाकोठाको अभावले गर्दा अभिभावकको इच्छा र आकर्षणका बाबजुद पनि सीमित संख्यामा मात्रै विद्यार्थी भर्ना गर्नुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवालीले बताए । ‘धेरै विद्यार्थी भर्ना गर्नका लागि हामीसँग प्रयाप्त कक्षा कोठाहरू छैनन् । हरेक वर्ष सीमित कोटाका कारण धेरै विद्यार्थीलाई फिर्ता गर्न बाध्य छौं,’प्रअ ज्ञवालीले भने, ‘अहिले होस्टेलमा समेत कक्षा सञ्चालन गरिरहेका छौँ, एउटै कक्षामा ५५/६० जनासम्म विद्यार्थी राख्नुपर्ने बाध्यता रहेको छ । एउटा कक्षामा ४०–४५ जनासम्म विद्यार्थी राखेर कक्षा सञ्चालन गर्न पाए विद्यार्थीहरुलाई सहज हुन्थ्यो ।’

‘धेरै विद्यार्थी भर्ना गर्नका लागि हामीसँग प्रयाप्त कक्षा कोठाहरू छैनन् । हरेक वर्ष सीमित कोटाका कारण धेरै विद्यार्थीलाई फिर्ता गर्न बाध्य छौं । एउटै कक्षामा ५०/६० जनासम्म विद्यार्थी राख्नुपर्ने बाध्यता रहेको छ ।’
गोविन्द ज्ञवाली
प्रधानाध्यापक, कान्ति मावि
गत वर्ष कान्तिमा ८०० नयाँ विद्यार्थी भर्ना भएका थिए । कक्षा नर्सरीदेखि १२ सम्म नेपाली र अंग्रेजी दुवै माध्यमका कक्षाहरू पूर्ण रुपमा प्रविधिको प्रयोग गरी सञ्चालन हुँदै आएको छ । कान्तिमा ५ हजार ६०० विद्यार्थीहरू अध्ययनरत छन् भने २१७ जना शिक्षक कर्मचारी कार्यरत छन् । कान्ति अन्तर्राष्ट्रिय गुणस्तर चिह्न प्राप्त (आईएसओ सर्टिफाइड) स्कूलसमेत हो ।
यस्तैगरी तिलोत्तमा–५ मणिग्रामस्थित शान्ति नमूना मावि पनि हरेक वर्ष विद्यार्थीको संख्या बढ्दो छ । विद्यालयमा शैक्षिक सुधार गर्दै गुणस्तरीय शिक्षामा जोड दिइएपछि विद्यार्थी अभिभावकको रोजाइ छ । सीमित कोटाका कारण बाहिरबाट आउने विद्यार्थीलाई भर्ना गराउन नसकिएको विद्यालयका प्रधानाध्यापक कूलप्रसाद लामिछानेले बताए । ‘भर्ना गर्ने बेला वर्षेनी थेगी नसक्नु विद्यार्थीको चाप हुन्छ, विद्यालयमा धेरै विद्यार्थी भर्ना गर्ने भौतिक क्षमता पनि छैन,’ प्रअ लामिछानेले भने, ‘थप भौतिक पूर्वाधार निर्माण गर्ने चरणमा छौं । त्यसपछि अझ विद्यार्थी थप्न सकिन्छ । अहिले हामी विद्यार्थी संख्या थप्ने भन्दापनि शैक्षिक गुणस्तर बढाउन काम गरिरहेका छौँ ।’

‘भर्ना गर्ने बेला वर्षेनी थेगी नसक्नु विद्यार्थीको चाप हुन्छ । अहिलेको अवस्थामा विद्यालयमा धेरै विद्यार्थी भर्ना गर्ने भौतिक क्षमता पनि छैन ।’ अहिले हामी विद्यार्थी संख्या थप्ने भन्दापनि शैक्षिक गुणस्तर बढाउन काम गरिरहेका छौँ ।’
कूलप्रसाद लामिछाने
प्रधानाध्यापक, शान्ति नमूना मावि
यस वर्ष करिब ७०० नयाँ विद्यार्थी भर्ना लिने तयारीमा स्कुल छ । अघिल्लो शैक्षिक सत्रमा ६५० जना नयाँ विद्यार्थी भर्ना भएका थिए । विद्यार्थीलाई किताबी ज्ञानसँगै जीवनोपयोगी सीप पनि सिकाउने गरिएको छ । विद्यालयको पूर्वाधारसँगै प्रविधिमैत्री शिक्षण सिकाइ, अतिरिक्त कक्षा, बाल उद्यान, प्रयोगशाला, कम्प्युटर ल्याबलगायत सुविधाका कारण विद्यार्थीको शैक्षिक गुणस्तरमा समेत वृद्धि भएको उनले बताए । हाल यस विद्यालयमा ६ हजार ४०० विद्यार्थीहरू अध्ययनरत छन् भने २४० जना शिक्षक कर्मचारी रहेका छन् ।
रूपन्देहीमा ७८३ वटा सामुदायिक र २९८ वटा संस्थागत विद्यालय रहेका छन् भने ७४३ वटा वालविकास केन्द्र छन् । शिक्षा विकास तथा समन्वय इकाइ रूपन्देहीका सूचना अधिकारी अमर केसीका अनुसार रूपन्देहीमा २ हजार बढी विद्यार्थी संख्या भएका ९ वटा सामुदायिक विद्यालय छन् । कालिका, नवीन, कान्ति र शान्ति नमुनासहित ९ वटा विद्यालयहरू रहेको उनले जानकारी दिए । सैनामैनाको सैनामैना मावि, सियारीको पब्लिक मावि, भैरहवाको रुपन्देही लीलाराम न्यौपाने मावि, रोहिणीको रामनरेश मावि र सैनामैनाको रामापुर माविमा दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा रुपन्देहीका सामुदायिक विद्यालयबाट सबैभन्दा धेरै विद्यार्थी सहभागी भएका छन् । शान्ति नमूना माविबाट साधारण र प्राविधिकतर्फ गरी कुल ६५८ जना विद्यार्थी सहभागी भए । त्यस्तै कान्ति माविबाट कूल ६२० जना विद्यार्थीले एसईई दिएका छन् । त्यस्तै कालिका मानवज्ञान माविबाट कुल ६१६ जना विद्यार्थी सहभागी भएका छन् भने नवीन औद्योगिक कदरबहादुर रीता माविबाट कुल २९६ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएका छन् । यसवर्ष भने शिक्षक आन्दोलनका कारण हालसम्म भर्ना अभियान सुरु हुन सकेको छैन ।