ओझेलमा पर्दै मौलिक संस्कृति

मेचीकाली संवाददाता

७ मंसिर २०८२, शनिबार
5 shares

टोपजङ्ग बुढाथोकी

नेपाली समाज विकासको प्रारम्भिक कालदेखि आफ्ना सामाजिक सांस्कृतिक, आर्थिक, राजनीतिक र शैक्षिक सामाजिक परिवेश का विभिन्न चरण एवं आरोह अवरोह पार गरी त्यससँग साक्षात्कार गर्दै वर्तमान परिस्थितिसम्म आइपुगेको छ ।

नेपाली समाज अनेकतामा एकता र विविधताले भरिपूर्ण भएको देश हो । यहाँ विभिन्न जातजाति समाज ती समाजले अङ्गीकार गरेका भाषा, धर्म, संस्कार संस्कृति, भेषभुषा रहनसहन चालचलन र समाजै पिच्छे आआफ्ना सामाजिक आर्थिक र राजनीतिक मूल्यमान्यता रहेका छन् । जसले नेपालको पहिचानलाई विश्वसामु चिनाउन मद्दत गरेको त छनै अझ यसले नेपालीलाई स्वाभिमानी भई जिउन र पौरख गर्न सिकाएको छ । नेपाल विश्वको एकमात्र यस्तो देश हो जहाँ भौगोलिक विविधताका साथै सामाजिक, सांस्कृतिक र भाषिक विविधता पनि पाइन्छ । नेपालको पछिल्लो राजनीतिक घटनाक्रम पछिको नेपालीहरूको महान चाडपर्व दशैं, तिहार र छट पर्व २०८२ लाई नेपालीहरूले बिदाई गरेको धेरै समय बितिसकेको छैन । यस वर्ष देश शोक मग्न अवस्थामा भएतापनि आफ्नो संस्कार संस्कृति र चाडपर्व मनाउन विदेशबाट स्वदेश फर्किएका र सहरबाट ग्रामीण क्षेत्रका बस्तीहरूमा गएका सम्पूर्ण नेपालीहरू आआफ्नो दिनचर्या र कर्ममा फर्किसकेका छन् ।

पछिल्लो एक दशकमा या भनौँ विगतका केही वर्षहरूमा भन्दा यस वर्षको चाडपर्वमा नेपाली मौलिक संस्कृतिको संरक्षण, समवर्धन , जगेर्ना गर्ने र आफ्नै मौलिक संस्कृतिमा रमाउने मानिसहरूको जमात एकदमै न्यूनदेख्न सकिन्थ्यो । आफ्नो पहिचान बोकेको संस्कार संस्कृतिमा रम्ने व्यक्तिहरु र समुदाय हरूको चासो घट्दै जाँदा कतै नेपाली मौलिक संस्कृति ओझेलमा त परेको होइनरु कतै हामीले आफ्नो सभ्यता भूल्दै गइरहेका त छैनौँ भन्ने चासोको विषय बन्न पुगेको छ ।
भनिन्छ भाषा, संस्कृति रूपान्तरणको एक सशक्त माध्यम हो । कुनै पनि देशको अस्तित्व मेट्ने हो भने परमाणु बमको साटो सर्वप्रथम त्यो देशको शिक्षा र भाषा संस्कृतिको विनाश गर्नु आवश्यक हुन्छ । आजको प्रतिस्पर्धात्मक विश्व साथै एक्काइसौँ शताब्दीको विश्व व्यापीकरणको युग र बढ्दो उपभोक्तावादको चरम विकाससँगै भाषा, संस्कृति पनि क्रमिक रूपमा रूपान्तरण हुँदै गइरहेको छ भने यसको प्रत्यक्ष प्रभाव नेपाली समाज मा प्रष्टसँग देख्न सकिन्छ ।

नेपालीहरूमा क्रमिक रूपमाबढ्दै गएको परनिर्भर र उपभोग्य जीवनशैली यसको मुख्य आधार हो। आफूलाई समय सापेक्ष रूपान्तरण गर्न खोज्ने , आफ्नो संस्कार संस्कृतिको प्रवाह नगर्ने तर बाह्य संस्कृतिलाई स्वीकार्न गर्न कुनै पनि हिच किचाहट नगर्ने प्रवृत्ति तमाम नेपालीको दिनचर्या बन्न पुगेको छ । यो भन्नुको तात्पर्य अरुको संस्कार संस्कृतिलाई सम्मान र अवलम्बन नगर्ने भन्न खोजिएको होइन । आफ्नो धरातल र पहिचान बिनाको कुनै पनि अवलम्बन क्षणिक मात्रै हुन्छ । आजको प्रतिस्पर्धात्मक विश्वमा अझ भनाँै नेपाली उपभोक्तावाद सँगै परनिर्भर जीवनशैली त छ नै त्यसका साथसाथै समय सापेक्ष आफ्नो जीवनशैली परिवर्तन गर्नु हुँदैन पनि भन्न खोजिएको होइन ।

नेपालको संविधानले बहुजातीय, बहुभाष, बहुधार्मिक, बहुसांस्कृतिक, विशेषता भौगोलिक विविधतामा रहेको समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समिष्टमा राष्ट्र हो, भनि राष्ट्रको परिभाषा गरेको छ । हरेक देश र ति समुदायका निमित्त आफ्नो भाषा, संस्कार र संस्कृति त्यत्तिकै महत्व र चासोको विषय हो । कुनै पनि समाज राष्ट्रहरू र त्यसलाई अवलम्बन गर्ने मानिसहरूले आफ्नो पहिचानको अन्त्य होस् भन्ने चाहेको हुँदैनन् । आफ्नो मौलिकताको ह्रास हुनु भनेको हरेक समुदायको र राज्यको क्रमिक रूपमा अस्तित्व समाप्त हुनुसरह हो । ‘तर पछिल्लो समयमा नेपालीहरूले, जसरी कस्तुरीले आफ्नो शरीरमा रहेको बिनाको पहिचान गर्न सकेको हुँदैन ठिक त्यसरी आफ्नो मौलिकता र संस्कार संस्कृतिको पहिचान गर्न नसक्नु विडम्बना हा ।’

विगतमा हाम्रा मेलापर्वहरूले हामीलाई एकतामा बाँध्ने हाम्रो भावना आदानप्रदान गर्ने र दौतारीको मिलान गर्ने मिलन बिन्दुको रूपमा स्थापित थिए तर हाम्रा मेला पर्वहरूले महोत्सवको रूप लिएको वर्षौं बितिसकेको छ भने विभिन्न विकृतिहरूलाई अंगालेर संस्कृतिलाई मास्ने काम भइरहेको छ । हाम्रो तिहारमा नाचिने देउसी, भैलो र सोरठीले आफ्नो पहिचान परिवर्तन भई आफ्नो मौलिक धरातल बिर्सिसकेको छ जसमा अहिलेका युवा पुस्ता झन् उद्दत देखिन्छन् । हाम्रो हाम्रो समुदाय पिछे आफ्ना पहिचानयुक्त पोशाकहरू त छँदैछन् नै हाम्रो राष्ट्रको प्रतिनिधित्व गर्ने । हाम्रा राष्ट्रिय पहिचान बोकेका पोशाकहरू औपचारिकतामा सीमित भइसकेका छन् । हाम्रा रोधी घरहरू बारमा परिणत भइसके भने हाम्रो सामाजिक र पारिवारिक जमघट भिडियो कल र सामाजिक सञ्जालमा विलय भएको वर्षौं भइसकेको छ । यी त हाम्रो संस्कृतिविलयको केही उदाहरण मात्र हो ।

विगतमा जस्तो अहिलेको अहिलेको चाडपर्वमा र आउने वर्षहरूमा यदि यसको समयमै संरक्षण हुने होइन भने क्रमिक रुपमा ह्रास हुँदै जाने निश्चित छ । हाम्रा भेषभुषा, भाषा संस्कार संस्कृति र मौलिक चाडपर्वहरू भनेका हामीलाई एकतामा बाँध्ने मूलमन्त्र हुन् । जसले सामाजिक एकता सद्भाव, आपसी सहमति, भातृत्व सामाजस्यता कायम गर्न महत्वपूर्ण भूमिका खेलेको हुन्छ । यी त हाम्रो अस्तित्व र पहिचानको प्रतिक हुन् ।

यदि तराई समुदायले मिथिला सभ्यता, बौद्ध दर्शन, मौलिक संस्कृति छठ, झमरा नाचको संरक्षण गर्ने । पहाडको समुदायले सिजा सभ्यता का साथसाथै सोरठी, मारुनी ,सिँगारु, देउडा, ख्याली, टप्पा रोधी, र सालैजोको संरक्षण गर्ने । साथै हिमाली समुदायले विश्वको सर्वोच्च शिखर सगरमाथा को सभ्यता सिली, स्याब्रु, साकेला, धान, भोटिया नाच र आफ्नो मौलिक संस्कृतिको संरक्षण गर्ने हो भने आफ्नो पहिचान त जगेर्ना हुन्छ नै जसले पर्यटन प्रवर्धन गरी पौरखी र आत्मनिर्भर अर्थतन्त्रको को बाटो समेत सिर्जना गर्दछ ।
तर विडम्बना नेपालीहरूमा बढ्दै गएको पश्चिमा संस्कृतिको अवलम्बन र त्यसमा रमाउने प्रवृत्तिले हाम्रो संस्कार संस्कृति क्रमिक रुपमा ह्रास हुँदै गइरहेको छ । नेपालमा भित्रिएका हिप्पी संस्कृति, डान्स बार र जसरी विद्यालयहरूले नैतिक शिक्षालाई आफ्नो पाठ्यक्रमबाट हटाए त्यसपश्चात् विद्यार्थीहरूमा मात्र नभएर तमाम नेपालीहरूमा नैतिकता र मानवता एकात रूपमा बाहेक हराइसकेको छ । हामी कतिसम्म परिवर्तन भइसकेका छौँ भने कुनै ठाउँमा असामयिक घटना घट्यो भने उसलाई उद्धार गर्ने भन्दा पहिला मोबाइल तेस्र्याएर भ्युजको पछि लाग्ने र भाइरलको संज्ञा बोक्ने मान्छेको जमात दिनानुदिन परिणत हुँदै गइरहेको छ । के यही हो हाम्रो मानवताको संस्कार ? हरेक क्षेत्रहरूमा जसरी आफ्नो संस्कार संस्कृतिलाई अवज्ञा गर्दै सिकाइने पश्चिमी संस्कृतिलाई सजिलै प्राथमिकता दिँदै जाने हो र चाडपर्वका नाममा नेपाली एकतालाई मास्ने पहिचानलाई या भनौँ नेपाली संस्कृतिलाई तिलाञ्जली दिँदै अन्य संस्कृतिलाई अँगाल्दै जाने हो र कुनै हिचकिचाहट नगर्ने हो भने यसको विकसित रूपले भोलिको परिणाम भयावह त हुने नै छ । जसले हाम्रो पहिचान र अस्तित्वसमेत विहीन हुनेछ ।

भाषा तथा संस्कृतिको हक लाई नेपालको संविधान मा नै मौलिक हकको रूपमा व्यवस्था गरिएको छ । जुन मानिसको मानवअधिकारको विषय पनि हो । नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई आफ्नो भाषा, लिपि, संस्कृतिक, सभ्यता र सम्पदाको संवर्धन र संरक्षण गर्ने हक छ । जसको संरक्षण र संवर्धनबाट हामीलाई जीवन्त स्वाभिमान र विश्वसामु उच्च शिर राखेर हिँड्ने वातावरणको सिर्जना गर्छ । जो हाम्रो पहिचान हो ।

त्यसैले किमार्थ ढिला नगरी अन्य संस्कार संस्कृतिको सम्मान गर्दै । उग्र राष्ट्रवादलाई त्यागी आफ्नो नेपाली संस्कार संस्कृतिको संरक्षण संवर्धन गरी आफ्नो पहिचान र अस्तित्वलाई जोगाइराख्नु आजको हरेक नेपालीको अहम् भूमिका बन्न जान्छ भने भावी पुस्तालाई आफ्नो संस्कार संस्कृति र रहनसहन भेषभुषामा बाँच्न सिकाउनु हरेक व्यक्ति, परिवार, विद्यालय, समाज र राष्ट्रको महत्वपूर्ण दायित्व पनि हो । यसमा अझ बढी स्थानीय सरकार का साथसाथै तिनै तहका सरकारबिच सहकारिता सहस्तित्व र समन्वय सिद्धान्तका आधारमा समान दायित्व लिन आवश्यक छ । त्यसका साथसाथै नागरिक समाज र सरोकारवाला निकायले बढी ध्यान दिन आवश्यक छ । जसले हाम्रो पहिचानलाई जीवन्त बनाउन र हाम्रो स्वाभिमानलाई अनन्तकालसम्म जीवन्त तुल्याउन मद्दतसमेत गर्नेछ । भबतु सब्ब मङ्गलम ! (लेखक लुम्बिनी बौद्ध विश्वविद्यालय स्कुल अफ ल बीएएलएलबी पाँचौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थी हुन् ।)