

टोपलाल अर्याल
गुल्मी । गुल्मी चेम्बर अफ कमर्शको आयोजनामा दोस्रो गुल्मी महोत्सव तथा कृषि पर्यटन, व्यापार एवं औद्योगिक मेला शुक्रबारबाट सुरु भएको छ । महोत्सवको प्रमुख अतिथी लुम्बिनी प्रदेश सभा सदस्य डिल्लीराज भुसालले उद्घाटन गरे । कार्यक्रमलाई संबोधन गर्दै भुसालले मेला महोत्सवले आर्थिक समृद्धि र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए । मेला महोत्सवलाई मनोरञ्जनको रुपमा मात्रै नलिएर स्थानीय कला संस्कृतिको पहिचान, प्रचारप्रसार र व्यावसायीक दृष्टिकोणबाट अगाडी लैजानुपर्नेमा भुसालले जोड दिए ।
महोत्सव वैशाख ५ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने गुल्मी चेम्बर अफ कमर्श गुल्मीका अध्यक्ष दुर्गाप्रसाद पाण्डेयले बताए । ‘गुल्मी जिल्लाको समृद्धिको आधार, कृषि पर्यटन उद्योग र व्यापार’ भन्ने महोत्सवको उद्देश्य रहेको छ । महोत्सवमा डेढ लाख दर्शकले अवलोकन गर्ने र ३० करोडको आर्थिक कारोबार गर्ने अपेक्षा आयोजकले गरेको पाण्डेले दावी गरे ।
महोत्सवमा तीन सय बढि स्टल रहेका छन् । आर्थिक गतिविधि कम भइरहेका बेला बजार चलायमान बनाउनेनै आफूहरुको उद्देश्य रहेको गुल्मी चेम्बर अफ कमर्शका बरिष्ठ उपाध्यक्ष वीरेन्द्र भुसालले बताए । दुई साता सञ्चालन हुने महोत्सवमा स्थानीय कृषि तथा घरेलु उत्पादन, लोक कला संस्कृतिको प्रदर्शनी तथा पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार नै महोत्सवको प्रमुख उद्देश्य रहेको गुल्मी चेम्बर अफ महासचिव यज्ञप्रसाद पन्थीले जानकारी दिए ।
महोत्सवका कृषि तथा घरेलु उत्पादनको लागि निशुल्क स्टलको व्यवस्थापन गरिएको छ । तम्घासमा महोत्सव गर्न स्थान अभाव भइरहेको छ । विगतमा केही महोत्सव चिदिचौर र महेन्द्र माविको खेल मैदानमा हुने गरेका थिए । तर, गत वर्षबाट विद्यालय र चिदिचौरमा महोत्सव गर्न नदिने निर्णय भएको छ । उद्योग संघले गत वर्ष उपल्लो तम्घासमा महोत्सव गरेको थियो । अहिले गुल्मी चेम्बर अफ कमर्शले तम्घास कारागार नजिकै नुनथला भन्ने स्थानमा महोत्सव सञ्चालन गरेको छ ।
स्थानीय व्यक्तिहरुको १० रोपनी जग्गा भाडामा लिएर महोत्सव सञ्चालन गरिएको गुल्मी चेम्बर अफ कमर्शका सचिव सूर्य घिमिरेले बताए । महोत्सवलाई प्रभावकारी बनाउन १७ उपसमिति गठन गरिएको छ । सचिवालय, आर्थिक, सांस्कृतिक, स्टल, घरेलु हस्तकला लगायतका कामको संयोजन उपसमितिमार्फत हुने महोत्सव प्रचारप्रसार समिति संयोजक प्रेम घिमिरेले जानकारी दिए । महोत्सवको पहिलो दिन दुई दर्जन संघसंस्था र समुहको सहभागीतामा शोभा कलशयात्रा गरिएको थियो ।
गुल्मीदरवारका महिलाहरुको पञ्चेबाजा, तम्घासको नेवा खलको लाखे नाच, अर्खलेको भजन समुह, राष्ट्रिय लोक दोहरी गीत प्रतिष्ठानलगायतको प्रस्तुती कलश शोभायात्रामा उत्कृष्ट देखिएको थियो । महोत्सवबाट हुने नाफाबाट नगरभित्र आफुहरुको पहिचान हुने गरेर सामाजिक काम गर्ने निर्णय भएको महोत्सवको आर्थिक उपसमिति संयोजक युवराज पाण्डेयले बताए । महोत्सवमा चार दर्जन बढी राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती, गुल्मीका झाँकी, सोरठी, मारुनीलगायतका सांस्कृतिक झलक प्रस्तुत हुने सांस्कृतिक उपसमिति संयोजक टामलाल केसीले बताए ।