

बुटवल। श्रवणदृष्टि विहिनता भएका व्यक्तिहरूका लागि समावेशी शिक्षामा पहुँच सुनिश्चित गर्न बुटवलमा एकदिने सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम राष्ट्रिय बहिरा महासंघ नेपालको आयोजनामा सम्पन्न भएको हो, जसमा श्रवणदृष्टिविहिनता भएका व्यक्ति, तिनका अभिभावक, सरोकारवाला संघसंस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रममा महासंघका कार्यक्रम संयोजक शंकर सिंह चैसिरले संस्थाको कार्यपत्र प्रस्तुत गर्दै हालसम्म सञ्चालन गरिएका कार्यक्रमहरूको प्रभाव, श्रवणदृष्टिविहिनताको अवस्था, पहिचानका चुनौतीहरू तथा समावेशी शिक्षामा सरोकारवालाको भूमिकाबारे स्पष्ट पारेका थिए । उनका अनुसार जन्मजात श्रवणदृष्टि विहिनताको पहिचान, कारण र प्रारम्भिक लक्षणहरूबारे जानकारीको अभावले यस्ता बालबालिकाहरू शिक्षाबाट वञ्चित हुने जोखिम बढिरहेको छ ।
२०७८ सालको राष्ट्रिय जनगणनाअनुसार लुम्बिनी प्रदेशमा १ हजार ८६१ जना र रुपन्देही जिल्लामा २१६ जना श्रवणदृष्टिविहिन व्यक्ति छन् । तथापि, सहभागीहरूले तथ्याङ्कमा उल्लेखित संख्याभन्दा वास्तविक संख्या समुदायमा बढी हुन सक्ने बताएका छन्। कार्यक्रममा सहभागी वक्ताहरूले स्थानीय तहले यथार्थ तथ्याङ्क संकलनमा सक्रियता देखाउनु पर्ने र त्यही आधारमा समावेशी शिक्षामा नीति तथा कार्यक्रमहरू निर्माण गर्नुपर्नेमा जोड दिए । सन् २०१९ देखि नेपाल नेत्रहीन संघ रुपन्देहीको पहलमा, राष्ट्रिय बहिरा महासंघ नेपालसहित चार संस्थाको सहकार्यमा तिलोत्तमा नगरपालिका–मणिग्रामस्थित शान्ति नमुना माध्यमिक विद्यालयमा श्रवणदृष्टिविहिनता श्रोत केन्द्र स्थापना गरिएको छ ।
उक्त केन्द्रमा श्रवणदृष्टिविहिन बालबालिकाहरूलाई ब्रेल लिपि, सांकेतिक भाषा, सञ्चार सीपलगायत सामग्री निःशुल्क प्रदान गरिँदै उनीहरूको क्षमताअनुसार विद्यालय भर्ना गरिन्छ । यस्तो महत्वपूर्ण संरचना र सेवा सहज रूपमा उपलब्ध भए तापनि अभिभावकस्तरमा चेतनाको कमी र स्थानीय सरकारको सक्रियतामा कमी देखिएको कार्यक्रमका सहभागीहरूले बताए । अपांगता राष्ट्रिय निर्देशन समितिकी सदस्य सावित्रा घिमिरेले सञ्चारमाध्यममार्फत जनचेतना अभिवृद्धिमा सहयोग पु¥याउन आग्रह गर्दै समावेशी शिक्षामा सबैको पहुँच सुनिश्चित गर्न सशक्त प्रचार–प्रसार आवश्यक भएको बताइन् ।