आवश्यकताले होइन, लहडमा शहरभर हाइमाष्ट लाइट

मेचीकाली संवाददाता

६ जेष्ठ २०८२, सोमबार
96 shares

प्रकाश आचार्य

बुटवल। बुटवल–बेलहिया ‘सिक्स लेन’ सडक बनेपछि ‘हाइवे’ को स्वरूप फेरेर झलमल गर्न सडकमा सौर्य बत्ती जडान गरिए । एक वर्षमै सौर्यबत्ती बल्ल छाडेपछि पालिकाहरूले विद्युत् प्राधिकरणसँग समन्वय गरी आफ्नो पालिकाभित्रको क्षेत्रलाई सुन्दर देखाउन स्थानीय सरकारले चम्किला विद्युतीय सडक बत्ती जडान गरे । सँगै सडकलाई आकर्षक देखाउन भन्दै बत्तीको सोही पोलहरूमा झिलिमिली बत्ती थपे । फेरि पछिल्लो दुई वर्षयता पुनः त्यहीँ ‘हाइवे’ का प्रमुख चोकचोकदेखि भित्री चोकमा पनि ‘हाइमाष्ट लाइट’ जडान जारी छ ।

एउटै सामान्य सडक बत्तीले नैं प्रर्याप्त उज्यालो हुने ठाउँमा आवश्यकता र कुनै व्यवसायिक प्रयोजन बिना भड्किलो तरिकाले थरिथरि लाइट जडानले अहिले बुटवल भैरहवा (सुनौली) सडक दायाँबाया बस्ने स्थानीयको रात खलबलिएको छ । सडक र चोकमा आवश्यकताका आधारमा बत्ती बाल्नु गलत होइन । तर, हेर्दा आकर्षक र राम्रो देखिए पनि अत्याधिक कृत्रिम प्रकाश छर्ने लाइटले मानिसको रात्रिजीवनसँगै जीवजन्तुको जीवनचक्र बिथोल्न थालेको छ ।

शहरी क्षेत्रमा बढी उज्यालो दिन गरी बुटवल उप–महानगरपालिकाले ‘उज्यालो शहर बुटवल’ अभियान चलाएको छ । सडक सजावटका गर्न भन्दै उच्च क्षमताका मुख्यदेखि भित्री सडकका पचासभन्दा बढी चोकमा चारैतिर उज्यालो छर्ने दशदेखि १६ मिटरसम्मका अत्याधुनिक ‘हाइमाष्ट लाइट’ करोडौं रूपैयाँ खर्चिएर जडान भएका छन् । सडकबत्ती भइरहेका ठाउँमा आवश्यकताले भन्दा लहडमा बढी चम्किलो बत्तीले प्रतिकूलता र सडकको बिचमा राख्दा दुर्घटनाको जोखिम पनि बढाएका छ । नजिक–नजिक जडान गरिने ‘हाइमाष्ट लाइट’ खातक सिद्ध हुने विज्ञहरू बताउँछन् । बुटवल, तिलोत्तमा र सिद्धार्थनगर (भैरहवा) ले मात्र अनुत्पादक क्षेत्रमा लाइट जडान गरेका होइनन । रातीमा खेल खेलाइँदा प्रयोग गरिने ‘फ्लड लाइट’ को बराबर जस्तो उज्यालो दिने मंहगो बत्ती जडानको लहड अहिले देशभरका स्थानीय सरकारबिच चलेको छ । एउटा ‘हाइमाष्ट लाइट’ खरीददेखि जडान गर्न १० लाखदेखि १३ लाख रूपैयाँ परेको पर्ने गर्छ । यस प्रकारको उज्यालो धेरै लाइटहरु मिलाएर एउटा अग्लो पोलबाट तल फर्काएर राखिन्छ । जसले ठूलो क्षेत्र फैलाएर समान प्रकारले उज्यालो छर्छ ।

‘मानवीय स्वास्थ्य र पशुंपक्षीलाई ख्याल नगरी शहरमा अहिले लहडमा धेरै उज्यालो दिने लाइट जडानबाट प्रकाश प्रदूषण भइरहेको छ । यस्ता ‘लाइट’ ले रातिमा सक्रिय हुने जनावर, चराचुरुङ्गी, किरा फटयाङ्ग्रा, चमेरालगायत अन्य स्तनधारी जनावरलाई ठूलो असर पु¥याएको छ ।’
कृष्ण भुसाल, पशुपंक्षी विज्ञ

पशुपंक्षी विज्ञ कृष्ण भुसालले मानवीय, स्वास्थ्य र पशुंपक्षीलाई ख्याल नगरी शहरमा अहिले लहडले धेरै उज्यालो दिने लाइट जडानबाट प्रकाश प्रदूषण भइरहेको बताउँछन् । ‘यस्ता ‘लाइट’ ले रातिमा सक्रिय हुने जनावर, चराचुरुङ्गी, किरा फटयाङ्ग्रा, चमेरालगायत अन्य स्तनधारी जनावरलाई ठूलो असर पु¥याएको छ,’ भुसाल भन्छन्, ‘साना प्रजातिका चराहरु रातिमा बसाइसराइ गर्छन् । उज्यालो बढी हँुदा उनीहरूले बाटो बिराउन पुग्छन् । कोही लाइटमा ठोक्किएर घाइते हुन्छन् । चर्को ‘लाइटिङ’ ले गर्दा हामीलाई पनि मेन्टल्ली स्टे«स गरेको हुन्छ त्यो बारेमा हाम्रो अझै ध्यान पुगेको छैन । धेरै चहकिलो बत्तीमा आनन्द ‘फिल’ गर्न सकिँदैन ।’ भुसालले थपे, ‘अझै अहिले शहरका बिचमा बचेका एक/दुई वटा रूखमा समेत बेरेर ‘लाइटिङ’ गरिएको छ । जसले गर्दा रातिमा बास बस्ने चरा र जुनकिरीसमेत शहरमा देखिन छाडिसके ।’

रूपन्देही नगरपालिकासँगै गाउँपालिकाले पनि यहीँ गलत अभ्यासलाई पच्छाइरहेका छन् । सँगै प्रदेशमा घोराही तुलसीपुर र नेपालगञ्ज उपमहानगरपाकिाका जनप्रतिनिधि पनि अहिले ‘हाइमाष्ट लाइट’ जडानमा लागेका छन् । सांसदहरुले पनि आफ्नो विकास बजेट सडक बत्तीमा लगाएको पाइन्छ । यसबाट शहरमा प्रकाशको प्रदूषण भइरहेको छ । बत्तीको प्रकाशले अध्यारोलाई हटाएर मानवीय तौरतरिकालाई असर पुयाएको छ । संरक्षणविद् डा.हुम गुरूङ ‘हाइमाष्ट र फ्लड लाइट’ बाट वातारण सन्तुलनमा ठूलो असर पु¥याएको बताउँछन् । ‘सामान्य नजरबाट हेर्दा यो आहा भन्ने जस्तो देखिन्छ,’ डा.गुरूङ भन्छन्, ‘यसले ‘इकोलोजिकल’ ‘व्यालेन्स’ मा ठूलो ‘डिस्टर्व’ गरेको छ । यसले रातिमा जिवजन्तुलाई लोप गराउँछ । विदेशका शहर उज्यालो देखेर यहाँ पनि त्यस्तै बनाउन खोजेजस्तो देखिन्छ । त्यहाँ अध्ययन गरी साना लाइट मात्र बालेका हुन्छन् ।’ ‘स्ट्रीट लाइट किन आवश्यक प¥यो भन्ने पालिकाले जवाफ दिन सक्दैनन् । यस्ता लाइट फुटबल, क्रिकेट ‘गेम’ हुन स्टेडियममा मात्र राख्ने हो । अन्यत्र सहरमा होइन,’ उनी थप्छन् । प्रकृतिबिनाको मानव जीवन सम्भव छैन । रूख बिरुवामा पनि झिलिमिली बत्ती राख्दा ‘इलेक्ट्रोम्याग्नेटिक’ ले बिरुवाको बढ्नमा असर पु¥याउने डा.पुनको भनाइ छ ।

चर्को उज्यालोसहितको बत्तीले हरितगृह ग्याँस उत्सर्जनलाई समेत बढाउँदै लगेको छ । रातिमा चन्द्रमाको प्रकाशबाहेको कृत्रिम प्रकाशले जीवजन्तुलाई असर गर्छ नैं मानिसलाई पनि अनेक समस्या देखा पर्छन् । सुत्ने, उठ्ने समयतालिका, आँखाको समस्या, आकाशीय पिण्डहहरु कृत्रिम उज्यालोले देख्न नसक्ने समस्या देखिन्छन् । अहिले शहरी क्षेत्रको मुख्य सडक वरपरका र चोकका मानिसहरुलाई चर्को उज्यालोले राम्रो निद्रा नपर्ने समस्यासमेत मानिसमा देखिन थालेको छ । बजार क्षेत्रमा पसलहरुमा पनि झिलिमिली बत्ती बाल्ने क्रम बढ्दो छ ।

बुटवल उप–महानगरपालिकाका प्रवक्ता शिव रानाले प्राविधिकसँगको परामर्शकै आधारमा हाइमाष्ट लाइट जडान गरिएको दावी गर्छन् । ‘सबै कुरामा जनप्रतिनिधिहरु पनि विज्ञ हुँदैनन्,’ राना भन्छन्, ‘पर्यावरण संरक्षणका लागि हामी पनि सचेत छौंँ । हामी बुटवलका धेरै चोकहरुमा आवश्यकता र नागरिकको माग अनुसार बत्ती जडान गरेका हौँ, हाम्रो जोड चोरी र दुर्घटना हुने ठाउँ र मुख्यमुख्य चोकहरुमा हो ।’ बुटवल उपमहानगरपालिकाका वडा नम्बर ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले भने, शहरमा हाइमाष्ट लाइट ‘प्रकोप’ को रूपमा बढीरहेको भन्दै यसबाट सच्चिन जरूरी रहेको बताउँछन् ।

तराईको मौलिकता चरा, चुरुङ्गी, पुतली र जुनकिरी पदयात्रा गर्दै बाटो पनि मानिन्छ । उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशका अध्यक्ष तेजकुमार पाठकले बडेमानका पोल बनाएर ठूलो उज्यालोको उपयोगिता खासै नदेखिएको बताउँछन् । ‘साझदेखि बिहानसम्म सडकमा त्यो आँखै खाने उज्यालो आवश्यक छैन,’ पाठक भन्छन्, ‘बुटवलसहितका सहरीमा स्थानीय तहका प्रमुखहरूको प्रतिस्पर्धा उज्यालो छर्नेमा देखियो, मानवीय विकास र अधिकारबारे खासै देखिएन ।’ अध्यक्ष पाठकले थपे, ‘सडक बत्तीले दियो चाहिँ के ? स्थानीय सरकारले यो विषयमा एक पटक सोच्नपर्ने बेला आयो ।’ पाठकका अनुसार शहरका भित्री ठाउहरूमा हाइमाष्ट लाइट आवश्यक छैनन् । यस्ता काम जनप्रतिनिधिले गर्नु भनेको आफूलाई चर्चामा ल्याउनको लागि मात्रै हो । जतजातै लाइटै लाइट जडान नागरिकको टडकारो आवश्यकता होइन ।

जीवजन्तु, पंक्षी र मानवले रातिमा अध्यारोको माग गर्छन । यो क्षेत्र जैविक मार्गमा पनि पर्छ । लुम्बिनीका पहाडी जिल्लाका केही ठाउँमा घरयासी प्रयोजनको लागिसमेत विद्युत् पुगेको छैन । औद्योगिक क्षेत्र अझै पूर्ण लोडसेडिङ मुक्त नहुँदा राम्रो विद्युत् उपयोग गर्न पाएका छैनन । अधिकारको क्षेत्रमा वकालत गर्दै आएका ऋषि आजादले वैज्ञानिक चिन्तन र पारिस्थिति प्रणालीलाई असर नपर्ने गरी सरकारले योजना बनाउन आवश्यक रहेको बताउँछन् । योजनाहरु बनाउँदा अरुलाई पर्ने सक्ने असरबारे हेक्का राख्न आवश्यक रहेको आजादको भनाइ छ । बजारमा चराको चिरबिर आवाज अहिले सुनिन छाडेको छ । हाइवे निर्माणमा ठूलो रूखहरू मासिँदा चराहरुको बासस्थानसमेत बिथोलिएको छ ।

विद्युत् प्राधिकरणका इन्जिनियर कपिल पाण्डे हाइमाष्ट लाइट माग गर्दै वितरण केन्द्रहरूमा स्थानीय आउने क्रम तीब्र गतिमा बढेको बताए । ‘हामीले त विद्युत् विक्री गर्ने हो बढेको राम्रो भयो,’ इन्जिनियर पाण्डेले भने, ‘पहिले सोलार बत्ती जडान हुन्थे अहिले त्यसालाई विस्थापित गरेर हाइमाष्ट लाइट लगाउने क्रम बढेको छ, अहिले वन्यजन्तुबाट जोगिन भन्दै राष्ट्रिय निकुञ्ज नजिक क्षेत्रमा पालिकाहरुले पनि चाहियो भन्ने क्रम बढेको सुनिनिन्छ ।’ केही स्थानीय तहले त पूर्वपश्चिम राजमार्गको बिच मागमा राखेर दुर्घटनाको जोखिम पनि बढाएका छन् । यसपछि ट्राफिक प्रहरी पनि सुझाव दिनुपर्ने हो । हाइमाष्ट लाइट आवश्यकता हो कि होइन भन्ने कुरा स्थानीय सरकारको विषय हो ।’