वर्तमान यूवामा व्याप्त तनाव र समाधानका बौद्ध विधि

मेचीकाली संवाददाता

२५ असार २०८२, बुधबार
303 shares

शंकर बोगटी

विश्वका हरेक परिवर्तनका लागि युवाको पसिनाको आवश्यकता पर्दछ । राज्यको एवं समाजको हरेक सामाजिक, आर्थिक, राजनैतिक तथा विकास जस्ता कुरा युवाको सहभागिता बिना सम्भव हुँदैन। तसर्थ, युवा वर्ग मानव जीवनकै सबैभन्दा बढी सक्रिय वर्ग हो । युवा हितलाई राज्यको सर्वाङ्गीण विकासको आधारका रूपमा लिन सकिन्छ। यद्यपि, यस गतिशील परिवर्तनशील समाजमा समयको परिवेशले युवाहरूलाई मानसिक चाप सिर्जना गर्ने गरेको पाइन्छ ।

तनाव अहिलेको समयमा जीवनको एउटा भागजस्तै बनेको छ । तनावलाई स्पष्ट रूपमा परिभाषित गर्ने हो भने कठिन हुन सक्छ । सामान्य रूपमा परिभाषा गर्दा तनाव मानसिक विचलनको अवस्था हो, जहाँ मानिसलाई मानसिक, सामाजिक, शारीरिक रूपमा गहिरो असर पर्न सक्छ । नेपाली बृहत् शब्दकोशले तनाव सोचाइ आदिको कारण उत्पन्न हुने मानसिक झमेलाको कामकुरो होू भनी परिभाषित गरेको पाइन्छ । उसो त, अलि पहिलेको समयमा यो विषय सामान्य रूपमा लिइन्थ्यो । तर अहिले भने यसलाई अति संवेदनशील विषयका रूपमा लिने गरिन्छ, जसले मानिसलाई मानसिक, सामाजिक, भावनात्मक रूपमा कमजोर बनाई मानिसलाई मृत्युको मुखसम्म पनि पु¥याउन सक्छ । त्यसैले, तनाव र तनाव व्यवस्थापनको पाटोलाई गहकिलो विषयका रूपमा लिन अति आवश्यक छ । यद्यपि, तनाव सधैँ नकारात्मक मात्र हुन्छ भन्ने पनि हुँदैन। कतिपय तनावहरू ऊर्जावान, प्रोत्साहित गर्ने र अझ सकारात्मक परिवर्तनतिर डोर्याउने प्रवृत्तिका पनि हुन्छन् ।

अहिलेको समय हेर्ने हो भने तनावको चपेटामा परी मानसिक रोग नै भई औषधि सेवन गर्न बाध्य भएकाहरूमा मूल्यतः युवा वर्ग नै पर्दछन् । एक्काइसौँ शताब्दीमा आइपुग्दा समयअनुकूल चल्न नसक्नु, बेरोजगारी, असफलता, आर्थिक स्तरमा कमी, पारिवारिक विथिति, प्रेम बिछोड, आकर्षण, अति महत्त्वकांक्षी भावना आदि जस्ता कारणहरू उनीहरूको जीवनमा तनावका मुख्य कारण बनेका छन्। फेरि यसरी भन्नुपर्दा तनाव नाप्ने वा कस्ता-कस्ता कुरालाई तनावकारक ठहरिने भन्ने कुरामा मतभेद पाइन्छ ।

तनाव प्राकृतिक अवस्था हो । हरेक जीवित मानिसमा तनाव हुने गर्छ। तनाव सकारात्मक वा नकारात्मक भए तापनि यसको समाधान अति नै कठिन रहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार १० देखि १४ वर्षबीचका ४.४ प्रतिशत, १५ देखि १९ वर्षबीचका ५.५ प्रतिशत बालबालिका चिन्ताको सिकार छन्, भने १५ देखि १९ वर्षबीचका बालबालिकामा डिप्रेसनको समस्या देखिएको छ । युवाहरूमा करिब ३५ प्रतिशत जनसंख्या तनावग्रस्त रहेको पाइन्छ ।

वर्तमान युवाको तनाव नियन्त्रणमा बौद्ध व्यवस्थापनले अमृतको काम गर्न सक्छ । वा भनौँ, बौद्ध व्यवस्थापन युवाको तनाव नियन्त्रणका लागि संजीवनी बुटी हो । तसर्थ, वर्तमान युवामा तनाव नियन्त्रण गर्न बौद्ध ज्ञान आवश्यक विषय हो। बौद्ध धर्म केवल धार्मिक वा आध्यात्मिक पाटो मात्र नभई बौद्ध दर्शन हो, जो जीवनको सिकाइ र जीविकोपार्जनको प्रमुख आधार बन्न सक्छ । बौद्ध दर्शनको भौतिक उपदेशको प्रमुख आधार चार आर्य सत्य हुन्—दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ, र दुःख निवारणको मार्ग आर्य अष्टाङ्गिक मार्ग हो भन्ने ज्ञान जीवनमा लागू गरे दुःख कम हुनसक्छ र तनाव स्वतः व्यवस्थापन हुँदै जान्छ । यदि दुःख निवारणको मार्ग अष्टाङ्गिक मार्गलाई बनाउने हो भने, दुःखको निवारणसँगै तनाव व्यवस्थापन सहजै हुनसक्छ । त्यसैले युवा पुस्तामा बौद्ध दर्शनको प्रयोजन र त्यसको उपयोगिताको भावना हुनु अति आवश्यक छ, जसले बिना कुनै साइड इफेक्ट तनाव व्यवस्थापन सहजै गर्न सक्छ ।

बौद्ध दर्शनको अर्को प्रमुख पाटो हो ध्यान, जो केवल आध्यात्मिक अभ्यास मात्र नभई तनाव व्यवस्थापनको पनि सहज उपाय हो । यसको निरन्तर अभ्यासले हाम्रो स्मरणशक्ति तीव्र हुनुका साथै घृणा, तृष्णा, लगाव, दुःख, पीडा, तनाव, चिन्ता जस्ता मानसिक तत्वहरूको पनि निवारण सहजै हुन सक्छ । बौद्ध दर्शनका विभिन्न धम्मपदहरूले यो संसारमा हरेक कुरा क्षणिक हुन् भन्ने कुरा सिकाउँछ । त्यसैले एउटै कुरामा दुई व्यक्तिको फरक मत हुन्छस कसैलाई एकदमै सानो लाग्ने कुरा ऊ सहजै भन्न वा गर्न सक्छ, तर त्यो अर्को व्यक्तिलाई असहज लाग्न सक्छ, वा भनौँ, तनावको विषय बन्न सक्छ ।

त्यसैले तिमी त सधैं रुन्छौ, कस्तो सानो मन, यति कुरामा पनि रिसाउने केटीजस्तो, तिमी त मोटो, तिमी त होचो, जस्ता अरूलाई होच्याउने, आफूभन्दा कम महसुस गराउने वाक्यहरूले पनि कसैलाई मानसिक चोट पु¥याउन सक्छन् । झन् किशोरावस्था र युवा अवस्थाका व्यक्तिहरू, जो परिवर्तनका लागि भौतारिएका हुन्छन्, उनीहरू त अझ सजिलै तनावको शिकार बन्न सक्छन् ।
विगत १० वर्ष यताको तथ्याङ्क हेर्ने हो भने युवा वर्गमा आत्महत्याको दर ७१ प्रतिशतले बढेको पाइन्छ, जसमा मुख्य कारण मानसिक तनाव हो । हरेक दिन करिब १९ वटा आत्महत्याको विवरण बाहिर आइरहेको हुन्छ । जसमा १० प्रतिशत मानसिक विकार भएको पुष्टि मानसिक विकार सर्वेक्षण २०२० ले गरेको छ। अझ त्यसमाथि पनि विडम्बनाको कुरा के छ भने नेपालमा हालसम्म जम्मा करिब १०० जना मात्र मानसिक चिकित्सक रहेका छन्। यसरी हिसाब गर्ने हो भने १ लाख मानिसलाई ०.००६७ मात्र चिकित्सक पर्न आउँछ। त्यसमा पनि ५६ प्रतिशत पुरुष र ३३ प्रतिशत महिला आत्महत्याको शिकार हुने गरेका छन्, भनी सोही सर्वेक्षणले देखाएको छ ।

जीवनमा उत्पन्न हुने मोह, माया, राग, घृणा आदि विचारहरूको निवारण सहज तरिकाले गर्न सकिन्छ, जब मानिसलाई अनित्यताको (impermanence) अनुभूति हुन्छ। जब यो अस्तित्त्वमा रहेको कुनैपनि कुरा स्थायी छैन भन्ने बुझाइ विकसित हुन्छ, तब व्यक्ति मोह, घृणा, तृष्णा, र विकार जस्ता मानसिक विकृतिहरूबाट स्वत टाढा जान थाल्छ। यही बोधले मानिसलाई कुनै चिकित्सक वा औषधिको आवश्यकता बिना नै तनाव व्यवस्थापन गर्न सक्ने स्थिति प्रदान गर्छ ।

आजको समयमा यो कुरा प्रभावकारी उपायका रूपमा प्रमाणित भएको छ । त्यसैले वर्तमान युगमा बौद्ध धर्म वा दर्शनलाई केवल धार्मिक अभ्यासको रूपमा होइन, जीवनशैलीको अङ्गका रूपमा आत्मसात गर्नु अत्यन्त आवश्यक देखिन्छ । यसको माध्यमबाट युवाहरूमा देखा पर्ने तनाव र मानसिक रोगहरूको उचित व्यवस्थापन गर्न सकिन्छ । साथै, दीर्घकालीन रुपमा सोच्दा तनावको मूल कारणलाई नै जडबाट निर्मूल गर्न सम्भव हुन्छ । भवतु सब्ब मङ्गलम् !!!